क्याफेमा करिश्मा मानन्धर: धेरै पटक खानु तर थोरै थोरै खानु (भिडियाे)

क्याफेमा करिश्मा मानन्धर: धेरै पटक खानु तर थोरै थोरै खानु (भिडियाे)

सदाबहार नायिका करिश्मा मानन्धरले दरबारमार्गस्थित अन्नपूर्ण होटेलको कफी सपमा भएको भेटघाटमा एक ग्लास जुस मगाइन् । जाडोमा जुस नै पिउनुहुन्छ भन्ने जिज्ञासामा उनले प्रष्ट्याइन्, ‘मलाई जुुस मनपर्छ । तर बढी चिया पिउँछु ।’ चिया नपिई चित्त नबुझ्ने उनको बानी छ । चियासँगै बिहान एक कप दूध चिया नपिई उनलाई चित्तै बुझ्दैन । हिजोआज पेट अलि लागेझैं लागेर तौल नियन्त्रणको लागि उनले दिनमा तीन पटक ग्रिन टी खाने गरेकी छन् । जडीबुटीयुक्त नेपाली ग्रिन टी उनलाई मनपर्छ ।

कहिलेकाहीँ धनियाँको पातलाई पिनेर पानीमा हाली त्यसमा थोरै दालचिनीको धुलो हालेर हट लेमनमा मिसाइखाने उनको बानी छ । आफूलाई मोटो बनाउनेमा दूध पनि एक हो जस्तो लाग्छ उनलाई । बिहान ब्रेकफास्टमा दूधमा कर्नफ्लेक्स हालेर एउटा अन्डा खाने गरेकी छिन् उनले । जाडो महिना भएकाले भात पनि असाध्यै रुच्छ उनलाई । तरकारीमा विशेषगरी साग मन पराउँछिन् करिश्मा । तर तरकारी अग्र्यानिक होस् भन्ने उनको चाहना हुन्छ ।

गोदावरीस्थित आफ्नो घरबारीमा फलेका स्कुस, लसुन, धनियाँ, प्याज, लप्सी उनी खुब खान्छिन् । सागसब्जीमात्रै नभई घरमा कुखुरा पनि पालेको हुनाले मासु खान मन लागे लोकल कुखुरा रोज्छिन् उनी । मासु प्रायः सधैँ हुन्छ । तर उनी जतिसक्दो थोरै खाने प्रयास गर्छिन् । मासुमा माछा र सिफुड मीठो मान्छिन् करिश्मा । मासु खाएपछि सलाद अनिवार्य चाहिन्छ उनलाई ।

शारीरिक रूपमा फिट रहन खानामा नियन्त्रण गर्नुपर्छ । धेरै पटक खानु तर थोरै थोरै खानु ।  छ भने सानै भए पनि बारीमा, नभए घरको छतमा रोपेर अग्र्यानिक तरकारी खाए स्वस्थ रहन सकिन्छ ।

हिजोआज शिशिर राणाको चलचित्र ‘तिमीसँग’को एउटा गीतको छायांकन भइरहेकाले त्यसको लागि शरीरलाई सन्तुलित राख्न उनले मासु र सलादमात्रै खाने गरेकी छन् । जाडो महिना भएकाले दालमा एक चम्चा घिउ हालेर खान रुचाउने करिश्मा भन्छिन्, ‘जाडोमा शरीरलाई चिल्लो चाहिन्छ । त्यसैले घिउ, चिज, बटर खाए अनुहारमा चमक आउँछ ।’ उनको अनुभवमा मैदा, भात, चिनी र नुन धेरै खानु राम्रो होइन । त्यसैले जति सक्दो कमै खाने गर्छिन् । तर मम र आलुको नाम सुनेपछि सम्झौता गर्नै नसक्ने उनी भन्छिन्, ‘आलु र ममको लागि नो डाइटिङ ।’

चलचित्र र विभिन्न कार्यक्रमको सिलसिलामा हिँडिरहनुपर्ने भएकाले जहाँ पुग्यो त्यहीको खानामा भिज्न सक्ने उनको बानी छ । चाडपर्व अनुसारका खानाकी पारखी हुन् उनी । खासै डाइटिङ गर्दिनन् । तर एक पटक चलचित्र ‘वसन्ती’को छायांकनको क्रममा करिब सात महिना छायांकन अवधिभर उनले आफ्नो तौललाई ४५ किलोमै राखिरहन डाइटिङ गरेकी थिइन् । यो उनको जीवनकै सबभन्दा लामो डाइटिङ हो ।

करिश्मा खानाले आफ्नो जीवनमा विशेष महत्व राख्ने बताउँछिन् । खानाको पारखी उनी जति हुन् त्यति नै मीठो खाना पकाउँछिन् । उनले बनाएको खसीको पक्कु सबैले प्रशंसा गर्छन् । शारीरिक रूपमा फिट रहन खानामा नियन्त्रण गर्नुपर्छ र तरिकाले खानुपर्छ भन्ने उनलाई लाग्छ । ‘धेरै पटक खानु तर थोरै थोरै खानु’, उन सुझाव छ । छ भने सानै भए पनि बारीमा, नभए घरको छतमा रोपेर अग्र्यानिक तरकारी खाए स्वस्थ रहन सकिन्छ भन्ने उनलाई लाग्छ ।

दिनमा पटकपटक गरेर पाँच लिटरभन्दा बढी पानी पिउने करिश्मा अरुलाई पनि धेरै पानी पिउन सल्लाह दिन्छिन् । आफ्नो शरीरलाई सधै‌ सन्तुलित र राम्रो राख्न व्यायामलाई उनी अनिवार्य मान्छिन् । खानामा नियन्त्रणका साथै नियमित व्यायामले उनलाई अहिलेसम्म पनि उत्तिकै सुन्दर र फुर्तिलो बनाएको छ ।  प्रस्तुति: रामकला खड्का


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.