८४ वर्षमा पनि सक्रिय अम्बिका: बलियो मनले जितिन्छ रोग
ठूलो रोग लागेको थाहा पाउनेबित्तिकै धेरैको मनोबल खस्किन्छ । निराशाले वर्चस्व लिन्छ । परिवार र आफन्तका लागि समेत बोझ बन्ने पीर लाग्छ । तर, नेपालकी सम्भवतः पहिलो महिला उद्यमी एवं द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले आफूमा क्यान्सर पत्ता लाग्दा पनि त्यसलाई सामना गर्ने निश्चय गरिन् । उनको आशावादी चरित्रले रोगभन्दा बलियो साबित हुन पुगिन् । हुन त अहिले पनि उनी मधुमेहको औषधि सेवन गर्छिन् । उच्च रक्तचाप छ, हातखुट्टा दुख्छ, हर्नियाको समस्या छ । तर ८४ वर्षको उमेरमा पनि उनको दैनिकीमा रत्तिभर परिवर्तन आएको छैन र अनुहारमा निराशका भाव झल्किँदैन ।
बलियो मन र आशावादी
उनको भनाइमा स्वास्थ्य मजबुत बनाउने हो भने चाहेको सबै काम सजिलै सकिन्छ । सचेत हुँदाहुँदै पनि समस्या आउन सक्छन् तर आशाले रोगलाई हराउँछ । क्यान्सरविरुद्धको लडाइँको श्रेय आफ्नो त्यही ‘आशा’लाई दिन्छिन् उनी । द्वारिकाज होटेलको फूलबारीको पारिलो घाममा चियाको चुस्की लाउँदै उनले भनिन्, ‘रोगसँग लड्ने क्षमता राखेका कारणले नै आज म यहाँ छु र अझै जित्छु भन्ने आत्मविश्वास छ ।’
जन्मजात नै उनी कमजोर थिइन् । उनको स्वास्थ्य बलियो बनाउन अभिभावकले धेरै मेहनत गरे । रगत कम उत्पादन हुने उनको समस्या थियो । स्वास्थ्य राम्रो बनाउन उनी दैनिक योग अभ्यासमा लागिन् । तर पनि विवाहपछि उनको स्वास्थ्य झन् खस्कियो । त्यसको कुनै प्रवाह नगरी सकभर कामलाई निरन्तरता दिइरहिन् । ‘सुत्यो भने शरीर झनै शिथिल हुन्थ्यो । त्यसैले म ज्वरो आउँदा पनि कहिल्यै आराम गरेर बसिनँ’, श्रेष्ठले अनुभवको पोको खोलिन्, ‘सानोतिनो काम गरिरहन्थेँ ।’ मिर्गौलामा देखिएको पत्थरी शल्यक्रिया गरी निकाल्दा चिकित्सकबाट लापरबाही भयो ।
पिसाब थैलीको ट्युब नजोड्दा उनको पिसाब मेसिनले निकाल्नुपर्ने भयो । भारत पुगी अर्को शल्यक्रिया गरेर ट्युब जोडिन् । तर आराम नगर्ने उनको बानीले फेरि हर्नियाको समस्या निम्त्यायो । चार वर्षपहिले उनको फियोमा क्यान्सर भयो । त्यो पनि शल्यक्रिया गरेर फालिन् । ‘म हिँडिरहन्छु, मैले क्यान्सरलाई जितेँ’, ढुक्क हुँदै उनले भनिन्, ‘म कहिल्यै रोइनँ । कहिल्यै निराश भइनँ । छोरी नातिहरूले मलाई बुझेको हुनाले म खुसी छु ।’ त्यसैले ८४ वर्षमा पनि सक्रिय उनी अस्वस्थ भएको अनुभव गर्दिनन् । खुट्टा दुखे पनि उनका पाइला रोकिएका छैनन् ।
स्वास्थ्य नै धन
स्वस्थ नभए सफलता टाढिन्छ । त्यसैले उनका लागि स्वास्थ्य नै धन हो । आफ्नो लागि मात्र होइन, परिवार र समाजका लागि स्वस्थ हुनुपर्छ । रोगी हुँदा आफूसँगै परिवारका सदस्यलाई थप समस्या आइपर्छ कि भन्ने पीरले मन कमजोर हुन्छ । त्यस्तै आफू स्वस्थ हुँदा परिवार पनि खुसी र स्वस्थ हुने उनको कथन छ । छोराछोरीले राम्रो काम गर्न थालेपछि आफू स्वतन्त्र होइन्छ र समाजसेवाका लागि समय दिन सकिन्छ । उनका लागि राम्रो लाउने, राम्रो खाने र सुविधा लिनुमात्र जीवन होइन । जीवन अरूका लागि पनि समर्पित गर्नुपर्छ । त्यसबाट खुसी मिल्छ, खुसीले मनोबल बढाउँछ र जति मनोबल बढ्यो त्यति नै रोग हराउने गर्छ । बाँचुन्जेल अरूलाई पनि बचाउनुपर्छ । बेरोजगार र बेसहारा महिलालाई उद्यमी बनाउन वर्षौंदेखि लागेकी छन् उनी ।
खनपानमा ध्यान
धेरै खाने बानी उनको छैन । कुनै दिन धेरै खानु प¥यो भने अर्को दिन सन्तुलित खाना खाई शारीरिक अभ्यास गर्छिन् । दैनिक एक चम्चा बेसार खान्छिन् । शरीरभित्र भएका सानातिना घाउ निको पनि पार्छ भन्ने उनको विश्वास छ । रुघा लाग्दा ज्वानोपानी खान्छिन् । भान्सामै औषधि भएकाले सामान्य समस्याका लागि अस्पताल जान हतार गर्न नहुने उनी बताउँछिन् । पोलेको र काटेको औषधि उनका लागि घिउकुमारी र सयपत्री फूलको रस हो।
सक्रिय जिन्दगी
काममा सफलता पाउन सक्रियता, लगन र निरन्तरता आवश्यक पर्छ । भारतको सिक्किममा जन्मेकी श्रेष्ठले दार्जिलिङमा विद्यालय शिक्षा पूरा गरिन् । पटना युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गरेकी उनको नेपालका व्यापारिक घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह भयो । श्रीमान्को मृत्युपछि उनले कामलाई निरन्तरता दिइन् थप सक्रियताका साथ । सफल महिला उद्यमीका रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । दर्जनभन्दा बढी सामाजिक संस्थासँग उनी आबद्ध छिन् । ट्राभल एजेन्सीबाट सुरु भएको उनको व्यावसायिक जीवनमा धेरै कठिनाइ आए । तर, त्यसलाई सफलताको सिँढीमा परिणत गर्न सफल भइन् उनी । त्यसबाट प्राप्त सन्तोष उनको सुख र स्वस्थ जीवनको कारण बन्यो ।
महिला सचेतना
प्राकृतिक रूपमै महिलाको स्वास्थ्य संवेदनशील हुन्छ । त्यसैले उनीहरूले विशेष ख्याल गर्नुपर्छ । विवाहपछि झनै स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको तर्क छ । घरमा सबैले खाएपछि बचेको खानुपर्ने लगायतका परम्परागत बाध्यताले, अरूको स्याहारमा समय खर्चनुपर्नेलगायत कारणले महिलाको स्वास्थ्य कमजोर बन्छ । घर र अफिसको काम राम्ररी गर्न र अरूको हेरचाह गर्न पनि महिलाले आफ्नो ख्याल विशेष रूपले गर्नुपर्ने उनको सुझाव छ ।
सरसफाइ
सरसफाइ उनका लागि विशेष प्राथमिकताको विषय हो । जाडो होस् या गर्मी, उनी दैनिक नुहाउँछिन् । जति बेला पनि चिरिच्याट्ट हुने उनको स्वभाव छ । सरसफाइको अभावमा अनेकौं रोग लाग्नेमा उनी सचेत छिन् । दैनिक केही समय शारीरिक अभ्यासका लागि छुट्याउँछिन् । करिब १५ मिनेट पूजा गर्छिन् । हतारले स्वास्थ्य बिग्रनेमा सचेत उनी कतै छिटै निस्कनु छ भने छिटै उठ्छिन । सुत्नुअघि समाचार, लेख र कामसँग सम्बन्धित विषयवस्तु अध्ययन गर्ने उनको बानी छ । अनुशासनले पनि स्वस्थ हुन सकिने उनको अनुभव छ ।