मूलधारका मिडियाको कार्यभार

मूलधारका मिडियाको कार्यभार

एक्काईसौं शताब्दीको सुरुआतसँगै मिडियाको भूमिका र यसले उठान गर्नुपर्ने विषयवस्तुबारे नयाँ बहस सुरु भएको छ । खासगरी भूमण्डलीयकरणको नयाँ संवेगले पनि मिडियाविज्ञहरूलाई मिडियाको नयाँ ढाँचा र कार्यपद्धतिबारे अनुसन्धान गर्न र नयाँ उपाय पहिल्याउन गतिलो वातावरण तयार गरिदिएको छ । मिडियालाई प्रभाव पार्ने र प्रभावित हुने गतिशील सामाजिक एकाइ मान्नेहरू पनि कम छैनन् । भलै यो धारणालाई आलोचना गर्ने पनि उत्तिकै छन् ।

तर जे होस्, राजनीतिक, सामाजिक, साँस्कृतिक एवं वैचारिक धारलाई प्रतिनिधित्व गर्ने संयन्त्र मिडिया नै हो । विश्वका पछिल्ला केही घटनाक्रमले मुख्यगरी मूलधारका मिडियाले आत्मसमीक्षा गर्नुपर्ने र पत्रकारिता स्वतन्त्रताको सीमा र क्षेत्र आकलन गरी गन्तव्य तय गर्नुपर्ने जबर्जस्त बाध्यता सिर्जना गरिदिएको छ, चाहे त्यो अमेरिकी निर्वाचनको सन्दर्भमा होस् वा युरोपियन युनियन सदस्यमा देखिएको विचलन । नेपालको लम्बिँदो राजनीतिक अस्थिरताको विषयमा मिडियाले नयाँ सोच र गन्तव्य तय गर्नैपर्ने देखिएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ठूला एवं मूलधारका भनिएका मिडियाले हिलारी क्लिन्टनको पक्षमा चलाएको एकोहोरो अभियानलाई अमेरिकी मिडिया अध्येताहरूले निकै उत्ताउलोसम्म भने । मिडियाले सबैका कुरा बाहिर ल्याउने एउटा कुरा हो, तर जबर्जस्तरूपमा आम मानिसमा भ्रम सिर्जना गर्ने, त्रास देखाउने र राजनीतिकर्मी जसरी सडकमा प्रदर्शित हुने स्थिति मिडिया क्षेत्रकै लागि लज्जाजनक भएको अध्येताहरूको निचोड छ ।

अमेरिकी राजनीतिमा प्रभाव पार्ने ठानिएको सीएनएनदेखि सन्तुलित ठानिएको एट्लान्टिक म्यागेजिन हुँदै वासिंटन पोस्ट्, एबीसी, सीबीसीलगायतका अमेरिकी सञ्चारमाध्यमको क्लिन्टनको पक्षमा एकोहोरो वा भनौं, भद्दा समर्थन निश्चित रूपमा उचित थिएन । दुर्भाग्य क्लिन्टनको पक्षमा मूलधारका मिडियाले अभियान चलाउँदासमेत डोनाल्ड ट्रम्पले विजयी बने । यसको श्रेय बरु सामाजिक सञ्जालहरूले पाए । क्लिन्टन समर्थकहरूले गुगल, फेसबुक, टिव्टरलगायतका सामाजिक सञ्जालमाथि गलत सूचना प्रवाह गरी मतदातालाई भ्रमित पारेको समेत आरोप लगाउन पछि परेनन् ।

यो परिस्थितिलाई नजिकबाट अध्ययन गरेका अलजजिराका पूर्व समाचार सम्पादक अहमद अल शेख सामाजिक सञ्जालले गल्ती गरेको नभई मूलधारका भनिएका मिडियाले मिडिया धर्म बिर्संदा आम मानिसको विश्वास आर्जन गर्न नसकेको टिप्पणी गर्छन् । मिडियाले मुलुकलाई पहिले राख्नुपर्छ, तर आफ्नो कार्यमा पत्रकारिताको मूल मर्म बिर्सियो भने यसले विस्तारै मानिसमा त्यसप्रति अविश्वसनीयता सिर्जना गर्ने शेखको भनाइ छ ।

प्रसिद्ध मिडिया अध्येता ह्यारोल्ड इनिस आफ्नो चर्चित पुस्तक 'दि वायस अफ कम्युनिकेसन (१९५२)' मा टिप्पणी गर्छन्, समयसमयमा मिडियाले आफ्नो गतिविधि, वर्तमान अवस्था र आम मानिसको विचारबारे अध्ययन गर्न सकेनन् भने उनीहरूले प्रवाह गरेका विषयवस्तुको नकारात्मक प्रभाव पनि परिरहन सक्छ, जसले मिडियाप्रति अविश्वसनीयता सिर्जना गरिरहेको हुन्छ । यस्तैगरी जर्मन विद्वान् पाउल लेजेरफेल्डले मिडियाले आफूहरूले जे गरिरहका छौं, पूरै ठीक गरिरहेका छौं । साथै हामीले जे भन्छौं, सबैमा त्यसको सही प्रभाव परेको हुन्छ भन्नु गम्भीर भूल हुने तर्क गर्छन् ।

विश्व भूमण्डलीकरणको नयाँ आयाम सुरु भएसँगै विश्वका मुद्दाहरूले नयाँ धार अवलम्बन गरेका छन् । भूमण्डलीयकरणको अमेरिकाकेन्द्रित अवस्थाबाट विश्व संरचना मुक्त हुने अवस्थामा छ । तर पूरै मुक्त पनि भइसकेको छैन । त्यसकारण यो विश्व संक्रमणको अवस्थामा मिडियाले उठान गर्नुपर्ने विषय र प्रस्तुति शैली कम्ती पेचिलो छैन । त्यसमाथि सामाजिक सञ्जालको बढ्दो लोकप्रियता, अनौपचारिक शैली, तीव्र प्रभाव साथै तीव्र सहभागिताको अवसरले नयाँ पुस्तालाई त्यसतर्फ आकर्षित गरेको छ ।

यो संवेग निश्चित मर्यादाभित्र रहन सकेन र अहिले जस्तै किसिमले उपद्रो बढिरह्यो भने यसले सिर्जना गर्ने भयानकता पनि कम्ती डरलाग्दो हुने छैन । त्यसकारण पनि मिडिया अध्येताहरू मूलधारका मिडियालाई सचेत गराउँदै नयाँ प्रविधिसंग तीव्ररूपमा जोडिँदै आफ्नो धर्म, नैतिकताका साथै जिम्मेवारी नर्बिसन सचेत गराउँछन् । ब्रेक्जिटको मुद्दा, अमेरिकी राष्ट्रपतीय निर्वाचन, आप्रवासी समस्या, मध्यपूर्व संकटदेखि युरोपेली युनियनमा देखिन थालेको विचलनलाई मूलधारका मिडियाले सही रूपमा केलाउन नसकेको, एकपक्षीय भएको र उनीहरूका विषयवस्तुले आम जनताको खासै प्रभाव पनि पार्न नसकेको भन्दै पछिल्लो पटक निकै आलोचना हुँदै आएको छ ।

मूलधारका अन्र्तराष्ट्रिय मिडियामा देखिएको विचलनको अवस्था नेपाली मिडियामा पनि कम्ती छैन । नेपाली घरेलु मुद्दाहरूमा नेपालका ठूला मिडियाले आममानिसमा पार्ने प्रभाव निकै खुम्चिँदै गएको छ । यसको मुख्य फाइदा सामाजिक सञ्जालहरूले लिएका छन् । मूलधारका मिडिया पहिलो कुरा त अझै शीघ्र प्रविधिमैत्री हुन नसकेका छैनन् । अर्को कुरा राजनीतिक तथा सामाजिक घटनाक्रमहरूलाई उनीहरूले प्रस्तुत गर्ने विषयवस्तुप्रति आममानिसको ठूलो जमात असन्तुष्ट हुँदै आएको छ । यो क्रम रफ्तारले बढ्दो छ ।

पछिल्लो दुई दसक नेपाली जनताले राजनीतिक वा सामाजिक रूपमा होस्, अकल्पनीय घटनाक्रमहरूको सामना गर्नुपर्‌यो । नेपाली नेतृत्वले आन्तरिक र बाह्य सन्तुलन मिलाउन नसक्दा निर्णय लिनेक्रममा भएका ऐतिहासिक त्रुटिदेखि त्यसको बैठानमा देखिएको समस्याले नेपालीलाई अझै पिरोलेको छ । साथै यो गतिरोध कतिसम्म जाने हो अन्योलै छ । पछिल्लो दुई दसक मात्रकै कुरा गर्ने हो भने पनि नेपाली मिडियाले धेरै नयाँ विषयमा अनुसन्धान गर्ने र त्यसलाई प्रभावकारी ढंगबाट आम मानिससमक्ष पुर्‌याउने दूलर्भ अवसर मिलेको थियो तर त्यसको दुरुपयोग भयो ।

मूलधारका मिडिया विषयवस्तुमै रमाउने र स्रोतको अपेक्षामय भएको भन्दै मिडिया अध्येताहरू चिन्तित भए । फलस्वरूप मूलधारका मिडियाले सूचना, ज्ञान, चिन्तन र बहसको शक्तिशाली स्थान गुमाउँदै गएका छन् । यसको स्थान सामाजिक सञ्जालहरूले लिने क्रम बढ्दो छ ।

नेपाली मिडियामा देखिएको सबैभन्दा ठूलो समस्या भनेकै प्राथमिकता आकलन गर्न नसक्नु हो । योविना त्यसपछिको कार्य प्रस्टिन सक्दैन । प्राथमिकताको सीधा सम्बन्ध राजनीतिक, सामाजिक, आर्थिक अवस्थादेखि भूराजनीतिक सन्तुलनसम्म रहेको हुन्छ । आममानिस यो सन्दर्भमा प्रस्ट हुन चाहन्छन् तर आफैं प्रस्ट नभएको मिडियाले कसरी आममानिसलाई प्रस्ट पार्न सक्छ, मूल प्रश्न यहींनेर छ ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, पहिचान, समावेशीलगायतका मुद्दा नेपाली माटोमा बिल्कुलै नयाँ थिए । जनआन्दोलनको अभिमतले अवरोधविहीन लोकतन्त्र खोजेको थियो । कहाँबाट यी मुद्दा आए जनता मुखामुख गर्न थाले । यी मुद्दा आफैंमा नाजायज छन् भन्न खोजिएको होइन, तर जनताका मनमा गम्भीर प्रश्नहरू खडा भएका थिए । यी मुद्दाहरू कसरी ल्याइयो, किन ल्याइयो र यसबाट मुलुक र जनताले के लाभ हासिल गर्न सक्छन् भन्ने प्रश्न जनताबाट आउनु स्वाभाविक हो । आखिर राष्ट्र भनेकै जनता ।


राष्ट्रिय मुद्दाहरूको उठान किन भइरहेको छ, त्यसको तात्कालीन एवं दीर्घकालीन असर के हुन सक्छ भन्ने आमजनताको चासोलाई मूलधारका मिडियाले सम्बोधन गरिदिनैपर्छ ।

तर यी मुद्दाबारे मूलधारका मिडियाले गम्भीर बहस चलाउन सकेनन् । जनता उल्लेख्य सूचनाबाट वञ्चित भए । पी साइनाथको शब्दमा भन्ने हो भने मिडियाकर्मीहरू ठालुहरूका सूचना प्रवाह गर्ने व्यक्ति सावित भए । मूलधारका नेपाली मिडिया धेरै महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई कसरी प्रवाह गर्ने सन्दर्भमा पटकपटक चुकेका छन् । त्यसमाथि अनुसन्धान र गहन रिपोर्टिङको डरलाग्दो अभाव त छँदैछ ।

एजेन्डा सेटिङ थ्योरीका प्रवर्तकहरू म्याक्सवेल क्याककम्ब र डोनाल्ड शा आममानिसलाई नजिकबाट अध्ययन गर्ने कार्य मिडियाले सधैं जारी राख्नुपर्नेमा जोड दिन्छन् । आममानिसले मिडियालाई हरपल नियालिरहेका हुन्छन् भन्ने उनीहरूको भनाइ छ । अब मिडियाको सिद्धान्त, मर्यादा, मूल्य, पद्धति, जिम्मेवारी साथै गर्विलो इतिहास बचाउने गम्भीर चुनौती मूलधारका मिडियामा आइपरेको छ । समयानुकूल आफैंलाई परिस्कृत गर्दै राष्ट्र र जनमतलाई केन्द्रमा राख्नुको विकल्प छैन ।

मिडियालाई चौथो अंगको संज्ञा दिनुको पछाडि कम्ती कारण छैन । यसभित्रको महत्त्वपूर्ण पक्ष भनेको मिडियाको सामाजिक जिम्मेवारीको प्रश्न हो । जसमा ह्रास आउने क्रमसँगै मूलधारका मिडियामाथि थरीथरीका प्रश्नहरू तेर्सिन पुग्यो । यो क्रम रोकिएको छैन । अमेरिका, युरोप हुँदै नेपालसम्मै पनि मूलधारका मिडियाको प्रभाव, भविष्य र कार्यपद्धतिलाई लिएर निकै चिन्ता गर्न थालिएको छ ।

नेपालको बदलिँदो परिस्थितिमा मिडियाले राष्ट्र पहिलो भन्ने मुद्दालाई प्राथमिकता दिनैपर्छ । कुन मुद्दाहरूका उठान किन भइरहेको छ, त्यसको तात्कालीन एवं दीर्घकालीन असर के हुन सक्छ भन्ने आमजनताको चासोलाई मूलधारका मिडियाले सम्बोधन गरिदिनैपर्छ । मुद्दा लथालिंग एवं छरपस्ट फालिदिएर मात्र होइन कि त्यसलाई गतिलो स्वरूपमा ढाल्न पनि मिडियाले सहयोग गर्नुपर्छ ।

विद्वान् रोबर्ट हचिन्सले भनेजस्तै सामाजिक उत्तरदायित्वलाई गम्भीर रूपमा मनन गरिएन भने पत्रकारिताको खास मर्म कमजोर हुन्छ । यतिखेर मुलुकको चरम संकटको अवस्थामा आममानिस पनि नेपाली मूलधारका मिडिया सतही र कम प्रविधियुक्त होइन कि उच्च जिम्मेवार, उत्तरदायी, रचनात्मक र आधुनिक छरितो प्रविधियुक्त भएको हेर्न चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.