सुधारिँदै मृत्यु संस्कार
सहिद शुक्रराज शास्त्रीको सहादतको इतिहाससँगै मृत्यु संस्कार सुधारको प्रयास गरिएको पाइन्छ । नेपाल आर्य समाजको स्थापनाका क्रममा १९५२ सालतिर शुक्रराजकै पिता माधवराज जोशीले मृत्यु-संस्कारलगायतका धार्मिक अन्धविश्वास हटाउन कोसिस गरेका थिए ।
मूर्ति पूजनको विरोध र मृत्यु संस्कारभित्रका विकृति सुधार्न चेतनशील मानिसको समूह बनाएर काठमाडौंमात्रै होइन नुवाकोट, पोखरालगायतका स्थानमा पुगेको पाइन्छ । जहाँ उनले १३ दिने दाजुभाइलाई भोज नखुवाउने, शवयात्रामा रोएर नजाने, श्राद्ध भोजमा मासु नखाने जागरण ल्याए । सिद्धान्तमात्र होइन, बुवाको निधनमा व्यवहारमै उनले यसै गरेर देखाए ।
संस्कार संवेदनशील र गम्भीर विषय हो । यस्ता विषयमा कहीँकसैले झट्ट निर्णय गर्ने र तुरुन्त लागू हुने सम्भावना हुँदैन । माधवराज जोशीले पनि अभियानका रूपमा आफूलाई अघि बढाउँदा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको इजलासमा तत्कालीन बडागुरुज्यू ( श्री ६) लगायत पण्डित समूहले मरणान्त पिटेको इतिहास छँदैछ ।
बरखीको सेतो वस्त्रमै उनलाई बिभत्स रूपमा नगर परिक्रमा गराएर दुई वर्ष काराबास पनि दिएको थियो राणा शासनले । उनको परिवार नै समाज र कुटुम्बबाट तिरस्कृत भयो अनि उनको पक्षमा रहेका भारतीय नागरिक शिक्षक दयाल सिंहलाई देश निकाला गरियो ।
अन्ततः कुटुम्ब र समाजबाट बहिष्कृत भएकै कारण उनकै परिवार पनि काठमाडौं छोडेर वीरगन्ज हुँदै भारत भासिए । समाजको विचार परिवर्तन सहज छैन । परम्परागत विषय, घटना, प्रसंग र सन्दर्भलाई पचाएर सुझबुझका साथ गहिरो चेतनाबाट त्यस विषय र परम्पराका विकृति खुट्टामा बिझेको काँडोलाई झैं फुत्त फाल्न सजिलो कहाँ छ र ? यो त शिक्षितहरूको जमात भएरमात्र पुग्ने कुरो होइन, दीक्षित वर्ग र समुदायले अभियानका साथ बिझेको काँडो सँगै झिकेपछिको घाउलाई समेत मलम लगाउनसक्ने शैलीमा पाइलामा पाइला मिसाउनुपर्ने हुन्छ ।
समाजमा विविधता छ । झन्डै डेढ दशकपछि माधवकै विचार पछ्याउँदै सत्याचरण मलामी गुठी स्थापना गरियो । ‘स्वर्ग वा नरक छैन केवल कल्पनामात्रै हो । दान दिइएका वस्तु मृतककहाँ पुग्ने होइन' जस्ता विचार प्रचार गर्ने अभियान थालियो ।
परिणाम उही आयो, राणा शासकले गुठीका पदाधिकारीलाई समेत देश निकाला गरिदियो । भुवनलाल प्रधानको ‘सहिद शुक्र'मा भेटिने यी घटना–सन्दर्भलाई पछिल्लो दशक पुनः ब्यूँताउने काम हुन थालेका छन्, अभियानकै रूपमा पनि अघि बढाउने व्यक्ति र संस्थाहरू देखिएका छन् ।
‘२००७ सालदेखि २०६६ सम्मको अर्ध शताब्दीमा यस क्षेत्रमा स्वतस्फूर्त रूपमा परिवर्तनहरू हुँदै रहे । जस्तो कि लास मूलढोकाबाट बाहिर लगिँदैन थियो, पर्खाल फोडेर वा पछाडिको ढोकाबाट लगिन्थ्यो, घाटमा जाने बाटोमा परेका सानातिना खोल्साखोल्सी वा खोलानालाका पुल, फट्के माथिबाट शव लगिँदैनथ्यो, पानीबाटै लगिन्थ्यो', जनसांस्कृतिक प्रतिष्ठानसँग नेपाल प्रज्ञाप्रतिष्ठानले केही समयअघि गरेको ‘मृत्यु संस्कार सुधारका सम्भावनाहरू' विषयक गोष्ठीमा भिक्टर प्रधानले ‘मृत्यु संस्कार सम्बन्धमा सुधारका लागि हालसम्म भएका गतिविधिहरू' नामक कार्यपत्रमा लेखेका छन् ।
उनी विगतमा फर्कन्छन्, ‘किरियापुत्री परालकै ढड्डामा बस्थे, धागोले सिएको वस्त्र लगाउँदैनथे । पातमा खान्थे, जुत्ताचप्पल लगाउँदैनथे । छोरीहरू किरिया बस्दैनथे तर अचेल यी चलनहरू कसैले दबाब नदिईकनै जीवनशैलीसँग नमिल्दो क्रममा समेत परिवर्तन भएका छन् ।'
कतिपय कुरा सही भए वा आफूलाई चित्त नबुझी रहे पनि परिवर्तन गरौं भन्दा समाज र समाजका बासिन्दा स्वीकार्न तयार हुँदैनन् तर केही विषय यस्ता हुन्छन् जुन समाजले पचाउने विषय होइनन् र पनि त्यो काम भइरहेको हुन्छ र थाहा पाए÷नपाएको शैलीमा मानिस मौन बसिदिन्छन् ।
यही समाजभित्र मृत्यु संस्कारभित्रै पनि भइरहेको छ । नत्र अचेल किन शवलाई छालाको जुत्ता लगाएर घाटसम्म पुर्याइन्छ ? नत्र किन श्रीखण्डको चितामा जलाउनुपर्ने लास टायरजस्तो अपवित्र वस्तु (राजधानीबाहिर विशेष पूर्वाञ्चलमा)ले जलाइन्छ ? यसलाई विकृति मान्ने समाज पनि अझै छ अनि सँगै परस्परमा अर्को समाज पनि छ, जो आधुनिक समयको उपजको संज्ञा दिएर चुपचाप छ । किरिया बारेका बेला गरिने प्रविधिमैत्री हुने आजको वातावरण र खानपिनका विविध सन्दर्भलाई सम्भवतः अहिले कोट्याइरहन पर्दैन ।
एक दैनिकमा २०६८ मंसिरमा समाचार प्रकाशित भयो, महिला स्वास्थ्य सेविका आमा देवकाको निधन भएपछि अविवाहित कान्छी छोरी संयुक्ता भण्डारीले स्वेच्छाले दागबत्ती दिइन् र १३ दिन किरिया बसिन् । मृत्यु संस्कारका नियम मान्ने हो भने हिन्दु संस्कारको एउटै सन्दर्भ काफी छ, ‘छोरो नभए पिण्ड तर्पण गर्ने मानिस हुँदैन, स्वर्गको बाटो छेकिन्छ ।' अनि पुराण वा स्मृतिलाई सत्य मान्ने हो भने छोरी किरिया बसेर मृतकले वैतरणी तर्दैन ।
गोरखामा पनि छोरा र छोरीबीच व्याप्त विभेद चिर्दै बुवाको किरिया गरेरै छोडे । क्रमशः १८ वर्षीया शशीकला र १६ वर्षीया सरस्वती आलेमगरले गाउँलेको विरोध र छेकथुनका बाबजुद शव बोकी घाटमा पुर्याएको घटना छ वर्षअघिको हो ।
नाबालक छोराहरू भएकी कल्पना विकले पतिको किरिया बसेर पाँच वर्षअघि खेताला खोज्नु पर्दैन भन्ने सन्देश लमजुङको समाजमा दिइन् । अहिले पनि १३ दिन किरिया बस्ने प्रचलन बलियो छ । तर, किरिया १३ दिन नै बस्नुपर्छ भन्ने मान्यताभित्र विकृति रहेको भन्दै सहसचिव ताराप्रसाद पोखरेल र उनका दाजु प्रमुख जिल्ला अधिकारी रहेका सुनसरीका दाजुभाइले गत वर्षमात्र पशुपतिनाथ परिसरमै बुवाको काम पाँच दिनमा सके । संस्कार सुधार समाजका अध्यक्ष शंकरप्रसाद पोखरेललाई आधार मान्ने हो भने १३ दिने काजकिरियालाई झन्डै दुई दर्जन परिवारले आफ्ना बुवाआमाको किरिया पाँच दिनमा सकेका छन् ।
२१औं शताब्दीको प्रविधिमैत्री अत्याधुनिक युगमा व्यावहारिक र अन्य विविध कारणले १३ दिने मृत्यु संस्कार पाँच दिनमा झार्नुपर्छ भन्ने निष्कर्ष ती दुई दर्जन परिवारको छ । संस्कारको सुधार अभियानमा लागेको समाजको शास्त्रीय आधारसहितको तर्कलाई सही ठान्नेहरू झन्डै पाँच सयले आफ्नो बुवाआमाको र पछि आफ्नै काजकिरिया पनि तीन दिनकै गर्ने र गरिदिन छोराछोरीलाई वचन र लिखित पत्र दिएका छन् ।
अभियन्ता पोखरेलका अनुसार संस्कारलाई लोप गर्नुभन्दा लोप हुनबाट जोगाउने अभियानले तीन दिनमा झारिएको हो र सो तीनदिने मृत्यु संस्कारमा पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँच पिण्ड दिएपछि चौथो दिनमा ११औं दिनको काम र पाँचौं दिनमा १२औं दिनको काम गर्न सकिनेछ ।
किरिया कर्मको अवधिमा १३ दिनसम्म किरियापुत्रीले घाँस, परालमा राडी ओछ्याएर सुत्नुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागतीमात्र खाएर बस्नुपर्ने यथार्थ हो । रोगहरूले च्यापेर वृद्ध उमेरमा कोरामा बस्दा (कोराबाटै अस्पताल पुर्याउँदै ल्याउँदै गरेका र सोही अवधिमा नियमको पूर्ण पालना गर्दा जीवन गुमाउनु परेका घटनाहरू भएकाले) र बूढापाकाको भनाइ ‘ श्राद्ध गर्नुभन्दा सिधा पुर्याउन गाह्रो'जस्ता यथार्थ विषयलाई मनन गरी समाजले १३ दिने काजकिरियालाई तीन दिनमा वैकल्पिक अवतरण गर्न लागिएको समाजको तर्क छ । तर्कहरू पारस्कर गृह्यसूत्र, कलिमा पाराशर स्मृति, याज्ञवल्क्यको वचन, गरुड, निर्णय सिन्धु र धर्म सिन्धुमा आधारित छन् । यिनले तीन, पाँच, सात दिनका विकल्पहरू दिएका छन् ।
भन्ने गर्छौं जुन धर्ममा आस्था राखे पनि आखिर भगवान्÷ईश्वर एकै हुन् । यसलाई मृत्यसँग पनि जोडेर हेर्न सकिन्छ । ब्राह्मण, क्षेत्री, राई, लिम्बू जे भए पनि आखिर मानिस नै हो । पूर्वी नेपालको किरात लिम्बू समाजमा लोग्ने मानिसको निधन भए चार दिनसम्म र स्वास्नी मानिसको निधन भए तीन दिनसम्म जुठो बारे पुग्छ । ब्राह्मण, क्षेत्रीभन्दा फरक यथार्थ जूठोको अन्तिम दिन लिम्बूहरूको मासु र जाँडरक्सी हुनैपर्छ । आशौच बार्ने विषयमा पनि अन्य जातिभन्दा जनजाति र आदिवासीमा भिन्नता छ ।
उनीहरूको धेरै जातिमा तीन, पाँच वा सात दिनमा चोखिने चलन छ । हिन्दू धर्म मान्ने कतिपयमा यो काम १३ दिनसम्मै गर्ने प्रचलन छ । काजकिरियामा नेपालभित्रै भेटिएको फरक प्रसंग माझी समुदायमा छ । उनीहरूको अन्त्येष्टि क्रिया एउटा ‘सरात' गरेपछि सकिन्छ ।
उता थारू जातिमा तीनदेखि सात दिनसम्ममा जुठो चोख्याउने कामलाई टुंग्याउँछन् । झाँगड जातिले भने ११ दिनमा मृत्यु संस्कार सक्छन् । डा. प्रेम खत्री समाजमा विद्यमान कतिपय कुरीतिलाई शिक्षा, राजनीतिक चेतना र अन्य परिवर्तनहरूले पनि उखेल्न नसकेको बताउँछन् ।
मृत्यु संस्कार परिवर्तनको बहसका क्रममा डा. खत्रीले भनेका छन्, ‘देशको भूगोलभन्दा दुरुह सोच हाम्रा मनमस्तिस्कमा जमेर बसेका छन् । ती पहाडजस्ता छन् र हत्तपत्त निस्कन मान्दैनन् ।' १३ बाट पाँच दिनमा झार्ने मृत्यु संस्कारको प्रस्तावित परिवर्तनले मानसिक सोच, लोकाचार, खासगरी लोकलाज र आत्मग्लानिको चित्र आँखामा आउने भए पनि भोलि यसमा परिवर्तन हुने उनको निष्कर्ष छ । समाज परिवर्तनशील छ । सतीप्रथा अन्त्य होला भन्ने त्यो समाजका बासिन्दालाई सायदै विश्वास थियो ।
पुराना पुस्तामा अझै पनि यो परिवर्तनको यथार्थ चिर्नसक्ने क्षमता नहुन सक्छ तर तिनै पुस्ताका नातिनातिनाहरूले सहजताका साथ स्वीकारी अवलम्बन गर्न थालेपछि नेपाली समाजमा प्रचलित विविध संस्कारभित्रका विकृति कसो नसुध्रिएलान् ?