छोरी बचाऔं, प्रकृति बचाऔं

छोरी बचाऔं, प्रकृति बचाऔं

बढ्दो तापक्रम र असन्तुलित रूपमा भएको मौसम परिवर्तनको कारण (धरती र प्रकृति) वातावरण, पर्यावरण र मानव समुदायबीचको सम्बन्धमा असन्तुलित परिवर्तन देखा परेको छ । भौतिक विज्ञान र विकासको असन्तुलित प्रयोगले रैथाने बोटबिरुवा र जीवजन्तुहरू लोपोन्मुख अवस्थामा पुगेका त छन् नै, प्राकृतिक सन्तुलनलाई कायम नराख्ने हो भने केही वर्षभित्र लोपोन्मुख अवस्थाका यी वन्यजगत् जीवजन्तु र तीसँग सम्बन्धित प्रजातीय प्राणीहरूसमेत यस धराधामबाट बिदा हुनेछन् ।

प्रकृति, वातावरण, पर्यावरण र मानव जातिबीच गहिरो अन्तर्सम्बन्ध हुन्छ । यस प्रकारको उचित सम्बन्धले मानव सभ्यतालाई दीर्घायु प्रदान गर्छ । सभ्यताको आधार प्रकृति हो । प्रकृतिको यसै महत्वलाई हाम्रा पूर्वीय धर्म, दर्शन र संस्कृतिले विशेष आस्था र सम्मानका साथ पूजा र अनुष्ठान गरेको पाइन्छ ।

सभ्यताको प्रारम्भिक चरणमा हिन्दु साधक र स्रष्टाहरूले प्रकृतिलाई देवत्वको रूपमा परिभाषित गर्‍यो । प्रकृतिको यसै विचित्र रूपलाई दैवीकरण गर्ने सिलसिलामा बहुदेववादको अवधारणा आएको धार्मिक, दार्शनिक र मानवशास्त्रीय अध्ययताहरू स्वीकार गर्छन् ।

वेद, उपनिषद् र अन्य पौराणिक ग्रन्थहरूमा प्रकृति र पृथ्वीमातालाई आमा र आकाशलाई पिताका रूपमा सम्बोधन गरेको पाउँछौं । यस तथ्यले मानव सभ्यताको आधार नै प्रकृति हो भन्ने प्रस्ट्याउँछ । ऋग्वेद, अथर्ववेद र आयुर्वेदहरूमा वनस्पति जगत्लाई प्रार्थना गरेरमात्र त्यसको प्रयोग गरिएको सुक्तहरूमा उल्लिखित छ ।

हिन्दु धर्म र दर्शनमात्र नभएर संसारभरका अनेकौं जाति, प्रजाति र तिनका धार्मिक ग्रन्थहरूमा विशेष रूपमा प्रकृतिको अनुष्ठान गरिएको पाइन्छ । प्राचीन सभ्यताको उत्खननबाट प्राप्त अवशेषहरूले समेत प्रकृतिपुजाको परम्परा प्रस्ट्याउँछन् । बौद्ध, बाइबल, जैन र ताओ धर्म र दर्शनमा समेत प्रकृतिको गरिमालाई स्थान दिएको पाइन्छ । यस आधारमा संसारभरका धार्मिक चिन्तन र तिनको विश्वलाई हेर्ने दार्शनिक मूलधारको आधार–प्रकृतिलाई नै स्वीकार गरिएको पाइन्छ ।

प्रकृतिको अगाध सम्मान र उपासना गर्ने यसै प्रकारको धार्मिक परम्परा भने बदलिँदो संस्कृतिसँगै लोपोन्मुख हुँदै गएको पाइन्छ । वर्तमान सभ्यताको चिन्नत प्रणाली भौतिकताले अक्रान्त छ । पृथ्वीलाई आमाका रूपमा पूजा गर्ने नभई मानवको विनाशकारी सिर्जनाले एकै क्षणमा ध्वस्त बनाउने परमाणुको प्रयोगमा मानव चेतना अभिप्रेरित देखिन्छ ।अहिले मानव मस्तिष्कमा विचलन र विसंगतिको चिन्तन प्रवाहित छ ।

प्रकृतिलाई आमाका रूपमा पूजा र अनुष्ठान गर्ने हाम्रो चेतना आफ्नै आमालाई बलात्कार गर्ने अवस्थामा पुगेको छ । हामीले प्रकृतिको दोहन गरेजस्तै गरी नारी अस्मिताको दोहन गरिरहेका छौं । यस्तो कार्य बढ्दै जाने हो भने एक दिन प्रकृतिले आफ्नो अस्तित्व बचाउन भयंकर रूप लिनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

बेलाबेलामा देखा पर्ने प्रकृतिको भयंकर रूप उनीप्रतिको असम्मान हो । यसैप्रकार नारी अस्मिता र सतित्वमाथिको प्रहार बढ्दै गएमा मानव सभ्यतामा कलंकमात्र लाग्ने होइन, हाम्री आमाले हामीलाई धारे हात लगाउँछिन् ।

हाम्रा कुनै पनि धार्मिक ग्रन्थहरूमा नारी अस्मितालाई असम्मान गरिएको छैन । हिन्दुशास्त्रकारहरूले नारीलाई पृथ्वीसमान सम्बोधन गरेर पृथ्वीलाई आमाको रूपमा पुकार गरेका छन् । नारीलाई श्री, श्रीलक्ष्मी, सौभाग्यलक्ष्मी, राज्यलक्ष्मी र धनलक्ष्मीका रूपमा अनुष्ठान गरिएका उदाहरण शास्त्रहरूमा पाइन्छ ।

पृथ्वीलाई आदिमाता, आदिशक्ति र आद्यः शक्तिका रूपमा मानव मस्तिष्कको आदिम चेतनाले स्वीकार गरेको तथ्य ऐतिहासिक, प्रागैतिहासिक र धार्मिक अध्ययनबाट समेत प्रमाणित छ । प्रकृति र पुरुषको संयोजन र वियोजनबाटै सिर्जना र विनाश हुन्छ भन्ने सांख्य दर्शनको दार्शनिक आधारलाई आध्यात्मिक दृष्टिकोणबाट मात्र होइन, भौतिकवादी चिन्तन प्रणालीबाट समेत विश्लेषण गरिएको पाइन्छ ।

पृथ्वीलाई आमाका रूपमा पूजा गर्ने नभई मानवको विनाशकारी सिर्जनाले एकै क्षणमा ध्वस्त बनाउने परमाणुको प्रयोगमा मानव चेतना अभिप्रेरित देखिन्छ । अहिले मानव मस्तिष्कमा विचलन र विसंगतिको चिन्तन प्रवाहित छ ।

नारी र पुरुष अर्थात् प्रकृति र मानव एक रथका दुई पांग्रा हुन् । हाम्रो धर्म, संस्कृति र अध्यात्म विज्ञानले यसै सिद्धान्तलाई सन्तुलित रूपमा अँगाली भौतिकता र आध्यात्मिकताको समन्वयवादी दर्शनलाई विश्लेषण गरेको छ । तर, पछिल्लो कालखण्डमा केही धार्मिक रूढिवादी, अतिवादी र सामन्तवादी चिन्तक र शासकहरूले धर्मलाई नारी शोषण गर्ने माध्यम बनाएका हुन् ।

धर्म र संस्कृतिको नाममा पृथ्वी र प्रकृति (छोरी)को बलात्कार गर्ने कुत्सित अन्धवेग र दुष्प्रयासलाई जरैदेखि उखेलेर फाल्नैपर्ने युगीन आवश्यकता हो । पाँच वर्षकी अबोध बालिकालाई समेत बलात्कार गर्ने हाम्रो पौरुषत्वरूपी अहंकारलाई प्रकृतिले एक दिन भयंकरसँग ध्वस्त गर्नेछिन् ।

हामी पुरुषभित्रको अश्लीलता र कलुषितालाई जरैदेखि उखेलेर नफाल्दासम्म छोरीहरूप्रति खतरा रहिरहन्छ । दिनहँजसो भइरहेको हत्या, हिंसा, अन्याय, अत्याचार, अपहरण र बलात्कारजस्ता घटनाले मानव समाज नै आक्रान्त भइरहेको यस्तो जटिल अवस्थाबाट बाँच्न सम्बन्धित निकायले ध्यान दिनैपर्छ ।

हाम्रो मनमस्तिष्कमा राष्ट्रप्रतिको इमानदारी, बफादारी, नैतिकता, समानता, मानवता र विश्वबन्धुत्वको दर्शन नभएको कारण नै हामीबाट यस्ता अपराध घटित हुन गएका हुन् । हामीले पढ्ने पाठ्यपुस्तकहरूमा नास्तिकता र भौतिकताले स्थान पाएका छन् । यही गलत शिक्षाका कारण आज हाम्रो धरती र छोरीचेलीहरू हामीबाटै प्रताडित छन् । मानवताविरुद्धको यस्ता जघन्य अपराधहरूको पश्चात्तापको बोध हामीमा हुनैपर्छ । प्रकृति र नारीबिना यस धराधामको कल्पनासम्म पनि गर्न सकिँदैन ।

त्यसकारण आजैदेखि अपराधको प्रायश्चित्त गर्दै यस धराधामको सम्मान गरौं, गर्भदेखि नै छोरीको रक्षा र सम्मान गर्ने आत्मैदेखि प्रण गरौं । यसैमा समग्र सभ्यताको कल्याण छ र धरती माताको अस्तित्वको सम्मान छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.