वैकल्पिक शक्तिको खाँचो
संविधान जारी भएपछि देशमा शान्ति, स्थिरता र समृद्धिको आशा गरेका आम नेपाली जनता अहिले निराश बन्दै गएका छन् । नेपाली कांग्रेस, एमाले र माओवादीलगायत ९२ प्रतिशत सभासद्बाट पारित गरी घोषणा गरिएको संविधान घोषणाको मसी नसुक्दै संविधानमा पहिलो संशोधन गरियो । डेढ वर्षको बीचमा फेरि विभिन्न धारा परिवर्तन गर्नुपर्ने बाध्यात्मक स्थिति भन्दै सरकारले संसद्मा दोस्रो संशोधन प्रस्ताव पेस गरेको छ । प्रमुख प्रतिपक्ष एमाले भने संविधानका कुनै पनि धारा परिवर्तन हुनै सक्दैन, गर्नुपर्दैन भनेर संसद् अवरोध गरिरहेको छ ।
एउटा अध्याय सकियो, अब विकास, समृद्धि र प्रगतिको पक्षमा नेपाल अघि बढ्छ भनी कुरी बसेका नेपाली जनता ठूला दल र तिनका नेताले सदन र सडकमा अहिले प्रदर्शन गरिरहेको नौटंकी र प्रतिष्ठाको लडाइँ देखेर दिक्क छन् । इतिहासको पहिलो चरणमा खण्डित राज्यलाई एकता गर्ने क्रममा र छिमेकी राष्ट्रसँगको युद्धको कारण नेपालीले शान्ति र समृद्धिको कल्पना गर्न पाएनन् । एकीकृत नेपाल निर्माण भोट-चीन युद्ध र सुगौली सन्धिपश्चात् भने भूगोलको निम्ति झगडा भएन । त्यसपछि प्रजातन्त्र र गणतन्त्रका निम्ति निरन्तर आन्दोलन भए ।
राणा, निर्दलीय पञ्चायत शासन हुँदै शाह वंशीय राजतन्त्रको समेत अन्त्य भई अहिले संघीय गणतन्त्रात्मक संविधान जारी भइसकेको छ । संविधानका पानामा लेखिएका अधिकार हेर्ने हो भने हामी विश्वका प्रजातान्त्रिक र विकसित मुलुकको भन्दा कुनै कुरामा कम छैनौं, अधिकारसम्पन्न जनता भएका छौं । देशको शासन जनताकै छोराछोरीद्वारा गरिने राजनीतिक र संवैधानिक व्यवस्था अवलम्बन गरेका छौं । इतिहासदेखि नै सार्वभौम र स्वतन्त्र राष्ट्रका नागरिक छौं । प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जातीय हरेक हिसाबले सम्पन्न राष्ट्रका नागरिक छौं । तैपनि हामी गरिबीको चपेटामा छौं । सधैं आन्दोलन, बन्द-हडताल खेपिरहेका छौं । शान्ति र समृद्धिको अनुभूति गर्न पाएका छैनौं, किन ?
यी प्रश्नको जवाफ खोज्दै जाँदा हामी के निष्कर्षमा पुग्छौं भने हाम्रा दल र नेताले राजनीतिक आन्दोलनको नेतृत्व गर्न सक्ने रहेछन् तर शान्ति, समृद्धि र विकासको नेतृत्व गर्न नसक्ने रहेछन् भन्ने प्रमाणित भएको छ । त्यति मात्र होइन, देशमा भ्रष्टचार र कुशासन बढ्दो छ, गरिबीले आक्रान्त छ । सानातिना विषयमा पनि स्वतन्त्र निर्णय नगरी विदेशीको इशारामा चल्ने, जनताको आवाज नसुन्ने प्रवृत्ति बढ्दो छ ।
सहमतिका नाममा प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीबीच भागबन्डाको राजनीति चलिरहेको छ । कहिलेकाहीँ यस्तोे अनुभूति हुन्छ, हामीले एउटा राजालाई हटाएर चार-छ वटा भुरेटाकुरे राजा उत्पादन गर्यौं कि ? अनि अनूभुति हुन्छ, राष्ट्रवादी भावना कुल्चिएको, विकास र समृद्धि बिर्सिएर भ्रष्टाचार र कमिसनतन्त्रमा चुर्लुम्म डुबेको ।
हो, इतिहासको प्रजातान्त्रिक लडाइँमा कांग्रेस, एमाले, माओवादी सबैको आआफ्नो योगदान छ, त्यसको सम्मान गर्नुपर्छ । तर अहिले यी पार्टी र यिनको नेतृत्वले जनताले चाहेजस्तो नेतृत्व दिन भने नसकेको असली यथार्थ हो । यो आरोप वा अपमान होइन, जनताको भोगाइबाट निस्केको निष्कर्ष हो । यस्तो अवस्थामा मुलुकमा अब नयाँ सोच चिन्तन र नेतृत्वको खाँचो छ ।
कांग्रेस, एमाले र माओवादीले गर्न नसकेको काम गर्ने एउटा भरपर्दो वैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्ति र नेतृत्वको खाँचो छ । त्यस्तो नेतृत्व र शक्ति जसले राष्ट्रियता मजबुत बनाओस्, संविधानमा प्रदत प्रजातान्त्रिक अधिकार जनताले अनुभूति गर्ने गरी प्रयोग गर्ने वातावरण बनाओस्, देशमा विकास, सुशासन, शान्ति र समृद्धि दिन सकोस् ।
आम जनताले यस्तै भरपर्दो वैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको आवश्यकता महसुस गरिरहेका बेला हालै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटक एकीकृत भएका छन् । इतिहासको छोटो समयमा धेरैपटक टुट र फुटको मार खेप्दै कठोर अनुभूति संगालेर सम्भवतः अन्तिमपटक एउटा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो पूरा गर्नुपर्छ भनेर दुई पार्टी जुटेका होलान् ।
प्राप्त उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माण र समृद्धिका निम्ति आवश्यक र औचित्यपूर्ण रूपमा संविधानका धारा-उपधाराको संशोधन, परिमार्जन र व्यवस्थापन गरी सम्पूर्ण नेपाली जातजाति, जनजाति, भाषाभाषी, भूगोल, मधेस-तराईलाई संशोधन गर्ने एक सशक्त र भरपर्दो वैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अहिलेको खाँचो हो ।
संसद्मा ३७ सिट बोकेर चौथो शक्तिशाली राप्रपा मुलुकको परम्परागत मूल्य र मान्यतालाई समुचित स्थान दिनुपर्ने मान्यता राख्दै विद्यमान सबै धर्मलाई राष्ट्रिय धर्म मानेर पहिचानको लागि हिन्दु राष्ट्र निर्माणको मूल एजेन्डा लिएर ओर्लिएको छ । राप्रपाले तीन महिनाभित्रै (अर्थात् फागुन महिनाभित्र) महाधिवेशन गरिसक्ने क्रमभंग गतिशीलता र महत्त्वाकांक्षी योजनाका साथ ७५ वटै जिल्ला कार्य समितिको एकता लगभग गरिसकेको अवस्थामा छ ।
विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर राज्य सञ्चालनका आफ्ना अनुभव, दक्षता र क्षमतालाई भरपूर प्रयोग गर्दै इतिहासबाट पछाडि पारिएका आदिवासी जनजाति, महिला, मधेस, अल्पसंख्यक मुस्लिमलगायत जातजाति र भूगोललाई यथोचित सम्मानका साथ उदार सोच, चिन्तन र व्यवहारका साथ अघि बढ्न सके विद्यमान संसद्मा चौथौ शक्तिको रूपमा रहेको राप्रपाले निर्णायक र प्रथम शक्तिको दाबा गर्नु अस्वाभाविक होइन । जनताको चरम निराशाले दलहरूप्रति वितृष्णा पलाएको बेलामा राप्रपा एक बलियो र भरपर्दो वैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी पार्टी बन्ने र बनाउन सक्ने राप्रपाको लागि यो अवसरसँगै कठिन चुनौती पनि हो ।
वैकल्पिक शक्ति आवश्यक छ, यो बन्नु र बनाउनुपर्छ यसको अपरिहार्य छ भनेर पूर्वमाओवादी प्रधानमन्त्री बाबुराम भट्टराई पनि नयाँ शक्ति नेपाल नामक पार्टी लिएर देश दौडाहामा हुनुहुन्छ । उहाँले खस, क्षेत्री, मधेस र आदिवासी जनजातिलाई प्राथमिकतामा राखेर नयाँ शक्ति निर्माण हुन्छ भन्ने सोचका साथ अगाडि बढेको देखिन्छ ।
प्रजातन्त्र, गणतन्त्र, जनतन्त्र र समृद्धिको नाममा इतिहासमा कांग्रेस, एमाले, माओवादीले ब्रह्मलुट गर्ने आजसम्म जुन छुट पाएका छन्, त्यसबाट वाक्क र दिक्क बनेका नेपाली जनताको शान्ति, समृद्धि र विकासको अधुरो सपना पूरा गर्ने महान् अभिभारा संसद्को चौथो शक्ति राप्रपाले निर्वाह गर्ने कि ? भर्खरै नयाँ शक्ति पार्टी बनेर जनताको माझमा आफ्नो पहिचान राख्दै हिँड्ने पूर्व माओवादी नेता डा. भट्टराईले लिने ? वा सुषुप्त अवस्थाबाट उठेर अरू तेस्रो शक्ति पैदा हुने ! जनताको भावना र चाहना मृगतृष्णा होइन, समयको पदचापलाई कसैले छेक्न सक्दैन ।
आजसम्म प्राप्त उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माण र समृद्धिका निम्ति आवश्यक र औचित्यपूर्ण रूपमा संविधानका धारा-उपधाराको संशोधन, परिमार्जन र व्यवस्थापन गरी सम्पूर्ण नेपाली जातजाति, जनजाति, भाषाभाषी, भूगोल, मधेस-तराईलाई संशोधन गर्ने एक सशक्त र भरपर्दो वैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अहिलेको खाँचो हो । जसले युगौंयुगदेखि जनताको अधुरो र अपूरा सपना पूरा गरोस् । देश सुन्दर, शान्त र समृद्ध बनोस् ।