दिगो विकासको उपाय
राष्ट्रसंघीय महासचिवको दिगो विकास लक्ष्य हेर्ने विशेष सल्लाहकारका हैसियतमा म दिगो विकास लक्ष्यहरू विश्वका लागि किन महत्वपूर्ण छन् भन्ने कुरा बताउँदैछु । मैले दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रसंघका तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा नयाँ महासचिव एन्टोनियो गुटेरससँग कुराकानी गरेको थिएँ ।
यतिबेला विश्व राजनीति अनिश्चितताको भूमरीमा परिरहेको अवस्था छ । अमेरिका भूराजनीतिक र आर्थिक चुनौतीबीच उभिएको छ । हामीले अहिले अमेरिकामा नयाँ राष्ट्रपति पाएका छौं । उनी निकै अस्थिर छन् । हामी नयाँ युगमा प्रवेश गरेका छौं ।
राजनीतिक र आर्थिक परिस्थितिहरूमा परिवर्तन देखापरेका छन् विश्वभर नै । वर्तमान विश्वको कुरा गर्दा हामीले दिगो विकासको कुरा गर्नैपर्छ । विश्वकै लागि अहिले यो प्रधान विषय बनेको छ । सैद्धान्तिक रूपमा विश्वले नै यो अवधारणालाई अनुमोदन गरिसकेको छ ।
राष्ट्रसंघका १९३ सदस्य देशले यो अवधारणालाई आफूबीचमा सहकार्य गर्ने मुख्य विषय बनाइसकेका छन् । सन् २०१५ मा ती देशले सन् २०३० सम्मका लागि दिगो विकाससम्बन्धी १५ वर्षे एजेन्डा तय गरेका थिए । उक्त एजेन्डाअन्तर्गत १७ वटा दिगो विकासका लक्ष्य पर्छन् ।
यसअघि सन् २००१ देखि सन् २०१५ सम्म सहस्राब्दी विकास लक्ष्य तय गरिएका थिए जसमा नेपाल अधिकांश लक्ष्यमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको थियो । यहाँको राजनीति तरल भए पनि सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने सवालमा नेपालले ठूलो प्रगति गरेको देखियो ।
सन् २०१५ मा दिगो विकास लक्ष्यहरू अनुमोदन गरेको केही सातामै राष्ट्रसंघमा आबद्ध देशहरूले पेरिसमा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज अनुमोदन गरेका थिए । दुई साताको निरन्तर छलफलपछि अनुमोदित उक्त सम्झौता ऐतिहासिक छ र साथै यो दिगो विकास लक्ष्यकै एक अंग बनिसकेको छ ।
दिगो विकासभित्र आर्थिक, सामाजिक र वातावरणीय उद्देश्यहरू पर्छन् जसलाई राष्ट्रसंघका सदस्य मुलुकहरूले आफ्नो विकास रणनीतिमा समाहित गर्ने बताएका छन् । दिगो विकाससम्बन्धी अवधारणा अनुमोदन गरेपछि विश्वमा नयाँ युग सुरु भएको मान्न सकिन्छ ।
गरिबी निवारण गर्नु र जनताको आधारभूत आवश्यकता पूरा गर्नु दिगो विकासको पहिलो नम्बर विषय हो । दिगो विकासअन्तर्गत भोकमरी हटाउनु दोस्रो नम्बर विषय हो जसका लागि दिगो रूपमा खाद्यान्न उत्पादनका विषयलाई सबै देशले जोड दिनुपर्छ ।
कुपोषण, पोषणलगायतका विषय यहीभित्र पर्छन् । जलवायु परिवर्तनका कारण खाद्यान्न आपूर्तिमा समस्या उत्पन्न भइरहेको छ । भारतको हरियाणा, पञ्जाबलगायतका क्षेत्रमा अहिले पनि ३० मिलियन जनता भोकमरीबाट पीडित छन् । त्यस्तै कृषिजन्य वस्तुमा रासायनिक विषादी, फर्टिलाइजरको प्रयोग बढेको छ ।
दिगो विकासको तेस्रो मुद्दा सबैका लागि स्वास्थ्य छ । यो पनि नेपालका लागि निकै महत्वपूर्ण छ । सबैका लागि गुणस्तरीय शिक्षा दिगो विकासको चौथो मुद्दा हो । नेपालमा कम उमेरमा शिक्षा दिने, उच्च तहमा पनि भोकेसनल शिक्षा र तालिमको व्यवस्था गर्ने, सबै नागरिकका लागि शिक्षाको अवसर दिने कुराहरू निकै महत्वपूर्ण छन् । लोकतन्त्र बलियो हुनका लागि सबैका लागि शिक्षा आवश्यक छ । सबैका लागि शिक्षा भन्ने मान्यताले लोकतन्त्र मजबुत पार्छ ।
लैंगिक समानता दिगो विकासको पाँचौं महत्वपूर्ण कुरा हो । नेपालले यसमा निकै प्रगति गरेको छ । सबैका लागि विद्युत्, सबैका लागि सरसफाइ, सबैका लागि रोजगारी, गुणस्तरीय पूर्वाधार विकास, क्रमशः त्यसपछिका महत्वपूर्ण दिगो विकासका मुद्दा हुन् । नेपालका लागि पूर्वाधार विकास अत्यन्त रणनीतिक विषय पनि हो ।
दिगो सहरको निर्माण, दिगो खाद्यान्न उत्पादन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, समुद्री तटीय क्षेत्रका समस्या र तिनका समाधानका पक्ष पनि दिगो विकासकै एजेन्डा हुन् । अमेरिकाको न्युयोर्क सहर समुद्री समस्याका कारण संकटमा पर्न सक्छ ।
जस्तोः जलवायु परिवर्तनका लागि कुनै पनि बेला यो सहर डुब्न पनि सक्ला । यस्तो भयावह समस्या वातावरणीय समस्या र जलवायु परिवर्तनका कारण निम्तिने खतरा छ । तर नेपालजस्ता भूपरिवेष्टित मुलुकका लागि भने समुद्री क्षेत्रमा उत्पन्न हुने समस्याको कुनै प्रत्यक्ष प्रभाव रहँदैन ।
जमिन र वनजंगलको क्षयीकरण र ह्रास आउँदा उत्पन्न समस्या पनि दिगो विकासको मुद्दा हो । नेपालमा पतझर जंगलहरू छन् । तिनमा भविष्यमा समस्या देखिन्छन् । व्यापक वन फँडानी भइरहेको छ विश्वभर नै, जसले जटिल समस्या ल्याउने देखिन्छ ।
दिगो विकासको अर्को मुद्दा सुशासन हो । अहिले अमेरिकामा खर्बपतिहरू शासनमा आएको अवस्था छ । यसका कारण भ्रष्टाचार मौलाउन सक्छ । समग्र प्रणालीलाई नै भ्रष्ट बनाउने खतरा आउन सक्छ । सुखद कुरा, नेपालमा खर्बपतिहरूले शासन गरिरहेका छैनन् ।
दिगो विकासको अर्को मुद्दा भनेको विश्वका मुलुकहरूबीच अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य हो । जस्तो ः जलवायु परिवर्तनको मुद्दामा । सन् २०१६ अघिल्लो वर्षभन्दा बढी गर्मी रह्यो । भूराजनीतिक हिसाबले नेपाल अत्यन्तै महत्वपूर्ण स्थानमा छ ।
यो सुन्दर मुलुक विशाल छिमेकी मुलुक चीन र भारतको बीचमा छ । चीन र भारतले आर्थिक प्रगति गरिरहेका छन् । चीन विश्वको पहिलो अर्थतन्त्र लगभग बनिसकेको अवस्था छ जसका कारण विश्व व्यवस्थामै परिवर्तन आउने देखिन्छ । नेपालको अर्को छिमेकी भारतले पनि दु्रत विकास गरिरहेको देखिन्छ ।
सन् २०३० सम्म दिगो विकाससम्बन्धी लक्ष्य हासिल गर्न नेपालले छिमेकी मुलुकहरू चीन र भारतसँग आर्थिक सहकार्य मजबुत बनाउनुपर्ने देखिन्छ । नेपालले आगामी १५ वर्षमा आर्थिक विकासको गति द्रुत बनाउन आवश्यक आर्थिक रणनीति तय गर्नुपर्छ ।
चीन र भारतसँग आर्थिक सहकार्य मजबुत बनाउनुपर्छ ।
पूर्वाधार विकासमा वैदेशिक लगानी भित्र्याउनुपर्छ ।
जलविद्युत्को विकास ।
यातायात तथा पारवहन क्षेत्रमा पूर्वाधार विकास ।
अत्याधुनिक सूचना प्रविधिको उपयोग ।
सबैलाई शिक्षाको पहुँच । छिमेकसँग सडक सञ्जाल विस्तार, रेल कनेक्टिभिटी ।
न्युयोर्कजस्ता व्यवस्थित सहर ।
मेरो सुझाव के छ भने यसका लागि दुवै छिमेकीसँगको नेपालले सहकार्य गर्नुपर्छ । मित्रतापूर्ण सम्बन्ध राखेर नै नेपालले दुवै छिमेकबाट पूर्वाधार विकासमा लगानी भित्र्याउनुपर्छ । नेपाल यसरी आर्थिक विकासको पथमा लाग्नुपर्छ । नेपालको विकासका लागि जलविद्युत्को विकास निकै महत्वपूर्ण पक्ष हो ।
जलस्रोतको उपयोगबाट नेपालले प्रचुर लाभ लिन सक्छ । यातायात तथा पारवहन क्षेत्रमा पूर्वाधारको विकास, अत्याधुनिक सूचना प्रविधिको उपयोग र सबैलाई शिक्षाको व्यवस्था नेपालको विकासका लागि अति महत्वपूर्ण पक्ष हुन् भन्ने मलाई लाग्छ ।
छिमेकी देशहरू चीन र भारत आर्थिक हिसाबले समृद्ध हुने तर नेपाल गरिब नै रहने अवस्था रहनु हुँदैन । यस्तो स्थिति कायमै रहे यसले नेपालको सार्वभौमसत्ता नै कमजोर पार्न सक्छ । मलाई लाग्छ, त्यस्तो अवस्था आउने छैन । उत्तरतर्फ रहेको चीनले नेपालमा रेल विस्तार गर्न चाहेको देखिन्छ ।
त्यस्तै उदाउँदो भारतसँग नेपालले सडक सञ्जाल अझै विस्तार गर्न सक्छ । यो सडक सञ्जाललाई नेपालले एसियालगायत विश्वका अन्य मुलुकसँग कनेक्टिभिटी बढाउन सक्ने प्रचुर अवसरका रूपमा लिनुपर्छ ।
नेपालको भूराजनीतिक अवस्था हेर्दा दुवै छिमेकी चीन तथा भारतसँग आर्थिक विकासमा सहकार्य गर्नुपर्छ । दुवैसँग असल सम्बन्ध राख्नु हितकर हुन्छ । चीनले स्थापना गरेको विकास बैंक, एसियाली विकास बंैकबाट लगानी भित्र्याएर पूर्वाधार विकास, सडक र रेल सञ्जाल विस्तारका काममा नेपालले आर्थिक विकासमा फड्को मार्न सक्छ ।
विश्वका अरू मुलुकका अनुभवलाई समेत ख्याल गर्न आवश्यक छ । मलाई के लाग्छ भने नेपालका राजनीतिक शक्तिबीच आर्थिक विकासका मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ । यहाँ दलहरूबीच राजनीतिक किचलो भए त्यसले आर्थिक विकासमा हित गर्दैन ।
एकातिर विश्वभर आर्थिक विकास अघि बढिरहेको छ । साथै जलवायु परिवर्तनका कारण विभिन्न खतरा देखिँदा त्यसको न्यूनीकरण गर्ने प्रतिबद्धता पनि आएको छ । गरिबी निवारण, भोकमरी अन्त्य, सबैका लागि स्वास्थ्य, सबैका लागि शिक्षा, रोजगारीको व्यवस्था, सबैका लागि बिजुली, गुणस्तरीय पूर्वाधारलगायतका राष्ट्रसंघीय दिगो विकासका लक्ष्यहरू हासिल गर्न विश्वका मुलुकहरू सहकार्य गर्दै अघि बढिरहेका छन् ।
विश्वका ठूला मुलुकहरू अमेरिका र चीनमा धनी तथा गरिबबीचको खाडल निकै ठूलो छ । धनी र गरिबबीचको खाडल ती मुलुक हेरी नेपालमा कम छ । चीन, भारत र नेपालजस्ता मुलुकमा व्यवस्थित सहरहरू कसरी बनाउने भन्ने ठोस रणनीति तय नगरी सहर बनाएको देखिन्छ । अमेरिकाको न्युयोर्क सहर कसरी व्यवस्थित बनाइएको थियो भन्ने अनुभव नेपालले सिक्न सक्छ ।
जलवायु परिवर्तनको जोखिम कम गर्न नेपालले विद्युत्बाट चल्ने गाडीको प्रयोग गर्नु अति व्यावहारिक हुने मेरो बुझाइ छ । काठमाडौं सहर उत्रिँदा मैले महसुस गरें-यहाँ निकै प्रदूषण बढेको छ । सहर पनि निकै अव्यवस्थित छ । एसियामा नयाँदिल्ली, बेइजिङ र काठमाडौं प्रदूषित सहरमा पर्छन् । जलवायु परिवर्तन र प्रदूषणको असर भयावह हुन सक्छ विश्वभर नै । यसबारे हामी सबै गम्भीर हुनैपर्छ ।
विश्वभर नै अहिले राजनीतिक परिवेश निकै तनावग्रस्त छ । एकातिर हामी लोकतन्त्रको कुरा गरिरहेका छौं, अर्कोतिर भ्रष्टाचार बढिरहेको छ । यी दुवै एकैसाथ जान सक्दैनन् । दिगो विकाससम्बन्धी लक्ष्यअनुसार सन् २०३० सम्ममा गरिबी हटाइसक्ने सबै मुलुकको लक्ष्य छ । नेपालले पनि उल्लेख्य मात्रामा गरिबी घटाउन सफलता पाएको देखिन्छ । चीनमा गत ३० वर्षमा उल्लेख्य मात्रामा गरिबी घटेको उदाहरण हामीसामु छ ।
एक्काईसौं शताब्दीमा नेपालले आधुनिक सूचना प्रविधिको उपयोग गरी बैंकिङ प्रणाली, टेलिमेडिसिन, इ—कमर्समा क्रान्तिकारी फड्को मार्नसक्ने प्रचुर सम्भावना मैले देखेको छु । नेपालको युवा पुस्ताले अत्याधुनिक सूचना प्रविधिलाई भरपूर उपयोग गरेको देखिन्छ । सूचना प्रविधिको क्रान्तिबाट नेपाल पनि प्रभावित बनेको छ ।
नेपालमा लाखौं युवा रोजगारीका लागि विदेश गएका छन् । नेपालमा राम्रो रोजगारी अवसर नहुनु त्यसको कारण हो । केही समय मेरो मुलुकका कुरा गरौं- अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएसँगै राजनीतिक समस्या चर्किन सक्ने शंका व्याप्त छ । जनता सरकारविरुद्ध सडकमा आइरहेका छन् ।
उनका नीतिहरूप्रति जनता शंशकित छन् । एक हिसाबले भन्दा अमेरिका पनि अहिले भूराजनीतिक संक्रमणको कालबाट गुज्रिरहेको छ । विश्व निकै चाँडो चाँडो आर्थिक विकासको चरणमा छ । दिगो विकासअन्तर्गत सामाजिक समावेशिताको कुरा पनि उत्तिकै ज्वलन्त मुद्दा छ । विश्वमा भइरहेको आर्थिक प्रगतिको गतिअनुसार त्यसको वातावरणीय प्रभावबारे ध्यान दिनु आवश्यक छ ।
(गत साता नेपालको एकदिने भ्रमणमा आएका राष्ट्रसंघीय महासचिवका दिगो विकाससम्बन्धी विशेष सल्लाहकार तथा प्रख्यात अर्थविद् जेफ्री स्याक्सले काठमाडौंमा दिएको प्रवचनको सम्पादित अंश)