मौन कोलाहल
पुस्तक : मौनता
लेखक : सुमन घिमिरे
विद्या : उपन्यास
प्रकाशक : गोरखा पब्लिकेशन
मूल्य : ३३५ रुपियाँं
सामाजिक सञ्जाल फेसबुकमा उनी गज्जबका स्टाटस राखिरहन्छन् । सञ्जालप्रेमीहरू तरंगित हुन्छन् । हजारौं कमेन्ट र लाइक आउँछ । आएका हजारौं फ्रेन्ड रिक्वेस्टहरूमा उनी एक जनालाई पनि साथी स्वीकार्दैनन् । कसैको मेसेजको जवाफ पनि दिँदैनन् । समर्पण नामक आईडी छ, ती अनौठा व्यक्तिको । मौनता नामबाट आएको रिक्वेस्ट भने झट्टै स्वीकार्छन् । अनौठोसँग नजिकिन्छन् भर्चुअल सम्बन्धमा ।
सुमन घिमिरेको उपन्यास ‘मौनता’को कथा हो यो । घिमिरे ‘मेरो बैंशको क्यालेन्डर’ कविता संग्रहबाट नेपाली साहित्यमा आफ्नो परिचय बनाइसकेका कवि हुन् । ‘मौनता’सँगै उनको परिचय अब विस्तारित भएको छ, आख्यानकारका रूपमा पनि । आज आईटीले हाँकिरहेको दुनियाँमा यथार्थभन्दा पनि बढी यथार्थ भएको छ, भर्चुअल संसार । समय र त्यसको प्रभाव निश्चय नै लेखकको रोजाइमा पर्छ ।
सुमन घिमिरेको ‘मौनता’ले प्रेम र सम्बन्धको विषयलाई केन्द्रमा राखेर आजको इन्टरनेट संसार, सामाजिक विचलन, युवा महत्वाकांक्षा र मानसिकतालाई उतार्ने प्रयत्न गरेको छ । वैदेशिक रोजगारीमा दौडिरहेका छन् युवा । मनग्य रेमिट्यान्स भित्रिएकामा राज्य मख्ख छ । परिवार खुशी छन् । तर, ती युवाको विदेश पलायनले समाज र परिवारमा पारिरहेको असरबारे बेखबर भइबसेका छौं हामी ।
घिमिरेले यसका केही पाटाहरू उधिन्ने प्रयत्न गरेका छन् । लोग्ने विदेसमा भएका महिलाहरूलाई प्रेमको जालोमा फसाएर फाइदा लुट्ने सविनहरू छन् यहाँ । र, प्रेमकै नाममा फसेर सबथोक सुम्पिने लक्ष्मीहरू पनि छन् । सामाजिक विकृतिको ज्वलन्त उदाहरण पेश गर्छन् लेखक । यस्ता विचलनका धेरै कारणमध्ये महत्वाकांक्षा र मोह मुख्य रहेको देखिन्छ । पैसा, विदेश, स्वतन्त्रता आदि अनेक मोह छन् हामीभित्र ।
यस्ता मोहजालमा फसेर मान्छेले आफ्नै पतनको बाटो खनिरहेका छन् । यस उपन्यासका पात्रहरू रानी, शीला र निरुहरू महत्वाकांक्षाका शिकार भएका छन् ।
शीला एउटी अति अराजक पात्र छिन् । अमेरिकाको आईटी कम्पनीको राम्रो जागिर, सोझो र सहयोगी लोग्ने, हुर्किँदै गरेको छोरोभन्दा पर उनी स्वतन्त्रताका नाममा अराजक जीवन बाँच्न थाल्छिन् ।
धेरैपटक सार्वजनिक ठाउँमा नै आपत्तिजनक अवस्थामा भेटिन्छिन् । त्यसपछि स्वाभाविक हो, जागिरबाट निकालिनु रलोग्नेसँग सम्बन्ध बिग्रिनु । अन्ततः आफू आएकै बाटो फर्किनुको विकल्प रहन्न । उनी नेपाल फर्किन्छिन् । मानवीय कमजोरीको नाडी समाएका छन् लेखकले । प्रेम नै केन्द्रमा राखेका लेखकले प्रेमका विभिन्न आयाम मनन् गर्छन् । प्रेमको नाममा फाइदा लिने र फसाउने प्रेमीहरू पनि छन् हामीछेउ ।
कोही सच्चा प्रेममा आफूलाई समर्पण गर्नेहरू पनि छन् । अर्पण यस्तै एक पात्र हुन्, जो आफ्नी हराएकी प्रेमिकाको खोजीमा छ । आईटी विशेषज्ञ हुन्, राम्रो जागिर छ । निकै राम्रा अफरहरू छन् । सबैका प्यारा छन् । सहयोगी छन् । तर, पीडा छ उनीभित्र । उनकी प्रेमिका हराएकी छन् । सामाजिक सञ्जालमा साथी बनाएकी मौनतामा उनी कता–कता छुटेकी प्रेमिकाको झल्को पाउँछन् ।
उनीहरू दुवै भर्चुअल प्रेममा चुर्लुम्म डुब्छन् । अस्टेलियाबाट मौनता अर्पणलाई भेट्न नेपाल आउँछिन् । अनि कथाले अर्कै मोड लिन्छ । सुमन घिमिरे सस्पेन्स पैदा गर्न र कथालाई एकदमै रोचक ढंगले अगाडि बढाउन माहिर छन् । हामी छेउछाउ र आफ्नै दैनन्दिनीका घटनाहरू उपन्यासमा आइरहेका कारण हामी आफैंलाई ती पात्रहरूमा पाउँछौं ।
युवाको प्रेम, सामाजिक सञ्जालका घटना, विदेश पलायन, प्रेमका नाममा फस्ने र फसाउने काम हामी वरपर भई नै रहेका छन् । यही विषयलाई प्रस्तुत गरेका छन् घिमिरेले । उपन्यास पढिसकेर पात्र र घटनाहरू ‘रिकल’ गर्दै जाँदा भने पाठकहरूलाई थोरै असहज लाग्न सक्छ । उनले उभ्याएका महिला पात्रहरू सबै केही न केहीमा फसेर पतनको संघारमा छन् ।
शीला र रानी महत्वाकांक्षाले नराम्रोसँग थलिएका छन् । लक्ष्मी र निरुहरू बनावटी प्रेममा फसेर स्वाहा भएका छन् । यी सबैलाई ती समस्याहरूबाट छुट्कारा दिन भने अर्पण आइपुग्छन् । शीलाको आईटी कम्पनी स्थापना गर्नेदेखि त्यसको प्रचार–प्रसार र सफल बनाउनसम्म अर्पणकै भूमिका छ । लक्ष्मीले गुमाएको घर फिर्ता गर्नेदेखि निरुलाई सही बाटो देखाउने काम पनि उनी नै गर्छन् ।
अर्पण कुनै सिनेमाका नायकजस्ता लाग्छन्, जो सबैको दुःख मोचन गर्ने क्षमता राख्छन् । यसरी ती महिलाहरूको सम्भावित पतनबाट जोगाउन अर्पणलाई एक रक्षककै रूपमा उभ्याउनु अस्वाभाविक र कतै लेखकभित्र सुषुप्त रहेको पुरुष मानसिकताको उपज त हैन ?गत वर्षको महाभूकम्पसँग जोडेर उपन्यासलाई टुंग्याइदिन्छन् घिमिरे । भूकम्पले काठमाडौँलाई ध्वस्त पारिरहेकै बखत अर्पण जहाज चढेर अमेरिका हानिँदै छन् ।
‘ब्रेन ड्रेन’ले देशलाई अँचेटिरहेको अवस्थामा अर्पणजस्तो होनाहार आईटी विशेषज्ञ पनि लाग्छन् विदेश । यो हाम्रो समयको तीतो यथार्थ हो । तर, विदेश जानेहरूका पछाडि निकै कारणहरू हुन्छन् । पैसा या अन्य केही बाध्यताहरू । तर, अर्पणको विदेस पलायन विनाकारणको छ । उनको अमेरिका प्रस्थान विश्वसनीय लाग्दैन । केही घटनाक्रमहरू छुटे, छुटाएजस्तो लाग्छ लेखकले ।
यस्तै केही तलमाथिका बाबजुद सुमन घिमिरेको प्रयास आशालाग्दो छ । कविको रूपमा परिचित उनी एकाएक उपन्यासकारका रूपमा देखिनु पाठकका लागि गतिलै झड्का हुनसक्छ । विषयवस्तु निकै छरिएका भए पनि मुख्यतः प्रेम, सम्बन्ध र युवा मानसिकतामै केन्द्रित छ ‘मौनता’ । उनको यो पहिलो प्रयासले पाठकको मनमा पक्कै पनि मौन कोलाहल मच्चाउने छ ।
प्रतिक्रिया दिनुहोस !