इन्भेस्टमेन्टले जित्यो ‘बैंक अफ द इयर' अवार्ड
काठमाडौः नेपाल इन्भेस्टमेन्ट बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर' अवार्ड पाएको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित ‘द बैंकर' म्यागेजिनको निर्णायक मण्डलले यो बैंकलाई यस वर्षको सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गरी अवार्ड प्रदान गरेको हो ।
यसअघि पनि नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) बैंकले चारपटकसम्म ‘बैंक अफ द इयर' अवार्ड जितिसकेको छ । ३० वर्षअघि स्थापना भएको बैंकले यसअघि सन् २०१०, २००८, २००५ र २००३ मा यो अवार्ड पाएको थियो ।
बेलायतको राजधानी लन्डनमा आयोजित विशेष कार्यक्रममा बुधबार बेलुका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योतिप्रकाश पाँडेले अवार्ड ग्रहण गरेका छन् । बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकमध्ये उत्कृष्टलाई ‘बैंक अफ ‘द एयर' अवार्ड प्रदान गर्दै आएको छ । नेपालमा २८ वटा वाणिज्य बैंक छन् । ती बैंकमध्ये नेपाल इन्भेस्टमेन्ट बैंकले पाँचौंपटक यो अवार्ड पाएको नेपाल इन्भेस्टमेन्ट बैंकका उपमहाप्रबन्धक तथा प्रमुख सूचना अधिकृत विजेन्द्र सुवालले जानकारी दिए ।
द बैंकर्सले यसवर्ष एक सय ४९ मुलुकका बैंकलाई अवार्ड दिएको छ । हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय दक्षता प्रदर्शन गर्ने एक बैंकलाई यो अवार्ड दिइने सुवालले बताए । बैंकर्सले वित्तीय सुशासन तथा वित्तीय अवस्था, गुणस्तरीय सेवा, आधुनिक प्रविधिको उपयोग, हरेक वर्ष बैंकले गर्ने पुँजी तथा सम्पत्ति वृद्धि, खुद नाफा, कमाइको अनुपात, सेयर होल्डरले लगानीअनुसारको प्रतिफल पाए÷नपाएको लगायतका क्षेत्रको मापन गरी अवार्ड प्रदान गर्दै आएको छ ।
बैंकर्सले वित्तीय सुशासन तथा वित्तीय अवस्था, गुणस्तरीय सेवा, आधुनिक प्रविधिको उपयोग, हरेक वर्ष बैंकले गर्ने पुँजी तथा सम्पत्ति वृद्धि, खुद नाफा, कमाइको अनुपातलगायतलाई आधार मानेर अवार्ड प्रदान गर्छ ।
अवार्डका लागि छनोट गर्दा बैंकर्सले ग्राहक तथा बैंकको आन्तरिक कार्य सम्पादनका लागि आधुनिक प्रविधि तथा सेवा सुविधा प्रदान गरेको छ/छैन, नियमनकारी निकायबाट भए गरेका नीति नियम पालना कतिको गरेको छ र बजारबाट आएका चुनौतीलाई कसरी सामना गरिरहेको छलगायत विषयलाई पनि आधार बनाइएको छ । बैंक पुरस्कार जित्न बहु-अवसर पूरा गरेको हुनुपर्छ ।
पत्रिकाले १७ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको हो । गएको वर्ष नेपाल इन्भेस्टमेन्ट बैंकले चार अर्ब १४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो । अघिल्लो वर्ष यस्तो मुनाफा तीन अर्ब ११ करोड थियो । यो समयावधिमा बैंकको चुक्ता पुँजी आठ अर्ब ७१ करोड पुगेको छ भने कुल पुँजी १६ अर्ब ३० करोड पुगेर निजी बैंकमध्ये सर्वाधिक पुँजी भएको बैंक बनेको छ ।
गएको वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा प्रतिशत शून्य दशमलव ६८ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले दिएको लक्ष्यअनुरूप चुक्ता पुँजी आठ अर्बभन्दा माथि पुर्याउने नेपालको पहिलो हो बैंक नेपाल इन्भेस्टमेन्ट बैंक बनेको छ ।
इन्भेस्टमेन्ट बैंकले सात लाख ५० हजारभन्दा बढी ग्राहकलाई ४८ वटा शाखामार्फत सेवा दिइरहेको छ । देशका विभिन्न स्थानमा शाखारहित सुविधा पनि पुर्याउँदै आएको छ । बैंकले ८३ वटा एटीएम मेसिनद्वारा ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यस बैंकका पाँच लाख ५० हजारभन्दा बढी डेबिट कार्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सीले ‘क' वर्गको मान्यता दिएको छ ।