गरिब प्राइमिनिस्टर
भाइबहिनीहरू, आज म तिमेरूलाई हाम्रो देशको प्रधानमन्त्रीका बारेमा केही कुरा बताउन लागिरहेको छु । तिमेरूले भारत, चीन, बेलायतका प्रधानमन्त्रीका बारेमा थाहा पाएका नै छौ होला । यदि थाहा छैन भने म उनीहरूका बारेमा पनि विस्तारै बताउँदै जानेछु । तर, आज भने म तिमेरूलाई आफ्नै देशको प्रधानमन्त्रीका बारेमा बताउने छु । कि कसो ?
विश्वका थोरै मात्र प्रधानमन्त्री गरिब छन् । त्यसमा हाम्रो देशका प्रधानमन्त्री पनि पर्छन् । बिचरा ! उनीसँग तीन तोला सुन र सिर्फ एक कठ्ठा जमिन मात्र छ । त्यति सम्पत्तिले स्वास्नी, छोराछोरी, नाति–नातिनालाई पाल्न नसकेर उनले प्रधानमन्त्रीको जागिर खाएका हुन् । आफ्नो सम्पत्ति टन्न भए त्यो नाथे जागिर उनले किन खान्थे र, हैन त ?
हाम्रा प्रधानमन्त्री गरिबीका बीचमा हुर्किए । गरिबीले नराम्ररी सताएको हुँदा सानैदेखि मितव्ययी बने । मितव्ययीताबारे प्रधानमन्त्रीसँग धेरै कुरा सिक्न सकिन्छ । उनी आफू त मितव्ययी छन् नै, परिवारका सदस्यहरूलाई पनि मितव्ययी बन्न सिकाएका छन् । उनी कतिसम्म मितव्ययी छन् भने स्वदेशकै कलकारखानाहरूबाट उत्पादित कपडा लगाउँछन्, स्वदेशमै बनेका जुत्ता, टाई, घडी पहिरिन्छन् । एक पटक उनले बाँधेको घडी विदेशी हो कि भनेर चर्को रूपमा कुरा उठ्यो । तर, त्यसमा ‘मेड इन नेपाल’ लेखिएको कुरा पत्ता लागेपछि सबैका आशंका दूर भए । तिमेरूले यस्ता राष्ट्रवादी नेता/प्रधानमन्त्री कहिल्यै देखेका छौ ? न भूतो न भविष्यति । कि कसो ?
न जाँड खान्छन्, न चुरोट पिउँछन् । न आलिसान महलमा बस्छन्, न महँगा कार चढेर हिँड्छन् । न महँगा लुगा लगाउँछन्, न रोलेक्सजस्ता बहुमूल्य विदेशी घडी नै लगाउँछन् । न सम्पत्ति जोड्ने अभिलाषा पाल्छन्, न कुनै कम्पनीमा सेयर हाल्छन् । न विदेशी बैंकमा पैसा थुपार्छन्, न विदेशी अस्पतालमा गएर महँगोमा उपचार नै गर्छन् । न आफ्ना विरोधीहरूलाई गाली गर्छन्, न सत्तामा जाने लोभमा कसैसँग सौदावाजी गर्छन् । न खुशीमा मात्तिन्छन्, न दुःखमा आत्तिन्छन् । हाम्रा प्रधानमन्त्री केवल जनताका दुःख, पीडा र खुशीबीच बाँच्ने संकल्पबोधले निर्देशित छन् ।
ओहो ! देशले कस्तो राष्ट्रवादी, आदर्शवादी, साम्यवादी, चरित्रवान, कृपावान, दूरदृष्टियुक्त, हितैषी, क्लेषमुक्त, अहिंसावादी, परोपकारी, मानवतावादी, वैज्ञानिक, प्राज्ञिक, विवेकशील, पराक्रमी प्रधानमन्त्री पाएको छ । यस्ता प्रधानमन्त्री न हामीले पहिला पायौँ, न अब पाउने नै छौं । म फेरि दोहोर्याएर भन्छु, न भूतो न भविष्यति । हैन त ? एकपल्ट हाम्रा प्रधानमन्त्रीका प्रिय सुपुत्रलाई जुस पिउने अत्यन्तै मन लागेछ । बिचरा ! केटाकेटी न हुन्, कहिल्यै जुस खाएका थिएनन्, खाऊँखाऊँ लागेछ र हिम्मत गरेरै बाबासामु भनेछन्, ‘बाबा, म जुस खान्छु ।’
हाम्रा प्रधानमन्त्रीले नमज्जाले थर्काएछन्, ‘जनताले पानी पिउन पाएका छैनन् । जुस खाने कुरा नगर । त्यही पानी पिएर चित्त बुझाऊ ।’अर्को पटक, प्रधानमन्त्रीकी श्रीमतीले गुनासो गर्दै भनिछन्, ‘यस्सो बिहेबटुलोमा जाँदा राम्रो सारी नै भएन । एउटा बनारसी सारी किनिदिनुस् न । यही १० वर्षअघि किनेको सारी लगाएर कति हिँड्नु ?’ प्रधानमन्त्रीले तत्काल सातो खाँदै भनेछन्, ‘जनताले टालेको लुगा लगाउन पाएका छैनन्, तँलाई बनारसी सारी चाहियो । अहिले जुन लगाइरहेकी छस्, त्यसैमा चित्त बुझा ।’
यस्ता अनगिन्ती कुरा छन्, हाम्रा प्रधानमन्त्रीका । आखिर, गरिब प्रधानमन्त्री न परे । न छोरालाई भनेजस्तो खान दिन सकेका छन्, न श्रीमतीलाई राम्रो लगाउन दिने ल्याकत नै राख्छन् । गरिब प्रधानमन्त्री हुनु पनि नमज्जाकै कुरा रहेछ । कि कसो, भाइबहिनीहरू ?
प्रतिक्रिया दिनुहोस !