नेता सुधार केन्द्र
अचेल कुनै चिया पसलमा पाइला टेक्नै हुँदैन । चिया पिउन बसेकाहरू चिया नै सर्किनेगरी भन्छन्, ‘नेताहरू नबिग्रिएका भए यो देश बनिहाल्थ्यो नि । नेताहरू बिग्रिएपछि कसको के लाग्छ र ?’ सडकमा हिँड्दै गरेकाहरू पनि त्यस्तै गुनासो पोख्छन्, ‘नेताहरू आफू त बिग्रिए–बिग्रिए, देशलाई पनि बिगारेरै छाडे ।’
सार्वजनिक प्रतीक्षालय, शौचालय, बिहे–बटुलो, भोज–भतेर, पाटी–पौवा, सिनेमा हल जहाँ गए पनि अचेल नेताहरू बिग्रिएका शिकायत गर्नेहरूको मात्रै लर्को भेटिन्छ । तसर्थ, जतासुकै गए पनि नेताहरू बिग्रिए भन्ने कुरा सुन्दा–सुन्दा मेरो कानमा गम्भीर समस्या उत्पन्न भएको छ र डाक्टरकहाँ धाउन थालेको केही दिन भएको छ ।
तर, नेताहरू बिग्रिएको कुरा सुन्दै र वाक्क–दिक्क हुँदै दिन कटाउनुभन्दा नेताहरूलाई सुधार्नेतिर मेरो मन तानिएको छ, अचेल । आखिर, एक बारको जिन्दगीमा कुनै पुण्य काम त गर्नुपर्यो नि । त्यसैले निकट समयपछि नै एउटा भव्य एवं शानदार ‘नेता सुधार केन्द्र’ खोल्ने टुंगो गरेको छु मैंले । सहर–बजारतिर लागुऔषध, मद्यपान, धूमपान आदिमा रमाएर जीवन ध्वस्त पार्नेहरूलाई त्यस्ता लतबाट छुटाउन थुप्रै सुधार केन्द्रहरू खुलेका छन् ।
र, सुधार केन्द्रमा बसेकाहरू सुध्रिएर फर्केका पनि छन् । आखिर, बिग्रिएका भनिएका नेताहरूलाई सुधार केन्द्रमा केही समय राख्दा उनीहरू नसुध्रिएलान् भन्ने के छ र ? उनीहरूलाई सुधार केन्द्रमा राख्ने र सुध्रिएपछि जनताको सेवामा दत्त–चित्त भएर लाग्ने कार्यमा लगाउन सुधार केन्द्रले अहम् भूमिका खेल्छ भन्ने ममा गहिरो विश्वास पलाएको छ ।
मलाई आत्मविश्वास छ, नेता सुधार केन्द्र राम्रोसितले चल्नेछ । नेता सुधार केन्द्र खोलेर मनग्य आम्दानी गर्ने सोचाइ पनि छ मेरो । हुन पनि, म नेता सुधार केन्द्रलाई पूरै व्यावसायिक र नाफामुखी संस्थाको रूपमा विकास गर्नेछु । विधानमै लेख्नेछु, ‘यो अति नै नाफामुखी संस्था हो । समाजसेवी पाराले नेताहरूलाई सुधार गर्न सकिंदैन ।’
अझ, मौका मिल्यो भने त नेताहरूले भ्रष्टाचार गरेर कमाएका अकूत सम्पत्तिमध्ये पाँच प्रतिशतचाहिँ सुधार केन्द्रमा उनीहरूलाई राख्दा खर्च गर्नुपर्ने सर्त पनि तेस्र्याउने छु । यदि त्यस्तो सर्त कसैले मानेनन् भने मनग्य पैसा लिएर मात्रै सुधार केन्द्रमा राख्नुपर्ने सर्त राख्नेछु । नेता सुधार केन्द्रमा कस्ता–कस्ता नेताले बस्न पाउँछन् ? त्यसबारे पनि एउटा कडा नियम बनाउने छु ।
सांसद वा मन्त्री बन्नुअघि डेरामा जीवन गुजारेका र मन्त्री बनेपछि आलिशान महल ठड्याएका नेताहरूले सुध्रिनका लागि कति समय सुधार केन्द्रमा बस्नुपर्छ, सत्तामा रहँदा डकार्ने लत लागेका नेताहरूलाई डकार्ने आदतबाट पूरै छुटाउन कति समय राख्नुपर्छ र चुनावका बेला जनतालाई आश्वासनका चकलेटहरू बाँड्ने र चुनाव सकिएपछि निर्वाचन क्षेत्र टेक्नै नचाहने नेताहरूलाई कति समय सुधार केन्द्रमा राख्दा जनताको बीचमा जाने गरी सुधार ल्याउन सकिन्छ ? यी सबै विषयको आ–आफ्नै नियम हुनेछन् र त्यहीअनुसार उनीहरूलाई सुधार केन्द्रमा राखिनेछ ।
नेता सुधार केन्द्र स्थापना गर्नका लागि मैंले रकम जुटाउन थालिसकेको छु । विदेशी दातृ निकायहरू, कालो धनलाई सेतो बनाउन चाहनेहरू, धनाढ्यहरू, कालोबजारी गर्नेहरू, कमिसनको लोभमा देशै डुबाउन खोज्नेहरूलाई म प्रथम चरणमा सुधार केन्द्रमा लगानी गर्न आह्वान गर्नेछु । मलाई विश्वास छ, उनीहरूले आँखा चिम्लेर, उदात्त दिल देखाएर लगानी गर्नेछन् ।
उनीहरूलाई लगानीको ग्यारेन्टी मात्र होइन, बेजोड नाफा हुने ग्यारेन्टीसमेत दिन्छु म । अतः नेता सुधार केन्द्रमार्फत नेताहरूलाई सुधारेर देशलाई माथि उठाउने संकल्पबोध गरेको छु मैंले । तपाईँहरूलाई किन ढाँट्नु ? नेताहरूलाई सुधारेर देशलाई मात्र माथि उठाउने छुइनँ, म आफू पनि माथि उठ्ने छु ।
प्रतिक्रिया दिनुहोस !