सुरक्षित भविष्यको खोजी

सुरक्षित भविष्यको खोजी

  • भारतको मणिपाल युनिभर्सिटीबाट बीडीएस (ब्याचलर्स इन डेन्टल सर्जरी) गरेकी डा. इला मैनाली दुई महिना वीर अस्पताल र दुई वर्ष पाटन अस्पतालमा काम गरिसकेपछि भदौ ०६७ मा कूटनीतिक सेवामा प्रवेश गरिन् ।
  • हाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत शाखा अधिकृत मकवानपुरकी अञ्जु सुनार सरकारी सेवामा आउनुअघि संयुक्त राष्ट्रसंघको एक परियोजनामा काम गर्थिन् ।
  • क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित ‘पे्रसिडो स्कुल’मा पढाएका महेश्वर त्रिपाठी नेपाल फर्किएर कूटनीति सेवाका लागि भिडे । ‘युलेन्स स्कुल फर इन्टरनेसनल ब्याकालरेट’ (आईबी) र प्रेसिडोलगायतमा आठ वर्षको शिक्षण पेशा अंगालेका त्रिपाठीलाई सरकारी सेवाले आकर्षित गर्‌यो ।
  • अमेरिकी विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेर त्यहाँ रहँदा पनि अन्तर्राष्ट्रिय उद्धार समिति र ट्रान्सपरेन्सी इन्टरनेसनलमा काम गरेकी अन्तरा सिंह नेपाल फर्किएर ०७१ मा शाखा अधिकृतका रूपमा परराष्ट्र सेवामा प्रवेश गरिन् ।
  • बेलायतबाट ‘ट्राभल, टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट’मा डिप्लोमा गरेका अर्घाखाँचीका यमराज पाण्डेले निजी नभई सरकारी क्षेत्र रोजे, जो हाल अर्थ मन्त्रालयमा कार्यरत छन् ।

उपरोक्त सूचीले नेपालमा सरकारी सेवातर्फ आकर्षण बढेको प्रस्ट चित्र देखाउँछ । यसलाई लोकसेवा आयोगका केन्द्र, क्षेत्र र अञ्चल कार्यालयहरूबाट विज्ञापन भएका पदका लागि परेका दरखास्त संख्याको बढ्दो ‘ग्राफ’ले थप पुष्टि गर्छ । आयोगका अनुसार आर्थिक वर्ष ०६७/६८ मा माग भएका विभिन्न पदमा परेका दरखास्त संख्या दुई लाख ५१ हजार ६ सय ५१ थियो । आव ०७१/७२ सम्म आइपुग्दा पा“च लाख ९९ हजार ६ सय ६८ पुगेको छ । पदको संख्यामा सामान्य वृद्धि भएका छन् तर दरखास्त दिनेको संख्या ह्वात्तै बढेको देखिन्छ । आयोगका सदस्य तथा पूर्वसचिव डा. गोविन्द कुसुम भन्छन्, ‘सरकारी क्षेत्रमा जागिर सुरक्षित हुने भएपछि नयाँ पुस्ता आकर्षित छ । उनीहरूमा राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावना पनि देख्न सकिन्छ ।’

चार कारण
सरकारी सेवामा आकर्षण बढ्नुमा मुख्य चार कारण देखिन्छन् । पहिलो, सुरक्षित जागिर अर्थात् सुरक्षित भविष्य । ‘सेवा, सुविधा, वृत्ति विकास र सुरक्षित आधार देखेपछि म सरकारी सेवातिर आकर्षित भए“,’ कास्कीका ओमप्रकाश बराल भन्छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट कार्यक्रम अधिकृतको जागिर छाडेर उनी कानुन मन्त्रालयअन्तर्गत महान्यायाधिवक्ताको कार्यालयमा काम गर्छन् । अर्थ मन्त्रालयकी शाखा अधिकृत विजया ढकाल सरकारी क्षेत्रमा जागिरको सुनिश्चितता र वृत्ति विकास हुने तर्क गर्छिन् ।

केही वर्षयता लोकसेवाको परीक्षा तयारी प्रशिक्षण गर्दै आएका नरेन प्रसाईं भन्छन्, ‘उपदान, निवृत्तिभरणजस्ता आर्थिक सुरक्षाको पाटो यसको आकर्षण हुन् ।’ इलामका चिरञ्जीवी बस्नेत सुरक्षा गार्डका रूपमा दुबई पुगेपछि ‘अलुबाट’ नामक अल्मुनियम कम्पनीमा ‘सुपरभाइजर’ बने । सरदर ९० हजार नेपाली रुपैयाँ तलब आउँथ्यो । पाँच वर्ष त्यहाँ बिताएर फर्किएका उनी अहिले गोश्वारा हुलाक कार्यालयमा सुब्बा छन् ।

दोस्रो कारण हो, पर्याप्त रोजगारी सिर्जना हुन नसक्नु । युवाको विदेश पलायनको मुख्य कारण नै यही हो । निजी क्षेत्रसँग तुलना गर्दा सरकारी रोजगारी सिर्जना बढी रहेको विज्ञहरू बताउँछन् । ‘निजी क्षेत्र अगाडि आउन सकेन । अवसर सरकारी सेवामा बढी देखियो,’ लोकसेवा आयोगका सदस्य डा. कुसुम भन्छन्, ‘अरू देशमा सरकारीभन्दा निजी क्षेत्र बलियो हुन्छ । नेपालमा त्यो अवस्था छैन । यहा“ निजीको कमजोर प्रदर्शनका कारण सरकारी क्षेत्र तुलनात्मक बलियो लाग्छ ।’

त्यसो त, निजी क्षेत्रको सेवा, सुविधा तुलनात्मक रूपमा राम्रो मानिन्छ । तर, सुरक्षित महशुस सरकारी क्षेत्रमै गर्ने गरिन्छ । अध्यागमन विभागका शाखा अधिकृत लक्ष्मी भट्टराई भन्छिन्, ‘निजी क्षेत्र कमजोर देखिँदा रोजगारी सिर्जनामा असर पुगेको छ ।’ सरकारी सेवामा आकर्षणको तेस्रो कारण हो, लोकसेवामा पनि आरक्षणको व्यवस्था ।

गृह मन्त्रालयकी शाखा अधिकृत कविता शर्माको भनाइमा समावेशीकरणले सरकारी सेवालाई थप बृहत् बनाएको छ । प्रशिक्षक कुमार तिमल्सिना भन्छन्, ‘यसको पुष्टी आठ वर्षयताको तथ्यांकले गर्छ । सरकारी सेवा विगतमा एउटा वर्गको जस्तो देखिन्थ्यो, अहिले सबैको भएको छ ।’ लोकसेवा आयोग समावेशी भएकै हो त ? आयोगकै सहसचिव लक्ष्मीविलास कोइरालाको दाबी छ, ‘सरकारले जम्मा पद संख्यामा केही प्रतिशत आरक्षण गरेर समावेशीकरणको अवधारणा ल्याएको छ, यसबाट विविधता व्यवस्थापन हुने हुँदा आकर्षण बढ्ने नै भयो ।’

20161205_114404

सेडेप नेपालका संयोजक माधव पाण्डे ०६३ सालबाट लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका छन् । उनका अनुसार त्यतिबेला खुल्ने सिटमा पास गर्ने संख्या कम थियो । लोकसेवा बाहुन, क्षत्रीको मात्रै रहेको भ्रम थियो । ‘तर, पछिल्लो समय त्यस्तो भ्रमलाई समावेशीकरण पद्धतिले चिर्न सफल भएको छ,’ उनी भन्छन् ।

चौथो कारण हो, लोकसेवाले प्रविधिलाई आत्मसात गर्नु । शाखा अधिकृत गोकर्ण उपाध्यायको भनाइमा यसले पनि सरकारी क्षेत्रलाई बृहत् बनाएको छ । केही वर्षयता आयोगले परीक्षा प्रणालीमा समयानुकूल सुधार गर्दै आएको छ । अनलाइन दरखास्तदेखि मर्यादित परीक्षा प्रणाली र वैज्ञानिक पाठ्यक्रम सरकारी सेवाप्रति युवाको आकर्षण बढाउन सहायक बनेको कतिपयको ठम्याइ छ ।

यातायात व्यवस्था विभागमा कार्यरत अधिकृत डा. टोकराज पाण्डे भन्छन्, ‘सरकारी सेवामा समयसापेक्ष सुधार पनि भएको छ । प्रतिस्पर्धात्मक परीक्षा प्रणालीले सरकारी सेवाप्रतिको आकर्षण बढाउनमा उल्लेख्य भूमिका निर्वाह गरेको छ ।’ अर्थ मन्त्रालयका उपसचिव डा. भीष्मकुमार भुसाल भने शिक्षित जनशक्ति बढ्दै गएको र योग्यता प्रणालीका कारण पनि सरकारी सेवामा आकर्षण बढ्दो देखिएको तर्क गर्छन् ।

कूटनीतिक सेवामा अझ बढी
सरकारी सेवाअन्तर्गत पनि कूटनीतिक क्षेत्रको आकर्षण अझ बढी छ । निजी क्षेत्रमा तलबी आकर्षणका पदमा रहेकाहरू पनि कूटनीतिमा जान मरिहत्ते गर्छन् । विदेशी मिसनमा बसेर काम गर्ने मात्र नभई विदेश सयर गर्न पाइने र उच्च सामाजिक हैसियत निर्माण पनि हुने ठानेर यस क्षेत्रप्रति आश बढेको हो ।
हंगेरीको बुडापेस्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर धनुषाका प्रतीक कार्की कूटनीतिक सेवामा आउनुअघि पुल्चोकस्थित ‘नेसनल ल कलेज’मा दुई वर्षदेखि अन्तर्राष्ट्रिय कानुन अध्यापन गर्थे । भन्छन्, ‘सम्मान, इज्जत र सामाजिक प्रतिष्ठा भएको सेवामा आकर्षण नहुने कुरा भएन नि ?’

आर्थिक भविष्य सुरक्षित हुने र बढी ‘एक्सपोजर’ पाउने भएपछि नयाँ पुस्तामा सरकारी सेवाप्रतिको आकर्षण बढ्दो देखिन्छ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलको भनाइमा यस सेवामा अन्तर्राष्ट्रियस्तरको ‘एक्स्पोजर’ पाइन्छ र युवाको आकर्षणको एक कारण पनि त्यही हो । उनका अनुसार सरकारी सेवाले युवालाई स्थापित हुन सहयोग गरेको छ । राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव रहेकी डा. इला मैनाली भन्छिन्, ‘कूटनीतिक क्षेत्र नेपालको अन्तर्राष्ट्रिय मुहार हो र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो ।’

परराष्ट्र सेवामा प्रवेश अगाडि घनश्याम भण्डारीले त्रिभुवन विश्वबिद्यालयको अंग्रेजी केन्द्रीय विभागमा पा“च वर्ष अध्यापन गरे । हाल उपसचिव रहेका उनी कूटनीतिक मूल्य प्रवद्र्धनमार्फत् मुलुकको सेवा गर्ने सोचले यता आकर्षित् भएका हुन् । सरकारी सेवाका अन्य क्षेत्र र संस्थानबाट पनि कूटनीतिक सेवामा आउने संख्या बढ्दो छ । त्यसैमध्येका हुन्, विराटनगरका सोमेश थापा ।

माघ ०६८ मा नागरिक उड्डयन प्राधिकरणमा प्रवेश गरेका उनी त्यहाँ सातौं तहका वरिष्ठ अधिकृत थिए । यस वर्ष परराष्ट्र मन्त्रालयका शाखा अधिकृत बने । भन्छन्, ‘नेपालमा उपलब्ध करिअरमध्ये सबैभन्दा अब्बल कूटनीतिक सेवा नै हो ।’ परराष्ट्रकी शाखा अधिकृत अन्तरा सिंहले कूटनीतिक सेवामा राम्रो करिअर देखिन् ।

त्यसभन्दा बढी उनलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको हित प्रवद्र्धनमा खड्किएको अभाव पूर्ति गर्न सकिन्छ कि भन्ने लाग्यो । सिंह भन्छिन्, ‘नेपालको भूपरिवेष्ठित हैसियत, जलसम्पदाको उपयोग, मानव अधिकारको मुद्दा, विकासमा लगानी, संक्रमणकालीन न्यायलगायतमा केही सहजीकरण गर्न सकिन्छ भन्ने लागेर यता आएकी हुँ ।’

शाखा अधिकृत ज्ञानबहादुर मगरको विचारमा निजी क्षेत्रको तनावपूर्ण कार्यवातावरणबाट मुक्ति र नीतिगत तहमा बसेर मुलुकलाई धेरथोर योगदान गर्न सकिने हुनाले सरकारी सेवातर्फ युवाको रुचि बढेको हो । मुलुकमा बारम्बार राजनीतिक परिवर्तन भए तर औद्योगिकरण सुरु नै भएन । रोजगारी सिर्जनामा निजी क्षेत्र कमजोर देखियो । ‘त्यसैले सार्वजनिक क्षेत्र भरपर्दो विकल्प देखियो । र, यसमा युवाको आकर्षण पनि बढ्यो,’ लोकसेवा आयोगका सदस्य डा. कुसुम भन्छन् ।

राष्ट्र सेवा गर्ने अवसर

Gopinath-mainali_2
गोपीनाथ मैनाली
सचिव, निर्वाचन आयोग
संस्थात्मक र विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढेका मानिसको आकर्षण विस्तारै निजामती सेवामा बढेको छ । कर्पोरेट क्षेत्रको दा“जोमा सरकारीमा अप्रत्यक्ष तलब छ, सुविधाहरू पनि । तालिम, अध्ययन, निवृत्तिभरण र उपदान पनि छन् । बैंकहरूमा अथवा निजी क्षेत्रमा गयो भने प्रत्यक्ष सुविधा हुन्छ । सरकारीमा राष्ट्रसेवा गर्ने मौका पनि पाउँछ व्यक्तिले ।

समाजमा स्थापित भएर समाजलाई केही योगदान पनि गर्ने अवसर मिलोस् भनेर कतिपय युवाले निजामती सेवाको खोजी गरेका हुन्छन् । व्यवस्थापन, अर्थशास्त्र, चिकित्साशास्त्रका ‘गोल्ड मेडलिस्ट’ समेत यता आएका छन् । निजामती प्रशासनको आकर्षण भनेको नेपालको जनजीवन बुझ्ने अवसर हो । कामको सिलसिलामा धेरै ठाउँमा हामी ‘मोबाइल’ हुन्छौं ।देशको र विदेशको जनजीवन बुझ्ने/बुझाउने सिक्ने/सिकाउने तथा एकप्रकार बौद्धिक पूँजी निर्माणमा सघाउँछ । यसकारण मान्छे आकर्षित भएका छन्, सरकारी सेवामा । 

(कुराकानीमा आधारित)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.