अलैंची बेर्नाबाट करोड

अलैंची बेर्नाबाट करोड

गाउँमै बसेर घरबार नचल्ने देखेपछि जिर्मले १ का भोला वाइवा पाँच वर्षअघि कतार उडे । मरुभूमिमा पुगेपछि मात्रै उनलाई थाहा भयो आफ्नो गाउँघरको महत्व । विदाका दिन न्यु वल्र्ड सेन्टर घुम्ने क्रममा अलैंची प्रतिकिलो तीन हजार रुपैयाँमा बिक्री भइरहेको देखे । जिर्मलेमै सुन फल्ने देखेपछि राजीनामा दिएर घर फर्के ।

आउनासाथ आफ्ना नामको ३५ रोपनीमा अलैंची खेती र नर्सरी थाले, जसले चार वर्षमै करोडपति बनाएको छ । भन्छन्, ‘विदेशमा तीन वर्षको कमाइ घरमा वर्ष दिनमै हुन थालेको छ ।’ उनी वर्षमा ५० लाख रुपैयाँ नाफा पाउन थालेका छन् । यस वर्ष मात्र अलैंचीका ११ लाख बिरुवा बिक्री गरे, जसबाट हात पर्‌यो ५५ लाख रुपैयाँ । आफ्नो बगानमा फलेको अलैंचीबाट १५ लाख रुपैयाँ आम्दानी गरे ।

सेरेङ्ना (जिर्मले) जात उनको रुचिको हो, रामसाई र गोलसाईमा पनि मन बसेको छ । झापा बिर्तामोडमा ७० लाखको घडेरी खरिदको स्रोत अलैंचीकै आम्दानी हो । भन्छन्, ‘अब जीवन चलाउन सजिलो भएको छ ।’ छोरालाई झापाको राम्रो बिद्यालयमा कक्षा ११ पढाइरहेका छन् । इलामबाट उनको खेती दोलखामा विस्तार भएको छ ।

त्यहा“को हावा गाविसमा डेढ सय रोपनी २० वर्षलाई ठेक्कामा लिएर अलैंची लगाएका छन् । उनका सहयात्री छन्, गाविस सचिव नवीन सुनुवार र मृगे गाविसका राजेन्द्र तामाङ । इलामबाट लगेका बिरुवा यस वर्ष ५० रोपनीमा लगाएका छन् । विदेशको सपना साँचेका युवालाई गाउँमै प्रचुर सम्भावना रहेको देखाउन दोलखाको सुदूर गाउँमा काम थालेको उनी बताउँछन् । वाइवाकै बाटोमा छन्, समसेर राई पनि । उनले त शिक्षकको जागिरै छाडेर नर्सरी चलाएका छन् । 

त्यसबाहेकको जमिनमा अलैंची खेती गर्छन् । यस वर्ष ११ लाख बिरुवा बिक्रीबाट ५५ लाख रुपैयाँ हात  पारे, १५ मन अलैंचीको १० लाखभन्दा बढी आम्दानी भयो । उनको नर्सरी झापाको बाहुन्डाँगी ७ मा छ । देउमाई ४ का नरेन्द्र सुवेदी, सुर्योदय १०का पदम गुरुङ, मावु ५ का नुर्वु शेर्पा, माईमझुवा १ का गिरीराज खनाल, जिर्मले १ का याम अधिकारी, चमैता ८ का मोती साङपाङलगायत किसानले नर्सरी लगाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार यस वर्ष निजी नर्सरीबाट मात्र करिब ३५ लाख बेर्ना बिक्री हुँदा एक करोड ७५ लाख रुपैयाँ कृषकको हातमा परेको छ । यस वर्ष सरकारी निकाय र किसानको प्रयासमा ३५ लाख बेर्ना उत्पादन भएका छन् । पुराना बगान रोगाएपछि नर्सरी व्यापार फस्टाएको हो । 

अलैंचीका पुराना बगान रोगाएपछि केही वर्षयता नर्सरी लगाएर इलामका किसानले बर्सेनि करोडौं आम्दानी पाइरहेका छन्।

बेर्नाको गुणस्तर प्रमाणित गर्ने कुनै संयन्त्र नभएकाले किसान परम्परागत शैलीमै निर्भर रहनु परेको नयाँबजारका मात्रिका घिमिरे बताउँछन् । अलैंची विकास केन्द्र फिक्कलका अनुसार रामसाई जात एक हजार पाँच सयदेखि दुई हजार एक सय मिटरसम्म खेती गर्न सकिन्छ । डम्बरसाई ६ सयदेखि एक हजार दुई सय, गोलसाई एक हजार ६ सय, चिवेसाई सात सयदेखि एक हजार दुई सय, भर्लाङ एक हजार पाँच सयदेखि दुई हजार एक सय र जिर्मले ६ सयदेखि एक हजार दुई सय मिटरसम्ममा खेती गर्न सकिन्छ ।

जिर्मले जात उच्चपहाडमा समेत लगाइएको छ । केन्द्रले पाँच लाख विरुवा उत्पादन गरेको प्रमुख पदम अधिकारीले जानकारी दिए । वार्षिक ७० लाख बिरुवाको माग छ । इलामबाट सोलुखुम्बु, मोरङ, डडेलधुरा, अछाम, चितवन, जाजरकोट, बैतडीलगायत जिल्लासम्म बेर्ना पुग्छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.