देखे–भोगेकै चरित्र सिनेमामा ल्याउँछु

देखे–भोगेकै चरित्र सिनेमामा ल्याउँछु

‘पुरानो डुंगा’ कस्तो सिनेमा हो ?
माझी परिवारका दाजुभाइको सानो कथामा बुनिएको सिनेमा हो । दाजु र भाइको सपना फरक छ । भाइ सहरसँग आकर्षित छ, दाइ परम्परागत पेशा अँगालेरै जीविकोपार्जन गरिरहेको हुन्छ । तर, उनीहरूको सोचाइको द्वन्द्वले ल्याउने समस्याले सिनेमाको कथा अगाडि बढाउँछ । जनराको हिसाबले ‘फ्यामिली ड्रामा कमेडी’ हो ।

यसमा पनि तपाईंले सहर र गाउँको द्वन्द्वलाई नै पछ्याउनुभयो होइन ?
म गाउँको कथा छान्छु । गाउँ भने कथालाई पछ्याइरहेको हुन्छ । त्यसैले चरित्रलाई पछ्याउँदै जाँदा सहर पनि आउँदोरहेछ ।

तपाईंको सिनेमामा सहरलाई ‘भिलेन’का रूपमा मात्रै किन प्रस्तुत गरिन्छ ?
मेरो भोगाइमा सहर ‘भिलेन’ नै हो । गाउँबाट सहर आउनेबित्तिकै संघर्ष गर्नुपर्छ, यहाँको जीवनशैलीसँग ‘एडजस्ट’ हुन । अर्कातिर गाउँमा केही फट्याइँ गर्नेजस्तो मानिस भए पनि इमान्दारिता देखिन्छ । विश्वास गर्न सकिन्छ । तर, सहरमा त्यस्तो नहुने, विश्वास गर्न नसकिने ।

सहरको मतलब ‘बजार’सँग पनि तपाईं असन्तुष्ट हो ?
मैंले समातेको व्यावसायिक धार ‘बजार’ले लखेटेको धार हो । यसमा काम गर्दा मेरो ध्यान राम्रो काम गरेर प्राप्त हुने सन्तुष्टिमा भन्दा सिनेमाको व्यावसायिक सफलतामा जान्छ । पूँजीका कारण मैंले आफ्नो सिर्जनामा सम्झौता गरिरहनुपरेको हुन्छ । यसो गर्नु मेरो कमजोरी होला तर अहिले सिक्दैछु । भविष्यमा परिपक्व भएपछि आफैं सन्तुष्ट हुने काम गर्ने योजना छ । तर, त्यसअघि त यसरी नै बजारले लखेटिरहेकै हुन्छ । त्यसकै असन्तुष्टि पनि कतै न कतै त पोखिन्छ ।

तपाईंका सिनेमामा सीमान्त समुदायका कथा र चरित्र नै आउनुको सामाजिक–राजनीतिक नियत के हो ?
मैंले गरेको काममा प्रायः जनजाति समुदायको ‘स्टोरी’ आएको कारण ‘तँ बढी जातिवादी भइस्’ भन्ने आरोप पनि आइरहेकै छ । तर, गर्ने के त ? मैंले मेरो समुदायभित्र जे कथा देखें, जे संस्कार देखें, जे मुद्दा देखें, त्यही नै म गर्न सक्छु । त्यसैमा म सौन्दर्य पनि देख्छु । तर, त्यसलाई कति सन्तुलित पार्ने भन्नेमा चाहिँ म सचेत भइरहेकै हुन्छु । हिजो सिनेमा, हिरो, हिरोइन भनेको यस्तो हो, हुनुपर्छ भन्ने ‘फर्मुला’ थियो, जुन बलिउडबाट बढी प्रभावित थियो । चार गीत, आठ फाइटवाला संरचनामै सिनेमा बनाइनुपर्छ भन्ने सोच थियो । प्रविधिको विकास र विश्वव्यापीकरणका कारण सिनेमाको ‘मेकिङ’मा आइरहेको परिवर्तन दर्शकले सहजै महशुस गरिरहेका हुन्छन् । त्यसैले कति साथीहरूले ‘मेकिङ’मा परिवर्तनको प्रयत्न पनि गरिरहनुभएको छ । हामीचाहिँ बीचमा छौं । ‘मेकिङ’मा परिवर्तन र व्यावसायिक सफलता लागि फरक कथा खोज्दै जाँदा सीमान्तकृत समुदायका कथा आएका हुन् ।

‘कमेडी जनरा’लाई नै निरन्तरता दिनुभएको छ, फरकचाहिँ के छ ‘पुरानो डुंगा’मा ?
भविष्यमा परिपक्व भएपछि आफ्नै मन छुने काम गर्ने जुन योजनामा छु, त्यसैलाई हुने कथा हो यो खासमा । तर, मैंले त्यति धैर्य गर्न सकिनँ, त्यसैले व्यावसायिक बनाएको हुँ । तथापि, यसमा मैंले आफ्नो सोच थोरै प्रयोग गरेको छु । ‘कबड्डी’का चरित्र र घटना जसरी मनोरञ्जनात्मक कोणबाट निर्माण गरिएको थियो, योचाहिँ त्यस्तो छैन । यसमा सामाजिक संवेदना उत्तिकै आएको छ । दुःख र उदासिनताको कथा पनि छ । खालि, केही चरित्र हास्य भएका कारण यसको जनरा कमेडी भएको हो । नत्र त यो फ्यामिली ड्रामा हो ।

तपाईंले प्रयोग गर्ने ‘कमेडी’को स्रोतचाहिँ के हो ?
मेरा सिनेमाका चरित्रहरूको कुनै न कुनै स्रोत हुन्छ । मैंले गाउँघरमा देखे, भोगेकै चरित्र त्यहाँ आउँछन् । तिनलाई पछ्याउँदै जाँदा ‘कमेडी’ हुँदोरहेछ ।

तपाईंको कलात्मक सोच प्रयोग हुँदा दर्शक अलमलिने सम्भावना पनि होला नि त ?
त्यस्तो हुँदैन । यसमा मैंले जतिसक्दो साधारण तरिकाले काम गर्न खोजेको छु । पछि मैंले बजारभन्दा पर रहेर कलात्मक सिनेमा नै बनाएँ भने पनि जटिल खालको बनाउँदिनँ । सिधै अर्थ नदिने र व्याख्या गरिनुपर्ने चिजले मलाइ छुँदैन र बुझ्दिनँ पनि । आफूलाई नछुने र नबुझिने काम म गर्दिनँ ।

प्रस्तुति :  कला अनुरागी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.