उपराष्ट्रपति पुनले भने: नारायणगोपाल क्रान्तिकारी गायक
‘मेरो भूगोल त्यही नै हो जहाँ तिमी अटाउँछौ
मेरो जीवन त्यही नै हो जति तिमी कटाउँछौ’
चक्रपथस्थित नारायणगोपाल चोकमा आइतबार आयोजित कार्यक्रममा यो गीत सुनेपछि उपराष्ट्रपति नन्दबहादर पुनले स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यलाई ‘क्रान्तिकारी गायक’भन्दा फरक नपर्ने विचार व्यक्त गरे ।
नारायणगोपालले प्रेम, जीवन, जगत् एवं देशभक्ति भरिएको गीतमा स्वर बगाएर क्रान्ति गरेको पुनको भनाइ थियो। ‘नारायणगोपालले पाश्चात्य प्रभाव निस्तेज पार्न नेपाली संगीतमा नयाँ युग भित्र्याएका थिए । युग परिवर्तनको संघारमा उभिएका उनले प्रेम, जीवन, जगत्का गीतबाट बिगुल फुक्ने काम गरे ।’
नेपाल कला संस्कृति विकास केन्द्र र भ्वाइस अफ आर्ट एकेडेमीले आयोजना गरेको पुन प्रमुख अतिथिको रूपमा उपस्थित थिए । सो अवसरमा उनले नारायणगोपालका अजर अमर गीतहरूको सांगीतीक स्वरलिपि पुस्तक पनि विमोचन गरेका थिए । ‘यो पुस्तकको माध्यमबाट नारायणगोपालका गीतलाई अन्तर्राष्ट्रियकरण गर्न सजिलो हुनेछ’, उनले भने ।
नारायणगोपालले स्थापित गरेका गीतसंगीतको गुणलाई खस्किन नदिई नेपाली संगीतको विकास, संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको पनि पुनले बताए। ‘नारायणगोपालजस्ता राष्ट्रका सम्पत्तिलाई बचाइराख्न सबै तहबाट प्रयास गरिनुपर्छ’, उनले भने, ‘सरकारले पनि उनलाई सधैं उच्च स्थानमा राखोस्।’
कार्यक्रमस्थल सडक छेउमा भएकाले धूलोले छपक्क छोपेको थियो । तर उनको संगीतमा रमाउने चाहनेहरू घाम र धूलोको पर्वाह नगरी खचाखच भएर बसेका थिए । सो अवसरमा विभिन्न कलाकारले नारायणगोपालको सम्झनमा गीत गाए ।
गायिका संगीता राणा प्रधानले ‘लौ सुन म भन्छु मेरो राम कहानी’ बोलको गीत गाइन् । गायक सुरेश लामाले ‘चुमेर पानाभरि यति म लेखिदिन्छुु’ गाए । त्यसैगरी प्रज्ञा श्री विश्वकर्मा र निशान भट्टराईले ‘तिम्रो मनमा लुकेको कुरा’लगायतका गीतहरू प्रस्तुत गरे ।
नेपाल कला संस्कति विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक नवराज लामाले नारायणगोपालको स्मृति दिवस भव्य रूपले मनाउन चाहेको बताए । स्वरसम्राट्का गीतसंगीतहरू कुनै पनि कालखण्डमा विलय नहोस् भनेर पुस्तक तयार गरिएको उनले स्पष्ट पारे । पुस्तक संगीतका विद्यार्थीका लागि उपयोगी र संगीतको नोटेसन बुझ्ने संसारभरका मानिसले उनको गीत बजाउन गाउन सक्ने गरी नोटेसन समावेश गरिएको जानकारी दिए । ‘यसले नारायणगोपालका गीतलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्नुका साथै सम्मान पनि मिल्छ’, लामाले भने ।
कार्यक्रममा कालीप्रसाद रिजाल, तुलसी घिमिरे, उषा शेरचन, नगेन्द्र थापा, विश्वम्भर प्याकुरेल, संगीता राणा प्रधानलगायत लब्धप्रतिष्ठित कलाकारको उपस्थिति रहेको थियो । २०४७ साल मंसिर १९ गते नारायणगोपालले प्राण त्याग गरेका थिए ।