षड्यन्त्रको अनेक पाटो

 षड्यन्त्रको अनेक पाटो

अहिलेको असाधारण र अनिश्चित राजनीतिबाट मुलुकलाई निकास दिने क्षमता वर्तमान नेतृत्वले राख्दैन भन्नेमा जनसाधारण आश्वस्त छन् । तर सत्ताको नेतृत्व तहमा रहेका व्यक्तिहरू आफ्नो ‘अडान' मा रहँदा संवाद र समाधानको सम्भावना लगभग ‘शून्य' नै देखिन्छ । तर नेताहरूका अभिव्यक्ति मुलुकको अस्तित्व र तीन करोड नेपालीको भविष्यप्रति उनीहरू पूर्णतया संवेदनहीन रहेको प्रमाणका रूपमा आएका छन् ।

प्रधानमन्त्री दाहालले प्रस्तावित संविधान संशोधन विधेयकको विरोधमा बुटवलमा उर्लेको मानव लहरलाई ‘गणतन्त्र' विरुद्धको षड्यन्त्रको रूपमा बुझेका छन् । आफू प्रधानमन्त्री रहँदासम्म त्यो विधेयक फिर्ता नहुने अडान पनि उनले दाङमा सार्वजनिक गरेका छन् ।

उनका सर्वशक्तिमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संशोधन विधेयक र त्यसका बुँदाहरू प्रमुख प्रतिपक्षी नेता तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको प्रस्तावमा आएको दाबी गरेका छन्, चितवनमा नेपाली कांग्रेससँग आबद्ध पत्रकारहरूसमक्ष ।

सरकारद्वारा ल्याइने संविधान संशोधन विधेयक प्रतिपक्षको चाहना या सहमतिमा आएको भए सम्भवतः विरोधको यो लहर उर्लिने थिएन । नेताहरूले र राजनीतिले विश्वसनीयता गुमाएको अनि नेतृत्व जवाफदेहीविहीन भएको वर्तमान अवस्थामा नेताहरूसँग त्यो अविश्वसनीयताको यात्रालाई केही अगाडि बढाउने छुट लिन सक्छन् ।

तर उनीहरू अर्थात् वर्तमान संविधान निर्माण, शान्ति प्रक्रिया तथा सत्ताको राजनीतिमाथि विगत एक दसकयता एकाधिकार जमाएका दलहरू र तिनका नेतृत्वको असान्दर्भिकता त्यही कारण छिटै सुनिश्चित हुनेछ ।

प्रदेश पाँच र प्रदेश चारको विभाजन मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने हिसाबले ल्याइएकै हैन । यो रहस्यपूर्ण षड्यन्त्र र अव्यावहारिक राजनीतिको उपज हो । एकातिर मधेसी मोर्चा र जनजातिका मागलाई सम्बोधन गर्न भारत सरकार नेपाल सरकार तथा विभिन्न राजनीतिक दलहरूसँग द्विपक्षीय संयन्त्रबाट र अन्तर्राष्ट्रिय मञ्च (युरोपेली संघ) बाट आह्वान गर्छ भने अर्कोतिर जनजाति र थरुहटबीचको दूरी र सौहार्दता तथा सामाजिक सद्भाव खल्बल्याउने प्रवृत्तिको संशोधन विधेयकलाई रहस्यमय तरिकाले प्रशंसा गर्दछ ।

भारतलगायत अन्तर्राष्ट्रिय शक्तिहरूद्वारा नेपाल संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका नाममा भइरहेको चलखेलबाट हटे भने या नेपाली जनताले त्यसको लागि बाध्य पारे भने नेपालको राजनीतिक स्थायित्व सुनिश्चित हुनेछ ।

अहिलेको संविधान संशोधनको मुख्य प्रयोजन संशोधित प्रान्त नम्बर ४ को राजधानीको रूपमा स्थापित हुने अनि अन्तर्राष्ट्रिय जगत्मा सम्मानित बुद्धको जन्मथलो लुम्बिनीलाई एउटा प्रान्तको नियन्त्रणमा राख्नु नै हो मुख्य रूपमा । अचानक रोल्पादेखि गोर्खा, लमजुङका क्षेत्रलाई एउटै प्रान्तमा गाभ्ने अव्यावहारिक कदम षड्यन्त्रको पाटो मात्र हो । चीनले केही वर्षयता लुम्बिनीको विकास र रेल सेवाद्वारा त्यो क्षेत्रसँग आफूलाई जोड्ने योजना रोक्ने प्रयास हो यो । किन प्रयोग भए दाहाल र निधि त्यसको लागि ?

यसले संघीय समाजवादी गठबन्धन भारतीय संस्थापनसँग सदाबहार सम्बन्ध भएका त्यहाँका केही बौद्धिक व्यक्तित्वहरूद्वारा पहाड र तराईका जनजातिलाई सँगै ल्याउन गरिएको गतिविधिको मूल रहस्यको पटापेक्ष पनि गरिएको छ । अर्थात् त्यो राजनीतिक र सामाजिक समीकरणअन्तर्गत ‘लुम्बिनी' को अस्तित्वलाई एउटा मधेस प्रान्तको नियन्त्रित राजधानीको रूपमा स्विकार गर्नुपर्नेछ ।

अर्को अर्थमा चीनलाई टाढा राख्नको लागि उपप्रधानमन्त्री निधि छिट्टै एउटा ‘त्रिश्चियन आयोग' बनाउन राजी हुनेछन्, युरोपेली संघलाई खुसी पार्न । अर्थात् संविधानमा व्यवस्था गरिएको अल्पसंख्यक आयोगभन्दा फरक हुनेछ, क्रिस्चियन आयोग ।

युरोपेली संघका प्रमुखद्वारा खुलारूपमा सीके राउतलाई सहयोग पुर्‍याउनु, यता महन्थ ठाकुरद्वारा ‘मधेस' अलग हुन सक्ने चेतावनी आउनु, त्यो दबाबको पृष्ठभूमिमा संविधान संशोधन प्रस्तावित हुनु र भारतीय राजदूतद्वारा त्यसको समर्थनमा सत्ता गठबन्धन तथा मधेसी मोर्चालाई ल्याउने खुला कसरत गर्नुले नेपालको स्थायित्वका नाममा भइरहेको गतिविधिलाई जनतासमक्ष छर्लंग पारेको छ पहिलोपटक । बुटवलको जनलहर यी बाह्य गतिविधिविरुद्ध पनि हुन् ।

नेपालकै सत्ता गठबन्धन र कांग्रेस तथा माओवादी त्यो बाह्य गतिविधिको कठपुतली बन्न तयार भएपछि केही हदसम्म यो अहिलेको विरोधाभास लम्बिन सक्छ । तर यसले पहिलोपटक संविधानका ‘मौलिक' पक्ष र विगतमा त्यसलाई लाद्न खोजिँदा अहिले उत्पन्न जटिलताबारे राजनीतिक वृत्तमा सँगै जनस्तरमै हलचल देखा परेको छ ।

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले ‘सूचनाको हक' को आधारमा मागिएको जवाफप्रति सूचना आयोग मौन छ । संविधान निर्माणका क्रममा जनताबाट गरिएको राय संकलनमा संघीयता, धर्म निरपेक्षता तथा गणतन्त्रलगायतका विषयमा जनमत जुन रूपमा आएको थियो, त्यसबारे मागिएको जानकारीबारे आयोग उदासीन देखिन्छ । संविधान निर्माणमा जनमतले न्यूनतम सम्मान पायो कि पाएन, त्यो सूचना सार्वजनिक भएपछि स्पष्ट हुनेछ ।

यो सूचना दबाइएकै अवस्थामा एमाले अध्यक्ष केपी ओलीलगायतले ‘संघीयता' को औचित्य र व्यावहारिकताबारे केही गम्भीर प्रश्न उठाएका छन् । अर्को शब्दमा संघीयताको पक्षमा एमालेले लिएको अडान सही थिएन कि भन्ने मन्थन प्रारम्भिक चरणमै भने पनि त्यहाँ हुन थालेको संकेत हो ।

एमालेले गणतन्त्र र राजतन्त्रबारेको निर्णय गर्दा जनमत संग्रहमा जानुपर्ने अडान राखेको थियो, पहिलो संविधानसभाको निर्वाचनताकासम्म । तर माधव नेपाल नेतृत्वको एमालेले किन अडान फेर्‍यो ? पहिलो संविधानसभामा दुई-दुई ठाउँबाट हारेपछि पनि कसरी प्रधानमन्त्री हुन पुगे ?

पद र नीतिको व्यापार भएको थियो कि थिएन त्यसबीच र कसको दबाब या चलखेलमा ? यी विषयहरू अझै पनि अनुत्तरित छन् । अहिले संविधान संशोधन विधेयकको विरोधमा पार्टी उत्रिँदा सायद आफूले गरेको मौलिक गल्तीहरूबारे आत्मसमीक्षा गर्नु पनि उचित हुने हो कि ?

वास्तवमा आत्ममीक्षाका केही संकेत अन्तर्राष्ट्रिय समुदायबाट पनि आउन थालेको छ । बुधबार संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि म्यालरी जुलियाको अग्रसरतामा भएको कूटनीतिज्ञहरूको बैठकमा केही मतविभाजन, केही निराशा र केही आत्मसमीक्षाका संकेत देखा परे ।

आन्दोलन चर्कने र संसद्मा संख्याकै आधारमा जे पनि गर्न मिल्छ भन्ने ०६३ यताको मान्यतामा सत्ताका दलहरू अडिए भने आगामी दिनमा पहिलो सिकार संसद् स्वयं नै हुनेछ ।

अतीतमा ‘फलानो' लाई प्रधानमन्त्री बनाउन उपयुक्त हुन्छ या बहालवाला प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउनुपर्ने जस्ता विषयमा बहस र ‘नेपालको हितमा यो उचित हुनेछ' भनी निर्णय गर्ने र त्यसको विरोध गर्नेहरूलाई चेतावनी दिने गरेको बैठकले बुधबार कुनै बक्तव्य जारी गरेन ।

आन्तरिक राजनीतिसँगै पृथकतावाद र आन्दोलन पक्षसँग खुलेरै लागेका एक कूटनीतिज्ञले प्रस्तावित संविधान संशोधन विधेयक पराजित हुने अवस्था आउनु राम्रो संकेत नभएको अभिव्यक्ति दिए पनि बैठकले त्यसलाई साझा अवधारणा या मान्यताका रूपमा स्विकारेन ।

आगामी बैठकहरूमा नेपालको राजनीति र संविधानका यी महत्वपूर्ण पक्षहरूमा समग्र जनमत तथा उचित प्रक्रियाबाट निर्णय लिने अन्तिम अधिकार नेपाली जनताकै हो भन्ने अभिव्यक्ति आएमा त्यो अन्तर्राष्ट्रिय जगत्को तर्फबाट हुने एउटा विवेकशील र उचित निर्णय मानिनेछ ।

अपरिभाषित र अस्पष्ट संघीयता धरापमा परेको छ । तर त्यसबारे स्पष्टताका लागि विधिवत् र प्रक्रियातगत रूपमा त्योसँगै धर्म निरपेक्षता र गणतन्त्रबारे पनि बहस र जनतालाई निर्णयको अधिकार दिइनुपर्छ । त्यो नदिन प्रधानमन्त्री तथा माओवादी नेता पुष्पकमल दाहालले बुटवलमा भएको जनलहरलाई गणतन्त्र समाप्त गरी राजतन्त्र फर्काउने खेलका रूपमा प्रस्तुत गरेका थिए ।

तर राजनीतिक परिवर्तन, त्यसका एजेन्डासँगै संविधान संशोधनसमेत बाहिरको दबाब र हितमा हुने हो भने त्यसलाई अन्ततः जनताले स्विकार्दैनन् । जनता स्वस्फूर्त रूपमा सडकमा आएपछि नेताहरूसँग विकल्प सीमित हुन्छन् । पहिलो, उनीहरूसमक्ष स्पष्टीकरण दिनु, दोस्रो गल्ती स्विकारी उनीहरूप्रति जवाफदेही बन्नु र तेस्रो आफूबाट भएका गल्ती आफैँ सुधार गर्ने साहस देखाउनु, अन्यथा जनताको आदेशअनुसार त्यसलाई सुधार्नु ।

बुटवलमा सत्ताधारी कांग्रेस र माओवादीका सांसदहरूसमेत आन्दोलनमा सहभागी भएका छन् र संशोधन विधेयक पारित भएमा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन् । त्यसैले अहिलेको प्रतिरोधले राष्ट्रिय आयाम लिने र भूगोल, संस्कृति तथा विविधताको कडी बन्ने केही संकेत दिएको छ ।

त्यसैले समयमै नेताहरूले खासगरी सत्ता गठबन्धनले त्यसबाट पाठ सिकेर सर्वपक्षीय बैठकबाट ‘राजनीतिक तथा संवैधानिक आयोग' बनाएमा ०४७ र ०७२ को संविधानबीच राष्ट्रिय हित, स्वतन्त्रता र राष्ट्रिय एकता तथा राजनीतिक स्थायित्वको पक्षमा तादात्म्य फेला पार्न सकिन्छ । यसको लागि आगामी दिनमा पक्कै पनि जन दबाब बढ्नेछ ।

आन्दोलन चर्कने र संसद्मा संख्याकै आधारमा जे पनि गर्न मिल्छ भन्ने ०६३ यताको मान्यतामा सत्ताका दलहरू अडिए भने आगामी दिनमा पहिलो सिकार संसद् स्वयं नै हुनेछ । परिस्थिति ०६३ वैशाख ११ पूर्वको स्थितिमा जानेछ । तर संसद् नरहनुमा यसपटकका खलनायकहरू त्यसबेला संसद् पुनस्र्थापनाको माग राख्ने दल र त्यसका नेताहरू हुनेछन् । त्यसले राजनीतिबाट धेरैलाई बढार्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.