ह्वीलचेयर जिन्दगी
३८ वर्षीया देवी आचार्य ह्वीलचेयर प्रयोगकर्ता हुन् । ०६१ सालमा काठमाडौंबाट बुटवल घर जाने क्रममा नवलपरासी कावासोतीमा जिप दुर्घटनामा परी उनको ‘स्पाइनल कर्ड’ मा चोट लाग्यो । चाहना अमेरिका जाने थियो, तयारीका लागि काठमाडौं आएकी थिइन् । अस्पतालको शड्ढयामा तीन महिना बस्दा पनि उनका दुवै खुट्टा चलेनन् । चिकित्सकसँग निकै सोधखोज गरेर समस्या थाहा पाउँदा उनी छाँगाबाट खसेझैं भइन् ।
रोइन्, कराइन्, चिच्याइन्, जीवनदेखि विरक्तिइन् । इहलीला समाप्त पार्ने सोचले अर्काको औषधी चोरेरसमेत नखाएकी होइनन् । तर, उनलाई मृत्यु नभई जीवन लेखेको थियो ।काठमाडौंमा उपचार सकिएपछि घर फर्किइन् तर ‘डिप्रेसन’मा पुगिन् । औषधीको सहायताले पीर भुल्न चाहन्थिन् । थप उपचारका लागि काठमाडौं आउँदा उनको भेट रिह्याब सेन्टरमा पूर्णिमा लामासँग भयो ।
उनकै सहयोगमा जीवनपद्धती केन्द्रमा आवद्ध भइन् । त्यहाँ पुगेपछि भने आचार्यको मन निकै परिवर्तन भयो । आपूmजस्ता अरू थुप्रै साथी देखेपछि मन बुझाइन् । भन्छिन्, ‘त्यतिबेला बल्ल मलाई मेरो शरीर नचलेर त के भो दुईवटा हात त सद्दे छन् । केही गरेर देखाउँछु भन्ने आँट आयो । हिम्मत बढ्यो । अनि काठमाडौंमै डेरा लिएर बस्न थालें ।’
अहिले उनलाई भ्याइनभ्याइ छ । बिहान सबेरै उठ्छिन् । पाइपबाट दिसा, पिसाब गर्छिन् । औषधी खाएपछि खाना बनाउँछिन् अनि अफिसतिर लाग्छिन् । घर फर्किने टुंगो छैन, कहिले पाँच बज्छ त कहिले आठ । स्कुटर चलाउने भएकाले सार्वजनिक यातायातमा भोग्नुपर्ने कष्ट बेहोर्नुपरेको छैन । अरू संघसंस्थाले गर्ने हरेक कार्यक्रममा पुग्छिन् । त्यतिमात्र नभई एक स्टाफ राखेर आफैं कपडाको व्यापार पनि गरेकी छन् ।
३६ वर्षे दिपेन्द्र शाक्यलाई पनि मस्तिष्क पक्षघात भएको छ । जन्मेर आठदिन हुँदासम्म आमाको दूध चुस्न नसकेपछि उनकी आमा मैयालाई शंका लाग्यो । चिकित्सकलाई देखाइन् । विस्तारै दूध चुस्छ कि भनेका थिए चिकित्सकले । उमेर बढ्दै जाँदा पनि केही परिवर्तन आएन । बामे सर्न, बस्न र उठ्न सकेनन् । मैया भन्छिन्, ‘जन्मेको आठ दिनदेखि सुरु भएको छोराको उपचार १५ वर्षको हुँदासम्म लगातार चल्यो ।
उनलाई उपचार गर्ने रकमले काठमाडौंमा ठूला दुई वटा घर बन्ने थिए । पछि डाक्टरले छोरालाई मस्तिष्कघात भएको र निको नहुने बताएपछि मात्र उपचार गर्न छाडें ।’अहिलेसम्म उनको दिसा–पिसाब आमाले नै सोहोर्छिन् । ह्वीलचेयरमा राखेर वरिपरि घुमाउँछिन् । टाढा लानु परे ह्वीलचेयरसहित ट्याक्सी चढाउ“छिन् । दिपेन्द्र राम्ररी बोल्न सक्दैनन् तर अरूले गरेको कुरा निकै ध्यानपूर्वक सुन्छन् र जवाफ दिने कोशिस गर्छन् ।
बाँके कोहलपुरका ३९ वर्षीय कृष्ण गौतम पनि ह्वीलचेयर प्रयोगकर्ता हुन् । सानोमा पोलियो भएका कारण उनका दुइटै खुट्टा चलेनन् । घिस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा जाने गर्थे । तर पनि, उनले हिम्मत हारेनन् । १४ वर्षको उमेरमा कोहलपुरको रामजानकी स्कुलमा कक्षा १ मा भर्ना भए । कक्षा १० सम्म सोही स्कुलमा अध्ययनपछि ०५३ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । अब्बल विद्यार्थी भएकाले उनले शिक्षक र साथीभाइको हेपाइ कहिल्यै खेप्नु परेन । त्यही भएर होला, उनलाई थप पढ्न मन लाग्यो ।
प्रवीणता प्रमाणपत्र तह वागेश्वरी बहुमखी क्याम्पस कोहलपुरबाट गरे अनि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट स्नातक सके । त्यसपछि नै हो, उनले ह्वीलचेयर प्रयोगकर्ताहरूको हितमा काम गर्न थालेको । जापानमा तालिमको अवसर पाए । त्यहाँ आफूभन्दा धेरै अशक्तले फूर्तिसाथ काम गरेको देखे । त्यो देख्दा उनलाई आफू अपांग भएजस्तो लागेन रे ।
फर्केर आएपछि ‘इन्डिपेन्डेट लिभिङ’को अवधारणा अगाडि सारे । केही ह्वीलचेयर प्रयोगकर्ता मिलेर स्वावलम्बन जीवनपद्घति केन्द्र स्थापना गरे । गौतम त्यसका महासचिव हुन् । कार्यकारी भूमिका निर्वाह गर्न दिनहुँ कार्यालय जान्छन् । कार्यालयका सबै काममा उनको संलग्नता र चासो रहन्छ । हरेक बैठकमा सहभागिता, ह्वीलचेयर प्रयोगकर्तालाई काउन्सेलिङ, तालिमलगायत उनका दैनिकी हुन् ।
आफ्नै कमाइले इमाडोलमा घरसमेत बनाएका छन् । छोरी जेम्स स्कुलमा कक्षा ८ र छोरा लिटिल एन्जल्समा कक्षा ५ अध्ययनरत छन् । रामेछापका ३३ वर्षीय दिनेश खड्काको पनि आचार्य, शाक्य र गौतमजस्तै समस्या छ । ०६१ सालमा घरबाट काठमाडौं फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परे, स्पाइनल कर्डमा चोट लाग्यो ।
दुर्घटना र मस्तिष्क पक्षघातका कारण हिंडडुल गर्न नसक्नेहरू ह्वीलचेयरबाट जीवनयात्रा चलाउँदै।
कम्मरदेखि तलको भाग चल्न छाड्यो । बिहान पाइप र दिउँसो कन्डम क्याथेटर प्रयोग गरेर दिसा–पिसाब व्यवस्थापन गर्छन् । उनको दैनिकीमा त्यसले फरक पारेको छैन । बिहान १० बजे कार्यालय पुग्ने उनको दैनिकी बनेको छ । एक समयमा हरेस खाएका उनी अहिले आफूजस्तै समस्या भएकाहरूलाई जीउने आँट बढाउँछन् ।
जीवन संघर्षलाई थप रोचक बनाउन इन्स्टिच्यूटमा गएर कम्प्युटर सिके । त्यहीबेला रजिता थापासँग प्रेम बस्यो । रजिता भने अशक्त होइनन्, खुट्टाका औंला मात्र थोरै काटिएका छन् । दुवैले प्रेमलाई विवाहमा परिणत गरे । परिवारले पनि सहर्ष स्वीकार्यो । अहिले टेस्टट्युब प्रविधिबाट छोरी जन्माएका छन् । खुशीसाथ बितेको छ जीवन ।
खेतमा काम गर्दै गर्दा काभ्रेकी २२ वर्षीया सूर्यमाया लामा १ साउन ०६९ मा कान्लाबाट खसिन् । स्पाइनल कर्डमा चोट लाग्यो । कम्मरदेखि तलको भाग त चल्दैन नै, घाँटीमा समेत चोट लागेकाले हातका औंला पनि राम्ररी चल्न मुश्किल छ । सबै काम अरूको सहयोगबाट गर्नुपर्छ । स्वावलम्बन तालिम लि“दै गरेकी उनी भन्छिन्, ‘मासिक स्राव हुँदा साह्रै समस्या हुनेगर्छ । बुवाले नै प्याड फेरिदिनु हुन्छ ।
त्यतिबेला साह्रै अप्ठ्यारो लाग्छ ।’ नुवाकोटका हरिचन्द्र श्रेष्ठ (२६ वर्ष)को पनि स्पाइनल कर्ड इन्जुरी भएको छ । गत वर्षको भूकम्पले घर भत्कायो । टहरो बनाउने क्रममा २६ जेठ ०७२ मा लडेर मेरुदण्डमा चोट लाग्यो । कम्मरदेखि तलको भाग चल्दैन । हिंडडुल गर्न सक्दैनन् । आफ्नो काम भने सबै गर्छन् । भन्छन्, ‘स्नातकोत्तर गर्दा गर्दै दुर्घटना भयो । अब अध्ययन पूरा गर्छु र आफैं बाँच्ने प्रयत्न गर्छु ।’
मानिसलाई भोलि के हुन्छ भन्ने थाहा हुँदैन । दुर्घटनामा परेर शारीरिक अशक्तता भएका उदाहरण थुप्रै छन् । केही समय अगाडिसम्म पोलियोका कारण अशक्त भई ह्वीलचेयर प्रयोगकर्ताको संख्या धेरै हुन्थ्यो । अहिले दुर्घटनाले त्यसको स्थान लिएको छ । २०६८ सालको जनगणनाअनुसार अपांगता भएकाहरू मुलुकभर ६ लाख छन् ।
विनाशकारी भूकम्पका कारण करिव पाँच हजार थप भएको अपांग महांसघको भनाई छ । ह्वीलचेयर प्रयोगकर्ताको संख्या भने यकिन छैन । ९० हजारजति रहेको त्यस क्षेत्रमा कार्यरतहरूको दाबी छ । पोलियो रोग, स्पाइनल कर्ड इन्जुरी, मस्तिष्क पक्षघात र हातखुट्टा काट्नु परेकाहरूले ह्वीलचेयर प्रयोग गर्छन् । सरकारले अपांगको वर्गीकरण गरेर रातो, नीलो, पहेंलो र सेतो कार्ड वितरण गरेको छ ।
रातो कार्ड पाउनेहरू पूर्ण अशक्त हुन् । नीलो अति अशक्त, पहेंलो सामान्य र सेतो कार्ड पाउनेहरू सामान्यमा पर्छन् । रातो कार्डधारीले मासिक दुई हजार र नीलोले ६ सय पाउने सरकारी व्यवस्था छ । सर्वोच्च अदालतले भने अपांगता भएकालाई पाँच सयदेखि तीन हजारसम्म र सहयोगीलाई पाँच हजारसम्म उपलब्ध गराउन ३० साउन ०६९ मा सरकारलाई आदेश दिएको छ ।
कार्यान्वयन भने अझै हुन सकेको छैन । ‘सर्वोच्चको फैसला सरकारले कार्यान्वयनमा ल्याउनुपर्छ । नत्र, अपांगलाई भत्ता दिएजस्तो मात्र हुन्छ । उनीहरू स्वावलम्बी हुन सक्दैनन् ।’
प्रतिक्रिया दिनुहोस !