मनाङ यात्राको सजीव चित्रण

 मनाङ यात्राको सजीव चित्रण

पुस्तक       :   अन्नपूर्ण फेरो
लेखक        :   भीष्म उप्रेती
विधा         :   नियात्रा
प्रकाशक    :    गौंथली
मूल्य        :    १५० रुपैयाँ

यात्राले मान्छेलाई लोभ्याउनुको कारण हो, यसले मान्छेका भोगाइलाई खार्ने काम गर्छ । यस्तै खारिएका अभिव्यक्तिसहितको यात्रा वर्णन लेखक भीष्म उप्रेतीको किताब ‘अन्नपूर्णको फेरो’ हो । नौ वटा शीर्षकमा पर्यटकीय क्षेत्र मनाङको यात्राका क्रममा देखेका, भोगेका र अनुभव गरेका कुरालाई चित्रात्मक वर्णन गरेका छन्, जुन पाठकलाई अत्यन्तै जीवन्त लाग्छ ।

आकारले छरितो भए पनि ‘अन्नपूर्ण फेरो’ यात्राका विविध आयामलाई वर्णन गरिएको किताब हो । नेपालमा आन्तरिक पर्यटनको विकासमा पछिल्लो समय लेखकहरूको पनि राम्रै योगदान छ । ‘अन्नपूर्ण फेरो’ पनि त्यसैको कडी मान्न सकिन्छ । यात्राका क्रममा देखिएका मसिना कुरामा पनि लेखक अत्यन्तै उत्सुक छन् ।

मिहिन तरिकाबाट उतारेका छन् तिनलाई । ‘मस्र्याङ्दी नदीको पानी जस्तै’ (पृ. १९–२८) यस किताबको एउटा सानो खण्ड हो, जसमा उनको यात्रालाई चाहिने विश्वास र अठोटको संग्रह छ । दाग नलागेका सेताम्य हिमालका टाकुरा नाघेर जाने जुन मनोकांक्षा लेखकको हो, त्यसलाई यात्रा वर्णनमा राम्रैसँग उतार्न सफल छन् ।

मनाङको चामेसम्म पुग्न जति–जति उक्लिँदै जान्छन्, त्यति–त्यति उनीभित्र चाहनाको पारो पनि बढ्दै जान्छ । हिँडाइको चाल, जीउबाट खलखली बग्ने पसिनाको गति, खच्चडको दौडाइको चाल आदिलाई पनि उनले नजिकबाट चिहाएका छन् र अनुभूत गर्न खोजेका छन् । मनोवादलाई पनि केही ठाउँ दिइएको उनको यो खण्ड अत्यन्तै बलियो लाग्छ ।

‘झ्यालबाट हेरेको दुनियाँजस्तो’ अर्को अध्याय हो । थकान र निद्राको तालसमेत समात्न खोजेका लेखकले बाटोमा हिँड्न अन्यको लय पनि उसैगरी समातेका छन् । लेख्छन्, ‘दुइटी महिला डोकाभरी चिरेका दाउरा बोकेर आए । एउटीको डोकाबाट केही दाउरा झरे । उनी खसेका दाउरा टिप्न डोको बिसाउने ठाउँ खोज्न थालिन् ..।’ (पृ.३६) यस किसिमको वर्णन अत्यन्तै प्रभावकारी लाग्छ ।

किताबभरी यस्तै लय समाउन खाजेका छन् लेखकले । उनी लेख्छन्, ‘मस्र्याङ्दीमाथि टाँगिएको झोलुंगे पुल तर्नेबित्तिकै च्यांग्राको बथान आयो धूलो उडाउँदै । पहाड र गोरेटो बाटो वास्तवमा खच्चड र च्यांग्राकै हो भन्ने कुरा बाटोमा भेटिएका लिदी र त्यसको गन्धले प्रस्टै बताउ“थे ।’ (पृ.३३) उनको लेखनको सकारात्मक पक्ष भनेकै मसिनाभन्दा मसिना कुरा टिप्ने, कतै पनि केही पनि नछाड्ने ।

उनको लेखकीय आयामलाई हेर्ने हो भने लाग्छ, उनी नियात्रा लेखनमा माहिर बनिसकेका छन् । अनुभवी लाग्छ उनको लेखाइ । हिँड्दा भेटिने र हेर्दा देखिने मात्रै नभई तिनलाई कसरी हेर्ने भन्ने पक्ष पनि यात्रा लेखनको उल्लेख्य पाटो हो, त्यो उप्रेतीमा देखिन्छ । किनभने, उनले अति नै सूक्ष्म रूपमा खोतल्दै ‘यात्रा वर्णनलाई मजबुत पारेका छन् । यो एक किसमको कौशल पनि हो ।

नेपाली यात्रा लेखनको एउटा अभ्यास छ, त्यसमा लेखक उप्रेती कत्तिको जानकार छन् त्यो भन्न त नसकिएला । तर पनि, उनको बेग्लै मौलिकता भने देखिन्छ । त्यही मौलिकताको आडमा उनी आफ्नो लेखाइलाई मजबुत पार्न सक्षम छन् । नेपालमा यात्रा लेखनलाई साहित्यको एउटा सिंगो विधा मान्ने गरिएको छैन, न त यस किसिमको लेखन फस्टाएको नै छ ।

तैपनि, लेख्ने क्रम जारी छ । पछिल्लो समय नेपाली लेखकमा लेख्नका निम्ति यात्रा गर्नुपर्छ भन्ने सुझबुझको विकास भएको पाइन्छ । चार पर्खालभित्र थुनिएर लेखेको लेखाइ प्रभावकारी हुन नसक्ने बुझाइ बढ्दो देखिन्छ । यात्रा लेखक भीष्म उप्रेतीको यात्रा वर्णनले नेपाली पाठकलाई फरक स्वाद चखाउन सफल भएको धेरैलाई प्रतीत हुन्छ ।

उनको पछिल्लो किताब ‘अन्नपूर्णको फेरो’ स्थान छनोटका दृष्टिबाट पनि बलियोमध्येको एक मान्न सकिन्छ । यो किताबले यात्रामा चाख भएका पाठकलाई अन्नपूर्ण पदमार्गको फेरो मार्दै मनाङ नै जाउँ जस्तो लाग्ने पनि बनाउने हैसियत राख्छ । तर, यात्रामा उनले अझ धेरै कुरा पक्कै पनि देखेका थिए होलान् । अझ धेरै अनुभव थिए होलान् ।

तर, त्यसलाई किताबमा अटाउन उनले त्यति मेहनत गरेनन् कि जस्तो पनि लाग्छ कतैकतै । अर्को पक्ष भाषा सम्पादनको पनि हो । किनभने, यात्रालाई विम्बात्मक भाषाका माध्यमबाट वर्णन गर्दा त्यो बढी प्रभावकारी हुन्छ । उनको भाषालाई अझ बढी माझ्न सकिने ठाउँ पनि नभएको होइन । त्यसो गर्न सकेको भए यो किताबको ‘कन्टेन्ट’ले अझ बढी न्याय पाउने थियो कि भन्ने पनि नलाग्ने होइन । उनको लेखनमा कतिपय अवस्थामा कवितात्मक लय भेटिन्छ । धेरथोर संवादलाई पनि समेट्न सकेको हुँदा त्यसले यात्राको वर्णन सपाट र बेस्वादिलो बन्न दिएको छैन ।

भाषिक मिठास मध्यम भए पनि लेखनमा अपरिपक्वपन भने कतै पनि छैन । लेखकीय दख्खल मज्जाले झल्किएको छ, रसिलो नै छ लेखाइ । यात्रा निबन्ध कमै लेखिने भए पनि लेखक भीष्म उप्रेतीको यो यात्रा निबन्धले नेपालको समकालीन यात्रा लेखाइलाई ‘लिड’ गर्न सक्षम छ भन्न सकिन्छ । यात्रा वर्णनमा बनावटीपन, अतिरञ्जना खासै छैन भने पनि हुन्छ ।

लेखाइमा लेखकले देखाउनुपर्ने सबैभन्दा महत्वपूर्ण चिज भनेको इमानदारी हो, त्यो पाठकप्रति उनले देखाएका छन् । त्यही भएर पनि, पाठक नतमस्तक हुन पुग्छ उनको लेखाइको लयमा अन्तरघुलन हुन पुग्दा । उनले फूललाई काँडा लेख्ने काम गरेका छैनन् । आखिर पाठकले खोज्ने इमानदारिता भनेको नै यही हो । लेखकका यात्रासंगीको बारेमा गरेको वर्णन पनि बलियो छ । तिनीहरूको साथले उप्रेतीको यात्रालाई थप सशक्त बनाएको लेखाइबाट प्रस्टिन्छ । त्यसैगरी किताबको पुच्छरतिर समेटिएका आठ तस्बिरले पनि उनको लेखाइलाई आधिकारिकता प्रदान गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.