कथा-भँगेराको पिर
'अब त अर्कै गुँडमा बास नसरी सुखै छैन । तर यी बूढाले मेरो कुरै सुन्दैन', भँगेरी भुत्भुताउँदै थिई ।
भँगेरीको कुरा सुनेर भँगेरो फिस्स हाँस्यो । उसले भन्यो, 'विस्तारै यहाँबाट सर्ने नै भनेको हो नि । तर यत्तिको गतिलो ठाउँ भेट्टाउन पनि हम्मेहम्मे पर्छ । यस्तो ठाउँ छाडेर कसरी आफ्नै पेटमा लात हान्नु हौ !'
भँगेरा र भँगेरी राजाको दरबार नजिकै सानो घुरस्यौलीको रूखमा बस्थे । यसैले खानेकुराको लागि उनीहरूलाई केही पिर थिएन । तिनीहरूलाई चारो खोज्न टाढा जानु पर्दैनथ्यो । राजाको दरबारमा गएर उनीहरूले अन्न ल्याउँथे । एकदिन ओसारेको अन्नले सात दिन बसीबसी खान्थे ।
तर उनीहरूलाई एउटा कुराको साह्रै पिर थियो । उनीहरूले आफ्नो गुँडमा बच्चा काड्न भने कहिल्यै पाउँदैनथे । उनीहरूको गँड भएको रूख नजिकैको बाटो हुँदै दिनहुँजसो राजाको हात्ती हिँड्ने गथ्र्यो । हात्ती आउँदा जाँदा उसले भँगेरा भँगेरीको गुँड भएको रूखमा जिउ कन्याउने गथ्र्यो । अनि रूखमा भएको गुँड भत्कन्थ्यो ।
एकदिन भँगेरी रूखको हाँगामा ज्यादै चिन्तित भएर बसिरहेकी थिइन् । भँगेरो भुर्रर् उड्दै भँगेरीको नजिकै आयो र भन्यो, 'ए बूढी किन टोलाउँछेस्, न टोला अब तैंले टोलाउने दिन गए । तँलाई त्यही हात्तीको पिर थियो होइन ? अब त्यो पिर बिर्सी ।'
भँगेरीले दंग पर्दै सोधी, 'हात्ती मर्यो र ? '
'ह्या यो पनि के भन्छे हौ, के को मर्नु नि । सिकार खेल्न राजा जंगल जादाँ हात्ती पनि साथमा लाने अरे', भँगेराले भन्यो ।
यो कुरा सुनेर भँगेरी ज्यादै खुसी भई ।
'त्यसो भए अब हामीले फुल पार्न र बचेरा हुर्काउन पाउने भयौं हैन त ? ', भँगरीले खुसी हुँदै भनी ।
उनीहरूको एकमात्र इच्छा भनेको बच्चा काढ्नु थियो । हात्तीको आतंकको कारणले गर्दा बच्चा काड्ने सपना कहिल्यै पनि पूरा हुन सकेको थिएन ।
राजा हात्तीमाथि चढेर वनमा सिकार खेल्न गएको देखेर भँगेरा र भँगेरी निक्कै खुसी भए । दुई दिनपछि भँगेरीले फुल पारी । फुलबाट चल्ला पनि निस्के । भँगेरा र भँगेरी पालैपालो वनमा गएर चारो खोजेर ल्याउँथे र चल्लालाई ख्वाउँथे । उनीहरू ज्यादै खुसी थिए ।
तर त्यो खुसी धेरै दिन भने टिक्न सकेन । केही दिन जंगलमा सिकार खेलेपछि राजा फर्के । राजा फर्केको थाहा पाएपछि भँगेरा र भँगेरी चिन्तित भए । अब के गर्ने भनेर केही पनि सोच्न सकेनन् । यति चाँडै कहाँ गुँड बनाउनु ? साना बचेरालाई लिएर कहाँ जानु ? यस्तै गन्थन गर्दै त्यो रात उनीहरूले गुँडमै बिताए ।
भोलिपल्ट बिहानै हात्ती दरबारबाट निस्क्यो । हात्ती आफू बसेको रूखतिर आउन लागेको देखेर भँगेरा र भँगेरी डराए । उनीहरू आत्तिएर हात्तीको नजिकै गएर गुँड नभत्काउन अनुनय गर्न थाले । तर हात्तीले उनीहरूको कुरा वास्ता गरेन । ऊ सरासर रूखमा गएर जिउ कन्याउन थाल्यो । रूख हल्लिएर भँगेराको गुँड भुइँमा खस्यो । भँगेराका बचेराहरू सबै मरे ।
आफ्ना बचेराको त्यो अवस्था देखेर भँगेरा र भँगेरी साह्रै दुःखी भए । रोए, कराए । भँगेरोले रुँदै भन्यो, 'मैले गर्दा नै यस्तो भएको हो, अन्त बस्न गएको भए यस्तो हुन्नथ्यो । अब चाँडै डेरा नसरी हुन्न बरु दिनभर आहारा खोज्न जानु परे नि जाउला ।'
भँगेरीले रुँदै भनी, 'अब अहिले आएर डेरा सर्ने कुरा नगरौं । आपत् पर्यो भन्दैमा आत्तिएर, भागेर हुँदैन । बरु यो आपत्लाई टार्न के गर्ने भन्ने चाहिँ सोचौं ।'
भँगेरीको यति आँटिलो कुरा सुनेर भँगेरोको हिम्मत बढ्यो । उसले भन्यो, 'पर्ख म यो हात्तीलाई मार्ने उपाय गर्छु । आफैं मर्नु परे पनि त्यसलाई नमारी छाड्दिनँ ।'
भँगेरोको कुरा सुनेर भँगेरीलाई कताकता डर लाग्यो । उसले भनी, 'भयो, आफंै मर्ने कुरा नगर । बाँचियो भने यस्ता सन्तान धेरै जन्माउन सक्छौं ।'
भँगेरीको कुरा सुनेर भँगेरो गम्भीर भयो । केही बोलेन ।
भोलिपल्ट हात्ती सदाझैं त्यही बाटो आउँदै थियो । रूखको नजिक आउनेबित्तिकै भँगेरो फुर्रर् उडेर हात्तीको कानभित्र पस्यो । कानभित्र पसेर उसले आफ्ना पखेटा फरफराउन थाल्यो । कानभित्र भँगेरो पसेकाले हात्तीले सहन सकेन । उसलाई धेरै अप्ठ्यारो भयो । ऊ छट्पटाएर यताउता दगुर्न र उफ्रन थाल्यो । ऊ जता पायो त्यतै कुद्न थाल्यो । कुद्दाकुद्दै हात्ती ढिकमा पुग्यो र त्यहाँबाट तल खस्यो । यसरी हात्ती मर्यो । हात्ती मरेपछि भँगेरो हात्तीको कानबाट बाहिर निस्कियो र रूखमा चढ्यो । त्यसपछि भँगेरा भँगेरीले रूखमा नयाँ गुँड बनाए, चल्ला काढे र सुखसँग जीवन बिताए ।