सुन्दर देशको परिकल्पना
पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभाले संविधान त दियो तर लगत्तै नाकाबन्दी भयो । मधेश आन्दोलन भयो । विभिन्न ठाउँमा झडप भए । यस्ता घटनाले कलाकार एससी सुमनलाई लागिरह्यो– देशमा केही न केही त मिलिरहेको छैन । त्यसैले उनले नेपाल कस्तो हुनुपथ्र्यो भनेर परिकल्पना गरे । यही परिकल्पनास्वरूप उनले ४० चित्रको ‘सेरिज’ तयार पारे । प्रस्तुत चित्र त्यही ‘सेरिज’अन्तर्गत बनेको हो ।
उनले यो चित्रलाई ‘भिलेज स्टोरी–१’ शीर्षक दिएका छन् । तर, यसले एउटा गाउँको मात्रै होइन, सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने उनी बताउँछन् । प्रकृतिलाई महत्व दिइएको चित्रमा रूख, चरा र जनावर प्रसस्त देख्न सकिन्छ । सुमन भन्छन्, ‘प्रकृतिसँग जोडिएर चलिरहेको मान्छेको जीवन यहाँ प्रस्तुत गरेको हुँ ।’
चारथरी रङहरूको प्रयोग गरेर सूर्य बनाइएको छ । चार रङले ऋतु परिवर्तनलाई संकेत गर्छन् । सुमन भन्छन्, ‘ऋतु सधैँ एउटै हुँदैन । अनुशासित जीवन जिउनेलाई ऋतु परिवर्तनले डोर्याएको हुन्छ ।’ पेन्टिङ आफैंमा पनि प्रकृतिको सुगन्धमय छ । पारिजातको फूल, बेसार, गाईको गोबरबाट रङ बनाएर पोतिएको छ । रूख सीधा छैनन्, मानौँ ती नाचिरहेका छन् ।
पेन्टिङ हेर्दा रुख नाचिरहेका तथा चरा गाइरहेका अनुभव होस् भन्नेमा आफूले ध्यान दिएको सुमन बताउँछन् । उनी भन्छन्, ‘प्रकृतिको आफ्नै संगीत छ ।’ तुलसी मठको दृश्यमार्फत प्रकृति संरक्षणको विम्ब पोतिएको छ । चित्रमा किसानहरू धान रोप्दैछन् । विवाह गरेको दृश्य छ, हात्तीमा बेहुला–बेहुली छन् । यस्ता दृष्यले खुशी संकेत गर्छन् ।
यस्तै, माछा व्यापार गरिरहेका र तरकारी बेचिरहेकाहरू देखिन्छन् । योचाहिँ देशका लागि नागरिकले निर्वाह गरिरहेको जिम्मेवारीको विम्ब हो । हिमाल, पहाड र तराई पोतेर उनले चित्रमा समग्र नेपाल उतार्न खोजेका छन् । इनारमा पानी भर्दै गफ गरिरहेका महिलाले उनीहरूको ‘पब्लिक स्पेस’ इंगित गरिरहेको छ ।
झ्यालबाट चियाइरहेकी महिलामार्फत संविधानले दिए पनि अधिकार उपभोग गर्न नपाएका महिलाको पीडा पोखिएको छ । झोला बोकेर स्कुल जाँदै गरेकी केटी देखाएर छोरीलाई शिक्षाको महत्व दर्शाएका छन् ।सुमनले चित्रलाई आकर्षक बनाउन विभिन्न रङ प्रयोग गरेका छन् । किनारामा आकर्षक फूल बनाएका छन् । साधारण जनजीवनको उमंगलाई चित्रमा उत्रिएको छ ।
नीलो आकाशमा चम्किरहेका ताराहरू खुशीका प्रतीक हुन् । धेरै प्रयोग गरिएको सुन्तला रङले उमंगलाई नै विम्बित गर्छ । रूखका पातमा भने उनले हरियो होइन, श्यामश्वेत रङ पोतेका छन् ।मान्छेको दुःखलाई अभिव्यक्त गर्न उनले श्यामश्वेत रोजेका हुन् । ‘मान्छेलाई खुशी देखाउन मैले नीलो र सुन्तला रङ चलाएँ । तर, मान्छेमा दुःख पनि छन् । दुःखभित्र सुख खोज्नु परेको छ ।
संघर्ष गर्नुपरेको छ । त्योचाहिँ श्यामश्वेत रङमा देखाएको छु,’ उनी भन्छन् । दुई वर्षअघि तीन साता लगाएर बनाएको यो चित्रमा सुमनले आफ्नो देश प्रतिविम्बित गर्ने परिकल्पना गरेका थिए । पेन्टिङ बनिसकेपछि उनलाई लाग्यो, ‘परिकल्पनाभन्दा पनि सुन्दर पो बनेछ चित्र त !’
प्रतिक्रिया दिनुहोस !