ह्वीलचेयर जिन्दगी

ह्वीलचेयर जिन्दगी

३८ वर्षीया देवी आचार्य ह्वीलचेयर प्रयोगकर्ता हुन् । ०६१ सालमा काठमाडौंबाट बुटवल घर जाने क्रममा नवलपरासी कावासोतीमा जिप दुर्घटनामा परी उनको ‘स्पाइनल कर्ड’ मा चोट लाग्यो । चाहना अमेरिका जाने थियो, तयारीका लागि काठमाडौं आएकी थिइन् । अस्पतालको शड्ढयामा तीन महिना बस्दा पनि उनका दुवै खुट्टा चलेनन् । चिकित्सकसँग निकै सोधखोज गरेर समस्या थाहा पाउँदा उनी छाँगाबाट खसेझैं भइन् ।

रोइन्, कराइन्, चिच्याइन्, जीवनदेखि विरक्तिइन् । इहलीला समाप्त पार्ने सोचले अर्काको औषधी चोरेरसमेत नखाएकी होइनन् । तर, उनलाई मृत्यु नभई जीवन लेखेको थियो ।काठमाडौंमा उपचार सकिएपछि घर फर्किइन् तर ‘डिप्रेसन’मा पुगिन् । औषधीको सहायताले पीर भुल्न चाहन्थिन् । थप उपचारका लागि काठमाडौं आउँदा उनको भेट रिह्याब सेन्टरमा पूर्णिमा लामासँग भयो ।

nirjala kachhapati_1उनकै सहयोगमा जीवनपद्धती केन्द्रमा आवद्ध भइन् । त्यहाँ पुगेपछि भने आचार्यको मन निकै परिवर्तन भयो । आपूmजस्ता अरू थुप्रै साथी देखेपछि मन बुझाइन् । भन्छिन्, ‘त्यतिबेला बल्ल मलाई मेरो शरीर नचलेर त के भो दुईवटा हात त सद्दे छन् । केही गरेर देखाउँछु भन्ने आँट आयो । हिम्मत बढ्यो । अनि काठमाडौंमै डेरा लिएर बस्न थालें ।’

अहिले उनलाई भ्याइनभ्याइ छ । बिहान सबेरै उठ्छिन् । पाइपबाट दिसा, पिसाब गर्छिन् । औषधी खाएपछि खाना बनाउँछिन् अनि अफिसतिर लाग्छिन् । घर फर्किने टुंगो छैन, कहिले पाँच बज्छ त कहिले आठ । स्कुटर चलाउने भएकाले सार्वजनिक यातायातमा भोग्नुपर्ने कष्ट बेहोर्नुपरेको छैन । अरू संघसंस्थाले गर्ने हरेक कार्यक्रममा पुग्छिन् । त्यतिमात्र नभई एक स्टाफ राखेर आफैं कपडाको व्यापार पनि गरेकी छन् ।

३६ वर्षे दिपेन्द्र शाक्यलाई पनि मस्तिष्क पक्षघात भएको छ । जन्मेर आठदिन हुँदासम्म आमाको दूध चुस्न नसकेपछि उनकी आमा मैयालाई शंका लाग्यो । चिकित्सकलाई देखाइन् । विस्तारै दूध चुस्छ कि भनेका थिए चिकित्सकले । उमेर बढ्दै जाँदा पनि केही परिवर्तन आएन । बामे सर्न, बस्न र उठ्न सकेनन् । मैया भन्छिन्, ‘जन्मेको आठ दिनदेखि सुरु भएको छोराको उपचार १५ वर्षको हुँदासम्म लगातार चल्यो ।

उनलाई उपचार गर्ने रकमले काठमाडौंमा ठूला दुई वटा घर बन्ने थिए । पछि डाक्टरले छोरालाई मस्तिष्कघात भएको र निको नहुने बताएपछि मात्र उपचार गर्न छाडें ।’अहिलेसम्म उनको दिसा–पिसाब आमाले नै सोहोर्छिन् । ह्वीलचेयरमा राखेर वरिपरि घुमाउँछिन् । टाढा लानु परे ह्वीलचेयरसहित ट्याक्सी चढाउ“छिन् । दिपेन्द्र राम्ररी बोल्न सक्दैनन् तर अरूले गरेको कुरा निकै ध्यानपूर्वक सुन्छन् र जवाफ दिने कोशिस गर्छन् ।

बाँके कोहलपुरका ३९ वर्षीय कृष्ण गौतम पनि ह्वीलचेयर प्रयोगकर्ता हुन् । सानोमा पोलियो भएका कारण उनका दुइटै खुट्टा चलेनन् । घिस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा जाने गर्थे । तर पनि, उनले हिम्मत हारेनन् । १४ वर्षको उमेरमा कोहलपुरको रामजानकी स्कुलमा कक्षा १ मा भर्ना भए । कक्षा १० सम्म सोही स्कुलमा अध्ययनपछि ०५३ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । अब्बल विद्यार्थी भएकाले उनले शिक्षक र साथीभाइको हेपाइ कहिल्यै खेप्नु परेन । त्यही भएर होला, उनलाई थप पढ्न मन लाग्यो ।

प्रवीणता प्रमाणपत्र तह वागेश्वरी बहुमखी क्याम्पस कोहलपुरबाट गरे अनि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट स्नातक सके । त्यसपछि नै हो, उनले ह्वीलचेयर प्रयोगकर्ताहरूको हितमा काम गर्न थालेको । जापानमा तालिमको अवसर पाए । त्यहाँ आफूभन्दा धेरै अशक्तले फूर्तिसाथ काम गरेको देखे । त्यो देख्दा उनलाई आफू अपांग भएजस्तो लागेन रे ।

फर्केर आएपछि ‘इन्डिपेन्डेट लिभिङ’को अवधारणा अगाडि सारे । केही ह्वीलचेयर प्रयोगकर्ता मिलेर स्वावलम्बन जीवनपद्घति केन्द्र स्थापना गरे । गौतम त्यसका महासचिव हुन् । कार्यकारी भूमिका निर्वाह गर्न दिनहुँ कार्यालय जान्छन् । कार्यालयका सबै काममा उनको संलग्नता र चासो रहन्छ । हरेक बैठकमा सहभागिता, ह्वीलचेयर प्रयोगकर्तालाई काउन्सेलिङ, तालिमलगायत उनका दैनिकी हुन् ।

आफ्नै कमाइले इमाडोलमा घरसमेत बनाएका छन् । छोरी जेम्स स्कुलमा कक्षा ८ र छोरा लिटिल एन्जल्समा कक्षा ५ अध्ययनरत छन् । रामेछापका ३३ वर्षीय दिनेश खड्काको पनि आचार्य, शाक्य र गौतमजस्तै समस्या छ । ०६१ सालमा घरबाट काठमाडौं फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परे, स्पाइनल कर्डमा चोट लाग्यो ।

दुर्घटना र मस्तिष्क पक्षघातका कारण हिंडडुल गर्न नसक्नेहरू ह्वीलचेयरबाट जीवनयात्रा चलाउँदै।

कम्मरदेखि तलको भाग चल्न छाड्यो । बिहान पाइप र दिउँसो कन्डम क्याथेटर प्रयोग गरेर दिसा–पिसाब व्यवस्थापन गर्छन् । उनको दैनिकीमा त्यसले फरक पारेको छैन । बिहान १० बजे कार्यालय पुग्ने उनको दैनिकी बनेको छ । एक समयमा हरेस खाएका उनी अहिले आफूजस्तै समस्या भएकाहरूलाई जीउने आँट बढाउँछन् ।

जीवन संघर्षलाई थप रोचक बनाउन इन्स्टिच्यूटमा गएर कम्प्युटर सिके । त्यहीबेला रजिता थापासँग प्रेम बस्यो । रजिता भने अशक्त होइनन्, खुट्टाका औंला मात्र थोरै काटिएका छन् । दुवैले प्रेमलाई विवाहमा परिणत गरे । परिवारले पनि सहर्ष स्वीकार्‌यो । अहिले टेस्टट्युब प्रविधिबाट छोरी जन्माएका छन् । खुशीसाथ बितेको छ जीवन ।

खेतमा काम गर्दै गर्दा काभ्रेकी २२ वर्षीया सूर्यमाया लामा १ साउन ०६९ मा कान्लाबाट खसिन् । स्पाइनल कर्डमा चोट लाग्यो । कम्मरदेखि तलको भाग त चल्दैन नै, घाँटीमा समेत चोट लागेकाले हातका औंला पनि राम्ररी चल्न मुश्किल छ । सबै काम अरूको सहयोगबाट गर्नुपर्छ । स्वावलम्बन तालिम लि“दै गरेकी उनी भन्छिन्, ‘मासिक स्राव हुँदा साह्रै समस्या हुनेगर्छ । बुवाले नै प्याड फेरिदिनु हुन्छ ।

त्यतिबेला साह्रै अप्ठ्यारो लाग्छ ।’ नुवाकोटका हरिचन्द्र श्रेष्ठ (२६ वर्ष)को पनि स्पाइनल कर्ड इन्जुरी भएको छ । गत वर्षको भूकम्पले घर भत्कायो । टहरो बनाउने क्रममा २६ जेठ ०७२ मा लडेर मेरुदण्डमा चोट लाग्यो । कम्मरदेखि तलको भाग चल्दैन । हिंडडुल गर्न सक्दैनन् । आफ्नो काम भने सबै गर्छन् । भन्छन्, ‘स्नातकोत्तर गर्दा गर्दै दुर्घटना भयो । अब अध्ययन पूरा गर्छु र आफैं बाँच्ने प्रयत्न गर्छु ।’

मानिसलाई भोलि के हुन्छ भन्ने थाहा हुँदैन । दुर्घटनामा परेर शारीरिक अशक्तता भएका उदाहरण थुप्रै छन् । केही समय अगाडिसम्म पोलियोका कारण अशक्त भई ह्वीलचेयर प्रयोगकर्ताको संख्या धेरै हुन्थ्यो । अहिले दुर्घटनाले त्यसको स्थान लिएको छ । २०६८ सालको जनगणनाअनुसार अपांगता भएकाहरू मुलुकभर ६ लाख छन् ।

विनाशकारी भूकम्पका कारण करिव पाँच हजार थप भएको अपांग महांसघको भनाई छ । ह्वीलचेयर प्रयोगकर्ताको संख्या भने यकिन छैन । ९० हजारजति रहेको त्यस क्षेत्रमा कार्यरतहरूको दाबी छ । पोलियो रोग, स्पाइनल कर्ड इन्जुरी, मस्तिष्क पक्षघात र हातखुट्टा काट्नु परेकाहरूले ह्वीलचेयर प्रयोग गर्छन् । सरकारले अपांगको वर्गीकरण गरेर रातो, नीलो, पहेंलो र सेतो कार्ड वितरण गरेको छ ।

रातो कार्ड पाउनेहरू पूर्ण अशक्त हुन् । नीलो अति अशक्त, पहेंलो सामान्य र सेतो कार्ड पाउनेहरू सामान्यमा पर्छन् । रातो कार्डधारीले मासिक दुई हजार र नीलोले ६ सय पाउने सरकारी व्यवस्था छ । सर्वोच्च अदालतले भने अपांगता भएकालाई पाँच सयदेखि तीन हजारसम्म र सहयोगीलाई पाँच हजारसम्म उपलब्ध गराउन ३० साउन ०६९ मा सरकारलाई आदेश दिएको छ ।

कार्यान्वयन भने अझै हुन सकेको छैन । ‘सर्वोच्चको फैसला सरकारले कार्यान्वयनमा ल्याउनुपर्छ । नत्र, अपांगलाई भत्ता दिएजस्तो मात्र हुन्छ । उनीहरू स्वावलम्बी हुन सक्दैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.