चना र अण्डाको भरमा खेल्छन् नेपाली खेलाडी

चना र अण्डाको भरमा खेल्छन् नेपाली खेलाडी

बिहान १० बजेतिर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को मुलगेट बाहिर पुग्दा खेलाडीको भीड देखिन्छ । आसपासका खाजाघरमा चना, आलु र अण्डामा रमाइरहेका हुन्छन् । अधिकांश खेलाडीको बिहानी ‘डाइट’ हो त्यो । तिनै खेलाडीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर नेपाली खेलकुदलाई गुण लगाउँछन् । सामान्य मानिसभन्दा खेलाडीको डाइट फरक हुनु पर्छ । किनभने उनीहरूलाई अतिरिक्त शक्ति आवश्यक हुन्छ । उनीहरूको खान्कीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताका प्रदर्शन र नतिजामा फरक पार्छ ।

अन्य मुलुकको तुलनामा नेपाली खेलाडीको अवस्था फरक छ, उसले भेटेजति सबै खानु पर्छ । र, मोटोपन र शारीरिक तन्दुरुस्तीमा समस्या देखिँदै आएको छ । खेलाडीको पोषणबारे जानकारी दिन २ मंसिरमा राखेपमा आयोजित कार्यक्रममा न्युट्रिसियन केपी लम्सालले सोधे, ‘प्रशिक्षणपछि खेलाडीले के खान्छन् ?’ प्रशिक्षकहरूको जवाफ थियो, ‘चना र अण्डा ।’ नेपाली खेलाडीको पोषणको अवस्था नाजुक रहेको थाहा पाउन लम्साललाई अर्को सवाल–जवाफको आवश्यकता परेन । करिब ५० जना प्रशिक्षकमाझ उनले सोधे, ‘भारोत्तोलन र एथलेटिक्सका खेलाडीको खाना कसरी एउटै हुन सक्छ ?’ प्रशिक्षकहरूसँग जवाफ थिएन ।

उनका अनुसार खेलको प्रकृति, उमेर, तौल, उचाइ, प्रशिक्षणको स्तरलगायतले खेलाडीलाई फरक–फरक शक्ति आवश्यक हुन्छ । सोही कार्यक्रममा एक प्रशिक्षकले सोधे, ‘एक घण्टाको प्रशिक्षणमा एउटा खेलाडी आधा घण्टामै थाक्छ, अर्को खेलाडी एक घण्टासम्म उत्तिकै जोसमा हुन्छ । यस्तो किन भएको होला ?’ त्यसमा प्रशिक्षणको स्तर र खेलाडीको पोषण जिम्मेवार हुने लम्सालको जवाफ थियो ।

प्रशिक्षण र पोषणको तालमेलमै खेलाडीको विकास हुने उनको तर्क छ । राष्ट्रिय च्याम्पियन खेलाडीले समेत आफ्नै खर्चमा डाइट खानुपर्छ । पोषणको स्थिति कमजोर हुनुको मुल कारण नै त्यही हो । राखेपले आयोजना गर्ने राष्ट्रिय, दक्षिण एसियाली र एसियाली खेलकुद तथा ओलम्पिकलगायत प्रतियोगितामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण चल्छ । त्यसक्रममा उनीहरूलाई केही ‘पकेट मनी’ डाइटका लागि दिइन्छ । त्यसबाहेक क्रिकेट र फुटबलका राष्ट्रिय संघले बन्द प्रशिक्षणका बेला खेलाडीको खाने बस्ने व्यवस्था मिलाउँछन् ।

अन्य खेलका खेलाडीले आफ्नै खर्चमा डाइट खाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ । राखेपले आसन्न सातौं राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई दैनिक एक हजार चार सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । खेलाडीले सोही रकमबाट खाने, बस्नेलगायत व्यवस्था मिलाउनु पर्छ ।

समान्य मानिसभन्दा खेलाडीको डाइट फरक हुनु पर्छ। किनभने उनीहरूलाई अतिरिक्त शक्ति आवश्यक हुन्छ। उसको खान्कीले राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन र नतिजामा फरक पार्छ।

आधुनिक खेलकुदमा वैज्ञानिक प्रविधि भित्रिएको लामो समय बित्यो । त्यसकै आडमा चीन, अमेरिकालगायत मुलुक खेलकुदका पनि शक्ति राष्ट्र बनेका छन् । ‘खेलकुदमा वैज्ञानिकीकरण भनेको कुनै पनि खेलाडीलाई उपाधि जित्नेस्तरसम्म कसरी पुर्‌याउने भन्ने हो,’ स्पोर्टस साइन्स पढेका दिवाकरलाल अमात्य भन्छन् । उनका अनुसार खेलाडीको प्रशिक्षण र पोषण नै नतिजाको कारक बन्छ । भन्छन्, ‘प्रशिक्षणलाई विज्ञानसम्मत बनाएर अगाडि बढ्दा खेलाडीलाई प्रतिस्पर्धी बनाउन सकिन्छ ।

कुनै कुरा लाद्न खोजियो भने त्यसको अर्थ हुँदैन ।’यथार्थ फरक छ, नेपाली खेलाडी वैज्ञानिक प्रशिक्षण त टाढाको कुरा, १/२ साताको प्रशिक्षणकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनु पर्छ । त्यसो त, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) स्थापना भएको दशक भयो, जसको उद्देश्य घरेलु खेलकुदको वैज्ञानिक विकास हो । तथापि, नेपाली खेलकुदमा वैज्ञानिकीकरण अझै भएको छैन ।

44-452

प्रशिक्षकलाई समय–समयमा पुनर्ताजगी र बालबालिकाका लागि प्रशिक्षण कोर्स सञ्चालनमै सान खुम्चिएको छ । ‘विदेशमा खेलकुद विज्ञान प्रतिष्ठानले विश्वबिद्यालयकै रूप लिएका छन् । हामी भने अझै प्रशिक्षकलाई भारत पठाइरहेका छौं,’ सानका प्रमुख प्रकास प्रधान भन्छन्, ‘हाम्रो नीति नै वैज्ञानिक बन्न सकेको छैन ।’

अन्य मुलुकमा विदेशमा सहभागी भएर फर्किएपछि टोलीको नतिजामाथि समीक्षा हुन्छ । कमिकमजोरी औंल्याएर सच्याउने अभ्यास हुन्छ । नेपाली खेलकुदमा त्यसले प्रवेश नै पाएको छैन । न संघहरूलाई यसबारे चासो छ, न त सरकारी निकायकै । नेपालमा मनपरी हावी छ । ‘यस्तो माहोलमा सानले मात्र के गर्न सक्छ र ? हामीले चाहेर मात्र केही हुँदैन,’ प्रधान थप्छन् ।

केही समयअघि १२ वटा खेलको राष्ट्रिय टोली बनाइयो । त्यसमा पदक जित्ने सम्भावना भएका खेल समेटिएका थिए । दुई वर्ष त्यसरी नै चल्यो पनि । १२ औं दक्षिण एसियाली खेलकुदपछि त्यो टोली सक्रिय छैन । राखेपका तत्कालिन सदस्यसचिव युवराज लामाको उक्त पहल असफल बन्यो । राष्ट्रिय टोलीमा रहने खेलाडीलाई डाइट खर्चवापत मासिक चार हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

‘मोटो वा दुब्लो हुनु ठुलो समस्या होइन,’ न्युट्रिसियन लम्साल भन्छन्, ‘समस्या त खेलाडीले कुन बेला, के र कति खान्छन् भन्ने हो ।’ उनका अनुसार खेलाडीको नियमित, अभ्यासका बेला दिइने, खेल्नुअघि खाने र खेलिसकेपछिको खाना बेग्ला–बेल्लै हुन्छ । खेलाडी यसबारे सचेत हुनु पर्ने उनको सुझाव छ । विदेशमा हरेक टोलीमा न्युट्रिसियन राख्ने चलन छ, नेपालमा कसैलाई चासो छैन ।

प्रायः व्यस्त रहने क्रिकेट र फुटबल टोलीमा समेत यसले प्रवेश पाएको छैन । सानका प्रमुख प्रधान भने प्रशिक्षणमै समस्या रहेकाले अन्य विषय तपसिलमा परेको बताउँछन् । भन्छन्, ‘अब १/२ साताको बन्द प्रशिक्षणले पुग्दैन । ६ महिना अघिदेखि नै तयारी थाल्नु पर्छ ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.