आफ्नो सुरक्षा आफैं (भिडियोसहित)
अनामनगरकी संस्कृति गिरीलाई अहिले आफू कुनै पनि हिसाबमा केटाभन्दा कम छु जस्तो लाग्दैन । शारीरिक रूपमा पनि केटाजत्तिकै बलियो छु भन्नेमा विश्वास छ उनलाई । त्यसैले कसैले नियतवश आफूलाई केही गर्न खोजे त्यसको प्रतिकार गर्न सक्छु भन्ने हिम्मत पनि उनमा जागेको छ ।
जावलाखेलस्थित सेन्ट मेरिज हाइस्कुलमा कक्षा ८ मा पढ्ने संस्कृतिजस्तै सोही विद्यालयकी कक्षा ९ की सन्ध्या शर्मामा पनि अनौठो साहस पलाएको छ । पहिले साँझपख एक्लै हिँड्न डराउने उनले अहिले दाइदिदीलाई साथी लैजान छाडेकी छन् । हिँड्दाहिँड्दै कसैले घुरिरहने, पछ्याउने वा हमला गर्न आए आफूलाई कसरी सुरक्षित राख्ने भन्ने बुझेकी सन्ध्याले भनिन्, 'नाउ वी आर स्ट्रङ, सेल्फ कन्फिडेन्ट एन्ड इन्डिपेन्डेन्ट ।'
सेन्ट मेरिजका केटी भन्नासाथ केटाहरूले जिस्क्याउने हुनाले बाटोमा मात्रै नभई सामाजिक सञ्जालमा पनि आफूलाई कसरी सुरक्षित राख्ने भन्ने ज्ञान विद्यालय क्याप्टेन सिवाली श्रेष्ठले सिकिन् ।
संस्कृति, सन्ध्या र सिवालीमात्रै नभई विद्यालयका ८ देखि १२ सम्मका हजारभन्दा बढी विद्यार्थीले गत दुई साताअगाडि लिएको आत्मसुरक्षाको तालिमले उनीहरूको आत्मविश्वास बढाएको छ । परित्रान रिस्क म्यानेजमेन्ट सिस्टम्स (प्रिजम्स) बागडोलले दिएको 'फाइट ब्याक' नामक तीनदिने तालिममा उनीहरूलाई मानसिक, शाब्दिक र शारीरिक रूपमा कसरी सुरक्षित हुने भन्ने सीप सिकाइयो ।
विद्यालय आउनेजाने क्रममा पनि आफूहरूमाथि पहिलेदेखि नै विभिन्न दुव्र्यवहार हुने गरेको र त्यसमा आफूले गरेको प्रतिकार गलत भएको र सही तरिकाले आफ्नो सुरक्षा कसरी गर्ने भन्ने जानेको सिवालीले बताइन् । सार्वजनिक सवारीसाधनमा हिँड्दा सहचालकले जीउ नै छोएर उता जानुस् न भन्दै धकेल्दा भीडमा आफ्नो दूरी कसरी बनाइराख्ने भन्ने पनि उनले सिकिन् ।
भिडियो हेर्नुहोस्
फेसबुकमा नचिनेको मानिसले फ्रेन्ड रिक्वेस्ट पठाए त्यसलाई ओके नगर्ने, 'होम एलोन' भन्ने स्टाटस कहिल्यै नराख्ने र कसैको आत्मसम्मानमा ठेस पुग्ने कुरा कहिल्यै पोस्ट नगर्ने । त्यसैगरी नचिनेको मानिससँग च्याट नगर्ने र फेसबुकबाटै कतै घुम्न जाऊँ भने सार्वजनिक स्थलमा साथी लिएर जानुपर्छ भन्ने आफूहरूले सिकेको कक्षा क्याप्टेन संस्कृतिले बताइन् ।
पहिलोपटक कसैले जिस्क्याए त्यसलाई वास्तै नगरी हिँड्नु नै राम्रो हो भन्ने सन्ध्याले थाहा पाइन् । पटकपटक त्यही व्यवहार दोहोर्याए पहिले सम्झाउने र नमाने जाइलाग्नुपर्छ भन्ने उनले तालिमबाटै सिकिन् ।
मानसिक रूपमा मात्रै नभई शारीरिक रूपमा पनि केटासरह नै सक्षम छौं भन्ने उनीहरूलाई महसुस भएको छ । त्यसैले आफूले तालिमका क्रममा सिकेका सीपलाई उनीहरूले प्रत्येक दिन घरमा पनि अभ्यास गर्ने गरेका छन् । 'सधैं एउटै समय त हुँदैन तर प्य्राक्टिस गरिरहेका हुन्छौं', सिवालीले भनिन् ।
विद्यालयमा होस् या विद्यालय जीवन सकिएपछि, मेकअप गर्नमा समय बिताउनुभन्दा आफ्नो सुरक्षाका लागि कराते, मार्सल आर्टस् लगायतका कला सिक्नु नै उनलाई सही लाग्छ । शारीरिक रूपमा बलियो हुन विद्यार्थी जीवनमै डाइटिङ गर्न नहुने बताउँदै उनले आफ्ना साथीहरूलाई यस्तो सुझाव दिइन्, ' नखाएर घट्नुभन्दा खाएर व्यायाम गरी जीउ बलियो बनाउनु राम्रो हुन्छ ।'
विद्यार्थीलाई तालिम दिने संस्था प्रिजम्सका निर्देशक विक्रान्त पाण्डेका अनुसार यो आत्मसुरक्षा तालिममात्रै नभई यौनहिंसापछि हुने जोखिम न्यूनीकरण गर्ने शैक्षिक कार्यक्रम हो । नेपालको शैक्षिक प्रणालीमा सिक्ने र कमाउने कुरामा मात्रै जोड दिइएको र आफ्नो सुरक्षा कसरी गर्ने भन्ने नसिकाइने हुनाले किशोरावस्थामा हुनसक्ने यौनहिंसा न्यूनीकरण, रोकथाम र व्यवस्थापनका लागि विद्यार्थीलाई यो सीप निकै उपयोगी हुने उनको भनाइ छ ।
विगत केही समययता बालिका तथा किशोरीमाथि दुव्र्यवहारका घटना धेरै बढिरहेकाले आफ्ना विद्यार्थीमाथि कुनै पनि किसिमका समस्या आइपरे त्यसको सामना गरी आफूलाई सुरक्षित र सशक्त बनाउन सीप सिकाइएको विद्यालयकी प्रिन्सिपल सिस्टर जेस्सी सीजेले बताइन् ।