विकासको लागि सञ्जीवनी

विकासको लागि सञ्जीवनी

विकास मानिस र ठाउँ दुवैको लागि राम्रोबाट अझ राम्रो अवस्थामा उकाल्न निरन्तर चलिरहने प्रक्रिया हो । प्रक्रियाबाट नतिजा हासिल गर्दै राम्रोबाट अझ राम्रो भएको देख्न, मापन गर्न र अनुभूति गर्न सकिन्छ । यसरी निरन्तर चलिरहने विकास प्रक्रियाको व्यवस्थापन मानिसको सिर्जनशील मस्तिष्कबाट रचना गरिएको विधि, उपाय र तरिकाद्वारा हुने गर्छ । विकास व्यवस्थापनलाई स्वरूप, शक्ति र गति दिन यसका सरोकारवाला अथवा साझेदार पक्षहरूको भूमिका अहम् हुन्छ ।

त्यसैले विकास साझेदारहरूको जानकारी हुन जरुरी हुन्छ । विकासको नतिजा, प्रतिफल वा लाभ हासिल गर्न विकास पुर्‌याउने र विकास पाउने पक्षहरूबारे यकिन हुन आवश्यक हुन्छ । नेपालको अनुभवमा विकास पुर्‌याउने पक्षमा सरकारी निकाय, गैरसरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र र समुदायमा आधारित संघसंस्था छन् । विकास पाउने पक्षमा जनता र ठाउँ पर्दछन् ।

विकास पुर्‌याउने भूमिकामा रहेका निकायहरूले विकास पाउने पक्षका जनताको सहभागितामा आवश्यकताको पहिचान, प्राथमिकता निर्धारण र आयोजनाको किटान गर्छन् । पछिल्ला वर्षहरूमा स्थानीय निकायहरू जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिहरूको अगुवाइमा चौध चरणको सहभागितामूलक योजना प्रक्रिया अवलम्बन गरेर जनता र ठाउँको लागि विकाससम्बन्धी आवश्यकताको पहिचान, प्राथमिकता निर्धारण र आयोजना छनोट गर्ने गरिएको छ ।

विकास पुर्‌याउने पक्षले योजना, बजेट, कार्यान्वयन, अनुगमन र मूल्यांकनको चक्रलाई अभ्यासमा ल्याउँछन् । विकास पाउने जनताको पनि जिम्मेवारी रहन्छ । जनताको जिम्मेवारीमा विकाससम्बन्धी आयोजना माग गर्ने, प्राप्त गर्ने र लाभान्वित हुने कार्य पर्छ । यसरी विकास पुर्‌याउने र विकास पाउने पक्षमा निरन्तर स्थिर, सबल र सुदृढ सम्बन्ध भरहनुपर्छ ।

विकास पुर्‌याउने र पाउने पक्षको सम्बन्धलाई सघाउने र अवलोकन गर्ने पक्ष पनि विकास व्यवस्थापनमा आबद्ध भएको हुन्छ । विकासमा सघाउने पक्षमा अन्तर्राष्ट्रिय बहुपक्षीय वा द्विपक्षीय संघसंस्था वा सरकार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पर्छन् । विकास हेर्ने वा अवलोकन गर्ने पक्षमा सञ्चार क्षेत्र, नागरिक समाज र नेसनल अडिट इन्स्टिच्युसन पर्दछन् । सघाउने पक्षले प्राविधिक, वित्तीय र क्षमता विकाससम्बन्धी सहयोग प्रदान गर्छ । अवलोकन गर्ने पक्षले पैरवी, सचेतना र निगरानीजस्ता कार्य गर्छ ।

यसरी विकास पुर्‌याउने, पाउने, सघाउने र अवलोकन गर्ने गरी चार पक्षको सम्बन्ध, सहकार्य र समझदारीबाट मात्र विकास व्यवस्थापन सम्भव, सक्रिय र सुचारु हुने भएकाले विकास साझेदारको रूपमा यिनै चार पक्षलाई चिनेर विकास व्यवस्थापन गर्दै जानुपर्छ ।

विकास आयोजना कार्यान्वयनमा अनिवार्य तत्त्वहरू नीति, कार्यक्रम, प्रक्रिया, संगठन, जनशक्ति, समय, स्रोत, मेहनत, विधि, प्रविधि, क्षमता आदि पर्ने भए पनि मूलतः विकास साझेदारहरूबीचको सोच, संवाद र सहकार्यले नै ती तत्त्वहरूको अन्तरघुलन, प्रतिफल र परिचय स्थापित हुने भएकाले मानव सम्बन्धलाई सकारात्मक रूपले सिँचन, पोषण र स्याहार गर्नुपर्छ ।

हरेक व्यक्तिको लागि प्रत्येक बिहानी सम्भावना नै सम्भावनाले भरिएको हुन्छ । तर बितेका दिनहरूको बढी स्मरण- समीक्षा-नकारात्मक पक्षमा केन्द्रित मानसिकताले व्यक्ति भविष्यप्रति निराश, निस्तेज र निस्पृह भएको देखिन्छ । यो अवस्थाबाट बाहिर निस्कन निरन्तर रूपमा सम्भावना पहिल्याउने सोच र आशा जगाउने संवाद भइरहनुपर्छ । अहिलेको समाज सम्भावना पहिल्याउनेभन्दा समस्या औंल्याउनेमा केन्द्रित भएको देखिन्छ । हाम्रा नीति, विधि र तरिकाहरूले पनि सम्भावनाबाट समृद्धिको मार्गमा डोर्‌याउन सकेका छैनन् । केवल समस्याबाट समाधान दिन उद्यत् देखिन्छन् । यो स्थितिमा विकासले फड्को मार्न सक्दैन । विकासलाई जगाउन जनता जुटाएर, आशा जगाएर र गन्तव्य यकिन गरेरै यात्रा आरम्भ गर्नुपर्छ ।

कुनै पनि प्रणाली (सिस्टम) मा अगुवाइ गर्ने व्यक्तिको नेतृत्वदायी भूमिकाले उक्त प्रणालीको सञ्चालन स्तर निर्धारण हुन्छ । नेपाली समाजमा व्यक्तिको क्षमता (कम्पिटेन्स) बढ्दै गएको तर चरित्र (क्यारेक्टर) कमजोर बन्दै गएको प्रतीत हुन्छ । चरित्र पक्ष कमजोर हुँदा त्यसको असर नेतृत्व गर्ने व्यक्तिले सम्हाल्ने समूहमा समेत देखिन्छ । चरित्र पक्ष बलियो हुँदा आदर, सम्मान र विश्वास बढ्छ । जहाँ आदर-सम्मान-विश्वास बलियो हुन्छ, त्यहाँ संवाद-समझदारी-सहकार्यको सम्भावना हुन्छ ।

विकासको प्रतिफलमा जोकोही पनि लालायित हुन्छ । विकास प्रक्रिया बहुपक्षीय सहभागिताबाट क्रियाशील, गतिशील र नतिजामुखी हुने भएकाले यसमा संलग्न हुने व्यक्तिहरूका बीचमा निरन्तर संवाद भइरहनुपर्छ । संवादमा प्रकट हुने सकारात्मक दृष्टिकोणले मात्र सकारात्मक नतिजाको मार्गप्रशस्त गर्न सक्छ । मन्त्रालयको नीति योजना तहदेखि जिल्लामा स्थानीय विकास अधिकारीको हैसियतमा काम गरेको अनुभवका आधारमा पंक्तिकारको बुझाइ छ- हामी नेपाली समाजका पात्रहरू नकारात्मक अभिव्यक्तिलाई अग्रस्थानमा राख्छौं, आफूलाई मनपर्ने कुरा अरूले मन पराइदिऊन् भन्ने अपेक्षा गर्छौं र समस्या समाधानमा अल्मलिन्छौं, तर सम्भावनालाई समृद्धिको बाटोमा हिँडाउन कम ध्यान दिन्छौं ।

यो परम्परागत शैलीले न त सम्बन्ध सुमधुर हुन्छ, न त आपसमा सिनर्जी पैदा हुन्छ, न त नतिजा हासिल हुन्छ । लोकतन्त्रको विशाल आयाममा समावेशी र सहभागिताले गतिलोसँग पकड जमाएको वर्तमान अवस्थामा सबैलाई मनपर्ने सोच, शैली र शिष्टता प्रकट हुनुपर्छ । तालिका र ताल (रुटिन र रिदम) मिलाएर मात्र सम्भव हुने विकास अभियानमा सञ्जीवनी भर्न मूलतः मानव मस्तिष्कको सिर्जनशीलता, विचार अभिव्यक्तिको शिल्पता र आपसी सम्बन्धको शिष्टता अपरिहार्य छ ।

मानवीय सम्बन्धबाट सिनर्जी-सिर्जना-सभ्यता विकास हुने भएकाले अबका दिनमा हाम्रो सोचाइ, बोली र व्यवहार हरेक व्यक्तिमा, ठाउँमा र विषयमा सम्भावना पहिल्याउने गरी केन्द्रित हुनुपर्छ ।

निर्वाचनका समयमा देख्न पर्ने प्रतिस्पर्धाको विषय दूरगामी प्रभाव पार्ने विकास आयोजना छनोटमा समेत प्रतिविम्बित हुने गरेका घटनाले अझै पनि नेपाली समाज विचार आफूलाई मन पर्ने र विकास सबैलाई मन पर्ने गरी रोज्न समर्थ हुन नसकेको आभास हुन्छ । विचारलाई नेतृत्वले अगुवाइ गर्ने हो । नेतृत्व पाँच-पाँच वर्षमा फेरिन्छ । त्यसैले सुधारको सम्भावना भइरहन्छ । अतः विचारमा प्रतिस्पर्धा हुन स्वाभाविक हो ।

तर विकास एकपटक कार्यान्वयन भइसकेपछि त्यसले वर्षौं वर्ष नतिजा दिइरहन्छ । यसमा ठाउँसारी सम्भव हुँदैन । त्यसै कारणले राजनीतिमा प्रतिस्पर्धा, विकासमा सहमतिको संस्कार स्थापित हुन जरुरी छ । व्यक्तिहरू विकासका कुरा गर्दा राजनीतिमा जस्तो प्रतिस्पर्धात्मक रूपले प्रस्तुत हुने हो भने विकासको विषय भाँचिन्छ, टुक्रिन्छ र नासिन्छ । विकासका कुरा गर्दा अतीतको सिकाइ, संसारको देखाइ र भविष्यको आकांक्षाबाट निर्देशित, प्रेरित र उत्साहित भएर आफ्नो धारण, दृष्टिकोण वा मार्गचित्र प्रस्तुत गर्नुपर्छ । संवादका प्रत्येक विन्दुमा आशाको सञ्चार भइरहनुपर्छ ।

मानवीय सम्बन्धबाट सिनर्जी-सिर्जना-सभ्यता विकास हुने भएकाले अबका दिनमा हाम्रो सोचाइ, बोली र व्यवहार हरेक व्यक्तिमा, ठाउँमा र विषयमा सम्भावना पहिल्याउने गरी केन्द्रित हुनुपर्छ । लाइनी-आलोचना र अवशानमा रमाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ । निराशा, कुण्ठा र उदासीनता जीवन्त-जीवनका शत्रु हुन् । यिनले डिप्रेसन र एग्रेसन बढाउँछन् । अबका दिन सिर्जना-सिञ्चन र स्याहारको मार्गबाट जीवनलाई जीवन्त बनाउन उपयोग गर्नुपर्छ । यसैबाट प्रत्येक पलमा ‘सेलिब्रेसन’ सम्भव छ । सेलिब्रेसनको मुडमा हुँदा मात्र सम्भावना पहिल्याउने सोच पलाउँछ, गजाउँछ र मौलाउँछ ।

सम्भावनाको चिन्तनले संवादमा तथ्य, तर्क, तस्बिर र तरिकालाई आकर्षक, रुचिकर र प्रिय बनाउन सघाउँछ । त्यसैबाट आशा जगाउने संवाद सम्भव हुन्छ । अतः विकास हामी सबैको चाहना हो । मानवीय र भौतिक विकासको शैशव अवस्थामा नेपाली समाज रहेको छ । यो अवस्थालाई किशोर, युवा हुँदै परिपक्व अवस्थामा पुर्‌याउन हाम्राबीचका सोच, समझदारी, शैली, शिष्टता र सीपलाई निखार्न, तिखार्न र नितान्त विकास मैत्री बनाउन आजैबाट थाल्नुपर्छ । असम्भव केही छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.