एक अकृत्रिम राष्ट्रवादीका नाममा

एक अकृत्रिम राष्ट्रवादीका नाममा

नेपालको पहिलो राजनीतिक दल 'प्रजा परिषद्'का अध्यक्ष टंकप्रसाद आचार्य नेपाली राजनीतिक आन्दोलनका शिखर व्यक्तित्व हुन् । उनी नेतृत्वको प्रजा परिषद्ले चारथरी पर्चा छरेर राणाशासनविरुद्ध क्रान्तिको बिगुल फुकिएको थियो ।

१९९७ सालका चारचार पर्चाहरू विद्रोहको शंखघोषमात्र होइन, मानवाधिकारको पक्षमा युद्धकै आह्वान पनि थिए । जेम्स एफ फिसर भन्छन्, 'टंकप्रसादले दुईधारे युद्ध चलाएका थिए र उनका पर्चाहरू राणाहरूमाथि मात्र नभई, उनको शब्दमा, उनका नेपाली दाजुभाइप्रति पनि लक्षित थिए । ...उनी आफ्ना देशवासीहरूलाई आफूमाथि भयानक रूपले हावी भएका शक्तिहरूप्रति उदासीन भाव राखेकोमा हप्काउन पनि हिच्किचाउँदैनन् । ...उनको विद्रोहमा कुनै छट्टु कुरा थिएन -- बदख्वाइँ थिएन, कुनै निहुँले खुट्टा झिक्ने प्रयास थिएन, कुनै पाखण्डपन थिए, कुनै छद्म अर्थ थिएन । टंकप्रसादले प्रयास गरेको जस्तो खुल्लमखुल्ला क्रान्तिकारी आन्दोलनहरू साधारण घटना होइनन् ।' ('ज्यूँदा सहिदहरू', जेम्स एफ. फिसर, अनु. अरविन्द रिमाल, २०५७, पृष्ठ २४२)

त्यसो त क्रान्तिको थालनी गर्ने काम आफैंमा सहज पनि होइन । न त आचार्यहरूले थालेको विद्रोह युवावयको आक्रोश नै थियो । 'टंकप्रसादको विद्रोह अन्य कुनै पनि विद्रोहजस्तै प्रेरणाले भरिएको र सचेत कार्य थियो जसका उदाहरणहरू इच्छाशक्ति र विवेकबुद्धिले बनेका थिए जुन कि स्वतःस्फूर्त तथा अघिबाट विचार नपुर्‌याइएको घटना चाहिँ थिएन ।' (ज्यूँदा सहिदहरू, पृष्ठ २५३) ।

यस्तो असाध्य कठिन काम सुरु गर्ने प्रशान्त क्रान्तिकारी आचार्यको भूमिकालाई विभिन्न लेखकहरूले अवमूल्यन गरेको पाइन्छ । अमेरिकी नृवंशशास्त्री जेम्स एफ. फिसरले 'ज्यूँदा सहिदहरू' पुस्तकमा मात्र उनलाई न्याय गरे । आचार्यकी धर्मपत्नी रेवन्तकुमारीको भूमिकाबारे पनि गलत धारणा राखेको पाइन्छ । त्यसैले फिसरले सोही पुस्तकमा लेखेका छन्- 'सन् १९५० मा डिल्लीरमण रेग्मीले, सन् १९६६ मा भुवनलाल जोशी र लियो रोजले तथा सन् १९६७ मा सतीश कुमारले आ-आफ्ना पुस्तकमा गरेको जस्तै बेवास्ता गरेर बताउनु त एक हातले ताली बजाउन खोज्नुजस्तै हो ।'

उनी लेख्दछन्, 'रेवन्तकुमारीले झ्यालखानाभित्रबाट टंकप्रसादले (२००६ साल मंसिर २५ गते) लेखेको चिठीपत्रहरूलाई गोप्यरूपमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र समाजवादी नेता जयप्रकाश नारायण तथा अरूहरूकहाँ (विप्र कोइराला) आदिसम्म पुर्‌याइन् । ती चिठीहरू लैजाँदा वनजंगल, बेसी, फेदी पार गर्नुपरेको थियो । परम्पराअनुसार हिन्दु खलककी पत्नीको अनौठो आज्ञाकारी र आत्मसमर्पण भन्दा बेग्लै छविलाई उनको आत्मबल र आँटले प्रस्तुत गर्दछ ।' (पृष्ठ ३)

फिर त्यसैकारण, आचार्यको जीवनकथाको मूल शीर्षकमा 'सहिदहरू' भन्ने बहुवचन प्रयोग गरिएको हो भन्दछन् । टंकप्रसाद र अन्य क्रान्तिकारीबारे नेपाली लेखकको कलमबाट नभई एउटै अमेरिकी विद्वानबाट लेखिनु पनि कुनै काक्तालि होइन । अधिकांश नेपाली विद्वतमण्डलीबाट हालसम्म आचार्यको अपव्याख्या, अपमान र अवमूल्यन भइआएको छ । अतः ७० वटाभन्दा बढी ग्रन्थ तथा सन्दर्भ-सामग्रीहरूको अध्ययनको आधारमा आचार्यबारे अमेरिकी प्राध्यापक मेरिल गुडअलले पुस्तक लेखे । सोही विषयमा आफ्नो विद्यावारिधि निबन्धका लागि जम्मा गरिएका कतिपय सामग्री उनकी पत्नी बेट्सीबाट फिसरले हात पारे । अंग्रेजीमा 'लिभिङ मार्टियर्स' शीर्षकको पुस्तकको दोस्रो विस्तृत संस्करण छाप्ने तयारीमा लागेका फिसरप्रति नेपाली समाज र नेपालप्रति चासो राख्नेहरू सदैव आभारी रहनेछन् ।

'उनले आफ्नो पूरै जीवन नेपालमा बिताए, जे-जति शिक्षा पाए त्यो यहीँ पाए । उनी नेपाली राजनीतिका अनिश्चितता र आकस्मिकताको चेपमा परेका अकृत्रिम राष्ट्रवादी थिए । उनीपछिका धेरै जस्तो नेपाली प्रजातन्त्रवादी राजनेताहरूले त्यस्तो अवस्था र स्थिति बेहोर्नै परेन । भारत र नेपालका बीच अनौठो सम्बन्धसूत्रको सूक्ष्मता उनको दह्रो अडानमा अभिव्यक्त हुन्छ जसलाई भारतीयहरूले न सजिलोसँग बुझे, न कहिल्यै स्वीकार गरे । उनी र उनकी पत्नी राजनीतिक दृष्टिबाट क्रान्तिकारी थिए तर यसका साथै उनीहरू हिन्दुत्वप्रति र भारतको नियन्त्रणमा नरहेको आधुनिक प्रजातान्त्रिक राज्यप्रति पूरै समर्पित भएका पक्का राजतन्त्रवादी थिए । यी अन्तर्निहित विरोधाभास तथा तनावहरूबाट एउटा विलक्षण नेपाली दृष्टिकोण जन्म्यो । त्यो दृष्टिकोण राजनीतिकरूपले आविष्कारी थियो भने सामाजिकरूपले परम्परावादी ।' (ऐजन कृति पृष्ठ ४)

मौलिक क्रान्तिकारी

फिसर भन्दछन्, 'केही हदसम्म आफ्नै चारित्रिक बलको कारणले गर्दा र अर्कोतर्फ इतिहासकै घटनाक्रमले गर्दा टंकप्रसादले नेपालको राजनीतिक जीवनमा प्रतीकात्मक रूपमा अनुपम ठाउँ ओगटेका छन् ।' २०४६ सालको सफल प्रजातान्त्रिक आन्दोलनभन्दा पहिले उनलाई राजदरबारका प्रति प्रजाभाव राख्ने कि त्यसको खुला विरोध गर्ने भन्ने यी दुई विरोधाभाषपूर्ण स्थितिलाई छुट्याउने साँघुरो गोरेटोबाट हिँड्नु परेको थियो ।

२००७ सालपछिका सबैजसो राजनीतिक नेताहरूको सामु (२०१७ को काण्डपछि निर्वासनमा गएकाहरूलाई छाडेर) यही द्विविधा आइपरेको थियो । तर उनी पञ्चायत व्यवस्थाका प्रखर आलोचक भए र आफ्ना प्रजातान्त्रिक सिद्धान्तहरूको विरुद्ध सम्झौता गर्न उनले अस्वीकार गरे । ...मानव अधिकारप्रति यस्तो अटल प्रतिबद्धताले उनलाई कहिल्यै नडग्ने इमानदारिको प्रतीक बनाइदियो । आफ्नै राजनीतिक डम्फू फुक्ने धुनमा सधैं आपसी झै-झगडामा लागिरहेका फरक मतका नेताहरू समेत उनका अनुयायी बने ।

फिसरले लेखेका छन्, 'टंकप्रसाद त्यस समयमा आफूले गर्नैपर्दछ भन्ने ठानी गरेका कामका कारण नै आफ्नो सोच र चिन्तनमा अनुपम थिए ।' यस मान्यतालाई अनेक घटनाले पुष्टि गर्दछन् ।

पहिलो, उनले २००६ सालको मंसिरमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू, समाजवादी नेता जयप्रकाश नारायणलाई राणाशाहीविरुद्ध नेपालको प्रजातान्त्रिक आन्दोलनका ध्येय एवं उद्देश्यबारे प्रकाश पार्दै लेखेका लामा पत्रहरू छन् ।

जयप्रकाश नारायणलाई र्‌याडिकल समाजवादी शैलीमा लेखेको पत्र 'ज्यूँदा सहिदहरू'को परिशिष्टमा प्रकाशित छ । नेहरूलाई लेखेको पत्रको प्रतिलिपि प्राप्त हुन सकेन ।

दोस्रो, २००७ साल माघमा झ्यालखानबाट छुटेपछि आचार्य आफ्नो दलका अन्य नेताहरूको सहमतिमा नयाँ दिल्ली गए । त्यहाँ उनले नेपाली क्रान्तिको संरक्षणको लागि नेपाली कांग्रेससँग आफ्नो पार्टी विलय गर्नेसम्मको विचार प्रस्तुत गरे । एक समयका आफ्नै मानार्थ अध्यक्षको प्रस्तावप्रति कांग्रेस नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि उनी प्रजातान्त्रिक व्यवस्थामा प्रतिपक्षको महत्त्वपूर्ण भूमिका हुने बुझेर नेपाल कम्युनिस्ट पार्टीसँग २००८ सालमा संयुक्त मोर्चा बनाउन तयार भए ।

त्यतिबेलाको सत्तापक्ष, राजदरबार र भारत सरकारलाई समेत चिन्तामा पारेको यस ऐतिहासिक कार्य २००७ सालको क्रान्तिको ध्येय र उपलब्धिहरूको महत्त्वलाई नबुझेको नेकपा नेतृत्वकै संकीर्णतावादी दृष्टिकोण र व्यवहारले गर्दा निरन्तरता नपाई अस्वाभाविक तवरले तुहिन गयो । फलतः क्रान्तिको विकासमा ठूलो धक्का लाग्यो । तथापि आचार्यले कम्युनिस्टप्रति कहिल्यै नकारात्मक भाव राखेनन् । नेपालको राजनीतिमा तिनीहरूको भूमिकाको अनिवार्यतालाई पनि इन्कार गरेनन् ।
तेस्रो, एक सामाजिक मुक्ति अभियन्ताको रूपमा आचार्यले २००९÷१० सालमा श्रीपशुपतिनाथ मन्दिरमा तथाकथित अछूतको प्रवेश गराउन धर्ना अभियान चलाए ।

-उनी नेपाली राजनीतिका अनिश्चितता र आकस्मिकताको चेपमा परेका अकृत्रिम राष्ट्रवादी थिए । उनीपछिका धेरै जस्तो नेपाली प्रजातन्त्रवादी राजनेताहरूले त्यस्तो अवस्था र स्थिति बेहोर्नै परेन ।

चौथो, किसान वर्गका हितैषीको रूपमा उनले किसानहरूलाई आवश्यक सहयोग गर्न धर्म भकारी राख्न लगाउन महोत्तरी जिल्लामा आन्दोलन चलाए ।

पाँचौं, आचार्यले उच्च राजनीतिक समदर्शी भावका राजनेताको भूमिका खेल्दै नेकपामाथि लागेको प्रतिबन्ध फुकाउने काम गरे । तर कम्युनिस्ट नेतृत्व त्यस कार्यसम्बन्धी ऐतिहासिक समझदारीपत्रको शब्दमा अल्झिएर आआफैं झगडा गर्दै पार्टीमाथि फुटको ग्रहण लगाउन पुग्यो ।

छैटौं, आचार्य सत्तामा नरहँदा र प्रधानमन्त्री छँदा पनि सधैं नेपालमा प्रजातान्त्रिक व्यवस्थाको परिपाटी बसाल्न संसद्को निर्वाचनका पक्षधर थिए । आफ्नै प्रधानमन्त्रीको उत्कर्ष स्वयं राजाको रूपमा आफ्नै र देशको उत्कर्ष हो भन्ने सत्य नबुझेर राजा महेन्द्रले 'चुनाव गराउन अक्षम भएको' भन्ने निराधार आरोप लगाएर अमर्यादितरूपले उनको सत्ता खोसे । तर पछि आफैं संसद्को चुनाव गराउन बाध्य भए । संसद्को चुनावको लागि माग गर्दा आफूमाथि नेका र नेकपाबाट प्रहार हुँदा पनि उनले न त ती दलहरू, न राजा महेन्द्रप्रति कहिल्यै दुर्भावना राखे ।

सातौं, आचार्य भारत र चीनबीचको शत्रुता र युद्धबाट एसियाली शान्ति-समृद्धिको बाटोमा आघात पर्ने ठान्दथे । अतः सन् १९६९ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारत चीनसँग सामान्य सम्बन्ध कायम गर्न चाहेको सन्देश चीनका प्रधानमन्त्री चाउ एन लाईकहाँ पठाउन नेपालमा तत्कालीन भारतीय राजदूत राजबहादुरमार्फत आचार्यसँग आग्रह गर्दा उनले आफूप्रति पुरानो भारतीय दुव्र्यवहारलाई बिर्सेर चीनका प्रधानमन्त्रीलाई त्यस आसयको पत्र पठाए । त्यसपछि भारत-चीन सम्बन्ध सामान्य बनाउने ध्येयमा आफ्नै पनि योगदान गर्न चीन गएर चिनियाँ नेताहरूसँग भेट गरे ।

आठौं, नेपालको विदेश नीतिमा सन्तुलन ल्याउन आचार्यले सोभियत संघसँग दौत्य सम्बन्ध राखे । यसबाट नेहरू क्रूद्ध भएको सर्वविदितै छ । क्रूद्ध भारत सरकारले राजा महेन्द्रलाई आचार्यप्रति अविश्वासको व्यवहार गर्न उक्सायो ।

नवौं, आचार्य आफूप्रति र आफ्नो विचारप्रति विश्वेश्वरप्रसाद कोइरालाको नकारात्मक धारणा रहेको जान्दथे । राणा-कांग्रेस संयुक्त सरकारका शक्तिशाली गृहमन्त्री हुँदा कोइरालाले सुरक्षा कानुनअन्तर्गत आचार्यलाई तीन महिनासम्म थुनेका पनि थिए । त्यस्तो कटुता बिर्सेर आचार्यले नेपालमा प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहालीको लागि चलाइने आन्दोलनमा कोइरालाको नेपाल पुनरागमन अपरिहार्य र उक्त आन्दोलनमा उनको नेतृत्व अनिवार्य मानेर 'समाज' सम्पादक मणिराज उपाध्यायलाई कोइरालासँग भेट गर्न पठाए । त्यसपछि त्यसको अत्यावश्यकता जनाउन आफैं बनारसमा भेट्न गए ।

प्रधानमन्त्रीका रूपमा आचार्य

सामान्य ढंगले हेर्दा पनि प्रधानमन्त्रीको रूपमा २०१२ माघदेखिका १८ महिनाहरूमा राष्ट्रनिर्माणसम्बन्धी उनको योजना एवं कार्यहरू क्रान्तिकारी स्वरूपका थिए । साथै त्यो अवधि स्वतन्त्र विदेश नीति र देशको सार्वभौमसत्ताको संस्करणको कालखण्ड थियो । '२०४६ सालको प्रजातान्त्रिक आन्दोलन टंकप्रसाद र उनका मित्रहरूले १९९३ मा श्रीगणेश गरेको यज्ञको नैतिक र तात्विवक सांगे हो' (सोही पुस्तक पृष्ठ ७) । फिसर थप्दछन्, 'राजाको प्राधिकार र सत्ताका परम्परागत प्रतीकहरूलाई पुनव्र्याख्या गर्ने र तिनका अर्थहरूलाई नयाँ रूप दिने गरी चलाइएको संघर्षमार्फत टंकप्रसादले यस्तो अनवरत प्रक्रियाको श्रीगणेश गरे जसले उनको संस्कृतिलाई नै सदासर्वदाको लागि बदलिदिएर २०४७ सालको प्रजातान्त्रिक निर्वाचनलाई सम्भव तुल्याउनुको साथै त्यस प्रक्रियालाई जारी पनि राख्यो ।' (पृष्ठ २४६)

सम्झनामा सरल टंक

यति भन्दाभन्दै अरू दुई विषयपट्टि पनि पाठकहरूको ध्यानाकर्षण गर्नु मुनासिव हुन्छ ।
पहिलो हो, उनको विलक्षण सरलता । आफ्नो भानिजको घरमा एउटा कोठा डेरा लिई बस्दा आचार्यको खुला र पार्टीगत राजनीति त्यहीँबाट चल्दथ्यो । त्यसरी खुला राजनीतिक छलफलको लाभ १०-११ सालमा भारतीय दूतावासको द्वितीय सचिव रहेका महाराजकृष्ण रसगोत्रा पनि उठाउँदथे र अभावग्रस्त आचार्यपत्नी रेवन्तकुमारीको हातबाट चिया पनि खान्थे । तर त्यो गुन बिर्सेर ती कूटनीतिज्ञले २०७२/७३ सालमा छापिएको आफ्नो 'अ लाइफ इन डिप्लोमेसी' पुस्तकमा नेपाल, नेपाली जनता र नेपाली राजनीतिज्ञहरूको हुनसम्म निन्दा-भत्र्सना गरेका छन् ।

-सामान्य ढंगले हेर्दा पनि प्रधानमन्त्रीको रूपमा २०१२ माघदेखिका १८ महिनाहरूमा राष्ट्रनिर्माणसम्बन्धी उनको योजना एवं कार्यहरू क्रान्तिकारी स्वरूपका थिए । साथै त्यो अवधि स्वतन्त्र विदेश नीति र देशको सार्वभौमसत्ताको संस्करणको कालखण्ड थियो ।

२०१० सालको एकदिन बिहानपख आफ्ना निकटम दौतरीद्वय रामहरि शर्मा र चूडाप्रसाद शर्मासँगै सधैंको जस्तो कमिज सुरुवाल, छोट्छोटो कोट र भादगाउँले टोपीको पहिरनमा भएका आचार्यलाई यस पंक्तिकारले डिल्लीबजार चोकमा भेट्यो । अभिवादनपछि उसले नजिकैको लप्टनको होटेलमा चिया खान उहाँहरूलाई अनुरोध गर्‌यो । जसलाई उनले स्वीकार गरे । उनको त्यो सरल स्वभाव आज पनि यो पंक्तिकारको मनमस्तिष्कमा गाढा भएर बसेको छ ।

सो लप्टनको होटेल आफैंमा ऐतिहासिक थियो । त्यहाँ पुष्पलाल, मनमोहन अधिकारी चिया खान आउँथे । अत्यन्त नाटिकुटी गर्ने डिल्लीरमण रेग्मीलाई पनि एकदिन ऋषिकेश शाह र कीर्तिनिधि विष्टले होटेलको 'अप्पर हाउस'मा ल्याएर चिया ख्वाएका थिए । नेपाली कांग्रेसका सदस्यहरूले आँटेका भए २००५ सालमा गुप्तरूपले बानेश्वरमा रामहरि शर्माको घरमा बस्दा कर्मकाण्डी ब्राह्मणको छद्म भेषमा साइकल चढेर धरहरा माहिला साहुको चिया पसलमा चिया खान जाने खतरा उठाउने चियाका अत्यन्त प्रेमी विप्र कोइरालालाई पनि ल्याउन सक्थे ।

मिलनसार स्वभावका उनी कुनै हिच्किचाट बिना त्यो नाम चलेको चिया पसलमा आउथे पनि होलान् । तर कांग्रेसहरूले आँट्नै सकेनन् । 'गोर्खा परिषद्'का नेताद्वय मृगेन्द्रशमशेर र भरतशमशेर पनि लप्टनको होटेलको आकर्षकणले गर्दा त्यहाँको जमघटबीच चिया खान पाउँदा आफ्नो सम्मान नै ठान्नेथे होलान् । बौद्धिक एवं राजनीतिक जागरणको थलो रहेको लप्टनको होटेलको यस्तो नाम चलेको थियो । तर ईष्र्यालु राजा महेन्द्रलाई त्यस्तो कुरा पचेन ।

अनि त उनले २०१२ सालमा सेक्सन अफिसर र त्योभन्दा माथिका सरकारी कर्मचारीहरूलाई त्यहाँ चिया खान नजानु भन्ने मौखिक आदेश दिएका थिए ।

दोस्रो, १९९०-९१ सालमा आचार्यलाई बारा जिल्लामा पहिलो पटक आकस्मिक तवरले भेट्दा नै उनलाई आफूले सोचेको जस्तो राणाविरोधी क्रान्तिका स्वाभाविक नेता मानेका क्रान्तिकारी वीर दशरथ चन्दले आफ्ना कमरेड अध्यक्षको विरोचित कार्यप्रति जनाएको आदर-सम्मानको मार्मिक घटना ।

'१९९७ साल कात्तिकको एकदिनको कुरा । टंकप्रसाद आचार्यलाई जनकपुरमा समातेर मुद्दा चलाउन भनी पहाडैपहाडको बाटो गरी काठमाडौं ल्याइयो । साँझपख सिंहदरबारको मूल ढोकाको देब्रेपट्टिको फौजी गारतमा पत्नी रेवन्तकुमारीले ल्याएको चिउरा र सख्खरको खाजा खाएर त्यहीँ रात बिताए । वर्तमान रेडियो नेपाल रहेको भवनमा थुनिएका पार्टी दौंतरीहरूलाई दशरथ चन्दले उक्त व्यहोराको सूचना दिए ।

भोलिपल्ट आचार्यलाई आफूहरूकहाँ ल्याउँदा उनकै प्रस्तावअनुसार पार्टी प्रेसिडेन्टलाई सलामी गारत् दिने सहमति भयो । मामुली कदका, अत्यन्त साधारण पहिरनका आचार्य जीउमा बाँधिएको सिक्री-नेल छ्याङल्याङ छ्याङल्याङ बजाउँदै बाहिरी इँटा भर्‌याङ उक्लिँदै माथिल्लो सिँढी आइपुग्नासाथ सबै कमरेडहरू लाम लागेर दशरथ चन्दको मुखबाट निस्कियो - 'कामरेड्स, द प्रेसिडेन्ट ! स्यालुट' (कामरेड, अध्यक्ष पाल्नुभयो । लौ, सलामी दिनोस्) ।

-मामुली कदका, अत्यन्त साधारण पहिरनका आचार्य जीउमा बाँधिएको सिक्री-नेल छ्याङल्याङ छ्याङल्याङ बजाउँदै बाहिरी इँटा भर्‌याङ उक्लिँदै माथिल्लो सिंढी आइपुग्नासाथ सबै कमरेडहरू लाम लागेर दशरथ चन्दको मुखबाट निस्कियो - 'कामरेड्स, द प्रेसिडेन्ट ! स्यालुट' ।

यो वाक्य निस्किनासाथ राजबन्दी सहयोगीहरूले त सलामी दिए दिए, दूधजत्तिकै सेतो चकटीमाथि रवाफिलो लुगा लगाएर बसेका मुद्दा हेर्ने राणा हाकिम र कर्मचारी आदि पनि आ-आफ्नो ठाउँबाट जर्‌याकजुरुक उठे । आचार्यको उपस्थितिपछि सिंहदरबारभित्र क्रान्तिकारीहरूको मनोबल झन् सशक्त भयो । त्यहाँ रहेका राजबन्दीमध्ये गणेशमान सिंह, गंगालाल, हरिकृष्ण श्रेष्ठ, पुष्करनाथ उप्रेती आदिले त आफ्नो पार्टी अध्यक्षलाई पहिलो पटक देखेका थिए ।'

प्रत्यक्षदर्शी हरिकृष्ण श्रेष्ठले यो घटना २०६३ सालमा पंक्तिकारलाई सुनाएका थिए । 'सबै राजनेताहरूको जस्तै उनका पनि बैरी र निन्दक थिए तर कठोरतम आलोचकहरू पनि उनका वेदागी चरित्र र चोखो इमानदारितालाई इन्कार गर्न सक्तैनथे । नेपाली राजनीतिका यी घागडान व्यक्ति, 'ज्यूँदा सहिद' राजनीतिक दृष्टिबाट एक विलक्षण व्यक्ति र आफू नै एक संस्थासरह रहेका व्यक्तित्व थिए ।' (ज्यूँदा सहिदहरू पृष्ठ ६)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.