गल्गण्ठ गन्थन !
अन्तरंगले निकै उत्कण्ठा जगाउँदो रहेछ । उत्कण्ठित छु यतिन्जेल । उत्काण्ठले ओतपोत गराउँदो रैछ मन । आफ्नै अन्तरालभित्र विचरण गर्दै सिकिरहेछु । अन्तरालभित्रको विचरण आनन्ददायक चिन्तन अवसर रैछ । तिनै अवसरले दुहाएको विचार बिन्दुहरू तप्काइरहेछु ।
पाँच, छवर्षे ठिटो हुँदो हुँ । छेवर भइसकेको थिएन । शिरभरि पालिएका लामालामा कपाल लटरम्म ! अचेलका शृंगार परी-सुन्दरीहरूले भेसपाउँदा भए यो मुटुुको ढुकढुकी लुछाचुँडीमा नपर्ने थिएन । कपाल भनेपछि केशावती मैयाँहरू हुरुक्कै हुने रहेछन् । जीवनको त्यस पूर्वसन्ध्याकाल ! विशुद्ध भक्तपुरे ठिटो थिएँ ।
भोटो-सुरुवाल पहिरन ! बर्कोले ग्वाम्म कपाल ढाकेर मस्त घाँटी कसेर जाडोसित भिड्थेँ । त्यो नि पहिरनका कमाल जमाना थियो । परिस्थिति आयातित थिएन अचेल झैं ! बिलखबन्द पर्दै म ट्वाल्ल टोलाई हेरिरहन्थेँ - आश्चर्यचकित ! मामाको घाँटीमा झुन्डिएको माउसुली अवतार !
मामा स्वर्गीय विश्वबहादुर मल्ल बझांगी राजा दिवंगत जयपृथ्वीबहादुर सिंहसित काम गर्नुहुन्थ्यो । विरलैमात्र घर आउनुहुन्थ्यो, भक्तपुर ! जयभवन बेंगलोर बस्नुहुन्थ्यो राजा पृथ्वीबहादुर सिंहसितै ! मामाको इन्लार्ज गरिएको गेभाकलरको अन्डाकोर ओभल सेपको फोटो थियो । बैठकमा सजाइएको तस्बिरमुन्तिर एउटा सेफ थियो ।
सेफ समाई एक टक्क तस्बिरमा टोलाउनु मेरो एकान्त चर्या । जहिले नि एक तमास मनमनै गुन्ने ध्यान केन्द्रको वस्तु मूर्ति बन्यो त्यो । ध्यानका जिज्ञासा मन्त्र थियो- मामाको घाँटीमा एउटा माउसुली...! कहाँबाट मामाको घाँटीमा माउसुली झुन्डिन पुग्यो ? अञ्जान, अनभिज्ञता पनि जिज्ञासाका गर्भगृह रैछ...! आफैंसित सोधखोज गरी आत्मोत्तरित भएछु ।
कहाँको माउसुली हुनु मामाको घाँटीमा ? दृष्टि भ्रम पो रैछ त्यो ! दृष्टि भ्रमले एक थोकलाई अर्को देखाइदिँदो रैछ । कुनै हदसम्म त त्यो अन्तर सांस्कृतिक पहिचानको विषयवस्तु पनि रैछ । एक संस्कृतिको संस्कारलाई देख्दा रैछन् । दोस्रो संस्कार-संस्कृतिमा हुर्केको दृष्टिले अर्कै÷आफ्नै संस्कारगत सांस्कृतिक आँखाले हेर्ने देख्ने विश्व जति संस्कार रहेको छ ।
हिन्दुहरूका शिरगुच्छा-टुपीलाई अंग्रेजहरूले ‘पिगटेल' भन्दिए । यथार्थमा शिरगुच्छा-टुपी ‘क्रेस्ट हेयर' हुनुपथ्र्यो, हुनुपर्दो हो । विद्यमानवकै निमित्त पावन जडीबुटी सिद्ध श्रीखण्डचन्दन वनस्पतिलाई ‘स्यान्डल उड्' भनिदिए । स्यान्डल त खराउ/चप्पलको पर्यायवाचक शब्द !
मेरो अबोध बालापनले मामाका घाँटीमा झुन्डिएका माउसुली बिम्ब त्यस्तै बनेछ । माउसुली ठानिएको पदार्थ त नेकटाइ रहेछ । पछि पो जानिए छ । घैंटामा घाम लागेझैं भइएछ । बाल आँखामा टाइनट् त माउसुलीको ठाउँको प्रतिबिम्बित भएथ्यो । फ्याट्टै लर्केको टाई त माउसुलीको जिउ भइदिएछ मेरो बाला दृष्टिमा । उत्तानिएर सिलिङमा कुद्न सक्ने माउसुली मामाको घाँटीमा झुन्डिएर बस्नु स्वाभाविकै ! मेरो सांस्कृतिक तत्वबोधी चिरफार !
हुर्कंदै लहसिँदै आएँ । एक पटक फेरि मामाले भन्नु भो ! राजा, तिमीले कहिल्यै टाई तान्ने नगर्नु है ...! किन र मामा ...? जिज्ञासा जाहेर गरेँ । सम्झाउनु भयो, ‘टाई ताने त्यसले अठ्याउँछ, सास रोक्छ, मान्छे मर्छ ! बेलायत अमेरिकातिर टाई तान्नेलाई ज्यानमाराको सजाय हुन्छ, झ्यालखाना बास गराउँछ ! उत्तिनै खेर मलाई लाग्यो मोरो टाई त फाँसीको पासो पो रैछ । मोरो टाई न माउसुली रैछ न त फाँसीको पासो नै ! यी सबै त अन्तरसांस्कृतिक दृष्टि भ्रम र विभेदमात्र !
अन्तरसांस्कृतिक आग्रह संसारव्यापी छन् । ‘ग्लोबल भिलेज' अवधारणाले यी र यस्तै अन्तर सांस्कृतिक पहिचानमूलक संचेतना जगाउन सके क्या मज्जा ! प्रतीक्षालयमै छौं हामी सबै सबै नै ! धैर्यधारण यसका ठूला व्रत ठान्नु पर्दो हो । अन्तर सांस्कृतिक संचेतना पाश्चात्य जगत्का केही अनुभूति उल्लेख गरुँगरुँ लाग्छ । हिन्दुहरूका शिरगुच्छा-टुपीलाई अंग्रेजहरूले ‘पिगटेल' भन्दिए । यथार्थमा शिरगुच्छा-टुपी ‘व्रस्ट हेएर' हुनुपथ्र्यो, हुनुपर्दो हो ।
विद्यमानवकै निमित्त पावन जडीबुटीसिद्ध श्रीखण्डचन्दन वनस्पतिलाई ‘स्यान्डल उड्' भनिदिए । स्यान्डल त खराउ÷चप्पलको पर्यायवाचक शब्द ! चप्पल÷खराउ बनाउने प्रयोजनमा श्रीखण्ड प्रयुक्त भएन कहिल्यै ! श्रीखण्ड त निधारको टीका चन्दन ! त्यसरी नै लब्सी फललाई ‘हग्स् प्ल्युम' भनिएछन् । जंगलमा लब्सी बँदेलले खाँदा हुन् । बस्ती, सहरमा मानिस खान्छन् । यस्तै हुन् यी अन्तरसांस्कृतिक दृष्टि कुदृष्टि भेद, विभेदका विशृंखलित बेहोरा !
गलगण्ठको सन्दर्भ जोड्दै थिएँ । आफ्नै यौवनकालको अनुभूति । मेसिगन स्टेट विश्वविद्यालय इस्ट लेनिसङ्का अध्येता अध्ययनार्थी थिएँ ! अन्तरसांस्कृतिक संवाद-क्रस कल्चरल विषयक कक्षा सञ्चालन । नेपाली ढाकाको टोपी-शिरपोस पहिरेको थिएँ । सात बजेको बिहानी कक्षा ! मेरो शिरपोस हेर्दै जिज्ञासा राखेँ ।
‘ग्ंवगः त्यो शिरपोसमा कुनै धार्मिक आस्थाको अवधारणा छन् कि ? ' जिज्ञासा सार्थक थियो । तर, आग्रहले ओतप्रोत ! हिन्दुहरूप्रति मात्र धार्मिक आधारका आस्था दृष्टिकोण अन्तरसांस्कृतिक विभेद भरेका छन् । संस्कार र संस्कृतिमा भौगोलिक र पर्यावरणीय छाप र प्रभाव रहने चिन्तनशून्य रह्यो । टोपीमा भौगोलिक अनि पर्यावरणीय प्रभावमाथि मनग्य प्रकाश पार्ने अवसर कुम्ल्याएँ । भौगोलिक, राजनीतिक, सामाजिक, आर्थिक, औद्योगिक, व्यापक अन्य प्रभावमाथि मन पसार्ने शौभाग्यशाली अवसरमा रमाएँ ! अनि धर्मको आस्था त तपाईंको नेक टाईमा देखेँ भन्न पुगेँ ।
टाइमा धर्मको आस्था देखेँ भन्नुको कारण ? उहाँको जिज्ञासा मैप्रति इंगित रह्यो । मैले मेरा बाल्यकाल र युवा अनुभूतिहरू जाहेर गरेँ । बाल्यकालका माउसुली झुन्डिएको धारणा र निस्सासिने गलगन्थ धारणा रुचिपूर्वक सुनिरहे ।
भन्न थाले, यतिन्जेल यहाँले टाइमा धर्मको के आस्था देख्यौं भन्दा मनमा लाग्यो टाई त ‘क्रुसिफिकेसनको प्रतीक' ! धर्मगुरु क्राइष्टलाई भित्तामा किल्ला ठोकी हत्या गरियो । मृत्यु उपरान्त भित्ताबाट उप्काए । दिवंगत क्राइष्टका शिरमात्र एउटा गेडो झैं बन्न पुग्यो । मात्र एउटा डल्लो ! दायाँबायाँ पसारेर किल्ला ठोकिएका दुवै पाखुरी फ्यात्त झरेर जिउका आकारसित लसक्क लस्किए ।
हात पाखुरीहरू एक तमास लस्किएर एकाम्य भएर टाँसिए । टाइनट क्राइष्टको शिर ! अनि लस्किएको अंग शरीर सम्पूर्ण ! स्वासभर कक्षा चकमन्न, स्तब्ध ! कहाँको गोर्खाली ठिटो, एउटा नेपालीले इन्टरकल्चर कक्षा नै जमायो भन्ठाने हुन्...! अनि पछि प्राध्यापक जाय्क बेनसित जिज्ञासा राख्न पुगे ।
प्रोफेसर बेनले भने, ‘मलाई ग्वंगः सित बहस गर्नु छैन । जुन तवरले उनले प्रसंगलाई प्रस्तुत गरे, रोचक मानेँ । तैपनि अलिकति थप्न चाहेँ प्रसंगमा । सुरुसुरुमा यो नेकटाइ अहिलेको जस्तो रूप र आकारमा थिएन । अर्कै रूप थियो यसको । पहिले त एउटा गोलो इजार, डोरोमात्र रहेको थियो । गोलो डोरो घाँटीमा लगाई कमिजमाथि छातीमा झुन्ड्याई लर्काउने गथ्र्यो । पछि मात्र नेक टाईको रूप आकृति वर्तमान आकार डिजाइन गरिएथ्यो । ग्वंगःले क्रस कल्चरल कम्युनिकेसन कक्षालाई सारगर्भित योगदान गरे', उनले बताए ।
मलाई यी प्रसाङ्गिक ऐतिहासिक पृष्ठभूमि थाहा थिएन । धेरै कुरा जानेँ, मैले भनेँ । जे होस् टाई डिजाइनर महानुभावप्रति श्रद्धा सम्मान, मेरो ! पृष्ठभूमि जे जस्तै भए नि अब टाई विश्वव्यापी बनेछ । कुनै चिन्तन मनन पारि पुगिसकेको छ । अहिले विश्वका सबै द्वीप, महाद्वीप र कुनाकाप्चा व्याप्त छ ।
यति बहस बहसकै लागि मात्र पनि नभएर चिन्तका आयाम फैलाउन कामयाव रहन सक्छ । यो मेरो धारणा ! मेरा यी धारणालाई सहज रूपमा स्पष्ट हुनेगरी २०७३ मंसिर १९ शुक्रबारको अन्नपूर्ण दैनिक पृष्ठ ७ मा ‘आधुनिकीकरण पश्चिमीकरण होइन' रचनामा टीकाराम यात्रीले यसरी पस्काउनु भएको छः
‘टाईको सुरुवात इसाई धर्मको मूल्य प्रणालीसँग जिसस क्राइष्टले क्रुसमा प्रतीकात्मक बिम्बका रूपमा सन् १६४६ सुरु भयो भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । सन् १६१८ देखि तीन दशकसम्म चलेको पर्सियन युद्धका क्रममा फ्रान्सेली सेनाले विजय प्राप्त गरेको उत्सवको रूपमा शासक लुई चौधौंले क्राइष्टले सुलीमा चढेको प्रतीकात्मक अर्थ खुल्ने गरी त्यही स्वरूपको पहिरन सेनालाई पहिराइदिए । त्यो दिन अक्टोबर १८ थियो । ...त्यही विशिष्ट उपहार दिएको दिन युरोप, अमेरिकामा टाई दिवसको रूपमा मनाइन्छ । ... परस्पर विपरीत मूल्य, संस्कृति बोक्ने पोसाक एकैपटक पहिरिनु फ्युजन होइन, कन्फ्युजन हो ।
०००