आकर्षण बन्दै महिला खेलाडी

आकर्षण बन्दै महिला खेलाडी

प्रदर्शन स्तरीय होस् । नतिजा 'थ्रिल' होस् । हेर्ने व्यक्ति कसको समर्थक ? त्यो सरोकारको विषय भएन । तर, खेल नसकिएसम्म मुटु ढक्क फुलोस् । आकर्षक र रोमाञ्चक खेलको मापदण्ड नै यही हो । पूर्वाञ्चलमा शनिबार सुरु हुने 'सातौं राष्ट्रिय खेलकुद'मा रहेका केही बेग्लै खालका खेल यसैगरी रोमाञ्चक हुँदैछन् ।

भाषणमा भन्ने गरिन्छ, 'खेलाडीले संसारभर देशको नाम रोशन गराउँछन् ।' तर, सत्य के हो भने संसारभर चिनाउनकै लागि र इज्जत धान्नकै लागि संसारका जोसुकैसँग खेले पनि सानसँग खेल्नै पर्‌यो । अन्तिम नतिजा नआएसम्म मुटु ढक्क हुनै पर्‌यो । विपक्षी वृत्तलाई तनाव हुनै पर्‌यो ।

नेपाली मार्सल आर्टको साख पछिल्ला वर्षमा गिर्दो छ । यसरी गिर्दागिर्दै पनि अन्य खेलको तुलनामा विश्वस्तरीय स्टारसँग सानसँग खेल्ने हैसियत भने सबैभन्दा बढी मार्सल आर्टिस्टमा नै छ । अन्तर्राष्ट्रिय स्पर्धामा सानसँग खेल्ने यी मार्सल आर्टिस्ट सहजै राष्ट्रिय च्याम्पियन भएका होइनन् । घरेलु भूमिमा अन्य खेलको तुलनामा रहेको डेप्थका कारण उनीहरूको स्तर बढेको हो । यसैकारण धेरै यस्ता खेलाडी छन्, जसका लागि अन्तर्राष्ट्रिय स्पर्धामा पदक पाउनभन्दा कम मेहनतले राष्ट्रिय च्याम्पियन हुन सम्भव छैन ।

अपेक्षा गरिएको छ, आसन्न राष्ट्रिय खेलकुदमा नेपाली स्टार तेक्वान्दोका वीरबहादुर महरा, जुडोकी फुपूल्हामु खत्री, बक्सिङका दिनेश श्रेष्ठ, उसुकी नीमा घर्ती र करातेका सोनाम लामाका लागि उपाधि जित्न कठिन नहुन सक्छ । तर, यस्ता थुप्रै भिडन्त छन्, जसले नेपाली खेलकुदलाई नै प्रभाव पार्नेछ । हामीले अन्तर्राष्ट्रिय खेलकै स्तरमा घरेलु भिडन्त हेर्न पाउनेछौं । पूर्वाञ्चल पुग्ने खेलपारखीले ती भिडन्त हेर्नैपर्ने हुन्छ । धेरैको मत छ, आसन्न सातौं राष्ट्रिय खेलकुदमा तेक्वान्दोको ४६ किलो तौल समूह सबैभन्दा सनसनीपूर्ण इभेन्ट रहनेछ ।

पछिल्ला केही वर्ष नेपाली खेलकुदका सफलताका कथा महिला मार्सल आर्टिस्टसँग जोडिएको छ । त्यसो त अन्य खेलका खेलाडी र पुरुष खेलाडी स्तरीय छैनन् भन्ने होइन । तर, विश्वस्तरीय स्टारसँग खेल्ने हैसियत राख्ने अधिक खेलाडी महिला आर्टिस्ट नै छन् ।

गत वर्ष नेपालले सहभागिता जनाएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाली घेराबाहिर पनि बेजोड देखिएका फुपूल्हामु खत्री, नीमा गुरुंग, निशा रावल र सरस्वती राना पूर्वाञ्चलमा पनि देखिनेछन् । रियो ओलम्पिकमा सहभागी निशा रावल विश्वकै शीर्ष वरीयताकी खेलाडी झिङ सुयनसँग २-० को साँघुरो अन्तरले पराजित भएकी थिइन् । सुयनले ओलम्पिकमा स्वर्ण पदक पनि जितिन् ।

त्यसो त कांस्य पदकका लागि भएको भिडन्तमा निशा फ्रान्सकी ग्वाल्डेन ग्पान्गेसँग ३-२ ले पराजित भएकी थिइन् । सातौं राष्ट्रिय खेलकुदमा आर्मीकी खेलाडी निशासँगको हेभिवेट भिडन्त सुमित्रा केसीको हुनेछ । रुकुममा गोविन्द शर्माको चेलीको रूपमा उदाएकी सुमित्रालाई पछिल्लो समय निशाले पछाडि छाडेकी हुन् । यसपटक सुमित्राले प्रहरीको प्रतिनिधित्व गर्दैछिन् ।

कोटेश्वर तेक्वान्दो डोजाङकी काजल श्रेष्ठले जुनियर तहमै रहँदा महत्त्वपूर्ण सफलता पाएकी थिइन् । उमेरले १७ वर्षे नेटो पार गरेपछि सिनियर भिडन्तका रूपमा उनले गत दक्षिण एसियाली खेलकुदमा छनोटमा सहभागिता जनाएकी थिइन् । अपेक्षाकृत कमजोर प्रदर्शन गरेकी उनी तत्कालीन च्याम्पियन रेजिना कार्कीसँग पराजित भइन् ।

सागमै स्वर्ण पदकको नजिक पुगेर पनि फाइनलमा गोल्डेन स्कोरमा पाकिस्तानी खेलाडीसँग पराजित रेजिना र यसपटक आर्मीको प्रतिनिधित्व गर्ने काजलको महिला ४६ किलो तौल समूहमा हुने भिडन्त सातौं राष्ट्रिय खेलकुदको अर्थपूर्ण भिडन्त हुनेछ । सोही स्पर्धामा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ र अन्य सहभागी पनि कमजोर नभएको जनाइन्छ ।

सागकै रजत पदक विजेता आर्मीका तेक्वान्दो खेलाडी सक्षम कार्की तौल परिवर्तन गर्दै ७४ किलोमा सहभागी हँदैछन् । ७४ किलो तौल समूहमा आशीष महर्जनलाई प्रतिस्थापन गर्दै राष्ट्रिय टोलीमा प्रवेश पाएका उनले ८० किलो समूहमा अनोज पुजारीसँग कठिन चुनौतीको सामना गर्दै आएका थिए । यसपटक उनको भिडन्त साग पदक विजेता पुलिसका निश्चलमान श्रेष्ठसँग हुनेछ । त्यसो त ओलम्पिक छनोटमा सहभागिता जनाएका रञ्जन श्रेष्ठलाई ५८ किलो तौल समूहमा कोटेश्वरकै अर्का उत्पादन युजल गुरुङले कठिन चुनौती दिने अनुमान गरिएको छ ।

साग रजत पदक विजेता जुडोकी मनीता प्रधान अहिले नेपाल आर्मी क्लबबाट खेल्दैछिन् । पामकी उत्पादन यी खेलाडी ५७ किलो तौल समूहमा एपीएफकी देविका खड्कालाई हराउँदै राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन् ।

मनितासँग हार्नुअघि केही प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवार्ड पाउँदै आएकी देविका अहिले ५२ किलो तौल समूहमा रहेकी छन् । उनको भिडन्त साग रजत पदक विजेता लीला अधिकारीसँग हुनेछ । त्यसो त धुलाबारीको कभर्डहल लीलाका लागि एक दशकअघिको राष्ट्रिय च्याम्पियनसिपको पुनरावृत्तिको अवसर पनि हुनेछ ।

एसियन जुनियरकी पदक विजेता लीला एक दशकअघि झपामै पर्सा जुडो टिम राष्ट्रिय च्याम्पियन हुँदा उत्कृष्ट खेलाडी भएकी थिइन् । तर, उनकी प्रतिद्वन्द्वी देविका एक दशकपछि फरक रूपमा रहेका कारण यो अत्यन्त प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरिएको छ ।

त्यसो त जुडो संघका महासचिवसमेत रहेका रेफ्री धर्मकुमार श्रेष्ठ नेपालमा एक से एक खेलाडी भएको र घरेलु प्रतियोगिता नै स्तरीय भएको कारण मार्सल खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सफलता पाएको बताउँछन् ।

नेपालमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता सुनीता बोहरा र नेपाल आर्मीकी आकृति जोशीको भिडन्त हेर्नलायक हुने अनुमान प्रशिक्षक वीरेन्द्र रञ्जितको छ । एसियन जुनियर पदक विजेता सुनिता थापामगर लामो समय छायाँमा रहिन् । यसपटक मध्यमाञ्चलबाट उनी ६० किलो तौल समूहमा सहभागी हुँदैछिन् । गत साग खेलमा कांस्य पदक विजेता गंगा चौधरी र सुनिताको भिडन्त अर्को महत्त्वपूर्ण जुडो फाइट हुनेछ ।

छैटौं राष्ट्रिय खेलकुदमा सुनिताले स्वर्ण पदक जित्ने क्रममा ओलम्पियन देबु थापालाई हराएकी थिइन् । करातेमा अहिलेका प्रभावशाली खेलाडी सोनाम लामाका लागि राष्ट्रिय प्रतियोगिता कठिन नहुने अनुमान धेरैको छ । तथापि ६७ किलो तौल समूहमा मुकुन्द महर्जनको सामना सुबास घोतानेसँग हुनेछ । एसकेआईएफमा आबद्ध चितवनका यी खेलाडी निबास गोपाल वैद्यमार्फत केही समययता काठमाडौंमै रहेर दीपक श्रेष्ठसँग प्रशिक्षण गरेका थिए ।

२० वर्षीय सुबास अहिले आर्मी क्लबमा छन् । उनलाई नजिकबाट नियालेका बैद्यकै अनुसार सुबास अनुशासित, मेहनती र पावर गेममा पनि अब्बल रहेका हेर्नलायक खेलाडी हुन् ।

नेपाली एथलेटिक्सले पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा खासै कमाल देखाउन सकेको छैन । अझ बृहत् खेल महोत्सवकै मुख्य आकर्षण मानिने स्प्रिन्ट क्षेत्रमा त नेपाल कमजोर रहँदै आयो । यसका बीच हरेक बृहत् खेल महोत्सवमा एथलेटिक्सको स्प्रिन्ट स्पर्धाको चमक त हुने नै छ । यस कारण सातौं राष्ट्रिय खेलकुदमा पनि नेपालको तेज महिला र तेज पुरुष को भन्ने चासो स्वाभाविक छ ।

यसपटक स्प्रिन्टमा एपीएफका आशीष चौधरी र मध्यपश्चिमका यम साजन सुनुवारको खेल हेर्नलायक नै रहनेछ । एपीएफका एथलेटिक्स प्रशिक्षक सुशीलनरसिंह राणा थोरै समयमा नै हरेक कुराको टुंगो लाग्ने भएका कारण स्प्रिन्टमा सधैं थ्रिल हुने बताउँछन् । खेलपारखीले चाहनेजस्तो थ्रिल यसपटक लामो दूरीमा पनि हुनसक्ने सम्भावना राणा व्यक्त गर्छन् । स्प्रिन्टर दिलमाया कार्की र सरस्वती चौधरी घाइते भएका कारण यस विधाका बारे धेरै अन्योलमै छन् ।

अन्तर्राष्ट्रिय स्पर्धामा सानसँग खेल्ने मार्सल आर्टिस्ट सहजै राष्ट्रिय च्याम्पियन भएका होइनन् ।

विगतभन्दा परिपक्व भइसकेका आशीष र यमसाजनसँगै आर्मीका खेलाडी पनि बलियो प्रतिस्पर्धीका रूपमा उत्रनसक्ने अनुमान राणाको छ । साग खेलका दुई पदकधारी एथलेटिक्सका खेलाडी यसपटक सातौं राष्ट्रिय खेलकुदमा सहभागी हुँदैछन् । १२औं सागका कांस्य पदकधारी हरि रिमालका साथै १०औ सागकी रजत पदक विजेता कान्छीमाया कोजू सातौं राष्ट्रिय खेलकुदमा सहभागी हँदैछिन् ।

सदाबहार धावक कोजूका नाममा पाँच हजार मिटर र १० हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान छ । सन् २०१० सम्म पिकफर्ममा रहेकी कोजूको त्यही फर्म त कायम छैन । तथापि, उनी र विश्वरूपा बुढाको १० हजार मिटरको रेस हेर्नपर्ने रेसको रूपमा रहनेछ । क्यानडामा रहँदा लामो दूरीमा सफलता पाएका कारण कोजूको आत्मबल अझ बढ्दो छ ।

बक्सिङ प्रशिक्षक प्रचण्ड शर्मा ६० किलो तौल समूहमा खेल्ने एपीएफकी सरस्वती रानामगर कुनै पनि विश्वस्तरीय स्टारसँग मुकाबिला गर्ने क्षमता भएको खेलाडीका रूपमा स्वीकार गर्छन् । यसकारण सरस्वतीको खेल सधैं हेर्नपर्ने खेलका रूपमा रहने नै छ । १२औं दक्षिण एसियाली खेलकुदमा स्टार भारतीय मुक्केबाज सरितादेवी र सरस्वतीको भिडन्तले भारतीय र नेपाली वृत्त दुवैलाई आश्चर्यमा पारेको थियो ।

त्यसै सनसनीपूर्ण प्रदर्शनलाई हेर्नेहरूले सरस्वतीलाई सधैं स्टारका रूपमा सम्झने छन् । आवश्यक प्रशिक्षण, एक्सपोजर र यथेस्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित सरस्वतीको स्तरीयताको एउटा कारण नै बक्सिङका अन्य घरेलु मुक्केबाजको स्तर पनि हो । घरेलु स्तरमै कठिन प्रतिद्वन्द्वी भएका कारण पनि उनले सधैं आफूलाई फिट राख्दै आएकी छन् । यिनै सरस्वतीले गएको विश्व च्याम्पियनसिप छनोटमा आर्मी क्लबकी नीरू गुरुङको कठोर मुकाबिलाको सामना गरिन् । राष्ट्रिय खेलकुदमा सरस्वतीले कत्तिको चुनौतीको सामना गर्नेछिन्, त्यो हेर्नलायक विषय हो ।

त्यसो त अन्य खेलमा पनि केही थ्रिल हुन सक्छन् । केही नयाँ प्रतिभा राष्ट्रिय खेलकुदले उत्पादन गर्न पनि सक्छ । यो सम्भावनालाई पूर्ण नकार्न त सकिँदैन परन्तु तथ्यांकले नै बारम्बार बताएको छ, नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सानसँग उपस्थित गराउने काम धेरैजसो महिला आर्टिस्टले नै गराएका छन् र सातौं राष्ट्रिय खेलकुदका मुख्य आकर्षण पनि यिनीहरू नै हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.