पत्रकारको स्वास्थ्य
पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले १४ मंसिरमा लेखेको फेसबुक स्टाटस अर्थपूर्ण थियो । लेखेका थिए, ‘केही यस्ता निर्णय हुन्छन्, जो समय घर्किसक्दा गरेपछि धेरै अर्थपूर्ण रहँदैनन्, तत्कालको सहानुभूति प्राप्त गर्न मात्र गरिन्छन् र दीर्घकालमा कुनै अर्थ रहँदैन । समयमै गर्न सक्दा जीवन रक्षाका लागि सहायक हुन सक्छन् तर पछि गर्दा कुनै अर्थ रहँदैन । सानो चुकले कालजयी हुने गौरवबाट वञ्चित हुन्छन् ।’
पत्रकार झाले सोही दिन प्रेस काउन्सिलले गरेको निर्णयलाई कटाक्ष गरेका थिए । २१ दिनको अन्तरमा निधन भएका पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त संयुक्त रूपमा दिने निर्णय थियो त्यो । न्यौपाने वर्ष दिनयता एनाप्लास्टिक एस्ट्रोसिटोमा नामक स्नायुसम्बन्धी रोगबाट पीडित थिए ।
मिर्गौलासम्बन्धी रोगबाट पीडित पत्नीको उपचारमा काठमाडौंको एक अस्पतालमा कुरुवा रहेका बोहराको पत्नीनजिकको शड्ढयामै सुतिरहेका बेला निधन भएको थियो । पत्नीको उपचार खर्च अभावमा छटपटाइरहेका बोहरा गीतकार पनि थिए । आफ्ना गीतहरूलाई एल्बमको रूप दिएर त्यसबाट हुने आम्दानी पत्नीको उपचारमा लगाउने उनको सोच जीवनकालमा सम्भव भएन ।
जीवित छँदै उनले अढाई लाखको पुरस्कार पाएका भए ठूलै राहत हुन्थ्यो । त्यति नै रकमबाट न्यौपानेको थप परीक्षण र उपचारमा सहयोगी सिद्ध हुन्थ्यो । विडम्बना, उनीहरू बाँचिरहेको भए पुरस्कार पाउने गुन्जायस थिएन । किनभने, त्यस्ता पुरस्कार कुनै राजनीतिक दल आवद्ध पत्रकारले मात्र पाउने निश्चितजस्तै छ ।
यी पंक्ति लेखिरहँदा ब्रिटिस गोर्खा सेनामा कार्यरत जगत नवोदितको सञ्चारकर्मी लक्षित एक कविता मनमस्तिष्कमा छ । उनले लेखेका थिए, ‘एक दिन पक्कै साथी ! सबैले श्रद्धा गर्ने तिम्रो शालिक, ठडिनेछ यो धर्तीको छातीमा ।’ न्यौपाने र बोहरालाई राज्यले दिएको सम्मान फगत अर्थहीन शालिक बन्यो ।
कोट्याउन खोजिएको विषय नेपाली पत्रकारको स्वास्थ्य हो ।
कुनै पत्रकार जटिल प्रकृतिको बिरामी परे ‘न्युज रुम’हरूमा सहयोगको आग्रहसहित ‘लिस्ट’ घुमाउने चलन अद्यापि छ । पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेको भनाइमा नेपाली पत्रकारिताले अझै आर्थिक रूपमा आकर्षक पेशाको आकार ग्रहण गरिनसकेका गतिला उदाहरण हुन् यी । ‘पत्रकारितामा ग्ल्यामर छ, सबै त्यसैका पछाडि दगुरेका छौं,’ उनी भन्छन्, ‘हाम्रो मुद्दा अझै पनि न्युनतम पारिश्रमिक कार्यान्वयनमा अडिएको छ ।’ अर्थात्, नेपाली सञ्चार अर्थतन्त्रको आकार सानो छ र पत्रकारले त्यही सीमिततामा अँचेटिनु परेको छ ।
पत्रकारको ‘कार्ड होल्ड’ गरेर दिनभर नेता, प्रहरी, सरकारी कार्यालयका कोठाचोटा चहार्ने ‘कार्यकर्ता पत्रकार’ ले पहुँचका आधारमा राज्यबाट सुविधा लिने अनि दिनरात सूचना र समाचारका लागि दौडिने ‘व्यावसायिक पत्रकार’ ले चाहिँ स्वास्थ्योपचारको अभाव खेप्नुपर्ने ?
२४ सै घण्टा समाचारको चिन्तामा रहने पत्रकारको स्वास्थ्यले कतिबेला नेटो काटिसकेको हुन्छ पत्तै नहुने । नियमित स्वास्थ्य परीक्षण स्वास्थ्यकर्मीमाझ बहसको विषय बन्नै सकेको छैन । त्यसबारे कुनै सञ्चारकर्मीलाई सोध्यो भने सोझो जवाफ आउँछ, ‘पैसा छैन ।’ पैसा हुनेहरूलाई पनि यो सरोकारको विषय होइन । किनभने, फजुल खर्चमै रमाउँछन् साथीभाइ ।
बिमाको पाटो त्यस्तै छ । राम्रो नाफा आर्जन गरिरहेका सञ्चारगृह सञ्चार उपकरणको बिमा गराउन दौडिइहाल्छन्, पत्रकारका नाममा हुने बिमाका लागि ‘सुको’ छुट्याउन तयार हु“दैनन् । आफूसँग कार्यरत पत्रकारले आफ्नै खल्तिबाट बेहोर्नु पर्छ, बिमाको प्रिमियम । सञ्चारगृहलाई त्यो विषयले टाउको दुखाउँदैन किनभने एउटा पत्रकार गए अर्को ‘सस्तो जनशक्ति’ भित्र्याउने पाइने मनोदशाबाट ग्रसित छन्, कुस्त कमाएकै प्रतिष्ठान पनि ।
प्रतिस्पर्धात्मक क्षमता बढाएर आफ्नो तलब आफैं निर्धारण गर्ने खुबी प्राप्त गर्न पत्रकारहरूले पनि सकेका छैनन् ।पत्रकारको स्वास्थ्य खर्चको अर्को पाटो पनि छ । राजनीतिक दलहरूसँग निकटस्थ पत्रकारले उपचार खर्चका नाममा राज्यबाट बर्सेनि रकम लिन्छन् । उनीहरूको सूची बर्सेनि दोहोरिन्छ पनि । अनि, अरूबेला तिनीहरू नै व्यावसायिकताका नाममा चर्का भाषण गर्छन् । राज्यले यसमा गम्भीरता लिएको पाइँदैन ।
पत्रकारको ‘कार्ड होल्ड’ गरेर दिनभर नेता, प्रहरी, सरकारी कार्यालयका कोठाचोटा चहार्ने ‘कार्यकर्ता पत्रकार’ ले पहुँचका आधारमा राज्यबाट सुविधा लिने अनि दिनरात सूचना र समाचारको लागि दौडिने ‘व्यावसायिक पत्रकार’ले चाहिँ स्वास्थ्योपचारको अभाव खेप्नुपर्ने विडम्बना यहाँ देखिन्छ । राज्यले यसमा उचित मापदण्ड बनाउन सकेको छैन ।
कुनै अमूक नेतालाई उपचार खर्च दिने औचित्यबेगरको सरकारी निर्णय पक्कै पनि हरेकजसो अखबारका ‘हट केक’ बन्छन् । पत्रकारहरूले आफ्नै पेशा दुषित बनाउँदै यसरी खर्च लिएको विषयमा चाहिँ हामीले ध्यान नदिएको कि नदिएजस्तो गरेको ? बुझिनसक्नु छ । पत्रकारिता एउटा त्यस्तो पेशा हो, जसमा समाजको दायित्वबोध जोडिएको हुन्छ । ‘
पैसा नै कमाउन त व्यापार गरे भइहाल्यो नि । किन पत्रकारिता गर्नु’ सहकर्मीहरूबीच आर्थिक असुरक्षा बढेको अनुभूति हुँदा यसै भनेर चित्त बुझाइन्छ । तर, वास्तविक जीवनमा एउटा पत्रकारलाई गम्भीर रोग लाग्यो भने उसले अनाहकमै मर्नुपर्ने तीतो यथार्थ हामी सबै सामु छ । पत्रकार महासंघले राजनीतिक दलको तावेदारी मात्रै गर्ने कि ‘व्यावसायिक पत्रकार’ को हित प्रवद्र्धनमा काम गर्ने ? वा पूर्वसभापति झाले भनेजस्तै समय घर्किसकेपछि निरर्थक सहानुभूति बाँड्ने ?
प्रतिक्रिया दिनुहोस !