प्रविधिमा छलाङ

प्रविधिमा छलाङ

काठमाडौं: मोबाइलको किप्याडमा औंला चलाएको भरमा आफ्नो बैंकखाताको ब्यालेन्सको जानकारी लिन सकिन्छ, पैसा अन्यत्र पठाउन सकिन्छ । स्कुल, टेलिफोन, इन्टरनेट सेवा प्रदायक आदिको महसुल मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । घरमै बसेर डेभिट/क्रेडिट कार्डका लागि फाराम भर्न सकिन्छ । प्रविधिले ग्राहकलाई यति सजिलो बनाइदिएको छ अब बिस्तारै ग्राहक बैंकमा उपस्थितै नहुनुपर्ने हो कि भन्न थालिएको छ ।

पहिलो बैंक (नेपाल बैंक लिमिटेड) स्थापना १९९४ सालमै भए पनि प्रविधि विकास नभएका कारण लामो समय ग्राहकले सुविधा पाएनन् । सानोतिनो 'इन्क्वायरी' का लागि पनि बैंकसम्म पुग्नैपर्ने, कर्मचारीलाई जिहजुरी गर्नैपर्ने बाध्यता थियो । कम्प्युटर/स्मार्ट फोनको विकास र विस्तारले बैंकका धेरै सुविधा बैंक नपुगी पाइने अवस्था बनेको छ ।

नेपालको बैंकिङ क्षेत्र सेवा, सुविधा र प्रविधि सबैमा आधुनिकीकरण भएको/भइरहेको छ । बैंकमा प्रयोग भएका प्रविधि केही वर्षको अन्तरालमै परिवर्तन भएका छन् । वित्तीय क्षेत्रलाई आधुनिक, सुरक्षित, सहज, प्रविधिमैत्री तुल्याउने क्रममा बैंकहरूले ठूलो रकम खर्च गरिरहेका छन् ।

प्रविधिको प्रयोग गर्नेको संख्या कम होला तर बैंकिङ क्षेत्रले छलाङ मारिसकेको बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंक लिमिटेडका सीईओ अनिलकेशरी शाह बताउँछन् । उनका अनुसार प्रविधिलाई आत्मसात् गर्न बैंकहरूले वर्षमै करोडौं खर्च गरिरहेका छन् । ग्राहकको माग, बजारको आवश्यकता, नयाँ आविष्कारलगायतका कुरालाई दृष्टिगत गरी सबै बैंक प्रविधिमा आधारित भइसकेका छन् ।

पछिल्लो समय प्रयोगमा आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्डजस्ता कुरामा बैंकहरू पछि परेका छैनन् । बैंकमा प्रयोग गरिएको सफ्टवेयर पनि अत्याधुनिक छ । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाका अनुसार बैंकले चारवटा सफ्टवेयर प्रचलनमा ल्याएको छ । सबैभन्दा बढी फिनाकल र पुमरी त्यसपछि टेमनस र टी २४ प्रयोग भएको छ । प्रयोगमा आएका नयाँनयाँ प्रविधिले बैंकिङ कारोबार सहज बनाइदिएको छ । साथै ह्याकिङ र चोरीजस्ता जोखिम कम गरिरहेको छ ।

ranjan

ठूला बैंकमात्र नभएर फाइनान्स कम्पनीले पनि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको सेवा दिइरहेका छन् । इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवामा नेपाल दक्षिण एसियामै उत्कृष्ट रहेको एफ-१ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्मा दाबी गर्छन् । उनका अनुसार अहिले मोबाइलमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न सकिने भएको छ । घरमै बसेर डेभिट/क्रेडिट कार्डको फाराम भर्न सकिनेछ ।

मोबाइलमै आफ्नो खातामा भएको हेरफेर, म्यासेज अलर्टजस्ता सुविधाको विकास भइसकेको छ । जुन पूर्ण रूपमा प्रयोगमा पनि आउन थालेका छन् । यसले एकातिर मानिसलाई हरेक सानासाना कामका लागि पनि बैंकमा धाउनुपर्ने झन्झटबाट मुक्ति दिलाएको छ भने अर्कोतर्फ कतै बैंकमा मानिसको उपस्थिति नै नहुने हो कि भन्ने प्रश्न उब्जाएको छ ।

'कस्टमर बैंकमा आउनै नपरोस् भन्ने हाम्रो लक्ष्य हो', अध्यक्ष शाह भन्छन्, 'ग्राहकले मोबाइलमै बैंकको सबै सेवा लिऊन् भन्ने छ ।' राष्ट्रबैंकले पेमेन्ट एन्ड सेटलमेन्ट विभाग खडा गरेर रियल टाइम ग्रेस सेटलमेन्ट (आरटीजीएस) जाने लगायतका काम गरिरहेको छ । मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोग सबैले गर्न थाले पनि खाता खोल्न ग्राहक बैंकमा पुग्नुपर्ने बाध्यता सायद रहिरहनेछ । खाता अनलाइनमार्फत भर्ने व्यवस्था भए तापनि कार्ड र चेक लिन बैंकमा नपुगी हुन्न ।

एप बनाउने कम्पनी पनि मोबाइल बैंकिङलाई अझ प्रभावकारी र ग्राहकमैत्री कसरी बनाउन सकिन्छ भनेर नयाँनयाँ आविष्कारमा सक्रिय छन् । बैंकले प्रदान गर्ने सबै सेवालाई एउटै एपमार्फत सम्भव बनाउन अनुसन्धान गरिरहेको एफ १ सफ्ट कम्पनीका कार्यकारी निर्देशक शर्मा बताउँछन् ।

बाइल/इन्टरनेटमार्फत चेक पनि साट्न सकिने बनाउन अनुसन्धान चलिरहेको छ । अमेरिका, क्यानाडालगायत देशमा चेक डिपोजिट मोबाइलबाट फोटो खिचेर पठाउँदा हुने भइसकेको छ ।

नेपालमा चाहिँ राष्ट्रबैंकको नीतिनियम नै बाधा बनेको छ । खाता खोल्ने मानिसको अन्तर्वार्ता नै लिनुपर्ने नियम र हस्ताक्षरको समस्याले सेवालाई तत्कालै लागू गर्न नसकिने शाहले बताए । अन्यत्र सम्भव भएका कतिपय सुविधा कानुन अभावका कारण नेपालमा उपलब्ध हुन सकेको छैन ।

तैपनि बैंकिङ क्षेत्रले गरेको प्रगति र प्रयोगमा आएका प्रविधिको स्तरलाई विदेशका बैंकसँग दाँज्दा सन्तोष मान्नुपर्ने अवस्थामा पुगेको उपाध्यक्ष ढुंगाना बताउँछन् । उनका अनुसार प्रविधिको प्रयोग गर्ने सुविधा प्रदान गर्नुअघि कस्तो प्रविधि हामीलाई आवश्यक छ, त्यो प्रविधिका बारेमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव केकस्तो छ भन्ने अध्ययन गरिन्छ ।

सोहीअनुसार बैंकिङ क्षेत्रमा प्रविधिलाई भित्र्याइएको छ । जुन रूपले आज ग्राहकले घरमै बसेर बैंकिङ गर्न सकेका छन्, बाटोमा हिँड्दाहिँड्दै बैंकिङ गर्न सकेका छन् । नेपाली बैंकिङ क्षेत्रका लागि यो पनि एउटा ठुलो उपलब्धि भएको ढुंगानाको कथन छ ।

मुलुकमा २०४७ सालमा हिमालयन बैंकले पहिलो एटीएम भित्र्याएको थियो । ससाना बजारसम्म एटीएमको विस्तार भइरहेको छ । एभरेस्ट बैंकले कुनै समय नगद जम्मा गर्न पनि मिल्ने एटीएमसमेत नेपालमा ल्याएको थियो । त्यसको प्रयोग भने खासै हुन सकेन । कार्डमार्फत किनमेल गर्ने चलन विस्तार हुँदैछ । बैंकहरूले पछिल्लो समय शाखारहित बैंकिङ सेवाको विस्तार पनि तीव्र रूपमा गरिरहेका छन् । बैंकको शाखा नभएको ठाउँमा भुक्तानीका लागि शाखारहित बैंकिङ सेवामार्फत एटीएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनका माध्यमबाट कारोबार गर्न सकिने भएको छ ।

सँगसँगै ९० प्रतिशत बैंकले मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेका छन् । स्मार्ट फोनको बढ्दो प्रयोग र एप्सको विकासले गर्दा कारोबारसमेत मोबाइलमार्फत नै हुन थालेको छ । यसले बैंकले अहिले आएर विस्तार गरिरहेको साखा, एटीएम र शाखारहित बैंकिङ सेवाको भविष्य के हुनेछ भन्ने प्रश्न उठाएको छ ।

प्रविधिका कारण अब बैंकले शाखा विस्तार होइन घटाउनुपर्ने अवस्था आउने शाह बताउँछन् । अहिलेसम्म मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा ग्राहकको उति लगाव छैन । प्राप्त सेवाको अधिकतम प्रयोग भएको छैन । तर बाल्यकालदेखि ग्याजेट चलाएको पुस्ताले काम समालेपछि प्रविधिको अधिकतम प्रयोग हुनेछ नै, त्यो पुस्ताले थप डिमान्ड पनि गर्नेछ । त्यसलाई बैंकिङ क्षेत्रले पूरा नगरी हुन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.