भारतीय गोर्खा र १९५० को सन्धि

भारतीय गोर्खा र १९५० को सन्धि

भारतमा नेपाली भाषालाई मातृ भाषा मानेर बोल्ने र बसोवास गर्ने दुईथरी समुदाय छन् । प्रथम- भारतमै दसकौंअघि जन्मेका र यहीँका नागरिक भएर भारतीय राष्ट्रियता भएका जसलाई धेरैले भारतीय गोर्खा वा भारतीय नेपाली भन्छन् । दोस्रो नेपालबाट आएका नेपाली नागरिक र नेपाली राष्ट्रियता भएका जसलाई प्रायः नै नेपाली भनी सम्बोधन गरिन्छ । प्रायः नेपाली नागरिक सन् १९५० को नेपाल भारत शान्ति एवं मैत्री सन्धिअन्तर्गत भारतमा आउने गर्छन्, कतिपय यहीँ बसोवास गर्छन् र धेरैजना आफ्नो जन्मथलो नै फर्केर जान्छन् ।

भारतीय गोर्खाहरूका आधुनिक भारत निर्माणमा गहिरो एवं गहकिलो योगदान छ । साहित्य, शिक्षा, संस्कृति, खेलकुद, राष्ट्रिय सुरक्षा, राजनीति, संगीत प्रायः सबै क्षेत्रमै भारतीय गोर्खाहरूले व्यापक योगदान दिएका छन् । भारत स्वतन्त्रता संग्राममा भारतीय गोर्खाहरूले दिएको योगदानलाई महत्त्व दिँदै भारतको संसद्परिसरमा सहिद दुर्गा मल्लको मूर्ति राखिएको छ । भारतीय राष्ट्रिय कांग्रेसको सन् १९६० को दसकमै पण्डित नेहरूसँग नजिक रहेर र कांग्रेसको एक महामन्त्री भएर थियोडर मेननले कार्यभार सम्हालेका थिए ।

राष्ट्रिय सुरक्षा क्षेत्रमा परमवीर चक्र प्राप्त गर्ने धनसिंह थापादेखि लिएर ओएस भण्डारी, शक्ति गुरुङसम्म धेरैले जनरल र ब्रिगेडियर भएर राष्ट्रको सेवा पुर्‌याए । यसरी नै उच्च सेवाहरू आईएएस, आईपीएस सबैसबैमा भारतीय गोर्खाहरू अघि आए । उच्च न्यायालयहरूका न्यायाधीश बने, विश्वविद्यालयका कुलपति, ओलम्पिक खेलाडी, साहित्य एकेडेमी पुरस्कारले पुरस्कृत, राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य, राज्यका मुख्यमन्त्री, संसद् सदस्य, फिल्म अभिनेता र निर्माता, व्यापार वाणिज्य उद्योगधन्धाका मालिक सबैसबै क्षेत्रमा भारतीय गोर्खाहरूले अघि आएर राष्ट्रिय ध्वजा सम्हाले ।

भारत सरकारले पनि भारतीय गोर्खाहरूलाई धेरै दिए । भारतीय गोर्खाहरूभित्र पर्ने कोही जातलाई अनुसूचित जाति, कसैलाई अनुसूचित जनजाति र कसैलाई पछिल्लो वर्गको सूचीमा हाले । भारतीय संविधानमा नेपाली भाषालाई राष्ट्रिय भाषाको स्थान दिँदै आठौं अनुसूचीमा अन्र्तभुक्त गरे । कसैलाई राष्ट्रिय पुरस्कारहरूले शृंगार गरे र कसैलाई सरकारको उच्च राजनीतिक ओहोदासम्म दिए ।

यी सबै हुँदाहुँदै भारतीय गोर्खाहरूले आफ्नो चिनारीको लडाइँ एवं संघर्ष जारी राखेका छन् । भारतीय गोर्खाहरूका चिनारीका दुई पक्ष छन् । प्रथमतः भारतमा अरू जाति, समुदायले पाएका राजनीतिक अधिकार र राष्ट्रिय स्थान पाउनुपर्छ भन्ने एउटा गहिरो सोच, जसमा आफ्नै अलग राज्य हुनुपर्छ भन्ने माग । उडिया, बंगाली, तमिल, पन्जाबी, मराठी, गुजराती आदिले आफ्नै भाषा, जाति, समुदायको नाममा अ-आफ्ना राज्यहरू बनाए । भारतीय गोर्खाहरूको पनि आफ्नै राज्य हुनुपर्छ भन्ने माग संघर्ष जारी नै छ ।

तर चिनारीको खोजमा अति नै महत्वपूर्ण दोस्रो पक्ष हो । कसरी भारतीय गोर्खा र नेपालका नागरिकलाई भारतमा अलग्गै राख्ने ? सन् १९५० मा हस्ताक्षर गरिएको नेपाल भारत सन्धिअन्तर्गत भारतमा आवतजावत गर्ने नेपाली नगारिकसँग भारतीय गोर्खाहरूका प्रायः सबैसबै कुरो नै मिल्छ । भाषा, भेषभूषा, लवाइखवाइ, संस्कृति, अनुहार र सामाजिक आचरण । तर राजनीतिक र राष्ट्रियताको आधार भने अति नै भिन्न छ ।

खुला सिमाना रहेकाले नेपाली र भारतीय नागरिकहरू एकअर्काको राष्ट्रमा रोकटोकबिना नै जान सक्छन् । यस किसिमको गहिरो आदानप्रदानले एकापट्टि दुई राष्ट्रहरूको सम्बन्धलाई सदृढ एवं सबल बनाउँछ । तर अर्कोतिर भारतीय गोर्खाहरूको आफ्नो राष्ट्रिय चिनारीहरूमा भने निकै ठूलो आघात पुर्‌याउँछ । भारतीय गोर्खाहरूले सामना गर्नुपरेमा चिनारीको प्रश्नलाई पाँच मुख्य बुँदामा केलाउन सकिन्छ ।

प्रथमत, भारतीय गोर्खा र नेपाली नगारिकका भाषा, संस्कृति, अनुहार आदि एकै भएकाले भारतमा रहेका अन्य जाति, समुदायले सोच्छन्- यिनीहरू सबै नेपालबाट आएका नेपाली नगारिक हुन् । अनि सबैलाई बहादुर, कान्छा र दरबानको उपाधि दिएर एउटै डोकोमा हालिदिन्छन् । भारतभरि नै भारतीय गोर्खाहरू छरिएर बसेका तथ्य र सत्य विषय प्रायः साधारण भारतीय र अन्य जातजातिका नागरिकहरू अनभिज्ञ छन् ।

दोस्रो- भारतका विभिन्न कुनामा विशेषतः पूर्वोत्तर क्षेत्रमा जब पनि विदेशीको विरोधमा आवाज उठ्छ, त्यहाँ अरू विदेशीहरूसँगसँगै भारतीय गोर्खाहरू पनि मुछिन्छन् । डेढदुई सय वर्षअघिदेखि बसोवास गरेका भारतीय गोर्खाहरूलाई हिजोअस्ति आएर बसोबास गर्ने नेपाली नागरिकसँगसँगै उठिबास लगाइदिन्छन्, घर खेत जलाइदिन्छन् ।

आसाम र मेघालयमा सन् १९८० र सन् १९९० को दसकमा यस्तै भयो । नेपालका नागरिकहरूसँगसँगै भारतीय गोर्खाहरू खेदिए, हिंसाको सिकार बने ।

तेस्रो- कतिपय राज्यहरूमा भारतीय गोर्खाहरू निकै जमेर बसेका छन् । ठूला-ठूला राजनीतिक र प्रशासनिक ओहोदाहरूमा आफूलाई राखेका छन् । उदाहरणार्थ आसाममा विधानसभाको अध्यक्ष, मिजोरममा राज्य जनसेवा आयोगका सचिव, मेघालयमा पुलिसको अधिक्षक एवं आन्ध्र प्रदेशका मुख्य सचिव सबै भारतीय गोर्खाहरू थिए र छन् । तर यी सबै राज्यहरूमा स्थिति द्रूत गतिमा परिवर्तन हुँदैछ । भारतीय गोर्खाहरूलाई भूमिपुत्र नमान्ने अप्रिय घटना हुँदैछन् । नोकरी धन्धा आदिमा भेदभाव सुरु भइसकेको छ । यसको एउटा मूल कारण यही हो । उनीहरू सोच्छन्- यी भारतीय गोर्खाहरू पनि नेपालबाटै केही वर्षअघि आएर हाम्रो भाग खोसेका छन् ।

चौथो- नेपाल भारत सन्धि राष्ट्रिय स्तरमा हस्ताक्षर गरिएको भए पनि धेरै राज्यहरूमा र त्यहाँका सरकार अधिकारी आदिमा यस सन्धिबारे ठीक जानकारी नहुँदा विभिन्न राज्य सरकारहरूले भारतीय गोर्खाहरूलाई राष्ट्रको नागरिकले पाउनुपर्ने सुविधाहरूबाट वञ्चित राखेका तथ्य र घटनाहरू प्रशस्तै मात्रामा अगाडि आउने गर्छ ।

जब पनि कुनै प्राकृतिक प्रकोप हुन्छ, जस्तै- गुजरातको भूजको भुइँचालो, उत्तरखण्डको बाढी र पहिरो र मेघालयको असिना-पानी यी सबैमा क्षति पुगेका आफ्ना राज्यका वासिन्दाहरूलाई जो राहत र सुविधा दिइन्छ, त्यो भारतीय गोर्खाहरूले धेरैवटा स्थितिमा प्राप्त गर्दैनन् । किनकि त्यहाँका अधिकारीले सोच्छन्- यिनीहरू विदेशी हुन् र उसकै आफ्नो सरकार विदेशले हेरचाह गर्नुपर्छ । यस्तो कुराले धेरै भारतीय गोर्खाहरू सताइएका छन् ।

पाँचौं- कतिपय राज्य सरकारले नै यस्ता कुरा गर्छन् । मणिपुर राज्य सरकारले तीनवटा कानुन ल्याउने तरखर गर्‌यो, जसमा प्रत्यक्ष रूपमा त्यहीकै वासिन्दा भारतीय गोर्खा र हिजोअस्ति आएका अन्य विदेशीलाई एउटै खोरभित्र हाली भेदभाव गर्ने । भाग्यवश, भारत सरकारले यो कानुन पारित गर्न दएन । यही सन्धिबाट उब्जेको अन्योलताको फाइदा उठाएर जब पनि दार्जिलिङमा छुट्टै राज्यको मागको आवाज उठ्छ, तल सिलिगुढीका आमरा बंगाली जस्तै साम्प्रदायिक संस्थाले माइक लगाएर भन्छन्, 'यी नेपाली सबै नेपालबाट आएका हुन् र यिनीहरूलाई नेपाल फर्काइदिनुपर्छ र फर्कन लाउनुपर्छ ।' खुलमखुला यति भयानक आरोप लगाउँदा पनि बंगालका पुलिस र सरकार चुपचाप बस्छन् । यो संस्था बारम्बार सन् १९५० को सन्धिको कुरा गर्छ र यसलाई चाँडो शेष गरिनुपर्छ भन्छ । सिलिगुडी नै एकपटक भारतीय गोर्खाहरूको थियो ।

पढेलेखेको स्तरमा भारतीय गोर्खाहरूले यस्तो भेदभाव कम देखे या पाए पनि तल्लो स्तरमा ‘तुम कहाँ से-नेपाल से' भन्ने आपत्तिपूर्ण आक्षेपले भारतीय गोर्खाहरू सदैव सताइन्छ । धेरैले यसलाई अनभिज्ञता हो भन्छन् तर अझै धेरैले यस चिनारीको प्रश्नलाई नेपाली नगारिकको खुला सिमानासँग सम्बन्धित आवतजावतको कारणले नै हो भन्छन् ।

अब के गर्ने ? सन् १९५० को सन्धिबाट उब्जेका चिनारीको प्रश्नलाई र राजनीतिक अस्तित्वको खोजलाई समाधान दिन भारतीय गोर्खाहरूले विभिन्न मार्ग अपनाए । सन् १९८७ मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा सन् १९५० को सन्धिलाई जलाउँदा नै कैयन् मानिसहरूमाथि बर्बरता देखाउँदै सुरक्षाकर्मीहरूले गोली चलाए । धेरै मरे, धेरै जीवनभरका लागि विकलांग भए ।

कालिम्पोङको यो घटनामा कुनै जाँच नै भएन, पशु मर्‌यो कि मान्छे सिकार भयो, कसैले पर्वाह नै गरेन । यस्ता भेदभावका कुरा भारत स्वतन्त्र हुनुअघि पनि आएको थियो । अखिल भारतीय गोर्खा लिगका तिनताकाका अध्यक्ष एवं भारतको संविधानसभाका सदस्य डम्बरसिंह गुरुङले १८ डिसेम्बर १९४६ मा संविधानसभामा यी कुरा उठाएका थिए ।

सन् १९५० को नेपाल भारत शान्ति एवं मैत्री सन्धि दुई राष्ट्रबीचको हितको विषयमा आधारित छ । यसैले दुवै देशमा यस सन्धिको सर्वोच्च स्थान छ । तर एउटा अद्वितीय स्थिति केवल भारतीय गोर्खाहरूका निम्ति यस सन्धिका कतिपय धाराले आघात पुर्‌यायो । त्यो आघातलाई भारत सरकारले राष्ट्रिय स्तरमै नीति बनाएर सुल्झाउनुपर्छ ।

नेपाल र भारतको सन्धि राष्ट्रिय स्तरको हो । यी दुई राष्ट्रहरूबीचको यो सन्धि दुवै राष्ट्रको हितमा गरिएको हो । यसमा भारतीय गोर्खाहरू पूर्ण सहमति जनाउँछन् । तर यस सन्धिको कतिपय धाराले भारतीय गोर्खाहरूका भारतीय चिनारी, भारतीय राष्ट्रियता र भारतीय नागरिकतामाथि निकै आघात पनि पुर्‌याएका छन् । गाउँगाउँ, सहरसहर, राज्य र नगरहरूमा भारतीय गोर्खाहरूले विदेशी भनेर यातनाका सामना गर्नुपरेको छ ।

यसले उनीहरूको मनोविज्ञानमा आघात पुर्‌याएको छ र नै भारतीय गोर्खाहरू जहाँ गए पनि नेपाली नागरिकबाट छुट्टै चिनारी राख्न माग गर्छन् । आफ्नै संघसंस्थाहरू बनाउँछन्, आफ्नै प्रकारले माग राख्छन् । नेपालमा माओवादीले गरेको आन्दोलनमा, भारतीय गोर्खाका संस्थाहरू अन्य भारतीय संस्थाहरूझैं अमूक भएर बसे पनि धेरै क्षेत्र, संस्थाहरूमा भारतीय सुरक्षाकर्मीहरूले तीखो नजर राखेर बसेका थिए । फेरि त्यही प्रश्न- कहीँ यिनीहरू पनि माओवादी आन्दोलनमा ओतप्रोत भएका त छैनन् ?

भारतीय गोर्खाहरू के चाहन्छन् । सन्धि दुई राष्ट्रबीचको हो र राष्ट्र हितको विषय हो । सन्धिको सर्वोच्च स्थान छ । तर एउटा अद्वितीय स्थिति केवल भारतीय गोर्खाहरूका निम्ति यो सन्धिको कतिपय धाराले अघि ल्यायो । भारतीय गोर्खाहरू चाहन्छन्- यी धाराबाट निस्केको प्रभाव, आघातलाई भारत सरकारले राष्ट्रिय स्तरमै नीति बनाएर सुल्झाउनुपर्छ ।
अनि यो नीति बनाउने प्रक्रियामा भारत सरकारले तीनचारवटा पाइलाहरू चाल्नुपर्छ । प्रथम हो भारतीय गोर्खाहरूका लागि छुट्टै राज्य जसका निम्ति लगभग एक सय २० वर्षदेखि यिनीहरू लड्दै आएका छन् ।

सबैले पाए, किन भारतीय गोर्खाहरूले पाउँदैनन्, व्यापक रूपमा योगदान दिएर पनि । दोस्रो, सबै भारतीय गोर्खाहरूलाई अनुसूचित जनजातिको दर्जा सबै राज्यहरूमा दिइएको खण्डमा अहिलेसम्म भएका भेदभाव फेरि नदोहोरिएला । तेस्रो, भारतीय गोर्खाहरूलाई नेपाली नागरिकसँग छुट्ट्याउन, एउटा विशेष पहिचानपत्र दिएको खण्डमा यस किसिमको भेदभाव फेरि नहोला । भेदभाव भएको खण्डमा यसलाई विशेष न्यायालयमा अघि राखेर सुल्झाउनुपर्नेछ वा भेदभाव गर्नेहरूलाई सजाय दिइनुपर्नेछ ।

अनि चौथो, संविधानअन्तर्गत नै भारतीय गोर्खाहरूलाई एउटा भाषिक अल्पसंख्यकको दर्जा दिइनुपर्नेछ । आधुनिक भारत निर्माणमा भारतीय गोर्खाहरूले दिएको बलिदान र योगदानको मूल्यांकन हुन बाँकी छ । यसको एउटा प्रमुख कारण हो, भारतीय गोर्खाहरू धेरैवटा राज्यहरूमा छरपस्टै भएर बसेका छन् र जहाँ अधिकांश वा बहुसंख्यक छन्, त्यहाँका राजनीतिक दलले राष्ट्रिय स्तरमा यस विषय केही गर्न नसक्नु हो ।

अर्को कारण हो, भारतीय गोर्खाहरू अझै पनि शिक्षा क्षेत्रमा अति नै पछाडि छन् । नीति निर्धारण गर्ने संस्था नै छैन र राष्ट्रिय नेतृत्व नै छैन । नेताहरू सबै टुक्रे, सोच, बोक्रे काम र धोक्रे आडम्बर बोकेर हिँड्ने भएरै अर्को अझै घिनलाग्दो र भयानक प्रकोपले गोर्खाहरूलाई खान लाग्यो । त्यो हो जात-जात टुक्रा हुनु । दार्जिलिङ-सिक्किम -आसाम-देहरादुन यस रोगले विस्तारै प्रभावित बन्दैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.