कहाँ छैनन् बोक्सी !

 कहाँ छैनन् बोक्सी !

एक दिन रातको ११ बजेतिर धान खेतमा पानी सोझ्याउँदै गर्दा बाटोमा रहेको बाँसघारीमा टाढैबाट बत्ती बलेको देखियो । भूतप्रेतका कथा बारम्बार सुनेको थिएँ । मेरो मुटु ढक्क फुल्यो । गाउँकै कतिपय ठूलाबडाले भूत, प्रेत, मसान हुने र आफ्नै आँखाले देखेको भनेर धेरैपटक भनेका थिए । खुट्टा अघि बढ्न डराए । तर पनि घर त फर्कनु नै थियो । नजिकै आइपुग्न लाग्दा केही मान्छे गुनगुन बोलिरहेको सुनेपछि अलिकति हिम्मत आयो ।

नजिकै पुग्दा त झन् आश्चर्य लाग्यो । पल्ला घरका मास्टर माइला नांगै भएर डोकोमा विभिन्न रङका डोरी र कपडाका टालाहरू बाँधिरहेका थिए । पल्लो गाउँबाट आएका धामी बा नजिकै बसेर उनलाई अह्राउँदै थिए । म केही क्षण उभिएर टुलुटुलु हेरिरहेँ । अनि केही समयपछि जब धामी बाले सकिएको इशारा गरे, मैले फ्याट्ट सोधिहालेँ, ‘सर ! केको पूजा गरेको ? '

उनले भने, ‘वनको पूजा हो बाबु !' मैले बुझेझैं गरेर टाउको हल्लाएँ । उनी गाउँकै स्कुलमा माध्यमिक तहसम्म सामाजिक शिक्षा पढाउँथे । मलाई पनि पढाएका थिए । त्यसपछि उनीहरू मलाई जाऊँ पनि नभनेर फटाफट घरतिर हान्निए । म पछिपछि लागेँ । भोलिपल्ट थाहा भयो, भर्खर ब्याएको उनको भैंसीले दूध दिएको रहेनछ ।

‘वनको' लागेको कारण देखाएर धामी बाले सो पूजा गर्न अह्राएका रहेछन् । केही महिनापछि गाउँमै अर्को घटना भयो । मेरो घरभन्दा अलिमाथि एउटी अधबैंसे महिला, हामीले आन्टी भन्थ्यौं, उनी बिहानैदेखि चिच्याउन सुरु गरिन् । फाट्टफुट्ट राजनीतिक कार्यक्रममा पनि देखिने उनी कसैको नाम नलिईकन एकोहोरो गाली गरिरहेकी थिइन् ।

धेरै महिला जम्मा भए तर उनको घरभन्दा केही दूरीमा रहेकी एकजना बिधवा भने त्यहाँ आइनन् । महिलाहरूले एकआपसमा कानेखुसी गरे, कतिपयले उनलाई उकास्दिए । उनी भन्दै थिइन्, ‘बिहे गरेको वर्ष दिन नबित्दै आफ्नै पोइ खाई यसले । अर्काले गरिखाएको देखी सहिनस् हैन ? आज यसलाई मैले ‘गु' खुवाउन सकिनछु भने म पनि जिम्मावालकी छोरी हैन' यस्तै यस्तै ।

पछि खुल्यो, उनको दाहिने साँप्रोमा ठूलो नीलडाम बसेको रैछ । बोक्सीले टोकी भनेर धेरै दिनसम्म आफन्त र गाउँलेलाई देखाउँदै बसिन् । उनले सराप्ने महिला तिनै विधवा हुन भन्ने प्रस्ट थियो । उनीमात्र होइन, गाउँका धेरै महिलाको तारो बनेकी थिइन् ती विधवा महिला ।

बिहे गरेको एक वर्ष पनि नबित्दै २०५९ सालतिर माओवादी भएको आरोपमा उनका श्रीमान्लाई मारिएको थियो । उनको तीनवर्षे छोरी बारम्बार बिरामी भइरहन्थी, गाउँले र आफन्तले सहयोग गर्दैनथिए । उनी ‘तल्लो जात'की थिइन् । उनलाई एक खालको सामाजिक बहिष्कार गरिएको थियो ।

एक दिन मैले ती अन्टीको घरमा गएर सोधेँ, ‘के बोक्सी साँच्चै हुन्छन् त ? ' ‘पत्याउँदैनौ, नपत्याए हेर' यति भनेर उनले साडी माथि उचालिन् । घुँडाभन्दा माथि साँप्रामा एउटा नीलो खत थियो । ‘त्यो बोक्सिनीले सधैं टोक्छे मलाई', उनले ठोकुवा गरिन् ।

विशेष गरेर कथित उच्च जातिको बाहुल्य रहेको क्षेत्रमा कथित तल्लो जातको मानिसले आफ्नो कुरा आँखामा आँखा लडाएर गर्ने हिम्मत राख्छ भने उसलाई बोक्सी या अन्य केही असामाजिक तत्व भएको आरोप लगाइन्छ ।

‘राति उनी नै आएर टोक्छिन् त ? तपाईं बिरामी भएको पनि त हुनसक्छ !', मेरो कुरा भुइँमा झर्न नपाउँदै उनी चर्किन थालिन्, ‘गाउँका जम्मै आइमाईलाई सोध, कसैको भैंसी खाई, कसैको बाख्रा । कसैलाई गएर टोक्छे, कसैको काँक्रा कुहिन्छ ।'

‘कसरी टोक्छिन् उनले, यति ठूलो खत पर्ने गरेर ? ' थप जिज्ञासा राखेँ । ‘सुनेनौ, रातभर छौंडा (बिरालाहरू) कराएर सुत्न पाइन्न । तिनै छौंडा पठाउँछे । अनि टोकेर जान्छन् ।'
‘आन्टी त्यो डाम बिरालाले टोकेको त होइन, उनीहरूको दाँत त्यस्तो हुन्न', मैले जिद्दी गरेपछि उनी झनै आगो भइन् ।

‘त्यो दमिनीको बारेमा यहाँ बोल्न पर्दैन, त्यसैसँग जाऊ तिमी पनि । तिम्लाई पनि बोक्सी विद्या सिकाउँछे त्यसले', यति भनेपछि म घरतिर हिँडे । १२ पास गरिसकेपछि दिदीले काठमाडौं बोलाइन् । ‘यतै आएर पढ, भान्जाले पनि अक्षर चिन्ला । त्यो गाउँमा के गर्छस् ? ' मैले नाइँ भन्न सकिनँ ।

दिदी भिनाजुको कस्मेटिक पसल थियो । भिनाजु पसलमा भएको बेला म कहिलेकाहीँ उहाँको बाइक लिएर घुम्न जान्थेँ । ‘ग्रह खराब छन् है बाबु, राम्रोसँग चला, टाढा नजा' भिनाजुले प्रायः यस्तै भन्नुहुन्थ्यो । एक दिन भान्जालाई घुमाउन भनेर मोटरसाइकलबाहिर निकाल्दा ननिकाल्दै पल्ट्यो । उनलाई सानो चोट लाग्यो, अर्को दिन ज्योतिषी बोलाइयो, तेस्रो दिन बाइक बेचियो ।

एक दिन अनौठो दृश्य देखेँ पसलमा । एकजना लामो दाह्री पालेको बूढाले केही मन्त्र पढेजस्तो गरेर अगरबत्ती बाल्दै थिए । एक दुईवटा स्याउ काटेर प्रसादजस्तो बनाइएको थियो । केही कागती र केही खुर्सानी अगाडि राखिएको थियो । भिनाजुले बाहिर बसेर त्यसलाई हेरिरहनुभएको थियो । दाह्रीवाला बूढाले दिदीलाई कुचोले हिर्काउन सुरु गरे । ‘छोड्, छोड्' भन्दै दाह्रीवाल झन् जोडले दिदीलाई हिर्काउँदै थिए ।
बेलुका मैले सोधेँ, ‘के गरेको दिदी दिउँसो १२ बजे पसलमा ? ' दिदीले भनिन्, ‘कसैलाई नभनेस्, घरबेटीले आँखा लगाउँछिन् पसलमा । उनले सामान किनेको दिन कत्ति व्यापार हुन्न ।' भिनाजुले ‘अँ अँ' थपे । उनले भान्जालाई देखाएर भने, ‘कतिपटक यो केटो बिरामी भयो' मैले टाउको हल्लाउन छोडिनँ ।

दसैंबिदामा घर फर्किंदा गाउँकी ती विधवा गाउँ नै छोडेर हिँडिसकेकी रहिछन् । वल्लोघर पल्लो घर जताततै ती विधवाले बोक्सिनी भएर गरेका कामको चर्चा चल्थ्यो । आफ्नै उमेरका साथीहरू पनि कहिलेकाहीँ त्यही बोक्सिनीले गर्दा परीक्षामा आफ्नो नम्बर धेरै नआएको गुनासो गर्थे । यहाँसम्म कि पल्लो गाउँको सन्ते गाँजा बेचेको आरोपमा जेल जाँदा पनि तिनै बिधवालाई दोष दिइयो ।

पीडित भनिएकी ती आन्टी पहिलो संविधानसभाको चुनावी अभियानमा हिँडिरहेकी थिइन् । मास्टर माइला पनि पढाउन छोडेर राजनीतिक अभियानमै हिँडेको देखेँ । उनीहरू दुईवटैको एउटै पार्टी थियो सायद । दुवैजना जातीय आरक्षणको विरोध गर्थे, नेपाल अखण्ड हुनुपर्छ भन्थे । देशमा धर्मनिरपेक्षता हुनुहुन्न भन्ने मान्यता थियो ।

आन्टी हाम्रो घरमा पनि बेलाबेलामा आउँथिन् । एक दिन बिहानै आइन्, चिया लिँदै उनले मलाई हेरेर मुस्कुराउँदै भनिन्, ‘त्यो बोक्सिनी हिँडेपछि पनि गाउँमा अझै हाइसन्चो भएको छैन । ३ नम्बर क्षेत्रमा हाम्रो पार्टीले चुनाव जित्ला कि भनेको, धुकधुक छ ।'

बोक्सी भएको आरोप त्यस्तालाई लगाइन्छ, जसले सामाजिक कुरीतिको विरोध गरेको हुन्छ । अनि जसले संघर्ष गरेको हुन्छ र जोसँग फरक जीवन बाँचेको अनुभव छ । विशेष गरेर कथित उच्च जातिको बाहुल्य रहेको क्षेत्रमा कथित तल्लो जातको मानिसले आफ्नो कुरा आँखामा आँखा लडाएर गर्ने हिम्मत राख्छ भने उसलाई बोक्सी या अन्य केही असामाजिक तत्व भएको आरोप लगाइन्छ । त्यही आरोपलाई नानाथरी कुतर्क गरेर पुष्टि गर्ने प्रयास गरिन्छ ।

एउटा एकल महिलालाई थर फरक भएको आधारमा गरिने यस्तो हेय व्यवहार आजकालको समाजमा बिलकुलै अपाच्य छ । बोक्सिनी भनेर आरोप लगाइएका केही महिलालाई मैले नजिकबाट देखेको छु । तीमध्ये केहीलाई मानसिक समस्या भएको पनि छ । एकातर्फ बढिरहेको सामाजिक मूल्यमान्यतालाई अलि फरक ढंगबाट हेर्न खोज्नेहरू यस्तैयस्तै असामाजिक चपेटामा पर्ने गर्छन् ।

म फर्किएर आफ्नो कोठामा छिरेँ । ऐना हेर्दै मनमनै भनेँ, ‘आजकल हरेक मान्छेको दिमाग बोक्सी बनेको छ, एकले अर्कोलाई आरोप लगाएर खेद्ने अभियान चलेको छ । थुक्क एक्काइसौं शताब्दीका हामी ! जसरी सतीप्रथा लगायतका धेरै असामाजिक कुरीति हटाइयो, बोक्सीप्रथा हटाउन पनि सबै मिलेर एउटा अभियान नै छेड्नुपर्नेछ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.