ग्यासमा लापरवाही
गत ७ जेठ बिहान ११ बजेतिर पाटन इटाखेँका राज ताम्राकार खाना खाइवरी आफ्नै टोलमा रहेको मामाघरमा आराम गर्दै थिए । अचानक ड्याम्म आवाज सुनियो । सबै आतंकित हुँदै सोही घरतिर लम्किए । अरूलाई पछ्याउँदै गए उनी पनि । उनका बाबु राजेशले काम गर्ने पुरानो इ“टा र माटोको घर भत्किइसकेको थियो, आगो दन्केको थियो ।
छटपटाइरहेका चार घाइतेमध्ये उनका बाबु पनि थिए । उनी भन्छन्, ‘बुवालाई तत्कालै पाटन अस्पताल लगियो तर उपचार हुन सकेन ।’ ७ जेठको त्यस भयानक घटनाले तीन जनाको ज्यान लियो । तामाका औजार बनाउने पसलमा एचपी ग्यासको सिलिन्डर पड्केका कारण भएको त्यस घटनाको त्रासदीबाट मृतकका परिवार अझै तंग्रिन सकेका छैनन् । सिलिन्डरको समाचार सुन्नासाथ अहिले पनि ताम्राकार झस्किन्छन् । सोही घटनामा घाइते कविना ताम्राकार अझै उपचाररत छिन् । अनुसन्धान क्रममा सिलिन्डरको मोटाइ १.८३ मिलिमिटर मात्र रहेको पत्ता लाग्यो, हुनु पर्ने २.९ हो ।
गत जेठयता मात्र सिलिन्डर पड्किएका आठ घटना। चार जनाको मृत्यु, करोडौंको सम्पत्ति नष्ट।
खाना पकाउने ग्यास सिलिन्डर पड्किएर जनधन क्षतिको सिलसिला केलाउँदा जोकोहीलाई असुरक्षा महशुस हुन्छ । गत जेठयता मात्र सिलिन्डर पड्किएका आठ घटना भइसकेका छन् । तिनमा परी चार जनाको मृत्यु र करोडौंको सम्पत्ति नष्ट भएको छ । दुई वर्षयता भएका यस्तै घटनामा आठ जनाको ज्यान गइसकेको छ ।
घाइते र आफन्त गुमाउने पीडितले न त कुनै क्षतिपूर्ति पाएका छन्, न दोषिमाथि कारवाही नै भएको छ । ललितपुरको घटनापछि उद्योगी र सरकारबीच यस्ता घटनामा एक करोडसम्मको बिमा गराउने सहमति भयो । तर, कार्यान्वयनमा आएन । उपभोक्ता हित संरक्षण ऐन ०५४ अनुसार जिउज्यान र स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी कसैले वस्तु वा सेवा प्रदान गरेको पाइए १४ वर्ष जेल सजाय र पा“च लाख जरिवाना वा दुवै सजाय हुन्छ ।
तर, बारम्बार यस्ता घटना दोहोरिइरह“दा पनि ग्यास व्यवसायीहरू पानीमाथिको ओभानो बन्दै आएका छन् । उनीहरू यसको दोष सरकार र उपभोक्तामाथि नै थोपर्छन् । जस्तो : एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे भन्छन्, ‘ग्यास सिलिन्डर बेलुनजस्तो ड्याम्म पड्किँदैन । प्रयोग गर्न पनि जान्नुपर्छ ।’ सिलिन्डरजस्तो जोखिमपूर्ण र संवेदनशील वस्तु प्रयोग गर्दा उपभोक्ता नै सचेत हुनुपर्ने उनको तर्क छ ।
सिलिन्डरमा ग्यास भरेर बजारमा पठाइसकेपछि उद्योगीहरू उपभोक्ताप्रति रत्तिभर जवाफदेही देखि“दैनन्, जसले सुरक्षा जोखिम बढाएको छ । अधिकांश उद्योगले न्यूनतम मापदण्डसमेत पूरा नगरी ग्यास उत्पादन र वितरण गर्दै आएका छन् । हाइड्रोलिक परीक्षण नगरिकनै सिलिन्डर बजारमा पठाउँछन् ।जबकि, बजारबाट आएका सिलिन्डरको गुणस्तर परीक्षण अनिवार्य शर्त हो ।
कस्सिएको भल्भ, रेगुलेटर, आईएसआई र गुणस्तर चिह्न अंकित सिलिन्डरप्रति उद्योगीहरू नै चनाखो हुनुपर्छ । यस्तै, सिलिन्डरको मोटाइ, फुटरिङजस्ता स–साना कुरामा उद्योगीले लापरवाही गरिदिँदा त्यसको सिधा क्षति उपभोक्ताले बेहोर्दै आएका छन् । हरेक सिलिन्डरमा १४ किलो ग्यास अनिवार्य हुनु पर्ने मापदण्ड छ ।
ग्यास राख्नुअघि नै सिलिन्डरभित्र जमेको लेदो, हाइड्रोस्टेटिक, लिकेज, ग्यास तौल, पाताको मोटाइ, फुटरिङलगायत परीक्षण गर्नुपर्छ । ती सबै ठीक रहेको सिलिन्डर मात्र वितरक हुँदै उपभोक्ताका भान्सामा पठाउनु पर्छ । मुलुकभरका ५४ वटा उद्योगमध्ये थोरैले मात्र हाइड्रोलिक परीक्षण गर्ने प्रविधि प्रयोग गर्छन् । अधिकांश उद्योगले मापदण्ड नपु¥याई सिलिन्डर बजारमा पठाउँछन् । ‘ग्यासजस्तो संवेदनशील पदार्थ पानी भरेझैं भरेर पठाइन्छ,’ गुणस्तर तथा नापतौल विभागका निर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘मापदण्ड नै केही छैन हामीकहाँ ।’
ललितपुरको घटनापछि सरकारले एचपी कम्पनीलाई सिलिन्डर उत्पादनमा रोक लगायो । तत्काल व्यवसायीहरूले आन्दोलन थाले । सरकारले दुई दिनमै घुँडा टेक्यो । उपभोक्ता अधिकारवादीहरू भने यसलाई सरकार र व्यवसायीबीचको मिलेमतो ठान्छन् । अधिकारवादी माधव तिमिल्सिना भन्छन्, ‘सरकार उपभोक्ताभन्दा व्यवसायीप्रति बफादार बन्छ । उपभोक्ता ठगिइरहन्छन् ।’

भान्सामा सिलिन्डर बम
कमजोर नियमन
उपभोक्ता हितलाई ध्यानमा राखेर गुणस्तर मापनका लागि सरकारका १० वटा विभागले अनुगमन तथा निगरानीको जिम्मा पाएका छन् । तर, ती कुनै सक्रिय छैनन् । विभागहरूको मौसमी अनुगमनले पनि व्यवसायीलाई गल्ती दोहोर्याउन बल पुगेको छ । अधिकारवादी तिमिल्सिना भने सरकारी कर्मचारीलाई प्राविधिक ज्ञान नै नभएको बताउँछन् ।
गत भदौमा तत्कालीन उद्योग मन्त्री गणेशमान पुन कर्मचारीको टोलीसहित केही बोटानिक प्लान्ट अनुगमनमा निस्किए । मन्त्री पुनलाई प्राविधिक जानकारी नहुँदा त्यो अनुगमन अवलोकन भ्रमणजस्तो मात्र बन्यो । सरकारी निकाय गैरजिम्मेवार बनिदिँदा उद्योगीहरू लगामविनाको घोडाझैँ बनेका हुन् । सिलिन्डरका कारण आगलागीका घटना दोहोरिइरहँदा आयल निगमका निर्देशक गोपाल खड्कालाई सरकारी तदारुकताबारे सोधिएको थियो ।
उनी पनि यसप्रति गम्भीर देखिएनन् । ‘यसैले गर्दा हामीले कम्पोजिट ग्यास सिलिन्डरको अवधारणा ल्याएका हौं,’ उनी भन्छन्, ‘प्रक्रिया बढिसकेको छ । अब चाँडै बजारमा आउनेछ ।’यद्यपि, खड्काले भनेजस्तो कम्पोजिट सिलिन्डर भित्रिनेबित्तिकै ‘छु मन्तर’ हुने अवस्था देखिँदैन । निगमले भित्र्याउन लागेका यस्ता सिलिन्डरले पनि आमउपभोक्ताको जीवनमा परिवर्तन ल्याउने सम्भावना न्यून छ ।
कारण, कम्पोजिट सिलिन्डर प्रयोगलाई अनिवार्य गरिएको छैन । गुणस्तर तथा नापतौल विभागले दुई वर्षअघि नै त्यस्ता सिलिन्डर प्रयोग गर्न सकिने गरी मापदण्ड तयार पारेको थियो । निगमका प्रबन्ध निर्देशक खड्काका अनुसार हरेक उद्योगले आफूसँग भएका सिलिन्डरको पा“च प्रतिशत मात्र कम्पोजिट सिलिन्डर राख्नुपर्ने मापदण्ड बनाइएको छ ।
त्यसो त, कम्पोजिट सिलिन्डरमा थोरै ग्यास अट्छ र महंगो पनि पर्छ । उक्त सरकारी कदम पनि आमउपभोक्ता लक्षित नदेखिएको अधिकारवादी बाबुराम बजगाई बताउ“छन् । भन्छन्, ‘व्यवसायीबाट कुनै न कुनै रूपमा राज्य प्रभावित देखिन्छ ।’
अधिकांश दुर्घटना लिकेजबाट
‘सिलिन्डर पुरानो हुँदैमा कमजोर हुने होइन । राम्ररी प्रयोग गर्न जानियो भने ४० वर्ष पनि टिक्छ,’ एलपी ग्यास उद्योग संघका अध्यक्ष घिमिरे भन्छन्, ‘साबुन कम्पनीले साबुन दिने हो । हात धुनै आफैँ हो । हात धुन सिकाउने त सरकारले हो ।’ उनीजस्तै व्यवसायीहरू यस्तै तर्क गर्दै दुर्घटनाको दोष उपभोक्तामाथि थोपर्छन् ।
अझ, उपभोक्तालाई लक्षित गरी चेतनामूलक कार्यक्रम भएकै छैनन् । ०६९ सालमा लालमणि जोशी वाणिज्य मन्त्री छँदा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको थियो । तर, लागु हुनै सकेन । अधिकांश घटनाका प्रकृति हेर्ने हो भने रेगुलेटर, भल्भ वा पाइपका कारण धेरै दुर्घटना भएका छन् ।
दुई वर्षअघि वनस्थलीमा तत्कालीन सभासद रामकुमारी धामीको पनि सिलिन्डर लिकेजकै कारण आगलागी हुँदा ज्यान गएको थियो । सिलिन्डरमा जडान गरिने प्लास्टिक पाइप हटाउने विषयमा धेरै पटक कुरा उठेको छ । सरोकारवालाहरूका विभिन्न अन्तक्र्रिया र बैठकमा पनि प्लास्टिक पाइप बजारबाटै हटाएर तारजडित रबर पाइप प्रयोग गर्ने कुरा उठ्दै आएको छ ।
ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापा भन्छन्, ‘प्लास्टिक पाइप हटाउन हामीले बारम्बार आग्रह गर्दै आएका छौं । सरकारले चासो देखाएकै छैन ।’ केही महँगो पर्ने भए पनि यस्तो पाइप सुरक्षित हुने उनको भनाइ छ । होटेल, अस्पताल र औद्योगिक क्षेत्रमा सिलिन्डर प्रयोगको अलग मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ ।
दोषी बिक्रेता पनि
देशभरी कति ग्यास बिक्रेता छन् भन्ने प्रश्नको सही उत्तर न सरकारसँग छ, न त बिक्रेता महासंघसँग नै । सरकारले प्रमाणाीकरण गरेका बिक्रेताको संख्या दुई हजार पाँच सय भए पनि छिटफुट रूपमा सिलिन्डर बिक्री गर्नेहरूको संख्या कसैलाई थाहा छैन । त्यस्ता बिक्रेता हजारौंको संख्यामा रहेको अनुमान छ, जसको सरकारले गर्न सकेको छैन ।
दुई वर्षअघि प्रमाणाीकरण सरकारी प्रयास सुरु भएको थियो । तर, त्यो पनि प्रभावकारी भएन । किराना र तरकारी पसल, खाद्यान्न भण्डार र होटेलमा समेत ग्यास बिक्री हुँदै आएको छ । उपभोक्तावादी तिमिल्सिना भन्छन्, ‘भल्भ, लिकेज, बेरिङ, वासर, ग्यास लिकेजजस्ता प्राविधिक र संवेदनशील कुराको सम्पूर्ण जानकारी बिक्रेतासँग हुनुपर्छ । तालिम प्राप्त र प्रमाणाीकरण भएका पसलेले मात्रै ग्यासको कारोबार गर्ने व्यवस्था हुनुपर्छ ।’ होटल, बसोबास गर्ने स्थान र प्रज्वलनशील वस्तुसँगै ग्यास बिक्री गर्न नहुने प्रावधान छ । त्यस्तो मापदण्डप्रति अधिकांश बिक्रेताले पालना गरेकै छैनन् ।
ग्यास दुर्घटना
७ जेठ : ललितपुर १९ हौगल टोलको इताछेँमा एचपी कम्पनीको सिलिन्डर पड्केर तीन जनाको मृत्यु।
२ भदौ : कालिमाटीस्थित पानीपुरी बनाउने स्टलमा सुगम कम्पनीको सिलिन्डरको भल्भ लिक भएर आगलागी हुँदा भारत मोतिहारीका बिकु पण्डितको मृत्यु।
१५ भदौ : सिराहा लहान ८ स्थित खाजा पसलमा सिलिन्डर पड्किएर आगलागी। २५ लाखभन्दा बढी क्षति।
१० कात्तिाक : हेटौंडा ५ स्थित नापी कार्यालयमा सहारा ग्यासको सिलिन्डर पड्किँदा सात कर्मचारीसहित ३६ जना घाइते।
२ मंसिर : काठमाडौं टेबहालस्थित ग्यास चुलो बाल्ने क्रममा बाबुलाल महर्जन र उनकी पत्नी शोभा घाइते ।
५ मंसिर : भोजपुर ५ भोटेपसलस्थित थीरबहादुर पोर्तेलको घरमा सुविधा ग्यास सिलिन्डर लिक भएर आठ घरमा आगलागी हुँदा साढे नौ करोड क्षति।
८ मंसिर : हेटौंडा १० टीसीएन रोडस्थित ललन साहको चियापसलमा ग्यास रेगुलेटर लिक भएर आगलागी हुँदा ६ लाखभन्दा बढीको क्षति।
पर्वतको बाजुङ ६ लाम्पाटास्थित कृष्णबहादुर केसीको घरमा ग्यास लिक भएर आगलागी हुँदा केसी, पत्नी संगीता, छोराहरू अविनाश र अमृत घाइते।
प्रतिक्रिया दिनुहोस !