“पढ्नु ध्यान हो”

 “पढ्नु ध्यान हो”

आठ वर्षको उमेरमा बुवाको निधन भएपछि सौरभले आफ्ना अगुवा, आदर्श व्यक्तित्व र प्रिय साथी एकैपटक गुमाएको अनुभूति गरे । त्यो खाली ठाउँ भर्न आइपुग्यो, किताब । हजुरबा र बुवाले पढ्ने ‘स्टेटस् म्यान’, ‘बेइजिङ रिभ्यु’, ‘चाइना पिक्टोरियल’लगायत पत्रिका र म्यागेजिनको चाङबाट उनले अध्ययन अगाडि बढाए । उनी सम्झिन्छन्, ‘त्यतिबेला ठेली किताब पढ्ने उमेर पनि थिएन, उपलब्धता पनि थिएन । त्यसैले पत्रिका र म्यागेजिनका तस्बिर, तिनका क्याप्सन पढेर मेरो पठन–यात्रा सुरु भयो ।’

अध्ययन र उमेर बढ्दै जाँदा पत्रिका र म्यागेजिनका सामग्रीमा उनी क्षणभंगुरता र सतहीपन महशुस गर्न थाले । त्यसैले अध्ययनको गहिराइ खोज्न किताबसँग निकट भए । तथापि, झण्डै दुई दशक म्यागेजिनको साथ पनि छाडेनन् । बाहिरी अध्ययनको लतले होला, स्कुलदेखि नै सौरभको पाठ्यक्रम–किताबप्रति मोह रहेन । उनी प्रतिस्पर्धी खालका विद्यार्थी पनि भएनन् ।

तर, पाठ्यक्रमबाहिरका किताबको मोहनीले चाहिँ उनलाई झनपछि झन् तानिरह्यो । जति धेरै किताब पढ्दै गयो, उति मानिसहरूसँग कुरा मिल्न छाड्यो । सोच र बुझाइ मिल्न छाडे । त्यस्तो एक्ल्याइले उनलाई किताबसँग झन् नजिक पुर्‌यायो । कलेज जीवनमा त उनी किताबसँग एकाकार नै भइसकेका थिए । उनी सम्झिन्छन्, ‘मधुपर्कमा जस्तो लाग्छ, वर्ष–अंक त बिर्सेँ, कभरचाहिँ हरियो थियो ।

saurav2

त्यहाँ कसैले इच्छा व्यक्त गरेको पढेँ– कतै समुद्र होस्, एकान्त होस् । किनारमा बेन्च होस् । दायाँबायाँ रूख हुन् । चिया र कफी बरोबर सर्भ भइरहोस् । नयाँ–नयाँ म्यागेजिन लिएर बस्न पाइयोस् । म ठ्याक्कै त्यही मोडमा थिए ।’ त्यो पढिसकेपछि उनलाई लाग्यो, त्यसरी पढ्न चाहने मान्छे उनी मात्रै एक्लो होइन रहेछन् नि यो संसारमा । त्यसले उनलाई किताबको प्रेममा डुब्न अझ उत्प्रेरित गर्‌यो ।

उनले कलेजमा पत्रकारिता पढे र पत्रकारिता नै पेसा अपनाए । पत्रकारिताले उनलाई लेखनको संसारमा पुर्‌यायो । लेखनका लागि अद्यावधिक अध्ययन जरुरी भयो । त्यसपछि त किताबसँगको साथ अनिवार्य नै बन्यो । यही क्रममा उनको मौलिक पठन निर्माण भयो, पढ्ने तरिकाको विकास भयो । लेखनमा त्यही अध्ययन उपयोग हुन थाल्यो । उनी ध्यानको अवस्थामा रहेर पढ्ने पाठक हुँदै हलचल मच्चाउने लेखक बने ।

सौरभ मेचमा बसेर पढ्न सक्दैनन् । सुतेर पढ्दा आँखा कमजोर हुन्छ भन्ने थाहा पाउँदा पनि उनले बानी परिवर्तन गर्न सकेनन् । उनी भन्छन्, ‘मलाई पढ्दा कम्प्लिट रिल्याक्सिङ मोड चाहिन्छ । चराचुरुंगीको पनि आवाज नआओस् । नत्र पढेको कुरा मनमा बस्दै–बस्दैन ।’ उनी पढ्नुलाई ध्यान ठान्छन्, संज्ञाशून्य भएर पढ्छन् ।

पढ्दा कम्प्लिट रिल्याक्सिङ मोड चाहिन्छ। चराचुरुंगीको पनि आवाज नआओस्। नत्र पढेको कुरा मनमा बस्दै बस्दैन।

पुस्तक छान्दा उनी लेखकको नामलाई ध्यान दिँदैनन् । मनपर्ने विषय देख्नेबित्तिकै किन्छन् र पढ्छन् । जोसुकैले सिफारिस गरेको भए पनि केही पेज पढिसक्दा तानेन भने जबर्जस्ती पढ्दैनन् । नाम चलेका, ‘बेस्टसेलिङ’ वा चर्चामा रहेका लेखकको ‘फण्डा’ले उनलाई छुँदैन । ‘हदै भयो र पछि पढ्न मन लागेको बेलामा नपाइएला भन्ने लाग्यो भने किनेरचाहिँ ल्याउँछु ।

तर, पढ्छु नै भन्ने छैन,’ उनी भन्छन् । आत्मवृत्तान्त, जेलजर्नललगायत विश्वेश्वरप्रसाद कोइरालाका त्यसैमध्येका किताब हुन् । प्रकाशन हुनेबित्तिकै किने पनि उनले ती किताब पढेका छैनन् । नाम नसुनेका र सामान्य लेखकले भने उनलाई आकर्षित गरिहाल्छन् । उनको तर्क छ, ‘चर्चामा रहनेको ज्ञान त पत्रपत्रिकामार्फत पनि आइरहन्छ ।

तर, चर्चामा नरहनेको ज्ञान त किताब पढिएन भने छुट्छ । त्यसैले पनि म त्यस्ता लेखक खोजी–खोजी पढ्छु ।’ प्रकाशित भएपछि कसै न कसैले त पढिदिनुपर्छ भन्ने भावनाले पनि नाम नसुनिएका लेखकको किताब पढ्ने जिम्मेवारी लिन्छन् उनी । ‘कपि इडिटिङ’ गरेकोभन्दा नगरेको किताबमा बढी प्राकृतिकपन पाइने उनको अनुभव छ ।

सौरभका कतिपय पठनबानीले मानिसलाई आश्चर्यमा पार्छन् । जस्तो उनले झण्डै १० वर्ष उल्टोबाट मात्र पुस्तक पढे । पछिल्लो परिच्छेदबाट सुरु गर्थे र अघिल्लो परिच्छेद अन्तिममा पढ्थे । त्यसरी पढ्नु खस्रो ढुंगामा घिरिली खेल्नुझैं लाग्थ्यो उनलाई । त्यो खस्रोपनले मस्तिष्क दर्फर्‌याउँदा उनलाई सम्झन झन् सजिलो भयो ।

saurav-1

तर, अहिले भने उनले त्यसरी पढेका छैनन् । पुस्तक पढ्दा उनी कहिल्यै भूमिका छुटाउँदैनन् । भूमिका पढ्दा त्यसले ‘प्रोजेक्सन’ गर्न खोजेको विषय थाहा हुने र पछि पुस्तकमाथि दृष्टिकोण निर्माण गर्न सजिलो हुने गरेको उनको अनुभव छ । त्यसक्रममा किताब नै नबुझी भूमिका लेखेको पनि उनले धेरै
भेटेका छन् ।

किताब खोज्दा उनी ‘ब्याकपेज इन्डेक्सिङ’लाई पनि उत्तिकै महत्व दिन्छन् । पछिल्लो समय त उनले कति किताब ‘इन्डेक्स’ नभएकै कारण पढेनन् । उनी भन्छन्, ‘मैले मनोरञ्जनका लागि मात्रै पढ्ने होइन । त्यसैले कुनै पनि सन्दर्भ खोज्न सजिलो हुनुपर्छ । त्यसैले म आफ्नो पुस्तकमा पनि इन्डेक्स राख्छु र पढ्ने पुस्तकमा पनि त्यही खोज्छु ।’

किताब पढ्नु मात्रको सौरभ कुनै अर्थ देख्दैनन् । हजारौं प्रति छापिएको किताबको आफू पनि एउटा पाठक हुनुले केही फरक नपर्ने उनको बुझाइ छ । त्यसैले उनी किताब पढ्नकै लागि पनि बढी समय खर्च गर्छन् र त्यसको तेब्बर समयचाहिँ त्यसबारे चिन्तन गर्न । ‘त्यसो गर्न सकिए मात्रै किताबले दिन खोजेको ज्ञानलाई ग्रहण गर्दै अर्को फराकिलो क्षितिजमा पुग्न सकिन्छ ।

नत्र त किताबकै दास भइन्छ । फलानो किताबमा त्यस्तो लेखेको छ, त्यही हो भनेर बसिन्छ,’ उनले भने । त्यसैले उनलाई लाग्छ– राम्रो पाठक बन्नका लागि पानीसँगै बगेर आउने माछा होइन, उल्टो धारमा पौडिने बन्न सक्नुपर्छ ।

किताब छान्दा पनि कसैको सिफारिस वा समीक्षाबाट प्रभावित भएर मात्र होइन, आफ्नै बुद्धिले छान्नुपर्ने उनको धारणा छ । जसले सिफारिस गरे पनि आफ्नै मनोविज्ञानअनुसार गर्ने हुँदा किताब छान्दा सधैँ आफ्नै रूचिअनुसार छान्नुपर्ने उनको तर्क छ ।

सौरभको सम्झिने क्षमताले जोकसैलाई चकित बनाउँछ । आफूले पढेका पुस्तकको कथ्य र तथ्य दुवैमा उनी सधैँ निश्चिन्त भएर बहस गरिरहेका हुन्छन् । सघन पठन र गहिरो चाख नै व्यवस्थित मस्तिष्क–अभिलेखको राज हो । उनी भन्छन्, ‘किताबमा भएका साह्रै झिना–मसिना कुरा सम्झिन त मलाई पनि अरूलाई जस्तै गाह्रो हुन्छ ।’

 राम्रो पाठक बन्नका लागि पानीसँगै बगेर आउने माछा होइन, उल्टो धारमा पौडिने बन्न सक्नुपर्छ।

उनी किताब तीन कोणबाट पढ्छन् । पहिलो, ‘रिडिङ ओपन–स्पेस बिटविन प्रिन्टेड लाइन’ अर्थात् नभनिएको तर भन्न खोजेको कुरा खोज्दै पढ्ने । दोस्रो, किताबमा नयाँ तथ्य, व्याख्या, बलियो पक्ष, विसंगति आदि विष्लेषण गर्दै निचोडमा आफूले प्राप्त गर्ने ज्ञान खोज्दै पढ्ने । र, समसामयिक विश्व, समाज र विचारमा उक्त किताबको सम्बन्ध खोज्दै पढ्ने । ‘यसरी पढ्दा किताबमा के कुरा नयाँ छ, के फाल्तु छ भन्ने मोटामोटी मनमा हेक्का भइसक्छ,’ उनले अनुभव सुनाए ।

सौरभ अध्ययन मात्रै गर्दैनन्, त्यसलाई अनुभवमा बदल्छन् । यात्राले त्यसो गर्न सघाउने उनको अनुभव छ । उनी भन्छन्, ‘यात्राले निरीक्षणको मौका दिन्छ । प्रश्नहरू जन्माउँछ, उत्तर खोज्न प्रेरित गर्छ । कति उत्तर त यात्राकै क्रममा पाइन्छ पनि ।’ त्यसैले उनी पढ्नकै लागि यात्रा गर्छन् । उनले २/४ दिनदेखि महिना दिनसम्म पठन–यात्राका लागि खर्चेका छन् ।

त्यस्तो यात्रामा जाँदा उनी सामान्य होटलमा बस्छन् । एउटामा बस्छन्, अर्कैमा खाना खान्छन् । वरिपरिका ठाउँ घुम्छन् र पसलमा चिया पिउँछन् । त्यहाँ भेटिएकाहरूसँग गफ गर्छन् । त्यसो गर्दा किताबमा पढिरहेको विषयको परीक्षण र निरीक्षण त हुने नै भयो, लेखनका लागि नयाँ विषय पनि भेटिन्छन् । लेखनका लागि तुरुन्तै विषय नभेटिए पनि वर्षौंपछि त्यस्तो संवाद र अध्ययन काम लाग्ने गरेको अनुभव उनीसँग प्रसस्तै छन् ।

saurav3

सौरभले ०३८ सालदेखि केही अपवादबाहेक साहित्यिक किताब पढेका छैनन् । नेपाली साहित्यिक वृत्तमा हुने ‘लुजटक’ तथा त्यहाँ देखिने ईष्र्या र जलनको संसारका कारण उनी साहित्यबाटै विरक्तिएका हुन् । सिर्जनशीलता कम र आयातीत विचारको हाडखोर बढी भेटिने नेपाली साहित्यको तीतो अनुभवले साहित्यबाट टाढा पुर्‌याए पनि उनले प्रारम्भिक कलेजकालमा प्रसस्तै आख्यान पढेका हुन् ।

उनी तर्क दिन्छन्, ‘१० रुपैयाँ ग्लासमा पाइने थोत्रो चप्पल डुबाएर बनाएको वासः खाएर हजारौं रुपैयाँको स्तरको कथा कसरी जन्माउन सकिन्छ ? नेपाली साहित्यमा त्यस्तै देखेँ । त्यसैले मलाई ठीक लागेन ।’गैरसाहित्यका हरेक पुस्तकमा नयाँ संसार भेटिने हुनाले आफूले रोमाञ्च अनुभूत गर्ने गरेको उनी बताउँछन् । त्यसैले उनले आख्यान लेख्ने पनि सोचेनन्, गैरआख्यान नै लेखे ।

उनलाई एक्लोपनाले पठनमा तानेजस्तै पाठकको मायाले लेखनमा तान्यो । ‘पहिलो चरणमा मैले लेख्दा नबुझिएको गुनासो आउँथ्यो । तर, पत्रकारहरूले स्थान दिइरहे । पाठकले पनि पढिरहे । त्यसैले पाठकलाई ध्यान दिएर अहिले त अलिक सरल नै लेख्छु,’ तेस्रो किताबको तयारी गरिरहेका सौरभले मुस्कुराउँदै भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.