कथा भन्ने शैली

कथा भन्ने शैली

'तरकारीवाली' कुसुम श्रेष्ठ र कञ्चन शर्मा रेग्मीको अन्तर्वार्ता अघिल्लो दुई हप्ता विभिन्न सामाजिक सञ्जालमा छाइरह्यो, अधिकांश प्रतिक्रिया नकारात्मक थिए । कञ्चनको अन्तर्वार्ताले सुरुमा सहानुभूति पाए पनि सम्बन्धित अर्को पक्षको कुरा आउनासाथ आक्रोश बेहोर्नुपर्‌यो ।

अञ्जानमा भएको त्रुटिमा सुमन खरेलले लगत्तै अर्को एपिसोडमा 'ईश्वरसरहका आफ्ना दर्शकसँग माफी' मागे । टेलिभिजन कार्यक्रमका १० फरमेटमध्ये एक अन्तर्वार्ता फरमेटमा कथाको स्रोत स्वयं अन्तर्वार्ता लिने व्यक्ति हुन्छ । तयारी जति राम्रो हुन सक्यो अन्तर्वार्ता त्यति प्रभावकारी हुन्छ । अन्तर्वार्ताअघि कञ्चनका श्रीमान्/परिवारलाई खोज्न आवश्यक नठानेको त्रुटिबाहेक खरेलको प्रश्न र कञ्चनको उत्तरले कञ्चनका पतिको प्रतिक्रिया नआउन्जेलसम्म दर्शकको मन छोएकै थियो तर कुसुमको अन्तर्वार्ताले सामाजिक सञ्जालमा धरै नकारात्मक प्रतिक्रिया बेहोर्नु पर्‌यो ।

डोकोमा तरकारी बोकेको कुसुमका दुई तस्बिर नेपालीलगायत केही हिन्दी, पाकिस्तानी तथा बीबीसीसम्मका वेबपोर्टलहरूमा चर्चित भयो, तरकारीवाली ट्रेन्ड नै चल्यो । यसै क्रममा नेपाल टेलिभिजनले उनको अन्तर्वार्ता गर्ने बाजी मार्‌यो । ठीकै पनि हो, अन्तर्वार्ताबाट चर्चामा रहेका व्यक्तिको विचार, दृष्टिकोण आदिमार्फत उसलाई अझ बढी बुझ्न सजिलो हुन्छ ।

यसबाहेक आफ्नो बुद्धि तथा पौरखले कुनै उपलब्धि हासिल गरेकाहरूलाई अन्तर्वार्तामा बोलाएर, उनीहरूका प्रेरणादायी कथा दर्शकसमक्ष प्रस्तुत गर्ने काम पनि हुन्छ । कुसुमको हकमा भने सामाजिक सञ्जालहरूको चर्चाबाहेक आफ्नो कथा दर्शकसमक्ष पुर्‌याउन टेलिभिजनमै निम्त्याउनुपर्ने कुनै पौरख वा उपलब्धि उनले हासिल गरेकी थिइनन् । तर पनि करिब आधा घन्टाको आफ्नो 'एअरटाइम' कुसुमका लागि खर्च गर्ने निधो नेपाल टेलिभिजनले गर्‌यो ।

अपवादबाहेक नेपाली टेलिभिजनहरूमा अधिकांश दुई प्रकारले अन्तर्वार्ता गर्ने गरेको देखिन्छ । नेता वा राजनीतिज्ञ, सरकारी कर्मचारीहरूसँग 'कन्फ्रन्टेसनल एप्रोच'मा र कुनै उल्लेखनीय उपलब्धि हासिल गरेका गैरराजनीतिक व्यक्तिसँग 'कन्सपिरेसी एप्रोच'बाट । 'कन्सपिरेसी एप्रोच'मा अन्तर्वार्तामा आउने व्यक्तिलाई सोधिने प्रश्नहरू पहिले नै उपलब्ध गराइन्छ, उस्तै परे उत्तर सिकाइन्छ पनि । यस्तो अन्तर्वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन्छ ।

कुसुमसँग गरिएको अन्तर्वार्ता पनि 'कन्सपिरेसी एप्रोच'कै जस्तो लाग्थ्यो तर चुक पहिलो प्रश्नबाटै भयो, उनलाई सोधियो- आज एकाएक एउटा महिला, बहिनी तपाईं क्याम्पस पढ्नुहुन्छ कसरी चर्चामा आउनुभयो ? (जब कि दुईवटा फोटो सामाजिक सञ्जालमा चर्चित भएकै कारण उनलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो) । त्यस्तै केही अरू प्रश्न पनि सोधिए- नसोधी फेसबुकमा एकाएक (तस्बिर) हाल्नुको अर्थ के होला ? (यसको उत्तर कुसुमले कसरी दिने ? किनकि उनले आफ्नो फोटो अपलोड गरेको हैन) तपाईंको के देखेर तपाईंलाई राम्री भनेको होला ? (अप्ठेरो लाग्ने खालका यस्ता प्रश्न उनलाई पटकपटक सोधियो) 'तपाईंको दाँत राम्रो कि नाक राम्रो, कि मुख राम्रो, कुन चैं पक्ष राम्रो ? ' भनेर घरिघरि सोधियो, उनलाई असहज लागेको प्रस्टै देखिन्थ्यो ।

त्यस्तै उनको ठेगाना सोध्ने क्रममा मुगलिन र फिस्लिङमा पनि प्रश्नकर्ता धेरै बेर अल्झिए । अन्तर्वार्तामा उत्तर दिने व्यक्ति बोल्न नसकेपछि प्रश्न गर्ने व्यक्ति नै धेरै बोल्नुपर्ने बाध्यता आइपर्छ र धेरै बोल्दा चाहिने÷नचाहिने सबै बोलिन्छ, सोधिन्छ । राष्ट्रिय प्रसारणको आधा घन्टाको त्यो समय जसरी भए पनि भर्नुपर्ने भएपछि कुसुमलाई पटकपटक गीतसमेत गाउन भनियो, उनले त्यो पनि अस्वीकार गरिन् तर प्रश्नकर्ताले निकै बेर अड्डी लिइरहे गीत गाउनैपर्छ भनेर । फेरि सोधियो- अब हरियै लुगा, यस्तै लुगा लाउनुहुन्छ कि नचिनिने अर्को लुगा पनि लाउनुहुन्छ ? (अर्को लुगा लगाउँदैमा मान्छे नचिनिने हुन्छ ? ) अन्त्यमा फेसबुकबाट चर्चित भएकोमा कुसुमलाई 'धेरै धन्यवाद' दिइन्छ । (बधाई दिनुपर्ने हैन र ? )

अब यहाँ प्रश्न आउँछ... त्यस्ता प्रश्नमार्फत कुसुमबाट के वा कस्तो सन्देश लक्षित दर्शकसमक्ष पुर्‌याउन खोजिएको थियो ? के कुसुमको कथा भन्नलाई अन्तर्वार्ता नै सर्वोचित फरमेट थियो ? भन्नै परेन, अन्तर्वार्ता उपयुक्त फरमेट प्रमाणित भएन । सामाजिक सञ्जालहरूमा अभिव्यक्त भावनाहरूले जोडदार रूपमा त्यस्तै इंगित गरे । उनलाई गरिएका प्रश्न त रुचाइएनन् नै, स्वयं प्रश्नकर्ताको शैली पनि नरुचाइएको छताछुल्ल भयो ।

के अन्तर्वार्ताबाहेकको फरमेटबाट कुसुमको कथा भन्न सकिन्नथ्यो ? जरुर सकिन्थ्यो, कुसुमको गाउँ वा उनले तरकारी बोकेको पुल वा उनको घरमै पनि पुग्न सकिन्थ्यो । आफ्नै परिवेशमा रहेर कथा भन्न पाउँदा उनलाई पनि सहज हुन्थ्यो र सटिक कुराहरू आउन सक्थ्यो । अथवा भनौं, कुसुमको कथा भन्न अन्य फरमेटहरू प्रभावकारी हुन सक्थे । तर, त्यसका लागि स्टुडियोबाहिर निस्कनुपर्ने हुन्थ्यो । वास्तवमा पात्रअनुसार उपयुक्त फरमेट छनोट नगरिएकाले नै उक्त अन्तर्वार्ता ठट्टा बन्न पुग्यो ।

वास्तविक होऊन वा काल्पनिक, टेलिभिजनले कथाहरू नै पस्कने हो । सोच्दै नसोचेको यथार्थदेखि असीम कल्पनाको दुनियाँमा यसले भुलाउन सक्छ । आममानवीय दिनचर्याभन्दा फरक वास्तविक वा काल्पनिक त्यस्ता कथा एवं घटनाहरू जुन उनीहरूका जीवनमा सामान्यतया घट्दैन वा विरलैमात्र घट्छ, टेलिभिजनमा बढी हेर्ने गरिन्छ । जस्तो 'हु वान्ट्स टु बी अ मिलेनियर ? ' सहभागीले उक्त 'गेम सो'मा आफ्नो बुद्धि प्रयोग गरेर केही घन्टामै करोड रुपैयाँसम्म जित्नसक्छ जुन उसले आफ्नो वास्तविक जीवनमा कमाउनु परेको भए वर्षौं लाग्न सक्थ्यो वा कमाउनै सक्दैनथ्यो ।

आफूजस्तै 'मिडिल क्लास'लाई प्रतिनिधत्व गर्ने एक दर्शक करोडपति बन्दै गरेको देख्दा त्यस्ता करोडौं दर्शकले आफूलाई उक्त सोसँग जोडेका हुन्छन्, उनीहरू वास्तवमा सँगसँगै खेलिरहेका पनि हुन्छन्, घरमा बसेर टीभी हेर्दै । यही हो टेलिभिजनको जादु । यो जादु त्यतिखेर बढी प्रभावकारी हुन्छ जब देश, काल, परिस्थितिअनुसार दर्शकको चेतनास्तर, उनीहरूका प्राथमिकता, आनीबानी, रुचि, दिनचर्या बुझेर उचित फरमेटमा कथाहरू प्रस्तुत गरिन्छ ।

बीबीसीका अनेकौं च्यानललाई वर्षौंदेखि डकुमेन्ट्री तथा ड्रामाहरू उपलब्ध गराउँदै आएको बेलायत एडिनबर्गस्थित बोना ब्रोडकास्टिङका प्रमुख तथा टेलिभिजन प्रोग्रामिङ-फ्याक्ट्स एन्ड फरमेट् विज्ञ तुरान अलीका अनुसार दर्शकलाई त्यस्ता घटनाक्रम पुनरावृत्ति भएको कार्यक्रममा खासै रुचि रहँदैन जुन उनीहरूकै जीवनमा दिनहुँ घट्ने गर्छ, त्यसको प्रस्तुति रचनात्मक भएन भने ।

कार्यक्रमको सफलता चाहने हो भने केही नयाँ दिनैपर्छ । दर्शकलाई उसको चेतनाको पहिलो घेराबाट माथि उठाएर दोस्रो घेरासम्म लैजान सक्नुपर्छ जहाँ उसले त्यस्तो नयाँ कुरा थाहा पाउँछ जसका बारेमा उसलाई कार्यक्रम हेर्ने दिनसम्म थाहा थिएन तर उसले मानेर बसेको थियो कि यस्तो हुनसक्छ भनेर... तर दोस्रो घेराभन्दा पनि माथिको अवस्था भनेको- दर्शकलाई थाहा नभएको विषयका बारेमा थाहा नै नभएको अवस्था, त्यसैले दोस्रो घेराभन्दा पनि माथिको जानकारी दर्शकलाई दिन खोजियो भने त्यो त्यति सजिलै स्वीकार्य नहुन सक्छ वा भनौं उक्त कार्यक्रमले दर्शक नपाउन सक्छ ।

त्यसैले कार्यक्रमको फरमेटअनुसार पहिलो घेराभन्दा निकै माथि दोस्रो घेरा नजिक पुग्न खोज्ने खालका कार्यक्रमहरू रुचिकर हुन सक्छन् । त्यसका लागि कार्यक्रमको विषय, त्यसले स्थापना गरेको मूल प्रश्न र त्यो प्रश्नको उत्तरले माग गर्ने उचित फरमेट र ती फरमेटका 'सोर्स अफ द स्टोरी'का बारेमा स्पष्ट हुन आवश्यक छ ।

प्रायः सबै नेपाली टेलिभिजनमा केही निश्चितबाहेक नयाँ फरमेटका कार्यक्रम विरलैमात्र देख्न पाइन्छ । इन्टरभ्यु, ड्रामा, म्यागेजिन (सूचना, संगीत, स्वास्थ्य, जीवनशैली, फेसन, खेलकुद इत्यादि) जस्ता फरमेटमा मात्र कार्यक्रम निर्माण गर्दै आएको पाइन्छ । किन कुनै विषयमा डक्युमेन्ट्री (डक्युमेन्ट्री विभिन्न फरमेटका हुन्छन्, यो आफैंमा फरमेट भने हैन) नै बन्नुपर्छ ? किन कुनै विषयमा ड्रामा नै बन्नुपर्छ वा किन कुनै विषयमा अन्तर्वार्तामात्रै आवश्यक छ ? भन्ने कुराको उत्तरमा स्वयं सम्बन्धित कार्यक्रम निर्माता/निर्देशकहरू स्पष्ट हुन नसकेको देखिन्छ, जस्तो कि कुसुमको अन्तर्वार्ता ।

टेलिभिजन प्रोग्रामिङका १० कार्यक्रम फरमेट र ती फरमेटको कथा वा तर्कको स्रोत के हो ?

१. म्यागजिन फरमेट जहाँ प्रस्तोताले विभिन्न प्रसारण सामग्रीबीच पुलको काम गर्छ । एकपछि अर्को भिडियो सामग्रीको बीचमा बोल्ने कुराले उक्त कार्यक्रममा समावेश गरिएका भिडियो सामग्रीका बारेमा स्पष्ट पार्छ कि किन आज यी सामग्रीहरू कार्यक्रममा समावेश गरिए भनेर ।

२. सम्पादन नगरिएका प्रत्यक्ष घटना जहाँ प्रत्यक्ष प्रसारण गरिएका घटनाहरू नै कथाका स्रोत हुने गर्छन् ।

३. रिपोर्ट जहाँ अनुसन्धान र खोजबाट दर्शकलाई सूचित गरिन्छ । एउटा राम्रो रिपोर्टरको कथाले दर्शकलाई रिपोर्टको अन्त्यसम्म बाँधिराख्न सक्छ भने कमजोर रिपोर्टरले दर्शकलाई अति नै धेरै विवरणसहितको साधारण कथामात्र दिने गर्छ ।

४. मोन्टाज जहाँ सम्पादित दृश्यहरूले नै कथा भन्छन् । रेकर्ड गरिएको भिडियोलाई सम्पादन गरिएबमोजिम नै कथा स्पष्ट हुन्छ । त्यसैले तुलनात्मक रूपमा एउटा सशक्त मोन्टाजका लागि समय र मेहनत बढी लाग्नसक्छ ।

५. गेम फरमेट । केही रोमाञ्चक 'गेम सो'ले अन्तिमसम्म कौतूहल कायम राख्छ भने केही 'गेम सो' परिणाम थाहा पाउन सकिने खालका सुस्त हुने गर्छन् ।

६. अन्तर्वार्ता फरमेट । सटिक प्रश्नबाट कहिलेकाहीँ पहिला कहिल्यै थाहा नभएको उत्कष्ट कथाहरू अगाडि ल्याउन सकिन्छ । त्यस्तै कमजोर प्रश्नले राम्रो कथा अगाडि ल्याउन सक्दैन ।

७. टेस्टिमोनी फरमेट । टेस्टिमोनीको शक्ति भनेकै टेस्टिमोनी दिने व्यक्तिको वाकपटुता हो । राम्रो बोल्न सकेको खण्डमा नै प्रभावकारी कथा निस्कन सक्छ ।

८. ड्रामा फरमेट । कुनै पनि ड्रामा सशक्त बन्ने पहिलो सर्त त्यसको प्रभावकारी कथा र त्यसलाई जीवन्त प्रस्तुत गर्नसक्ने कलाकारहरूको क्षमता हो । एउटा सशक्त कथालाई विभिन्न कलाकारको अभिनयबाट प्रस्तुत गर्नुपर्ने यो विधामा विभिन्न चरित्रमा काम गर्ने कलाकारसँग उत्कृष्ट काम लिन चुनौतीपूर्ण भए पनि सबैले राम्रो काम गरेको खण्डमा यो जतिको सशक्त माध्यम अरू हुन सक्दैन ।

९. डिस्कसन फरमेट । छलफलको स्तरबाट नै कथाको स्तर निर्धारण हुन्छ । बहसमा भाग लिने मानिसहरू सम्बन्धित विषयमा पोख्त भएमा राम्रो समाधान निस्कनसक्छ ।

१०. डेमोन्स्ट्रेसन फरमेट । जहिले पनि सबैका लागि रुचिपूर्ण कथा निस्कन सक्दैन । एउटा राम्रो प्रस्तोता वा डेमोन्सट्रेटरले उत्कृष्ट कथाका लागि चाहिने थप आवश्यक तत्वहरू पनि समावेश गर्नसक्छ ।

सुरुका पाँच फरमेटलाई आवरण फरमेट भनिन्छ । ती फरमेटहरूले आफूमा अन्य फरमेटहरू पनि समावेश गर्न सक्छन । ६ देखि १० नम्बरका फरमेटहरू शुद्ध फरमेट हुन । यी फरमेटमा कु्नै अन्य तत्व मिसाउनासाथ यी फरमेट आफ्नो रुपमा रहदैनन । अब एकपल्ट ६ नम्बर फरमेट र त्यसको कथा वा तर्कको श्रोत हेर्नुहोस्, कुसुम श्रेष्ठको अन्तर्वार्तामा के कमजोरी भएको थियो बुझ्न गाह्रो हुन्न ।

(पौडेल एपी वान टिभीका निर्देशक हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.