जीवन नै यात्रा हो
‘सरसर्ती संसार’मा तपाईंको संसार नियाल्ने काइदा कस्तो छ ?
सरसर्ती संसारमा मैले घुमेका केही ठाउँको वर्णन छ । छोटकरीमै भए पनि भ्रमण गरेको ठाउँको भूगोल, राजनीति, इतिहास, त्यहाँको रहनसहन, चालचलन, जातिहरू, भ्रमण गर्नुको उद्देश्य र त्यस ठाउँ पुग्दा आफूले गरेका अनुभूतिहरूलाई पुस्तकमा एकाकार गर्ने प्रयास गरेको छु । कतिपय ठाउँमा त्यहाँ भ्रमण गर्दा घटेका अनपेक्षित घटनाहरूको पनि वर्णन छ ।
यात्रामा के कुराले तपाईंलाई आकर्षित पार्ने गर्छ ?
त्यो ठाउँअनुसार फरक हुने गर्छ । जस्तो कि समुद्री तटमा जाँदा एक प्रकारको अनुभूति हुन्छ भने जंगल सफारीमा अर्कै खालको । त्यसैगरी ऐतिहासिक महत्वका सहर र आधुनिक सहरको भ्रमणमा पृथक खालको आकर्षण हुन्छ ।
लेख्नकै लागि कत्तिको यात्रा गर्नुभएको छ ?
लेख्नकै लागि भनेर यात्रा गरेको छैन । यात्रा गरेपछि भने कहिलेकाहीं तुरुन्तै लेखिहाल्न मन लाग्छ । जर्मनीको हैडलबर्ग विश्वविद्यालयमा संस्कृत भाषा अध्ययनको जानकारी पाएपछि भने त्यसै साँझ एउटा आर्टिकल लेखेको थिएँ । त्यो आर्टिकल ‘सरसर्ती संसार’मा समावेश छ ।
तपाईं किन लेख्नुहुन्छ ?
डायरी लेख्ने मेरो पुरानो बानी हो । देखे/भोगेका कुराहरू प्रकाशित गर्नका लागि नभई आफ्नै आर्काइभमा सुरक्षित राख्नका लागि म लेख्ने गर्छु । अरू व्यक्तिका लागि तिनको खासै केही महत्व हुँदैन । डायरीमा भएका विगतका घटनाहरूलाई पल्टाएर हेर्दा कतिपय कुरा आफैंलाई रोचक लाग्ने गर्छन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा स–साना प्रसंगहरू सेयर गर्न थालेपछि लेख्ने जाँगर अलि बढेको छ ।
अरू विधामा पनि लेख्नुहुन्छ कि ?
पढेका केही पुस्तकहरूको ‘रिभ्यु’ बाहेक अरू विधामा केही लेखेको छैन । नियात्रा विधालाई भने निरन्तरता दिन मन लागेको छ । किनकि, जीवन यात्रा हो र यात्रा गर्नु मेरो सर्वाधिक रुचिको विषय पनि हो ।