गणतन्त्र वा लुटतन्त्र ?
क्रान्ति र अग्रगमनका नाममा मुलुकको एकता टुक्र्याउने प्रयास भइरहेकाले त्यसलाई पराजित गर्नु सबैको ऐतिहासिक दायित्व रहेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । समय भड्किसकेपछिको पश्चात्तापको अर्थ रहँदैन भन्दै इतिहासले सुम्पिएको राष्ट्र बचाउने गहन जिम्मेवारी पूरा गर्न शाहले जनतालाई आग्रह पनि गरेका छन् । उनले क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने कार्य असह्य भएको भनेपछि केही नेताहरूको सातो गएको छ ।
गणतन्त्र पक्षधरहरूले पछिल्लो १० वर्ष इतिहासलाई गाली गरेरै बिताए । उनीहरू गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नै महान् उपलब्धि हो भन्दै जनताका आँखामा छारो हाल्ने कोसिस निरन्तर गरिरहेका छन् तर १७ हजारभन्दा धेरै नागरिको ज्यान, हजारौं बेपत्ता एवं घाइते, लाखौं विस्थापित अनि नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको बदलामा नेपाली जनताले महसुस हुने गरी केही पाएनन् । नारायणहिटी दरबार धाउने नेताहरू शक्तिकेन्द्र धाउने गरेको अनि एउटा राजा पाल्दै आएका जनताले सयौं 'नवराजा' पाल्नुपरेको महसुस भने गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले के प्रमाणका आधारमा हत्याकाण्डमा ज्ञानेन्द्रको हात छ भनेर एक दैनिक पत्रिकामा लेख लेखे ? उनले किन आफु प्रधानमन्त्री हुँदासमेत आफैंले दोषी किटान गरेको व्यक्तिलाई छानबिनको दायरामा ल्याएनन् ? कुन शक्तिकेन्द्रको इसारामा जनतामाझ भ्रम छरियो ? शक्तिकेन्द्रहरूले आफैंद्वारा आतंककारी घोषणा गरिएका माओवादीलाई द्वन्द्वकालमा किन सहयोग गरे ?
किन ज्ञानेन्द्रको प्रत्येक क्रियाकलापमा उनको होस उड्ने गर्छ ? नयाँ शक्तिका नाममा नयाँ दाउमा लागेका भट्टराईले जनतालाई जवाफ दिनुपर्दैन ? अहिले शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको प्रतिवेदन खोजी गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा ल्याएका छन् । हत्याकाण्डको पुनः छानबिन हुने कुरा स्वागतयोग्य छ, तर १५ वर्षसम्म चुइँक्क नबोलेका दलहरू कतै पूर्वराजालाई आरोपित गरेर जनतामाझ भ्रम छर्ने खेल त खेलिरहेका छैनन् भन्ने प्रश्न जन्मिएको छ ।
दलहरूलाई जनमतको नभई देशीविदेशी शक्तिकेन्द्रहरूको बढी भरोसा छ । उनीहरूले गणतन्त्रलगायतका विषयमा जनमत लिने आवश्यकतासमेत ठानेनन् र जनमत संग्रहको तर्क गर्नेलाई यथास्थितिवादी, प्रतिगमनकारीजस्ता अनेक बिल्ला भिराउने गरेका छन् । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताबाहेकका सबै विषय जनमतका आधारमा परिवर्तन गर्न सकिन्छ तर जातीयता र क्षेत्रीयताको विषवृक्ष रोप्नेहरू राजतन्त्र शब्ददेखि नै डराउन थालेका छन् । पूर्वराजालाई जेल हाल्ने र देशनिकाला गर्नेजस्ता कुतर्क गरिरहेका छन् ।
गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र पक्षधर नेताहरू भ्रष्टाचारी र दलालीको पर्यायवाची बनिरहे भने जनताले बुलेटबाट नभई ब्यालेटबाटै राजतन्त्र फर्काउने छन् । राजावादी दलहरूले दुईतिहाई बहुमत ल्याएर चुनावी एजेन्डाअनुसार राजतन्त्र फर्काउन सक्छन् । राजसंस्था फर्कियो भने ज्ञानेन्द्र, पारस, श्रुतीपुत्री, पारसपुत्र वा कसलाई राजा बनाउने अनि पूर्वराजा वा नवराजामध्ये कसलाई जेल हाल्ने भन्ने निर्णय पनि जनताले नै गर्नेछन् । संसारभर शक्ति, सम्पत्ति र सत्ताका लागि आफ्नै परिवबारका सदस्यहरूको समेत निर्मम हत्या हुने गरेका छन् ।
साथै निश्चित कालखण्डसम्म विजेताले सत्य लुकाउन वा बंग्याउन सक्छन्, तर भविष्यमा सत्यतथ्य सार्वजनिक भएरै छोड्छ । रहस्यमय वीरेन्द्र वंशनाशको तथ्य पनि बाहिर आउनैपर्छ किनकि कसले र कुन उदेश्यले हत्या गर्यो भन्ने कुरा बाहिर नल्याएसम्म सही अर्थमा नेपाल स्वतन्त्र देश हुन सक्ने छैन । २००७, २०२८, २०४७, २०६२ मा आन्दोलनबाट पठाएको नेतृत्वले देश र जनताको मुहार फेर्न सकेनन् ।
उनीहरू आफैँ परिवर्तन भए, गरिब देशका धनी नेता बने अनि शोषितहरूका लागि लडेकाहरू आफैं शोषक भए । नेपालमा प्रत्यक १०-१० वर्षमा सानो-ठूलो आन्दोलनबाट परिवर्तन भएका छन् । भूकम्प र अमानवीय नाकाबन्दीको पीडा, सरकारको अक्षमता, शक्तिकेन्द्रहरूको हेपाहा व्यवहार र नेताहरूको निरिहताले जनता अत्यन्तै निराश छन् । राजतन्त्रको पक्षमा जनमत विस्तारै बढिरहेको छ, तर जनताका केही जिज्ञासा भने शाहले मेटाउन सक्नुपर्छ । हजारौं सेना सुरक्षार्थ खटिएको दरबारमा चलचित्रमा जसरी कसरी हत्याकाण्ड भयो ?
गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ग्राइन्ड डिजाइन के हो ? दीपेन्द्रले पारिवबारिक कारणले हत्या गरेका थिए भने किन राजाको हत्यारालाई मृत्युशड्ढयामा हुँदा पनि राजा घोषणा गरियो ? अनुसन्धानमा सहयोग पुग्ने हत्याकाण्ड भएको त्रिभुवन सदन किन भत्काइयो ? सर्वसाधारणको हत्यामा समेत पोस्टमार्टम हुने देशमा किन राजाको गरिएन ? देशीविबदेशी शक्ति केन्द्रहरूको पनि संलग्नता थियो वा दीपेन्द्रको पे्रमहठका कारण अमानवीय घटना भयो ? नशा सेवन गरेको व्यक्तिले छानीछानी १० जनाको हत्या गर्न सक्छन् ?
प्रेक्षाको रारातालमा कसरी रहस्यमय हेलिकप्टर दुर्घटना भयो ? यी प्रश्नहरूको उत्तर पत्ता लगाउने प्रण शाहले गर्नुपर्छ । सामान्यतया संसारभर हत्याको सूचना दिने वा हत्याबाट प्रत्यक्ष लाभ लिने व्यक्तिलाई शंका गरिन्छ तर तत्कालीन राजा वीरेन्द्र वंशनाशमा आफ्नो प्रत्यक्ष-परोक्ष कुनै पनि सहभागिता नरहेको तथ्यबाट प्रमाणित गरेको खण्डमा बहुसंख्यक जनता उनको पक्षमा खुलेर उभिनेछन् । के उनी हत्याकाण्डको पुनः छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने वचन दिन तयार छन् ?
विभिन्न दलका प्रभावशाली नेताहरूले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रलगायतका एजेन्डा लाद्ने क्रममा पैसाको चलखेल भएकाले जनमतसंग्रह गर्नुपर्ने अडान लिएका छन् तर केही शीर्ष नेताहरू भने यी विषयमा जनताको राय लिने विबचारलाई उपेक्षा गरिरहेका छन् किनकि उनीहरूलाई आफ्नो पक्षमा जनमत रहेको विश्वास छैन । अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैँ उनीहरू राजपरिवारका सदस्यहरू मठमन्दिर जादाँ वा कुनै सामाजिक कार्यमा सहभागी हुँदा तर्सिने गरेका छन् ।
केही विदेशी कूटनीतिक नियोग र गैरसरकारी संस्थाहरूले नेपालको सार्वभौमसत्ताको अपमान गरिरहेका छन्, तर जनताको रायलाई नभई शक्तिकेन्द्रहरूको आदेशलाई उनीहरू शिरोधार्य गरिरहेका छन् । सिंहदरबारलाई नेताहरूले स्यालदरबार बनाएका छन् । यद्यपि आन्तरिक मामलामा शक्तिकेन्द्रहरूलाई सहभागी गराएको अनि मनपरी ढंगले राज्यकोषको दुरुपयोग गरेको तथ्यबाट जनता बेखबर छैनन् र उनीहरूको धैर्यको बाँध जतिखेर पनि फुट्न सक्छ ।
दरबारप्रति बफादारहरूलाई सम्पत्ति बक्सिस दिने प्रचलन गणतन्त्रमा पनि भिन्न रूपमा यथावत् छ ।
गरिब जनता भोकै, उपचारविहीन छन्, चालीसौं लाख बिदेसिएका छन्, तर नेता र तिनका आसेपासेलाई भने राज्यकोष अंशजस्तै भएको छ । त्यसैले त नेपालमा गणतन्त्र लुटतन्त्रको पर्यायवाची बनिरहेको छ ।
गरिब जनता भोकै, उपचारविहीन छन्, चालीसौं लाख बिदेसिएका छन्, तर नेता र तिनका आसेपासेलाई भने राज्यकोष अंशजस्तै भएको छ । नेपालमा गणतन्त्र लुटतन्त्रको पर्यायवाची बनिरहेको छ । राम्रो नियत भए पनि गलत तरिका अपनाउँदा कार्य सफल नहुने सम्भावना बढी हुन्छ । ज्ञानेन्द्रले पनि राजनीतिक दललाई निषेध गरेर एकलौटी रूपमा अघि बढ्न खोजेर जानअन्जानमा गल्ती गरेका थिए ।
उनले जनतालाई बुझाउन सकिएनछ भनेर घुमाउरो तरिकाले गल्ती स्वीकार पनि गरिसकेका छन् । भविष्यमा कुनै किसिमको राजसंस्था फर्किएको खण्डमा विगतमा गरिएका गल्ती दोहोर्याउनु हँदैन । संसारमा प्रचलित मानव अधिकारको सम्मान गर्नुपर्छ । नेपालको अत्यन्त संवेदनशील भूराजनीतिक अवस्थितिलाई हेक्कामा राखेर भारत, चीन र अमेरिकाले नेतृत्व गर्ने पश्चिमीहरूसँग सुमधुर सम्बन्ध बनाउन सक्नुपर्छ, तर जनताको समर्थन पहिलो सर्त हो । तसर्थ जनसमर्थन बढाउन ख्याल राख्नुपर्छ ।
अहिले आफ्नै चरित्र र क्रियाकलापका कारण शीर्ष नेताहरूप्रतिको जनविश्वास निरन्तर खस्किँदै गएकाले राजसंस्थाविरुद्ध अनेक आरोप लगाउने खेल जारी छ । शक्तिकेन्द्रहरूको समर्थन नपाएर ज्ञानेन्द्र निरिह थिए भन्ने तर्क कतिपयले गर्ने गरेका छन्, तर उनको एक इशारामा हजारौंको ज्यान गुम्ने थियो । गणतन्त्र नेपालको संसद् भवनमा कुर्सी हानाहान हुन्छ, आन्दोलनमा सयौंले ज्यान गुमाउँछन्, तर लामो इतिहास बोकेका राजसंस्थाले अत्यन्त सहजताका साथ दरबार त्यागेर नेपालमै बस्ने निर्णय गरे ।
स्थायित्व र विकासको अपेक्षा गरेका जनताले बर्सेनि नयाँ सरकार र छोटे राजाहरू झेलिरहेका छन् । उनले शक्तिकेन्द्रअघि लम्पसार पर्नुभन्दा जनतासँग झुक्न राम्रो ठाने । पूर्वराजा महेन्द्र र वीरेन्द्रले भारतको परनिर्भरता तोड्न चीनसँग सम्बन्ध बढाएका थिए, तर अहिले नेताहरूका गतिविधिले देश झन्झन् परनिर्भर भइरहेको छ । नेपाललाई शान्ति क्षेत्रका रूपमा चिनाउन प्रयास गर्ने वीरेन्द्र अनि शक्तिकेन्द्रहरूको इसारामा अशान्ति फैलाउन सहयोगी बन्ने नेताबीचको अन्तर पनि जनताले विस्तारै महसुस गरिरहेका छन् ।
विश्वमा राजतन्त्र पुनर्बहाली भएका पनि उदाहरण छन् । नेपालमा पनि भविष्यमा भ्रष्ट र अनुत्तरदायी गणतन्त्रको बदलामा जनताले देश र जनताप्रति समर्पित संवैधानिक राजतन्त्र स्विकार्न सक्छन् । संसारमा राजतन्त्र, प्रजातन्त्र, तानाशाही, नरम तानाशाहीलगायतका अनेक शासन प्रणाली सफल भएको र नागरिकका आधारभुत आवश्यकताको ग्यारेन्टी गर्ने जस्तोसुकै प्रणालीमा जनता सुखी र खुसी हुन्छन् भन्ने प्रमाणित तथ्य हो । बेलायत, स्विडेन, नर्वे, डेनर्माकलगायतका राजतन्त्रात्मक व्यवस्था भएका धेरै देश सम्पन्न छन् अनि गणतन्त्र र राजतन्त्र असफल भएका उदाहरण पनि छन् किनकि शासन प्रणालीले नभई सक्षम र इमानदार शासकले देश सम्पन्न बन्छ ।
तसर्थ नेपाली जनताले चाहेको खण्डमा राजतन्त्र वा गणतन्त्र दुवैमा इमानदार नेतृत्वलाई शासन सत्तामा पुर्याएर सम्पन्न देश बनाउन सक्छन् । सफल भएको खण्डमा राजतन्त्र वा गणतन्त्रमध्ये जुन व्यवस्था भए पनि जनतालाई केही असर हुँदैन । भ्रष्ट गणतन्त्रभन्दा उत्तरदायी राजतन्त्रको चयन गर्नुपर्छ तर दुवै खराब भएको अवस्थामा भने गणतन्त्र रोज्नुपर्छ किनकि राजा फेर्नुभन्दा नेता फेर्न धेरै सजिलो हुन्छ ।
राजा तुलनात्मक रूपमा नेताभन्दा देश र जनताप्रति बफादार हुने सम्भावना बढी हुन्छ किनकि देश र जनताबिना राजा रहँदैन तर देश विखण्डित भए पनि नेता रहिरहन्छ । सांस्कृतिक राजसंस्था आउँदा देशको अहित हुँदैन तर जनता सक्रिय राजतन्त्रको पक्षमा भने हुनु हँदैन । संसारमा राजा र नेता दुवै निरंकुश भएका उदाहरण छन् । अक्षम नेताभन्दा निरंकुस व्यक्ति फेर्न अत्यन्त कठिन हुने तथ्य बुझेर जनताले सबै प्रकारको निरंकुशताको भने विरोध गर्नुपर्छ ।