गरिब प्राइमिनिस्टर

गरिब प्राइमिनिस्टर

भाइबहिनीहरू, आज म तिमेरूलाई हाम्रो देशको प्रधानमन्त्रीका बारेमा केही कुरा बताउन लागिरहेको छु । तिमेरूले भारत, चीन, बेलायतका प्रधानमन्त्रीका बारेमा थाहा पाएका नै छौ होला । यदि थाहा छैन भने म उनीहरूका बारेमा पनि विस्तारै बताउँदै जानेछु । तर, आज भने म तिमेरूलाई आफ्नै देशको प्रधानमन्त्रीका बारेमा बताउने छु । कि कसो ?

विश्वका थोरै मात्र प्रधानमन्त्री गरिब छन् । त्यसमा हाम्रो देशका प्रधानमन्त्री पनि पर्छन् । बिचरा ! उनीसँग तीन तोला सुन र सिर्फ एक कठ्ठा जमिन मात्र छ । त्यति सम्पत्तिले स्वास्नी, छोराछोरी, नाति–नातिनालाई पाल्न नसकेर उनले प्रधानमन्त्रीको जागिर खाएका हुन् । आफ्नो सम्पत्ति टन्न भए त्यो नाथे जागिर उनले किन खान्थे र, हैन त ?

Bibas Bastiहाम्रा प्रधानमन्त्री गरिबीका बीचमा हुर्किए । गरिबीले नराम्ररी सताएको हुँदा सानैदेखि मितव्ययी बने । मितव्ययीताबारे प्रधानमन्त्रीसँग धेरै कुरा सिक्न सकिन्छ । उनी आफू त मितव्ययी छन् नै, परिवारका सदस्यहरूलाई पनि मितव्ययी बन्न सिकाएका छन् । उनी कतिसम्म मितव्ययी छन् भने स्वदेशकै कलकारखानाहरूबाट उत्पादित कपडा लगाउँछन्, स्वदेशमै बनेका जुत्ता, टाई, घडी पहिरिन्छन् । एक पटक उनले बाँधेको घडी विदेशी हो कि भनेर चर्को रूपमा कुरा उठ्यो । तर, त्यसमा ‘मेड इन नेपाल’ लेखिएको कुरा पत्ता लागेपछि सबैका आशंका दूर भए । तिमेरूले यस्ता राष्ट्रवादी नेता/प्रधानमन्त्री कहिल्यै देखेका छौ ? न भूतो न भविष्यति । कि कसो ?

न जाँड खान्छन्, न चुरोट पिउँछन् । न आलिसान महलमा बस्छन्, न महँगा कार चढेर हिँड्छन् । न महँगा लुगा लगाउँछन्, न रोलेक्सजस्ता बहुमूल्य विदेशी घडी नै लगाउँछन् । न सम्पत्ति जोड्ने अभिलाषा पाल्छन्, न कुनै कम्पनीमा सेयर हाल्छन् । न विदेशी बैंकमा पैसा थुपार्छन्, न विदेशी अस्पतालमा गएर महँगोमा उपचार नै गर्छन् । न आफ्ना विरोधीहरूलाई गाली गर्छन्, न सत्तामा जाने लोभमा कसैसँग सौदावाजी गर्छन् । न खुशीमा मात्तिन्छन्, न दुःखमा आत्तिन्छन् । हाम्रा प्रधानमन्त्री केवल जनताका दुःख, पीडा र खुशीबीच बाँच्ने संकल्पबोधले निर्देशित छन् ।

ओहो ! देशले कस्तो राष्ट्रवादी, आदर्शवादी, साम्यवादी, चरित्रवान, कृपावान, दूरदृष्टियुक्त, हितैषी, क्लेषमुक्त, अहिंसावादी, परोपकारी, मानवतावादी, वैज्ञानिक, प्राज्ञिक, विवेकशील, पराक्रमी प्रधानमन्त्री पाएको छ । यस्ता प्रधानमन्त्री न हामीले पहिला पायौँ, न अब पाउने नै छौं । म फेरि दोहोर्‌याएर भन्छु, न भूतो न भविष्यति । हैन त ? एकपल्ट हाम्रा प्रधानमन्त्रीका प्रिय सुपुत्रलाई जुस पिउने अत्यन्तै मन लागेछ । बिचरा ! केटाकेटी न हुन्, कहिल्यै जुस खाएका थिएनन्, खाऊँखाऊँ लागेछ र हिम्मत गरेरै बाबासामु भनेछन्, ‘बाबा, म जुस खान्छु ।’

हाम्रा प्रधानमन्त्रीले नमज्जाले थर्काएछन्, ‘जनताले पानी पिउन पाएका छैनन् । जुस खाने कुरा नगर । त्यही पानी पिएर चित्त बुझाऊ ।’अर्को पटक, प्रधानमन्त्रीकी श्रीमतीले गुनासो गर्दै भनिछन्, ‘यस्सो बिहेबटुलोमा जाँदा राम्रो सारी नै भएन । एउटा बनारसी सारी किनिदिनुस् न । यही १० वर्षअघि किनेको सारी लगाएर कति हिँड्नु ?’ प्रधानमन्त्रीले तत्काल सातो खाँदै भनेछन्, ‘जनताले टालेको लुगा लगाउन पाएका छैनन्, तँलाई बनारसी सारी चाहियो । अहिले जुन लगाइरहेकी छस्, त्यसैमा चित्त बुझा ।’

यस्ता अनगिन्ती कुरा छन्, हाम्रा प्रधानमन्त्रीका । आखिर, गरिब प्रधानमन्त्री न परे । न छोरालाई भनेजस्तो खान दिन सकेका छन्, न श्रीमतीलाई राम्रो लगाउन दिने ल्याकत नै राख्छन् । गरिब प्रधानमन्त्री हुनु पनि नमज्जाकै कुरा रहेछ । कि कसो, भाइबहिनीहरू ? 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.