संशोधन प्रस्तावको खेल

 संशोधन प्रस्तावको खेल

नेपालमा संशोधन प्रस्तावले उक्साएको आन्दोलन र विवादले चार कुरा प्रस्ट पारेको छ । पहिलो, परिस्थिति र परिबन्दले देखाएको छ यो घरेलु प्रस्ताव होइन । यो कतैबाट प्रायोजित भएको छ । यो प्रस्तावको उठान भएदेखि नै यसले यो चरित्र देखाएको छ । यो प्रस्ताव आएलगत्तै भारत सरकारका प्रवक्ताले यसको स्वागत गरेका थिए ।

नेपालस्थित भारतीय राजदूतले मधेसका नेताहरूसँगको भेटवार्तामा सो संशोधनलाई समर्थन गर्न सल्लाह दिएको खबर पनि सार्वजनिक भएको थियो । केही भारतीय सञ्चारमाध्यमले पनि यसप्रति समर्थन जनाएका थिए ।

नेपालमा कतैबाट यसको समर्थन नहुनु तर भारतमा यसको आधिकारिक रूपमै समर्थन हुनुबाट पनि यो सत्यको पुष्टि हुन्छ । मधेसी मोर्चाको माग सम्बोधन गर्न ल्याइएको भनिएको प्रस्तावको उनीहरूद्वारा नै समर्थन नभएको तर भारतद्वारा यसको आधिकारिक रूपमा समर्थन भएको देखिएपछि यो कसबाट प्रेरित रहेछ भनेर स्पष्ट हुन्छ ।

यही कुरा थारूहरूको यसप्रति रहेको विरोधले पनि देखाएको छ । त्यसमा पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्रस्ताव पारित गर्न भारतीय राजदूतको सहयोग पनि प्राप्त हुने सार्वजनिक रूपमै जनाएका हुन् । प्रस्तावको विपक्षमा रहेका नेकपा एमाले र केही अरू दलहरूले पनि यो विदेशबाट नै प्रायोजित भएको भन्ने आरोप लगाउँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री रहँदासम्म यो प्रस्ताव संसद्बाट फिर्ता नहुने ठोकुवा गरेका छन् । उनले भारतीय नेताहरूलाई दिएको संविधान संशोधनसम्बन्धी आश्वासनअनुसार नै यो प्रस्ताव आएकोले उनी सरकारमा रहँदासम्म फिर्ता गर्न नसक्ने तथ्य बुझ्न सकिन्छ । सत्तामा उनका सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय नेताहरूलाई संशोधनको विश्वास दिएकै हुन् ।

उनले पनि यो प्रस्ताव पारित भए पनि नभए पनि पारित हुन्छ भनेर सार्वजनिक रूपमा भनिरहनुपरेको हो र त्यसैअनुसार भनिरहेका पनि छन् । यी दुई नेताहरूको संशोधनसम्बन्धी वक्तव्य सुन्दा लाग्छ, उनीहरूले नेपाली जनतालाई सम्बोधन गरे पनि वस्तुतः भारतीय नेताहरूलाई आफ्ना कुरा सुनाउँदैछन् र आफ्नो संरक्षण गर्दैछन् ।

दोस्रो, समसामयिक घटनाचक्रले के पनि प्रस्ट्याएको छ भने काठमाडौंस्थित सरकार र सरकारी अधिकारीहरू मोफसलमा भएका कुनै आन्दोलनप्रति संवेदनविहीन र सहानुभूतिविहीन हुँदा रहेछन् । गत वर्ष मधेस आन्दोलन र यस वर्ष पहाड आन्दोलनमा देखा पर्‍यो । यो तथ्य ४ र ५ नम्बर प्रदेशमा चलिरहेको संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलनले देखाएको छ ।

बुटवल, पाल्पा, गुल्मी, रोल्पा, कपिलवस्तु आदि ठाउँमा दुई हप्ताभन्दा बढी लामो बन्द, हडताल, जुलुस, नाराबाजी, झडप चलिरहेको छ तर काठमाडौंस्थित सरकार, प्रधानमन्त्री, मन्त्री आदि सबै बेफिकर छन् । उनीहरूले त्यस भेगका जनताले भोगिरहेको कष्ट र कठिनाइप्रति कुनै चासो र चिन्ता देखाएका छैनन् । त्यसमा पनि ५ नम्बर प्रदेशका तराई र पहाडी जिल्लाहरूलाई अलग गरिएको संशोधन प्रस्ताव अन्ततः पारित हुने बारम्बार बताइरहेका छन् । त्यस भेगका जनता स्वतःस्फूर्त किसिमले आन्दोलनमा होमिएकोमा त्यसको दोष एमालेलाई दिइरहेका छन् ।

कुनै प्रकारले निर्वाचन भइहाल्यो भने नेपाल एमालेकरण हुने तथ्यतिर के सरकारमा विद्यमान नेताहरू चेतनशील छैनन् ? यदि छन् भने उनीहरूले निर्वाचन वास्तवमा गराउन चाहेकै होइनन् । एकातिर जनमत, जनआकांक्षा र जनलहरको उपेक्षा गर्ने अर्कोतिर स्वतन्त्र जनतालाई एमालेकरण गरिदिने मूर्खता नेकपा केन्द्र र नेपाली कांग्रेसका नेताहरू गरिरहेका छन् ।

मोफसलका जनताप्रति काठमाडौं कति असंवेदनशील हुन सक्दा रहेछन् भन्ने तथ्य गत वर्ष मधेस आन्दोलनले पनि देखाएको हो । ५ नम्बर प्रदेशको आन्दोलनप्रति मधेसी नेताहरूले पनि कुनै सहानुभूति देखाएका छैनन् । बरू उनीहरूले मधेस आन्दोलनप्रति केन्द्रले देखाएको असहिष्णुता अहिलेको पहाडी आन्दोलनप्रति पनि दोहोरिएको रूपमा देखाउँदै आएका छन् ।

तेस्रो, संशोधनको मुद्दाले नेपालका जनता र नेताहरूबीच कति ठूलो फाटो रहेछ भन्ने पनि प्रस्ट्याएको छ । ५ नम्बर प्रदेशका तराई र पहाडका जनता मिलेर बसेको अवस्थामा उनीहरूलाई छुट्ट्याउनु नेतृत्वको नासमझ, बलमिच्याइँ र मूर्खता हो ।

मधेस आन्दोलन हुँदा पहाडी नेताहरूले मधेसी जनताको भावना बुझ्न नसकेको आरोप लगाइएको थियो । मध्य मश्चिम नेपालमा चलिरहेको अहिलेको आन्दोलनले देखाइदियो कि पहाडी नेताहरूले पहाडी जनताको भावना पनि बुझ्न नसक्ने रहेछन् । यसबाट के प्रस्ट हुन्छ भने हाम्रा नेताहरू नेपाली जनताको— चाहे मधेसी हुन् चाहे पहाडी— भावना बुझ्न नसक्ने रहेछन् ।

अथवा बुझेर पनि यसको कदर गर्न नसक्ने रहेछन् । अहिलेको उदाहरणबाट के देखियो भने आखिर मधेसी नेताहरू पनि उस्तै रहेछन् । होइन भने मधेस आन्दोलनप्रति आस्था भएका नेताहरूले पहाडी जनताको आन्दोलनप्रति पनि आस्था राख्ने थिए । यसबाट के प्रस्ट भएको छ भने नेताहरू नेपाली जनताबाट टाढा छन् । समस्या जनताको हो ।

तर त्यसलाई सुल्झाउने अधिकार र जिम्मेदारी नेताहरूलाई सुम्पिएको छ । तर एकातिर जनताको चाहना नै बुझ्न नसक्ने र अर्कोतिर बुझिहालेमा पनि सुल्झाउन नसक्ने चरित्र वर्तमान नेतृत्वले देखाएको छ । त्यसको मुख्य कारण विदेशी आदेश र निर्देशन पालन गर्नुपर्ने र गरिरहेको सबुत प्रमाण सार्वजनिक भइरहने भएकाले यो फाटो आएको देखिएको छ । यसबाट जनताको अगाडि एउटा चुनौती खडा भएको छ । त्यो चुनौती हो- सक्छौ भने आफ्नो विपरीत नेतृत्वलाई फाल, सक्दैनौ भने घोप्टो मुन्टो पारेर उनीहरूलाई मानेर बस । यसको अर्को विकल्प देखिँदैन ।

चौथो, केही वर्षको राजनीतिक विकासको अवलोकनबाट के पनि स्पष्ट भएको छ भने संघीयताले नेपालको नास गर्नेछ । पहिलो संविधानसभा असफल बनाउने यही संघीयताको मुद्दा हो । दुई वर्षको लागि चुनिएको सभाको पटकपटक म्याद थप्दै चार वर्ष पुर्‍याइए पनि यो आखिर सफल हुन सकेन । दोस्रो संविधानसभाले जसोतसो एउटा संविधान दिइछोड्यो तर त्यसको न्वारान हुनुअगाडि नै संशोधन गर्नुपर्‍यो । त्यो पनि संघीयताकै कारण थियो ।

चार-पाँच महिनासम्म मधेसमा आन्दोलन भयो, ४०-५० जना मानिसको ज्यान गयो, त्यो पनि संघीयताकै कारण थियो । अहिले आएर मध्यपश्चिम नेपाल अशान्त भएको छ । त्यो पनि संघीयताकै कारण हो । यही मुद्दाबाट पीडित भएर सदूर पश्चिमका जिल्ला एकताका आन्दोलित भए ।

अहिले झापा, महोत्तरी र सुनसरी अरू प्रदेशमा गाभिने शंकैशंकामा १ नम्बरका बासिन्दा लिम्बू समुदाय आन्दोलित हुन लागेका छन् । प्रस्तावित संशोधनलाई मान्दा ४ र ५ नम्बर प्रदेशका जनता आन्दोलित नै भइरहने, यसलाई नमान्दा मधेसी मोर्चा आन्दोलित भइरहने भएपछि यस समस्यालाई कसैले पनि सुल्झाउन सक्दैन ।

यस्तो कहिल्यै नसुल्झिने व्यवस्थालाई पालिराख्नु के नेपाल र नेपालीको हितविपरीत होइन ? अब के कुरा पनि स्पष्ट भएको छ भने संघीयताको व्यवस्थाले यस्ता-यस्ता संकट आइलाग्नेछन्, जसलाई नेपालीले सुल्झाउन सक्ने छैनन् । अन्ततोगत्वा यसले विदेशी हस्तक्षेप निम्त्याउनेछ । फलस्वरूप नेपालको अस्तित्व नै खतरामा पर्नेछ ।
हाइलाइट
प्रस्तावित संशोधनलाई मान्दा ४ र ५ नम्बर प्रदेशका जनता आन्दोलित नै भइरहने, यसलाई नमान्दा मधेसी मोर्चा आन्दोलित भइरहने भएपछि यस समस्यालाई कसैले पनि सुल्झाउन सक्दैन । यस्तो कहिल्यै नसुल्झिने व्यवस्थालाई पालिराख्नु के नेपाल र नेपालीको हितविपरीत होइन ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.