मौन कोलाहल

 मौन कोलाहल

पुस्तक   :  मौनता
लेखक    :  सुमन घिमिरे
विद्या    :  उपन्यास
प्रकाशक  :  गोरखा पब्लिकेशन
मूल्य     :  ३३५ रुपियाँं

सामाजिक सञ्जाल फेसबुकमा उनी गज्जबका स्टाटस राखिरहन्छन् । सञ्जालप्रेमीहरू तरंगित हुन्छन् । हजारौं कमेन्ट र लाइक आउँछ । आएका हजारौं फ्रेन्ड रिक्वेस्टहरूमा उनी एक जनालाई पनि साथी स्वीकार्दैनन् । कसैको मेसेजको जवाफ पनि दिँदैनन् । समर्पण नामक आईडी छ, ती अनौठा व्यक्तिको । मौनता नामबाट आएको रिक्वेस्ट भने झट्टै स्वीकार्छन् । अनौठोसँग नजिकिन्छन् भर्चुअल सम्बन्धमा ।

सुमन घिमिरेको उपन्यास ‘मौनता’को कथा हो यो । घिमिरे ‘मेरो बैंशको क्यालेन्डर’ कविता संग्रहबाट नेपाली साहित्यमा आफ्नो परिचय बनाइसकेका कवि हुन् । ‘मौनता’सँगै उनको परिचय अब विस्तारित भएको छ, आख्यानकारका रूपमा पनि । आज आईटीले हाँकिरहेको दुनियाँमा यथार्थभन्दा पनि बढी यथार्थ भएको छ, भर्चुअल संसार । समय र त्यसको प्रभाव निश्चय नै लेखकको रोजाइमा पर्छ ।

सुमन घिमिरेको ‘मौनता’ले प्रेम र सम्बन्धको विषयलाई केन्द्रमा राखेर आजको इन्टरनेट संसार, सामाजिक विचलन, युवा महत्वाकांक्षा र मानसिकतालाई उतार्ने प्रयत्न गरेको छ । वैदेशिक रोजगारीमा दौडिरहेका छन् युवा । मनग्य रेमिट्यान्स भित्रिएकामा राज्य मख्ख छ । परिवार खुशी छन् । तर, ती युवाको विदेश पलायनले समाज र परिवारमा पारिरहेको असरबारे बेखबर भइबसेका छौं हामी ।

घिमिरेले यसका केही पाटाहरू उधिन्ने प्रयत्न गरेका छन् । लोग्ने विदेसमा भएका महिलाहरूलाई प्रेमको जालोमा फसाएर फाइदा लुट्ने सविनहरू छन् यहाँ । र, प्रेमकै नाममा फसेर सबथोक सुम्पिने लक्ष्मीहरू पनि छन् । सामाजिक विकृतिको ज्वलन्त उदाहरण पेश गर्छन् लेखक । यस्ता विचलनका धेरै कारणमध्ये महत्वाकांक्षा र मोह मुख्य रहेको देखिन्छ । पैसा, विदेश, स्वतन्त्रता आदि अनेक मोह छन् हामीभित्र ।

यस्ता मोहजालमा फसेर मान्छेले आफ्नै पतनको बाटो खनिरहेका छन् । यस उपन्यासका पात्रहरू रानी, शीला र निरुहरू महत्वाकांक्षाका शिकार भएका छन् ।
शीला एउटी अति अराजक पात्र छिन् । अमेरिकाको आईटी कम्पनीको राम्रो जागिर, सोझो र सहयोगी लोग्ने, हुर्किँदै गरेको छोरोभन्दा पर उनी स्वतन्त्रताका नाममा अराजक जीवन बाँच्न थाल्छिन् ।

धेरैपटक सार्वजनिक ठाउँमा नै आपत्तिजनक अवस्थामा भेटिन्छिन् । त्यसपछि स्वाभाविक हो, जागिरबाट निकालिनु रलोग्नेसँग सम्बन्ध बिग्रिनु । अन्ततः आफू आएकै बाटो फर्किनुको विकल्प रहन्न । उनी नेपाल फर्किन्छिन् । मानवीय कमजोरीको नाडी समाएका छन् लेखकले । प्रेम नै केन्द्रमा राखेका लेखकले प्रेमका विभिन्न आयाम मनन् गर्छन् । प्रेमको नाममा फाइदा लिने र फसाउने प्रेमीहरू पनि छन् हामीछेउ ।

कोही सच्चा प्रेममा आफूलाई समर्पण गर्नेहरू पनि छन् । अर्पण यस्तै एक पात्र हुन्, जो आफ्नी हराएकी प्रेमिकाको खोजीमा छ । आईटी विशेषज्ञ हुन्, राम्रो जागिर छ । निकै राम्रा अफरहरू छन् । सबैका प्यारा छन् । सहयोगी छन् । तर, पीडा छ उनीभित्र । उनकी प्रेमिका हराएकी छन् । सामाजिक सञ्जालमा साथी बनाएकी मौनतामा उनी कता–कता छुटेकी प्रेमिकाको झल्को पाउँछन् ।

उनीहरू दुवै भर्चुअल प्रेममा चुर्लुम्म डुब्छन् । अस्टेलियाबाट मौनता अर्पणलाई भेट्न नेपाल आउँछिन् । अनि कथाले अर्कै मोड लिन्छ । सुमन घिमिरे सस्पेन्स पैदा गर्न र कथालाई एकदमै रोचक ढंगले अगाडि बढाउन माहिर छन् । हामी छेउछाउ र आफ्नै दैनन्दिनीका घटनाहरू उपन्यासमा आइरहेका कारण हामी आफैंलाई ती पात्रहरूमा पाउँछौं ।

युवाको प्रेम, सामाजिक सञ्जालका घटना, विदेश पलायन, प्रेमका नाममा फस्ने र फसाउने काम हामी वरपर भई नै रहेका छन् । यही विषयलाई प्रस्तुत गरेका छन् घिमिरेले । उपन्यास पढिसकेर पात्र र घटनाहरू ‘रिकल’ गर्दै जाँदा भने पाठकहरूलाई थोरै असहज लाग्न सक्छ । उनले उभ्याएका महिला पात्रहरू सबै केही न केहीमा फसेर पतनको संघारमा छन् ।

शीला र रानी महत्वाकांक्षाले नराम्रोसँग थलिएका छन् । लक्ष्मी र निरुहरू बनावटी प्रेममा फसेर स्वाहा भएका छन् । यी सबैलाई ती समस्याहरूबाट छुट्कारा दिन भने अर्पण आइपुग्छन् । शीलाको आईटी कम्पनी स्थापना गर्नेदेखि त्यसको प्रचार–प्रसार र सफल बनाउनसम्म अर्पणकै भूमिका छ । लक्ष्मीले गुमाएको घर फिर्ता गर्नेदेखि निरुलाई सही बाटो देखाउने काम पनि उनी नै गर्छन् ।

अर्पण कुनै सिनेमाका नायकजस्ता लाग्छन्, जो सबैको दुःख मोचन गर्ने क्षमता राख्छन् । यसरी ती महिलाहरूको सम्भावित पतनबाट जोगाउन अर्पणलाई एक रक्षककै रूपमा उभ्याउनु अस्वाभाविक र कतै लेखकभित्र सुषुप्त रहेको पुरुष मानसिकताको उपज त हैन ?गत वर्षको महाभूकम्पसँग जोडेर उपन्यासलाई टुंग्याइदिन्छन् घिमिरे । भूकम्पले काठमाडौँलाई ध्वस्त पारिरहेकै बखत अर्पण जहाज चढेर अमेरिका हानिँदै छन् ।

‘ब्रेन ड्रेन’ले देशलाई अँचेटिरहेको अवस्थामा अर्पणजस्तो होनाहार आईटी विशेषज्ञ पनि लाग्छन् विदेश । यो हाम्रो समयको तीतो यथार्थ हो । तर, विदेश जानेहरूका पछाडि निकै कारणहरू हुन्छन् । पैसा या अन्य केही बाध्यताहरू । तर, अर्पणको विदेस पलायन विनाकारणको छ । उनको अमेरिका प्रस्थान विश्वसनीय लाग्दैन । केही घटनाक्रमहरू छुटे, छुटाएजस्तो लाग्छ लेखकले ।

यस्तै केही तलमाथिका बाबजुद सुमन घिमिरेको प्रयास आशालाग्दो छ । कविको रूपमा परिचित उनी एकाएक उपन्यासकारका रूपमा देखिनु पाठकका लागि गतिलै झड्का हुनसक्छ । विषयवस्तु निकै छरिएका भए पनि मुख्यतः प्रेम, सम्बन्ध र युवा मानसिकतामै केन्द्रित छ ‘मौनता’ । उनको यो पहिलो प्रयासले पाठकको मनमा पक्कै पनि मौन कोलाहल मच्चाउने छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.