राष्ट्रवादको व्योम शाह

राष्ट्रवादको व्योम शाह

पृथ्वीनारायण शाह को हुन् ? यिनले इतिहासमा निर्वाह गरेको ऐतिहासिक भूमिकालाई कसरी मूल्यांकन गर्ने ? यी यावत् विषयलाई इतिहासले महान् पहलकदमीको रूपमा मूल्यांकन गरेर नेपाल आमाको छातीमा स्वर्णिम अक्षरले कुँदिसकेको छ । तर पछिल्लो समय यो विषयलाई पश्चिमा साम्राज्यवादीको गुरुयोजनामा घरेलु प्रतिगामी राष्ट्रघाती दलालहरूले अनावश्यक रूपमा भ्रम छर्ने र इतिहास तोडमोड गर्ने दुस्साहस गरेको पाइन्छ । नेपालको इतिहासमा पृथ्वीनारायणबारे भ्रम छर्नुपर्ने र अवमूल्यन गर्नुपर्ने कुनै कारण छैन । किनकि पृथ्वीनारायण तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका वीर योद्धा हुन् ।

प्लेखानोभको भनाइ छ, 'इतिहासका महापुरुष आफ्नो समयका सामाजिक सम्बन्धका उपज हुन् र तिनीहरू सामाजिक आवश्यकताअनुरूप जन्मिन्छन् ।' यसैले पृथ्वीनारायण नेपालको इतिहासमा द्वन्द्ववादी, दूरदर्शी, विलक्षण प्रतिभाका धनी, आधुनिक राष्ट्र नेपालका निर्माता हुन् भनेर बुझ्नु नै उनीप्रति र राष्ट्रप्रतिको सच्चा मूल्यांकन हुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको भनाइ छ, 'एकीकरण अभियान समयको आवश्यकताको द्योतक हो ।' त्यसैले इतिहासको मूल्यांकन गर्दा पूर्वाग्रही ढंगले गर्नु हुँदैन । इतिहासको मूल्यांकन गर्दा वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरी भौतिकवादी सिद्धान्तको जगमा टेकेर गर्नुपर्छ ।

यही मूल्यांकनको विधि नै न्यायसंगत र वैज्ञानिक हुन्छ । एउटा सानो गोर्खा राज्यका राजा पृथ्वीनारायणले विशेष योजनाका साथ आफ्ना भाइभारदारको सहयोगमा विशाल राष्ट्र नेपाल निर्माण गर्ने महान् अभियान तथा क्रान्ति छेड्ने कुरा सामान्य थिएन । आधुनिक राष्ट्र निर्माण गर्न दृढसंकल्पका साथ उनले आवश्यक तपसिलका राजनीतिक, कूटनीतिक तथा सामरिक आदि कार्यनीति रणनीति अपनाएका थिए । जुन तत्कालीन इतिहासले उजागर गरेको पाइन्छ ।

प्रतिद्वन्द्वीसँग वैवाहिक र मितेरी सम्बन्ध कायम गर्ने । व्यापारिक घाँटीको नाकाबन्दी गर्ने । युद्ध उपर्युक्त किल्लाको अधिग्रहण र सैनिक चौकीको स्थापना । सैनिक शक्ति वृद्धिको लागि आधुनिक खरखजानाको जोरजम्मा गर्ने । विजय प्राप्त क्षेत्रका जनताको अधिकारसहितको सुरक्षा गर्नुका साथै सामाजिक न्याय दिने र युद्धमा सहभागी भाइभारदारलाई यथोचित मर्यादा गर्ने । उपर्युक्त नीतिका साथ पृथ्वीनारायणले नेपाली जातिको साँघुरो घेरालाई फराकिलो बनाउने कदम अगाडि बढाए । यही सूत्रले उनलाई नेपाली एकीकरण गर्न सघायो ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' भन्नुहुन्छ, 'यो एकीकृत केन्द्रीय राज्य सत्ता निर्माणको कार्य वस्तुगत रूपमा आवश्यक र प्रगतिशील हो ।' पृथ्वीनारायणले उपत्यका हात पार्नुभन्दा पहिल्यै नेपाल (काठमाडौं) उपत्यका छिरेर आफ्नो प्रभाव विस्तार गरिरहेका क्रिश्चियन पादरीहरूलाई देश निस्कासनको आज्ञा जारी गर्छन् ।

इस्ट-इन्डिया कम्पनीको जासुसको रूपमा नेपालमा कार्यरत पादरीहरूले नेपाललाई विखण्डन गर्ने र धर्मको व्यापक धर्मान्तरण गराई क्रिस्चियन देश बनाउने केपुचिन पादरीको षड्यन्त्रलाई चकनाचुर पार्न पृथ्वीनारायणले पादरीहरूको हुर्मत लिएका थिए । यसबाट के प्रस्ट हुन्छ भने पृथ्वीनारायण ब्रिटिस साम्राज्यवादका हरेक हत्कण्डाविरुद्ध सशक्त रूपमा लडेर राष्ट्रिय स्वाभिमान र विशाल राष्ट्र निर्माणको अभियानमा दृढ संकल्पित थिए ।

पृथ्वीनारायणले भनेका थिए, 'बडा दुःखले जोरेको अधिराज्यलाई देशका छोटा, बडा सबैले साझा फूलबारी सम्झेर रक्षा गर्नु, भोगविलासतिर कोही नलाग्नु, आपसमा मेलजोल गरेर रहनु ।' यस्ता राष्ट्रवादी पृथ्वीनारायणलाई केही राजनीतिक दलका स्वार्थी, भ्र्रष्ट, दसगजामा अवरोध सिर्जना गरी नेपाल आमाका छातीमा ढुंगा बर्र्साएर भारतसँग मिलेर नाकाबन्दी गर्ने, असमान तथा राष्ट्रघाती सन्धि-सम्झौता गर्ने कथित नेताहरूले साम्राज्यवादीको इसारामा अपमान गर्दैमा राष्ट्रनिर्माताको ओज घट्दैन ।

विशाल राष्ट्र निर्माणको महान् अभियान नेपालको इतिहासको स्वर्णिम अध्याय हो । पृथ्वीनारायणको उक्त महान् अभियानलाई गोरखाको सानो थुम्के राजाको ठूलो देशको राजा बन्ने दाउको रूपमा बुझ्नु गल्ती हुन्छ । युद्धमा भएका सामान्य कमीकमजोरी औँल्याउँदै पृथ्वीनारायणमाथि अनावश्यक अनुचित आक्रमण गर्नु देशभक्त नेपालीको लागि शोभनीय हुँदैन ।

नेपालको इतिहासमा पृथ्वीनारायणबारे भ्रम छर्नुपर्ने र अवमूल्यन गर्नुपर्ने कुनै कारण छैन । किनकि पृथ्वीनारायण तत्कालीन वस्तुगत परिस्थितिको आवश्यकताले जन्माएका वीर योद्धा हुन् ।

तत्कालीन विश्व परिवेशमा छरिएर रहेका ससाना भुरेटाकुरे, राज्यहरूलाई लोकतान्त्रिक अभ्यासबाट एकत्रित गरी राष्ट्रनिर्माण गर्न सम्भव थिएन । त्यतिबेला शान्तिपूर्ण विधिबाट राष्ट्र निर्माण भएको इतिहास संसारमै कहींकतै पनि भेटिँदैन । अहिलेको विश्वमा अस्तित्वमा रहेका प्रायः सबै राष्ट्रको जन्म त्यहाँका कुनै न कुनै वीर राजा तथा वीर सेनापति शासकले नेतृत्व गरेको हतियारबद्ध युद्धको प्रक्रियाबाटै हुन पुगेको छ ।

रूसका राष्ट्रनिर्माता सम्राट् जार, चीनका राष्ट्र निर्माता सी ह्वाङ ती, जर्मनका विस्मार्क, फ्रान्सका नेपोलियन, भारतका अशोक आदि देशहरू वीर राजा वा सेनापतिको नेतृत्वमा भएका युद्धको विधिबाटै निर्माण भएका हुन् । आज रूस, चीन, जर्मन, फ्रान्स, भारतका हरेक कम्युनिस्ट पार्टीलगायतका राजनीतिक पार्टीहरू एवं विभिन्न समुदायहरूले त्यहाँको राष्ट्रनिर्माण गर्ने वीर सम्राट् तथा राष्ट्र निर्माताप्रति सच्चा सम्मान गर्न कुनै कञ्जुस्याइँ गर्दैनन् ।

तर हाम्रो देशमा ठीक उल्टो छ । विदेशी राष्ट्र प्रमुख आउँदा सार्वजनिक बिदा दिने तर आफ्नो राष्ट्रनिर्माताको बेवास्ता गर्नु कुनै अर्थमा पनि तर्कसंगत हुन सक्दैन । हामीले हाम्रो सभ्यता र इतिहासको उपहास गर्ने होइन, उच्च सम्मान र उचित मूल्यांकन गर्न विलम्ब गर्नु हुँदैन । राष्ट्रिय भावना जागृत गराइराख्न राष्ट्रनिर्माता र विभूतिहरूको सम्मानमा राष्ट्रिय पर्वको रूपमा उत्सव मनाउने कार्य गर्न राज्यस्तरबाट अनिवार्य छ । यसो गर्न सकेमा राष्ट्रियतालाई थप मजबुत बनाउने आधार प्रशस्त हुन्छ र यही जगमा राष्ट्रिय एकता, शान्ति तथा समृद्धि प्राप्त गर्न सकिन्छ ।

आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्यांकन गर्दा तत्कालीन वस्तुगत परिस्थितिको टड्कारो आवश्यकता एवं अपरिहार्यताको रूपमा महत्त्वपूर्ण कदम भनेर बुझ्नु वैज्ञानिक हुन्छ । यसै सन्दर्भमा इतिहासमा व्यक्तिको भूमिकाबारे एंगेल्स भन्नुहुन्छ, 'महापुरुषहरू जन्मिनुमा सामाजिक साँचोले आधारको काम गर्छ, मानिसमा भएको विशिष्ट क्षमताले उसलाई समाजकै वक्ता बनाइदिन्छ ।' एकीकरण अभियानमा नेपाली पक्षबाट प्रचुर देशभक्तिको भावनाले अभिभुत भई त्याग, वीरता र बलिदानको अपूर्व कीर्तिमान स्थापित गरियो ।

त्यसैले पृथ्वीनारायणको नेतृत्वको एकीकरण अभियानलाई नेपालको इतिहासमा महान् छलांगको रूपमा बुझ्नुपर्छ । पृथ्वीनारायणले राष्ट्र एकीकरण मात्र गरेनन्, उनले दिगो स्थिरता र समृद्धिको लागि केही महत्त्वपूर्ण चिर स्थायी कार्ययोजनासमेत तय गरेर छोडेका छन् । जस्तै- यो राज्य दुई ढुंगाबीचको तरुलजस्तै रहेछ । विदेशको कपडा लगाउन मनाइ गरिदिनू, आफ्ना देशका कपडा बुन्न जानेकालाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु । प्रजा मोटा भए दरबार बलियो रहन्छ ।

घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् आदि । दीर्घकालीन महत्त्वका यस्ता उपदेश एवं योजनाका कारण पृथ्वीनारायण दूरदृष्टि विकासप्रेमी थिए भन्ने स्पष्ट हुन्छ । एकीकरणबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्नुहुन्छ, 'उत्पादक शक्तिको सामान्य विकासले माग गरिरहेको नयाँ उत्पादन सम्बन्धको आवश्यकताले देशमा विद्यमान ससाना राजा-रजौटा कविलाई गणतन्त्रको उपस्थिति अनावश्यक बन्दै गयो । यो वस्तुगत आवश्यकताले एउटै बलियो केन्द्रीकृत सामन्ती राज्यसत्ताको विकास हुन पुग्यो ।

नवोदित र कमजोर राज्य भएर पनि गोरखाका पृथ्वीनारायणको राज्यविस्तार अभियानले सफलता प्राप्त गर्नुको पछाडि यसै वस्तुगत आवश्यकताले काम गरेको तथ्यलाई अवमूल्यन गर्नु ऐतिहासिक भौतिकवादलाई नै नबुझ्नु मात्र ठहर्छ ।'

अहिले राजनीतिक दलहरू आफ्नो मुलुकको स्वर्णिम इतिहास स्मरण क्षमताबाट विचलित भइरहेको सबैले अनुभूत गरेको तीतो सत्य हो । यस संगीन र कठिन परिस्थितिलाई पार लगाउन सक्नु नै सार्वभौम नेपाल निरन्तरताको महायज्ञ हो । लक्ष्यविहीन संघर्षका परिणाम अन्ततः थप कष्टकर स्थिति उत्पन्न हुन पुगेको छ ।

त्यसैले निर्दिष्ट लक्ष्य प्राप्तिको लागि विधिशास्त्रसम्मत, जनमत, देश, काल, परिस्थितिअनुकूल निर्धारित राष्ट्रिय एजेन्डा निसंकोच सर्वस्वीकार्य हुन आवश्यक छ । यसैले राष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय सहमतिको दिशाबोध गर्दछ । साम्राज्यवादी स्वार्थसँग गाँसिएको सीमित सत्ता स्वार्थ अनुनय-विनय, अलाप-प्रलापसितका थोपा हुन् भन्ने सबैले बुझ्नुपर्छ । छद्म प्रतिरोधी अभ्यासको सारमा तात्पर्ययुक्त निष्कर्ष कसैले पनि पाउन सक्दैन ।

समयमै सम्बद्ध पक्षहरू सचेत रहनु नै उपयुक्त हुन्छ । मूल मार्ग छोडेर समयको प्रवाह नबुझ्नेहरू आफैं किनारा लाग्नुको विकल्प छैन । यो शाश्वत सत्य दल एवं राजावादीहरूले समयमै बुझ्नु उपयुक्त हुन्छ । त्रिपक्ष नेपाल, भारत, चीन सहकारी विश्व व्यवस्थाको अनिवार्य अंगको रूपमा विकसित भइरहेको यस परिस्थितिमा हाम्रो राष्ट्रिय समस्याको दिशाबोध तथा समाधानको चुरो यसैअनुरूप छ भन्ने आत्मसात गर्नुपर्छ । यही नै पृथ्वीनारायणलगायतका विभूति एवं सहिदहरूले निर्दिष्ट गरेका राष्ट्रिय एकताको मार्गनिर्देशन हो । यी विविध समयका जनआन्दोलन तथा जनअभिमतको दिशानिर्देश पनि हो ।

-माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.