सुन्दर देशको परिकल्पना

सुन्दर देशको परिकल्पना

पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभाले संविधान त दियो तर लगत्तै नाकाबन्दी भयो । मधेश आन्दोलन भयो । विभिन्न ठाउँमा झडप भए । यस्ता घटनाले कलाकार एससी सुमनलाई लागिरह्यो– देशमा केही न केही त मिलिरहेको छैन । त्यसैले उनले नेपाल कस्तो हुनुपथ्र्यो भनेर परिकल्पना गरे । यही परिकल्पनास्वरूप उनले ४० चित्रको ‘सेरिज’ तयार पारे । प्रस्तुत चित्र त्यही ‘सेरिज’अन्तर्गत बनेको हो ।

उनले यो चित्रलाई ‘भिलेज स्टोरी–१’ शीर्षक दिएका छन् । तर, यसले एउटा गाउँको मात्रै होइन, सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने उनी बताउँछन् । प्रकृतिलाई महत्व दिइएको चित्रमा रूख, चरा र जनावर प्रसस्त देख्न सकिन्छ । सुमन भन्छन्, ‘प्रकृतिसँग जोडिएर चलिरहेको मान्छेको जीवन यहाँ प्रस्तुत गरेको हुँ ।’

चारथरी रङहरूको प्रयोग गरेर सूर्य बनाइएको छ । चार रङले ऋतु परिवर्तनलाई संकेत गर्छन् । सुमन भन्छन्, ‘ऋतु सधैँ एउटै हुँदैन । अनुशासित जीवन जिउनेलाई ऋतु परिवर्तनले डोर्‌याएको हुन्छ ।’ पेन्टिङ आफैंमा पनि प्रकृतिको सुगन्धमय छ । पारिजातको फूल, बेसार, गाईको गोबरबाट रङ बनाएर पोतिएको छ । रूख सीधा छैनन्, मानौँ ती नाचिरहेका छन् ।

पेन्टिङ हेर्दा रुख नाचिरहेका तथा चरा गाइरहेका अनुभव होस् भन्नेमा आफूले ध्यान दिएको सुमन बताउँछन् । उनी भन्छन्, ‘प्रकृतिको आफ्नै संगीत छ ।’ तुलसी मठको दृश्यमार्फत प्रकृति संरक्षणको विम्ब पोतिएको छ । चित्रमा किसानहरू धान रोप्दैछन् । विवाह गरेको दृश्य छ, हात्तीमा बेहुला–बेहुली छन् । यस्ता दृष्यले खुशी संकेत गर्छन् ।

यस्तै, माछा व्यापार गरिरहेका र तरकारी बेचिरहेकाहरू देखिन्छन् । योचाहिँ देशका लागि नागरिकले निर्वाह गरिरहेको जिम्मेवारीको विम्ब हो । हिमाल, पहाड र तराई पोतेर उनले चित्रमा समग्र नेपाल उतार्न खोजेका छन् । इनारमा पानी भर्दै गफ गरिरहेका महिलाले उनीहरूको ‘पब्लिक स्पेस’ इंगित गरिरहेको छ ।

झ्यालबाट चियाइरहेकी महिलामार्फत संविधानले दिए पनि अधिकार उपभोग गर्न नपाएका महिलाको पीडा पोखिएको छ । झोला बोकेर स्कुल जाँदै गरेकी केटी देखाएर छोरीलाई शिक्षाको महत्व दर्शाएका छन् ।सुमनले चित्रलाई आकर्षक बनाउन विभिन्न रङ प्रयोग गरेका छन् । किनारामा आकर्षक फूल बनाएका छन् । साधारण जनजीवनको उमंगलाई चित्रमा उत्रिएको छ ।

नीलो आकाशमा चम्किरहेका ताराहरू खुशीका प्रतीक हुन् । धेरै प्रयोग गरिएको सुन्तला रङले उमंगलाई नै विम्बित गर्छ । रूखका पातमा भने उनले हरियो होइन, श्यामश्वेत रङ पोतेका छन् ।मान्छेको दुःखलाई अभिव्यक्त गर्न उनले श्यामश्वेत रोजेका हुन् । ‘मान्छेलाई खुशी देखाउन मैले नीलो र सुन्तला रङ चलाएँ । तर, मान्छेमा दुःख पनि छन् । दुःखभित्र सुख खोज्नु परेको छ ।

संघर्ष गर्नुपरेको छ । त्योचाहिँ श्यामश्वेत रङमा देखाएको छु,’ उनी भन्छन् । दुई वर्षअघि तीन साता लगाएर बनाएको यो चित्रमा सुमनले आफ्नो देश प्रतिविम्बित गर्ने परिकल्पना गरेका थिए । पेन्टिङ बनिसकेपछि उनलाई लाग्यो, ‘परिकल्पनाभन्दा पनि सुन्दर पो बनेछ चित्र त !’

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.