किसुनजी, क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नुहोला !

किसुनजी, क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नुहोला !

हामी एकदुई अपवादबाहेक कोइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो । यस्तै अनेकन भावनात्मक लगावको कारणले नोना कोइरालाले यसलाई आफ्नो निजी कोठा बनाउनुभएको थियो ।

किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लगाएर त्यही भुइँमा बस्नुभएको थियो । कोइराला वर्चस्वको पारिवारिक माहोलमा किसुनजीको बज्रासनले उहाँलाई एउटै सतहमा बसेकाहरूमध्ये सबैभन्दा अग्लो बनाएको थियो ।

गिरिजाबाबु त्यहाँ हुनुहुन्थेन । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलोपटक विराटनगर कोइरालानिवास पुग्नुभएको थियो । नोना कोइरालालाई उहाँ सधैं नोनाजी भनी सम्बोधन गर्नुहुन्थ्यो । उसबेलासम्म गिरिजाबाबु प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन । अन्तरिम सरकार थियो । संविधान नै आएको थिएन ।

निर्वाचन नै भएको थिएन । यसबेला किसुनजी सबै कांग्रेसजनका आँखाका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भुइँमा थिएनन् । दुस्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यसबेला सबैभन्दा प्रिय पात्र जो थिए ।

फेरि किसुनजी नोनाको लागि नेता मात्र थिएनन्, रामनगरकी छोरी नोनाको लागि किसुनजी पारिवारिक पुरोहितका वंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाइँमा कोइरालाहरूको इगो सफल भएको प्रतीकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो ।

हामी मस्का भन्छौ नि, मस्का लगाउने ! किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो । हामीतिर हेर्दै भन्नु भो, बुझ्नु भो, म जेलमा हुँदा सधैं नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थें । सात सालमा विराटनगर मजदुर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिलासमेत नौजनालाई विराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्‍याएको स्मरण गर्दै नोनालाई सोही परिवारका वीरांगना भन्दै हुनुहुन्थ्यो ।

नोनाले पस्कनुभएको रेड लेबल ह्विस्कीका केही पेगपछि किसुनजी अचानक गम्भीर हुनुभयो । विस्तारै उहाँका कुरा बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गयो । बद्री बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल थियौं । यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नु भो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले सोह्र वर्षसम्म जेल बस्न सकें हुँला ?

यो सबैको लागि समस्या खडा गर्ने जिज्ञासा थियो । संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी स्वभावका रमाइलो र व्यवहारका कुशाग्र— यो र यसभन्दा धेरै अन्तरनिहित अदृश्य ज्ञानगुनका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नु भो, यो भन्ने सामथ्र्य त्यहाँ कसैमा थिएन ।

‘शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालीन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे । हिन्दुहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरूमै हुन्छ । शक्तिका अगाडि सँगै जेलमा रहेका श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरीहरू टिक्न सकेनन् । म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र ? '

किसुनजीमा जीवनका तत्वबोधहरूले ठाउँ ओगट्दै गएको थियो । हामी सब मौन रहेर, किसुनजीका कुरा गमिरहेको देखाएर मौन दार्शनिक भइसकेका थियौं । अर्थशास्त्रीको बारेमा भन्छन् नि, चारजना घाघडान अर्थशास्त्रीबीच बसेका पाँचौं अज्ञानी त्यतिन्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका बारेमा बोल्दैनन् । किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं । म त निश्चय नै ।

किसुनजी, तपाईंप्रति मैले सानोतिनो अपराध गरेँ पनि, तपाईंले आफ्नै जीवनकालमा ती कुरालाई विस्मृतिमा थन्काए पनि सोच्दछु, ती दुर्दिनहरूबाट हामी नगुज्रिएको भए कति राम्रो हुन्थ्यो ।

तर ससाना कुरामा रिसाउने, असन्तुष्ट भइरहने, हरबखत आफूमै पुरुषार्थ देख्ने हाम्रा लागि भने यो गह्रुँगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा अडिग भई जेलमा बस्न सक्नुभयो !

उहाँ भन्दै हुनुहुन्थ्यो, नोनाजी, राममणि आचार्य दीक्षितजस्ता उसबेलाका प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे ‘किसुनजी, मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस् । जेलबाट रिहा हुनोस् र गर्नुस् राजनीति' भन्थे । धेरैले यसो गरेका पनि थिए ।

कतिपय पटक आफू गलेको र भोलि बिहानै छुट्ने बाटोमा बढ्ने प्रबल इच्छा बन्ने गरेको निश्चयी भएर राति सुत्ने गरेको सुनाउनुभयो । तर बिहान विषम् अवस्थामा प्रतिदिन बिताउने गरेका साथीभाइहरूको प्रतिबद्धताबाट आफूले ती कुरा बिर्सने गरेको उहाँले सुनाउनुभयो ।

‘धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन् । होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यही प्रारब्धले बाह्य परिणाम दिन्छ ।

प्रतिकूलतासँग लड्ने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरें र म यत्रो लामो समयसम्म टिक्न सके..!' किसुनजीले कमसेकम मलाई त यन्त्रवत् श्रोता बनाउनुभएको थियो त्यस राति । ह्विस्की फिका भएको थियो । जीवनमा अमिट रंग थपिएको थियो । मध्यरात्रिसम्म सम्झेर ती कुरा लेखिबसें ।

उहाँले नोना आमातिर उन्मुख हुँदै भन्नुभयो, नोनाजी, यही त्यो कुरा हो, जो तपाईंको कुल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो । मैले राम्ररी ठ्म्याएको थिएँ, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो ।

म आज सम्झन्छु, थोरै समयमा सबै कुरा कसरी फेरियो । नियतिले हामीलाई कहाँकहाँ पुर्‍यायो । कांग्रेस जो एउटा समभाव, सद्भाव तथा सहकार्यको कुल थियो, आपस्तमा, एकअर्काको लागि घोर प्रतिकूल भयो । हामीमध्ये धेरै जो जीवनभर किसुनजीप्रति अभिभूत रहेका थियौं, उहाँ चुनाव हार्नोस् चाह्यौं । धेरथोर लाग्यौं पनि । म पनि लागें ।

किसुनजी, तपाईंप्रति मैले सानोतिनो अपराध गरें पनि, तपाईंले आफ्नै जीवनकालमा ती कुरा विस्मृतिमा थन्काए पनि सोच्दछु, ती दुर्दिनहरूबाट हामी नगुज्रिएको भए कति राम्रो हुन्थ्यो । क्षमा गर्नुपर्ने हदसम्म क्षमा गर्नुहोला ! तपाईंको ९३ औं जन्मजयन्तीका मौकामा म ऋणीको भावपूर्ण श्रद्धासुमन अर्पित छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.