पुरानै कथामा बेफिक्री रोमान्स
सन् १९९५ बाट सिनेमा निर्देशन करियर सुरु गरेका आदित्य चोपडाको चौथो सिनेमा ‘बेफिक्रे’ युवालक्षित सिनेमा हो । त्यसका लागि उनले युवा रुचिका हरेक मसला प्रयोग गरेका छन् । सिनेमाको कथा पुरानो छ, त्यसमा रोमान्सचाहिँ नयाँ छ ।
कथा दिल्ली र पेरिस वरिपरि खिचिएका छन् । स्ट्यान्ड अप कमेडियन धरम गुलाटी (रणवीर कपूर) र टुरिस्ट गाइड शायरा गिल (वाणी कपूर) को पेरिसमा भेट हुन्छ ।
उनीहरूको सम्बन्ध प्रेममा विकास त हुन्छ, तर एक बर्षमै ब्रेकअप हुन्छ । किनकि उनीहरू सम्बन्धको प्रतिबद्धता चाहँदैनन् । उनीहरू दुवैले अर्को साथी त भेट्छन् । तर, दुवैबीच प्रेम अनुभूत गरि नै रहन्छन् । यस्तो कथा दर्शकले धेरै सिनेमामा हेरिसकेका छन् । त्यसैले कथाबाट सिनेमाले कुनै नयाँपनको अनुभूति गराउन सक्दैन ।
आदित्यले सिनेमामा जुन वर्गको प्रेम देखाएका छन्, त्यसको साँघुरोपनलाई तोड्ने प्रयास भने गरेका छन् । बेफिक्री रोमान्स त्यसको एउटा विम्ब हो । पेरिसमा खिचिएका ‘किस सिन’बाट त्यो दृश्यमा अभिव्यक्त हुन्छ ।
सिनेमामा रणवीर सिंहको अभिनयले युवाहरूलाई लोभ्याउँछ । वाणी कपुरको भने अभिनयभन्दा ग्ल्यामरमा नै बढी ध्यान जान्छ । सिनेमामा देखिएको पेरिसको दृश्य, संगीत र ब्याकग्राउण्ड स्कोरचाहिँ सुन्दर छ ।