नाम्छिहाङको खुसी
'पापा, मेरो यहाँको दाँत दुख्दै छ । म त खाना खादिनँ है आज' नाम्छिहाङले आँखाको आँसु पुछ्दै भने ।
मनहाङले सधैं छोरा नाम्छिहाङलाई ज्ञानी भनेर बोलाउने गर्छन् । उनले कहिलेकाहीँ छोराले गल्ती गरिहाले भने राम्रो मुखले सम्झाउने गर्थे । आमाले पिट्न खोजे आइन्दा ज्ञानी त्यसो गर्दैन भनेर हतारहतार रोक्थे । नाम्छिहाङ मावलमा जन्मेर मावलमै पढ्दै थिए । उनको पापासित कहिलेकाहीँमात्र भेटघाट हुने गथ्र्यो । त्यसैले पनि बाबुले उनलाई धेरै माया गर्थे । तर, यसपालिदेखि तीनजना काठमाडौं झरेका थिए ।
'सुन्नुस् न पापा, म त खाँदिनँ के भात । आज आमाले पिट्नु हुँदा किन तपाईंले हेरिरहनु भयो ? सधैं त ज्ञानीलाई केही नगर है भन्दै रोक्नुहुन्थ्यो नि' उनले मन दुखाए ।
'ज्ञानी, सरी भन्छु म । अब तिमीले पनि त्यसो गर्दिनँ सरी छोरा भन न मामु । ज्ञानी, अब म सधैं आमाले भनेको मान्छु । समयमै गृहकार्य गर्छु भन' मनहाङले दुवैलाई सम्झाउन खोजेका थिए ।
नाम्छिहाङ एकोहोरो मन दुखाइ-दुखाइ रुँदै थिए । मनहाङले निकै सम्झाउनु पर्यो । उनले फेरि सम्झाए, 'ज्ञानी, मैले तिमीलाई कहिले कुटेको छु त ? मैले भनेको मान्ने कि नमान्ने ? '
'पापा, तपाईं त मलाई माया गर्नुहुन्छ नि । अब आमा कट्टी' नाम्छिहाङ फकिएन ।
'नाम्छिहाङ, मैले तिमीलाई राम्रो मुखले खुरुखुरु गृहकार्य गर्नु । भोलि मामाको बिहे खान गाईघाट जाँदैछौं । पछि भ्याइँदैन भनेकी थिएँ । मैले जति सम्झाए पनि भएन । अब तिमी पनि भनेको मान । म पनि पिट्दिनँ' आमाले काखमा लिँदै फकाउन खोजिन् ।
उनीहरू गफ गर्दै थिए । त्यहीबेला नजिकैको क्लिनिकमा एक महिला पाँच-छ बर्से छोरी च्यापेर हस्याङफस्याङ गर्दै आएको देखे । जाँडरक्सीले मातेर उनको लोग्नेले उनीहरूलाई खेदेछन् । भाग्दाभाग्दै छोरी लडिछन् । लड्दा ढुंगामा परेर छोरीको आँखाछेउमा चोट लागेछ । आमाछोरीको लुगामा रगतैरगत थियो ।
'लु, यहाँ हुँदैन । छिटो कान्ति बाल अस्पताल लैजानुस् ' डाक्टर पनि आत्तिए ।
अचानक उनी बेहोस भएर पछारिन् । त्यसपछि मनहाङले हतारहतार एम्बुलेन्स झिकाएर अस्पताल लगे ।
'आमा, आमा, पापा किन जानुभएको ? उनीहरू हाम्रो को हुन् ? ' नाम्छिहाङले जान्न खोजे ।
'नाम्छिहाङ बाबु, हामीले यस्तो अवस्थामा आफन्त नभए पनि सहयोग गर्नुपर्छ । टुलुटुलु हेरेर बस्नु हुँदैन' आमाले बुझाइन् ।
मनहाङले आफूखुसीले उनीहरूलाई अस्पताल लगेका थिए । धनी नभए पनि मनकारी थिए । उनी अप्ठेरोमा परेकालाई सकेको मद्दत गर्थे । एक्लै केही गर्न सकिँदैन । सबैलाई सहयोग चाहिन्छ भन्ने गर्थे । नाम्छिहाङ आमासँग बोल्न थालेको थियो । झन्डै डेढ घन्टापछि मनहाङ घरमा आइपुगे । उनले अस्पतालमा बिरामीका आफन्तहरू आइपुगेको हुँदा छिट्टै फर्किएको कुरा बताए ।
'पापा, तपाईं कहिल्यै जाँडरक्सी खानु हुन्न है ! त्यो अंकलजस्तो झगडा पनि गर्नु हुन्न नि ' नाम्छिहाङले पापालाई भने ।
'हो नि नानी ' मनहाङ फुरुङ्ङ भए ।
'देख्यौ त तिम्रो पापा कति ज्ञानी हुनुहुन्छ । तिमीलाई सधैं मेरो ज्ञानी भनेर बोलाउनु हुन्छ । अब तिमी पनि साँच्चिकै ज्ञानी हुनुपर्छ । मैले भनेको मान्ने कि नमान्ने ? ' आमाले सम्झाउन खोजे ।
'छोरालाई मात्रै के भन्छ्यौ । मामुले पनि त ज्ञानी हुनु पर्यो नि । नानीहरूलाई कहिल्यै कुट्नु हुन्न । आमाबाबु भनेर मात्र हुँदैन । कानुन लाग्छ । कारबाहीमा परिन्छ' पापाले तत्कालै भने ।
'पापा, कानुन अनि कारबाही भनेको के हो नि ? मैले त बुझिनँ नि' नाम्छिहाङ छक्क परे ।
'ज्ञानी, कानुन भनेको देशको नियम हो । यो काम गर्न हुन्छ । यस्ता काम गर्न हुन्न भनी नियम बनाइएको हुन्छ । नराम्रो काम गर्नेलाई कारबाही हुन्छ भन्ने देशको नियम हो । झैंझगडा गर्ने, अर्काको सामान लैजाने जस्तो नराम्रो काम गर्नेलाई प्रहरीले समातेर लैजानु पनि कारबाही हो ।' नामहाङले बुझाउन खोजे ।
'आमालाई लिन प्रहरी मामा बोलाऔं है त' उनले छोरालाई जिस्काए ।
'नाइँ नबोलाऔं । म तपाईंहरूले भनेको सधैं मान्छु । अनि आमाले मलाई केही गर्नु हुन्न' नाम्छिहाङ पापाको काखमा लुटपुटिए ।
'ज्ञानी, सधैं पहिले आफ्नो काम गर्नू । त्यसपछि मात्र खेल्नू नि' मनहाङले सम्झाए ।
'हुन्छ पापा, म तपाईंहरूले भनेको मान्छु । आज त टाउको दुखेकोले पढ्ने मनै थिएन । साथीहरूसित बसेको थिएँ । आमा आइपुगिहाल्नु भएछ ।' नाम्छिहाङले भने ।
'बाबु, मैले भनेको ठाउँमा घुमाउन लगेकी छु कि छुइनँ ? ' आमाले सोधिन् ।
'हजुर, तपार्इंले लैजानु भएको छ' नाम्छिहाङले जवाफ दिए ।
'भनेको खेलौना र खानेकुरा किन्दिएकी छु कि छुइनँ ? ' फेरि आमाले सोधिन् ।
'अँ, किनिदिनु भएको छ नि ' नाम्छिहाङ हाँसे ।
आमा र नाम्छिहाङ मीठो-मीठो कुराकानीमा रमाउन थालेका थिए । बालबच्चाको छिट्टै आमासित झ्याम्मिने बानी देखेर मनहाङ छक्क परे । नाम्छिहाङले खुसी हुँदै भने, 'म सधैं असल हुने कोसिस गर्छु । म आमा-पापा जस्तै छु । यी ऐना हेर्नुस् त ।'
नाम्छिहाङले आमा-पापा दुवैलाई आफूतिर तानेर मेरो आमा, मेरो पापा भने । उनले आमा र पापा दुवैलाई पालैपालो म्वाइँ खाए । छिट्टै झ्याम्मिने बालकहरूको बानी देखेर आमा निकै खुसी भइन् । उनले पछुताउँदै नाम्छिहाङलाई गम्लंग अँगालो हाले । खुसीले उनको आँखाबाट तपतप आँसुको ढिका खसिरहेको थियो ।