मोबाइल एप्सकाे स्नातक पढाइ नेपालमा
काठमाडौः आगामी शैक्षिक सत्रबाट मोबाइल एप्लिकेसन डेभलपमेन्टको स्नातक कक्षा सुरू हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बिहीबार पत्रकार सम्मेलन गरी आगामी शैक्षिक सत्रदेखि मोबाइल एप्लिकेसन डेभलपमेन्टको स्नातक कक्षा सञ्चालन गर्ने जानकारी दिएको छ ।
मोबाइल एप्लिकेसन कक्षा सञ्चालन गर्न इस्लिङ्टन कलेजले बेलायतको लन्डन मेट्रोपोलिटान विश्वविद्यालयसँग दुईपक्षिय सम्झौता गरेको छ । सम्झौता अनुसार बेलायत र नेपालमा एकैपटक सूचना प्रविधिअन्तर्गतका यस्ता कक्षा सञ्चालन हुने इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए ।
इस्लिङ्टन कलेज पढेका विधार्थीलाई बेलायतको विश्वद्यालयमा छात्रवृत्तिमा अध्ययन गराउने, कलेज र विश्वविद्यायलसँगको सहकार्यमा कक्षा सञ्चालन गर्ने, नेपाली र बेलायती प्राध्यापकको संयुक्त निरीक्षणमा कलेजले विद्यावारिधि गराउने तथा मोबाइल एप्लिकेसन कक्षा सञ्चालन गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा इस्लिङ्टन कलेजका अध्यक्ष बुढाथोकी र लन्डन मेट्रोपोलिटान विश्वविद्यालयका उपकुलपति जोन राफिलीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार विश्वविद्यायलको सहकार्यमा नेपालमा ६ सेमेस्टरको तीन वर्षे मोबाइल एप्लिकेसन डेभलपमेन्ट कक्षा सञ्चालन गरिनेछ । नेपाल र बेलायतमा एकैपटक सञ्चालन हुने यस्ता कक्षामा बढीमा ८० जनासम्म विधार्थी लिइने बुढाथोकीले बताए । उनका अनुसार यो कक्षाका लागि कलेजले अन्य विषयको नियमित कक्षा सरहकै शुल्क लिने भएकाले तीन वर्षे कोर्सका लागि नौ देखि १० लाख रुपैयाँ लाग्नेछ ।
यो कोर्स बेलायतमा पनि बढीमा १० वटा कलेजले मात्रै सञ्चालन गरेका छन् तर नेपालका लागि भने नयाँ भएको बुढाथोकीको भनाइ छ । कलेजले तयार गरेको न्युनतम मापदन्ड पूरा गरेका विद्यार्थीले मात्रै कक्षा लिन पाउनेछन् ।
‘विश्व म्यानुअल सिस्टमबाट कम्प्युटर हुँदै मोबाइलमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो’, बुढाथोकीले भने । त्यसैले बेलायती विश्वविद्यायलसँग सहकार्य भएको उनले बताए । यो विश्वविद्यालयसँगको सहकार्यमा कलेजले विगत ६ वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको कक्षा सञ्चालन गरिरहेको छ ।
इस्लिङ्टन कलेजबाट स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई मेट्रोपोलिटान विश्वविद्यालयमा अध्ययन गर्न छात्रवृत्तिकोसमेत व्यवस्था भएको छ । विश्वविद्यालयले ५० प्रतिशत, कलेजले २५ प्रतिशत र बाँकी विद्यार्थीले २५ प्रतिशत व्यहोर्ने गरी छात्रवृत्ति दिने सम्झौता भएको छ ।
यो कलेजबाट विद्यावारिधि गर्न बेलायत जाने विद्यार्थीका लागि पनि अध्ययन सुविधा दिइएको छ । इस्लिङ्टन कलेजबाटै विद्यावारिधिको पढाइ अगाडि बढाई अन्तीम वर्षका लागि मात्रै बेलायत जानेगरि सुविधा उपलब्ध गराएको कलेजले जानकारी दिएको छ ।
विश्वविद्यालय र कलेजको सहकार्यमा नेपाल र बेलायत दुवै देशमा एमबीए तहको कक्षा सञ्चालन गरिनेछ । एकिकृत पाठ्यक्रम तयार पारेर सुरू गरिने यस्ता कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई बेलायत लैजाने र बेलायती विधार्थीलाई नेपालमा ल्याउने कार्यक्रम पनि तय भएको कलेजको भनाइ छ ।
विश्व सूचना प्रविधिमा अभ्यस्त हुन थालिसकेको परिवेशमा साइबर सेक्युरिटीसम्बन्धी आवश्यक ज्ञान अहिलेको आवश्यकता भएको प्रोफेसर जोनले बताए । उनका अनुसार सूचना प्रविधिको पहुँच र क्षमता विकासका लागि नेपाली कलेजसँग सहकार्य भएको हो । कार्यक्रमा इस्लिङ्टन कलेजबाट पढाइ सकेर विभिन्न क्षेत्रको करिअर सुरु गरेका विधार्थीलाई इस्लिङ्टन हिरोको नामले सम्मान गरिएको थियो ।