देखे–भोगेकै चरित्र सिनेमामा ल्याउँछु
‘पुरानो डुंगा’ कस्तो सिनेमा हो ?
माझी परिवारका दाजुभाइको सानो कथामा बुनिएको सिनेमा हो । दाजु र भाइको सपना फरक छ । भाइ सहरसँग आकर्षित छ, दाइ परम्परागत पेशा अँगालेरै जीविकोपार्जन गरिरहेको हुन्छ । तर, उनीहरूको सोचाइको द्वन्द्वले ल्याउने समस्याले सिनेमाको कथा अगाडि बढाउँछ । जनराको हिसाबले ‘फ्यामिली ड्रामा कमेडी’ हो ।
यसमा पनि तपाईंले सहर र गाउँको द्वन्द्वलाई नै पछ्याउनुभयो होइन ?
म गाउँको कथा छान्छु । गाउँ भने कथालाई पछ्याइरहेको हुन्छ । त्यसैले चरित्रलाई पछ्याउँदै जाँदा सहर पनि आउँदोरहेछ ।
तपाईंको सिनेमामा सहरलाई ‘भिलेन’का रूपमा मात्रै किन प्रस्तुत गरिन्छ ?
मेरो भोगाइमा सहर ‘भिलेन’ नै हो । गाउँबाट सहर आउनेबित्तिकै संघर्ष गर्नुपर्छ, यहाँको जीवनशैलीसँग ‘एडजस्ट’ हुन । अर्कातिर गाउँमा केही फट्याइँ गर्नेजस्तो मानिस भए पनि इमान्दारिता देखिन्छ । विश्वास गर्न सकिन्छ । तर, सहरमा त्यस्तो नहुने, विश्वास गर्न नसकिने ।
सहरको मतलब ‘बजार’सँग पनि तपाईं असन्तुष्ट हो ?
मैंले समातेको व्यावसायिक धार ‘बजार’ले लखेटेको धार हो । यसमा काम गर्दा मेरो ध्यान राम्रो काम गरेर प्राप्त हुने सन्तुष्टिमा भन्दा सिनेमाको व्यावसायिक सफलतामा जान्छ । पूँजीका कारण मैंले आफ्नो सिर्जनामा सम्झौता गरिरहनुपरेको हुन्छ । यसो गर्नु मेरो कमजोरी होला तर अहिले सिक्दैछु । भविष्यमा परिपक्व भएपछि आफैं सन्तुष्ट हुने काम गर्ने योजना छ । तर, त्यसअघि त यसरी नै बजारले लखेटिरहेकै हुन्छ । त्यसकै असन्तुष्टि पनि कतै न कतै त पोखिन्छ ।
तपाईंका सिनेमामा सीमान्त समुदायका कथा र चरित्र नै आउनुको सामाजिक–राजनीतिक नियत के हो ?
मैंले गरेको काममा प्रायः जनजाति समुदायको ‘स्टोरी’ आएको कारण ‘तँ बढी जातिवादी भइस्’ भन्ने आरोप पनि आइरहेकै छ । तर, गर्ने के त ? मैंले मेरो समुदायभित्र जे कथा देखें, जे संस्कार देखें, जे मुद्दा देखें, त्यही नै म गर्न सक्छु । त्यसैमा म सौन्दर्य पनि देख्छु । तर, त्यसलाई कति सन्तुलित पार्ने भन्नेमा चाहिँ म सचेत भइरहेकै हुन्छु । हिजो सिनेमा, हिरो, हिरोइन भनेको यस्तो हो, हुनुपर्छ भन्ने ‘फर्मुला’ थियो, जुन बलिउडबाट बढी प्रभावित थियो । चार गीत, आठ फाइटवाला संरचनामै सिनेमा बनाइनुपर्छ भन्ने सोच थियो । प्रविधिको विकास र विश्वव्यापीकरणका कारण सिनेमाको ‘मेकिङ’मा आइरहेको परिवर्तन दर्शकले सहजै महशुस गरिरहेका हुन्छन् । त्यसैले कति साथीहरूले ‘मेकिङ’मा परिवर्तनको प्रयत्न पनि गरिरहनुभएको छ । हामीचाहिँ बीचमा छौं । ‘मेकिङ’मा परिवर्तन र व्यावसायिक सफलता लागि फरक कथा खोज्दै जाँदा सीमान्तकृत समुदायका कथा आएका हुन् ।
‘कमेडी जनरा’लाई नै निरन्तरता दिनुभएको छ, फरकचाहिँ के छ ‘पुरानो डुंगा’मा ?
भविष्यमा परिपक्व भएपछि आफ्नै मन छुने काम गर्ने जुन योजनामा छु, त्यसैलाई हुने कथा हो यो खासमा । तर, मैंले त्यति धैर्य गर्न सकिनँ, त्यसैले व्यावसायिक बनाएको हुँ । तथापि, यसमा मैंले आफ्नो सोच थोरै प्रयोग गरेको छु । ‘कबड्डी’का चरित्र र घटना जसरी मनोरञ्जनात्मक कोणबाट निर्माण गरिएको थियो, योचाहिँ त्यस्तो छैन । यसमा सामाजिक संवेदना उत्तिकै आएको छ । दुःख र उदासिनताको कथा पनि छ । खालि, केही चरित्र हास्य भएका कारण यसको जनरा कमेडी भएको हो । नत्र त यो फ्यामिली ड्रामा हो ।
तपाईंले प्रयोग गर्ने ‘कमेडी’को स्रोतचाहिँ के हो ?
मेरा सिनेमाका चरित्रहरूको कुनै न कुनै स्रोत हुन्छ । मैंले गाउँघरमा देखे, भोगेकै चरित्र त्यहाँ आउँछन् । तिनलाई पछ्याउँदै जाँदा ‘कमेडी’ हुँदोरहेछ ।
तपाईंको कलात्मक सोच प्रयोग हुँदा दर्शक अलमलिने सम्भावना पनि होला नि त ?
त्यस्तो हुँदैन । यसमा मैंले जतिसक्दो साधारण तरिकाले काम गर्न खोजेको छु । पछि मैंले बजारभन्दा पर रहेर कलात्मक सिनेमा नै बनाएँ भने पनि जटिल खालको बनाउँदिनँ । सिधै अर्थ नदिने र व्याख्या गरिनुपर्ने चिजले मलाइ छुँदैन र बुझ्दिनँ पनि । आफूलाई नछुने र नबुझिने काम म गर्दिनँ ।
प्रस्तुति : कला अनुरागी
प्रतिक्रिया दिनुहोस !