चना र अण्डाको भरमा खेल्छन् नेपाली खेलाडी
बिहान १० बजेतिर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को मुलगेट बाहिर पुग्दा खेलाडीको भीड देखिन्छ । आसपासका खाजाघरमा चना, आलु र अण्डामा रमाइरहेका हुन्छन् । अधिकांश खेलाडीको बिहानी ‘डाइट’ हो त्यो । तिनै खेलाडीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाली खेलकुदलाई गुण लगाउँछन् । सामान्य मानिसभन्दा खेलाडीको डाइट फरक हुनु पर्छ । किनभने उनीहरूलाई अतिरिक्त शक्ति आवश्यक हुन्छ । उनीहरूको खान्कीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताका प्रदर्शन र नतिजामा फरक पार्छ ।
अन्य मुलुकको तुलनामा नेपाली खेलाडीको अवस्था फरक छ, उसले भेटेजति सबै खानु पर्छ । र, मोटोपन र शारीरिक तन्दुरुस्तीमा समस्या देखिँदै आएको छ । खेलाडीको पोषणबारे जानकारी दिन २ मंसिरमा राखेपमा आयोजित कार्यक्रममा न्युट्रिसियन केपी लम्सालले सोधे, ‘प्रशिक्षणपछि खेलाडीले के खान्छन् ?’ प्रशिक्षकहरूको जवाफ थियो, ‘चना र अण्डा ।’ नेपाली खेलाडीको पोषणको अवस्था नाजुक रहेको थाहा पाउन लम्साललाई अर्को सवाल–जवाफको आवश्यकता परेन । करिब ५० जना प्रशिक्षकमाझ उनले सोधे, ‘भारोत्तोलन र एथलेटिक्सका खेलाडीको खाना कसरी एउटै हुन सक्छ ?’ प्रशिक्षकहरूसँग जवाफ थिएन ।
उनका अनुसार खेलको प्रकृति, उमेर, तौल, उचाइ, प्रशिक्षणको स्तरलगायतले खेलाडीलाई फरक–फरक शक्ति आवश्यक हुन्छ । सोही कार्यक्रममा एक प्रशिक्षकले सोधे, ‘एक घण्टाको प्रशिक्षणमा एउटा खेलाडी आधा घण्टामै थाक्छ, अर्को खेलाडी एक घण्टासम्म उत्तिकै जोसमा हुन्छ । यस्तो किन भएको होला ?’ त्यसमा प्रशिक्षणको स्तर र खेलाडीको पोषण जिम्मेवार हुने लम्सालको जवाफ थियो ।
प्रशिक्षण र पोषणको तालमेलमै खेलाडीको विकास हुने उनको तर्क छ । राष्ट्रिय च्याम्पियन खेलाडीले समेत आफ्नै खर्चमा डाइट खानुपर्छ । पोषणको स्थिति कमजोर हुनुको मुल कारण नै त्यही हो । राखेपले आयोजना गर्ने राष्ट्रिय, दक्षिण एसियाली र एसियाली खेलकुद तथा ओलम्पिकलगायत प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण चल्छ । त्यसक्रममा उनीहरूलाई केही ‘पकेट मनी’ डाइटका लागि दिइन्छ । त्यसबाहेक क्रिकेट र फुटबलका राष्ट्रिय संघले बन्द प्रशिक्षणका बेला खेलाडीको खाने बस्ने व्यवस्था मिलाउँछन् ।
अन्य खेलका खेलाडीले आफ्नै खर्चमा डाइट खाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ । राखेपले आसन्न सातौं राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई दैनिक एक हजार चार सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । खेलाडीले सोही रकमबाट खाने, बस्नेलगायत व्यवस्था मिलाउनु पर्छ ।
समान्य मानिसभन्दा खेलाडीको डाइट फरक हुनु पर्छ। किनभने उनीहरूलाई अतिरिक्त शक्ति आवश्यक हुन्छ। उसको खान्कीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन र नतिजामा फरक पार्छ।
आधुनिक खेलकुदमा वैज्ञानिक प्रविधि भित्रिएको लामो समय बित्यो । त्यसकै आडमा चीन, अमेरिकालगायत मुलुक खेलकुदका पनि शक्ति राष्ट्र बनेका छन् । ‘खेलकुदमा वैज्ञानिकीकरण भनेको कुनै पनि खेलाडीलाई उपाधि जित्नेस्तरसम्म कसरी पुर्याउने भन्ने हो,’ स्पोर्टस साइन्स पढेका दिवाकरलाल अमात्य भन्छन् । उनका अनुसार खेलाडीको प्रशिक्षण र पोषण नै नतिजाको कारक बन्छ । भन्छन्, ‘प्रशिक्षणलाई विज्ञानसम्मत बनाएर अगाडि बढ्दा खेलाडीलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।
कुनै कुरा लाद्न खोजियो भने त्यसको अर्थ हुँदैन ।’यथार्थ फरक छ, नेपाली खेलाडी वैज्ञानिक प्रशिक्षण त टाढाको कुरा, १/२ साताको प्रशिक्षणकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु पर्छ । त्यसो त, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) स्थापना भएको दशक भयो, जसको उद्देश्य घरेलु खेलकुदको वैज्ञानिक विकास हो । तथापि, नेपाली खेलकुदमा वैज्ञानिकीकरण अझै भएको छैन ।

प्रशिक्षकलाई समय–समयमा पुनर्ताजगी र बालबालिकाका लागि प्रशिक्षण कोर्स सञ्चालनमै सान खुम्चिएको छ । ‘विदेशमा खेलकुद विज्ञान प्रतिष्ठानले विश्वबिद्यालयकै रूप लिएका छन् । हामी भने अझै प्रशिक्षकलाई भारत पठाइरहेका छौं,’ सानका प्रमुख प्रकास प्रधान भन्छन्, ‘हाम्रो नीति नै वैज्ञानिक बन्न सकेको छैन ।’
अन्य मुलुकमा विदेशमा सहभागी भएर फर्किएपछि टोलीको नतिजामाथि समीक्षा हुन्छ । कमिकमजोरी औंल्याएर सच्याउने अभ्यास हुन्छ । नेपाली खेलकुदमा त्यसले प्रवेश नै पाएको छैन । न संघहरूलाई यसबारे चासो छ, न त सरकारी निकायकै । नेपालमा मनपरी हावी छ । ‘यस्तो माहोलमा सानले मात्र के गर्न सक्छ र ? हामीले चाहेर मात्र केही हुँदैन,’ प्रधान थप्छन् ।
केही समयअघि १२ वटा खेलको राष्ट्रिय टोली बनाइयो । त्यसमा पदक जित्ने सम्भावना भएका खेल समेटिएका थिए । दुई वर्ष त्यसरी नै चल्यो पनि । १२ औं दक्षिण एसियाली खेलकुदपछि त्यो टोली सक्रिय छैन । राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाको उक्त पहल असफल बन्यो । राष्ट्रिय टोलीमा रहने खेलाडीलाई डाइट खर्चवापत मासिक चार हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।
‘मोटो वा दुब्लो हुनु ठुलो समस्या होइन,’ न्युट्रिसियन लम्साल भन्छन्, ‘समस्या त खेलाडीले कुन बेला, के र कति खान्छन् भन्ने हो ।’ उनका अनुसार खेलाडीको नियमित, अभ्यासका बेला दिइने, खेल्नुअघि खाने र खेलिसकेपछिको खाना बेग्ला–बेल्लै हुन्छ । खेलाडी यसबारे सचेत हुनु पर्ने उनको सुझाव छ । विदेशमा हरेक टोलीमा न्युट्रिसियन राख्ने चलन छ, नेपालमा कसैलाई चासो छैन ।
प्रायः व्यस्त रहने क्रिकेट र फुटबल टोलीमा समेत यसले प्रवेश पाएको छैन । सानका प्रमुख प्रधान भने प्रशिक्षणमै समस्या रहेकाले अन्य विषय तपसिलमा परेको बताउँछन् । भन्छन्, ‘अब १/२ साताको बन्द प्रशिक्षणले पुग्दैन । ६ महिना अघिदेखि नै तयारी थाल्नु पर्छ ।’
प्रतिक्रिया दिनुहोस !