हृदयको संगीत
संगीतकार आशिष अविरल सोच्दै थिए, ‘सबैले मन पराउने एउटा ऐतिहासिक संगीत गरूँ ।’ उनी आफूभित्र त्यस्तो संगीत खोजिरहेका थिए अनि कुनै गीतकारबाट त्यस्तै शब्दको अपेक्षा । यस्तै सोचमा डुबेर बबरमहल हुँदै अनामनगरतिर लाग्दा उनको दिमागमा एउटा धूनले ‘क्लिक’ गर्याे । त्यो धून मोबाइलमा रेकर्ड गरे ।
घर पुगेर मेलोडीलाई ‘म्युजिकल इन्स्ट्रुमेन्ट’ मा बजाउन प्रयास गरे । गज्जब संगीत बनेको आभाषले उनको खुशीको सीमा रहेन । त्यो खबर गायक नरेन्द्र प्यासीलाई सुनाइहाले । एकदिन प्यासीले उनलाई फोन गरेर भने, ‘मैले एक जना लिरिक्स मास्टर्स भेटाएको छु ।’
उनले एमटी गण, माइतीघर बोलाए । त्यहाँ प्यासीले गीतकार आनन्द अधिकारीलाई भेटाइदिए । आशिषले आफूलाई गज्जब लागेको मेलोडी आनन्दलाई सुनाए । आनन्दले ठूलो स्वरमा थर्काए, ‘यस्तो राम्रो मेलोडी रच्ने मान्छे कहाँ लुकेर बसेका थियौ यतिन्जेल ?’
त्यो संगीतमा आनन्दले तुरुन्तै शब्द रचें
‘तिमीविनाको जीवन सोच्नसम्म नि म सक्दिनँ
फूलविनाको वासना सोच्नसम्म नि म सक्दिनँ
बरु जाओस् मेरो जीवन,
माया मार्न म सक्दिनँ ।’
आशिषलाई शब्द गज्जब लाग्यो । त्यसैले गीत ‘एरेन्जमेन्ट’ गरे । त्यसको महिना दिनमा हात्तीसारस्थित ड्रिम्स स्टुडियोमा नरेन्द्र प्यासीको स्वरमा गीत रेकर्ड भयो । तर, नरेन्द्रले रेकर्डेड गीत चित्त बुझाएनन् । त्यसैले उनले गीत बजारमा लान चाहेनन् । त्यसको पाँच महिनापछि गीत फेरि रेकर्ड गर्ने सहमति भयो प्यासीसँग । त्यसपछि मास्टर ट्रयाकका आधारमा प्रिज्म स्टुडियोमा गीत रेकर्ड भयो ।
म्युजिक भिडियो बनाउने कुरामा पनि त्यस्तै भयो । भिडियोको जिम्मा भुषण दाहाललाई दिइयो । तर, उनको व्यस्तताले बन्न सकेन । गीत रेकर्ड भएको पाँच महिनापछि समत अधिकारीको निर्देशनमा भिडियो बजारमा आयो । गीत रातारात चर्चित भयो । आशिषलाई भने विश्वास थिएन । त्यसैले गीत ‘बासना’ एल्बमको दोस्रो नम्बरमा राखिएको थियो ।
तर, मान्छेहरूले सुनाउन थाले, ‘गीतले त मार्केट पिट्यो त !’ उनी सोच्थे, मानिसहरू फुक्र्याउनलाई यस्तो भनेका होलान् । तर, वास्तविकता त्यही थियो । मानिसहरूले ‘रिङ टोन’ र ‘रिङ ब्याक टोन’मा अधिक प्रयोग गरे यो गीत । गीत यति धेरै चर्चित हुनुमा संगीतको बढी हात छ कि शब्दको ? अविरल भन्छन्, ‘दुइटै कुराको बराबरी भूमिका छ ।
तर, यो संगीत बाहिर आउनुमा आनन्दको ठूलो हात छ । उनी नभएको भए यो संगीत नै बाहिर आउँदैनथ्यो कि !’आशिषले सुरूमा यो संगीतका लागि आफैले शब्द रचेका थिए :
‘म कसरी बाचुँला, तिमी नभए मेरो सामु’ ।
उनले शब्दलाई संगीतमा राखेका पनि थिए । आशिष भन्छन्, ‘जो जे काममा निपुण छ, त्यसले त्यही काम गर्नुपर्छ । म शब्द रच्ने उपयुक्त मान्छे होइनजस्तो लाग्यो, त्यसैले आफूले रचेका शब्दलाई यो संगीतमा राख्न जरूरी ठानिनँ ।’
प्रतिक्रिया दिनुहोस !