लार्केलको ‘सफाइ’अभियान
नेपाली राजनीतिका आदर्श–व्यक्तित्व लार्केल लामाज्यूले तथाकथित मुद्दा–मामिलामा अदालतबाट ‘सफाइ’ प्राप्त गर्नु भएपछि ममा तीव्र छट्पटी पैदा भयो । उहाँले ‘सफाइ’ पाउनुभएको सुखद् खबर सुनेसँगै उहाँलाई कतिबेला ढोगभेट गर्ने भन्नेमा म आतुर थिएँ । आखिर, नेपाली राजनीतिका नमुनायोग्य व्यक्तिलाई नभेटी म कहाँ त्यसै छाड्थेँ र ? तसर्थ, एक बिहान म उहाँको घरतिर लम्किएँ ।
‘नमस्कार । तपाईंले सफाइ पाउनुभएको खबरले म आल्हादित छु । तपाईंजस्ता महान् व्यक्तिले सफाइ पाउनुपर्छ भन्ने विषयमा म पहिल्यैदेखि प्रष्ट थिएँ । खबर सुनेर खुशी लागेपछि ढोगभेट गर्न आएको हुँ ।’ मैंले अति नै उत्साह दर्शाउँदै भनेँ । ‘धन्यवाद, शुभचिन्तकज्यू ।’ रातो रङको खादा मिलाउँदै उहाँले भन्नुभयो । सायद, उहाँलाई कसैले भर्खरै मात्र खादा ओढाएका थिए ।
‘तपार्इंले सफाइ पाउनु भयो । यो सफाइको बारेमा केही जान्नका निम्ति आएको हुँ । तपार्इंको विचारमा तपाईंले कसरी सफाइ पाउनुभयो ?’ मैले सोधेँ ।
‘म एक असल र इमानदार सफाइकर्मी हुँ ।’ उहाँ भावुक बन्नुभयो र आफ्नो राजनीतिक इतिहास कोट्याउन थाल्नुभयो । उहाँले भन्न थाल्नुभयो, ‘पहिला म कांग्रेसको मान्छे थिएँ । कांग्रेसमा छँदा मैंले सफाइमा नै जोड दिएँ ।
तर, कांग्रेसले सफाइलाई भन्दा अरू पक्षलाई महत्व दिन थालेपछि मैंले कांग्रेसजन सफाइप्रति सचेत नभएको पाएँ ।’ ‘त्यसपछि के गर्नुभयो ?’ मैंले सोधेँ ।
‘के गर्नु नि ? कांग्रेसमा रहँदा मेरो सफाइ अभियान नचम्किने देखेपछि एमालेलाई समातेँ ।’ केही मुस्कान छर्दै उहाँले भन्नुभयो, ‘एमाले सफाइमा सचेत पार्टी लाग्यो मलाई ।
एमालेमा गएपछि मेरो सफाइ अभियानले दिन दुगुना र रात चौगुना प्रगति गर्दै गयो । सफाइकै क्रममा म एक पटक त अर्थ राज्यमन्त्री पनि बनेँ । तर, मेरो सफाइ अभियानलाई टेढो नजरले हेर्नेहरूले मलाई त्यहाँ धेरै दिन टिक्न दिएनन् ।’ ‘अँ, त्यही बेला तपार्इंले तीन वटा देशको नागरिकता लिनुभएको कुरा पनि आएको थियो नि, खास कुरा के हो ?’ मैले उहाँलाई अलि धेरै नै च्याप्न खोजेँ ।
‘म बहुराष्ट्रिय व्यक्ति हुँ । यो सफाइ अभियानमा लाग्नेहरूले आफूलाई बहुराष्ट्रिय प्रतिभाकै रूपमा विकास गर्नुपर्ने हुन्छ । त्यही भएर मैंले बहुराष्ट्रिय नागरिक बन्न चाहेको हुँ । यसमा अरूलाई टाउको दुख्नुपर्ने कारण के छ ?’ केही रिसाएजस्तो भावमा उहाँले आफ्नो कुरा राख्नुभयो । ‘अँ, तपाईंको सफाइ अभियान त माओवादीसम्मै तन्कियो नि, हैन र ?’ मैले फेरि सोधेँ ।
‘कांग्रेस र एमालेमा हुँदा सफाइ अभियानलाई मैंले राम्ररी चलाएको कारण माओवादीले पनि मलाई पत्याए । त्यही भएर उनीहरूले मलाई सांसद नै बनाए ।’ केही भावुक र गम्भीर हुँदै हाम्रा समादरणीय लार्केलले मलाई एउटा यक्ष प्रश्न तेस्र्याउनुभयो, ‘मित्र, तपार्इंले नेपालको पोल्टिक्समा मजस्तो सफल मान्छे अरू कोही देख्नुभएको छ ? जसलाई कांग्रेस, एमाले र माओवादीजस्ता देशका ठूला पार्टीहरू पत्याउन तयार छन् ?’
‘हो, मैंले मानेँ । तपाईंलाई यी सबै पार्टीले पत्याउनुको मूल कारण के हो जस्तो लाग्छ ?’ मैंले सोधेँ । लार्केलज्यूले मन्द मुस्कान छर्दै भन्नुभयो, ‘यो सबै सफाइ अभियानको करामत हो । र, म एक सफल र भरपर्दो सफाइ अभियन्ता हुँ ।’
प्रतिक्रिया दिनुहोस !