मियाओ, मासु र चीन

मियाओ, मासु र चीन

चीन सरकारको निमन्त्रणामा हामी दक्षिण एसिया र बर्माबाट विशेषज्ञ र पत्रकारहरूको टोलीले युनान, फुचियान र बेइजिङ राज्यहरू घुम्ने र चीनबारे गहिरो विचार-विमर्श गर्ने मौका पायौं । चार सदस्यीय भारतीय टोलीको नेतृत्व गर्ने अभिभारा ममाथि सुम्पिएकाले विशेष छलफलमा पनि भाग लिनुपर्‌यो । एउटा सुगम यात्रा थियो यो । नगर, सहर, गाउँ, बस्ती, समाज, समुदाय, कारखाना, बाटोघाटो, कम्पनी वातावरण सबै नजिकैबाट देख्न र बुझ्न पायौं । सरकार, कम्युनिस्ट पार्टी, गाउँको प्रणाली र म्युनिसिपलिटी सबैसँग विचार आदान-प्रदान गर्ने यो एउटा सग्लो मौका थियो ।

श्रीलंका, मलेसिया, युरोपियन युनियन, बर्मा र भोटाङ सरकारका यस्तै सरकारी निमन्त्रणामा ती राष्ट्रहरू घुम्न पाएको हुँदाहुँदै पनि चीनको यात्रा अलिक भिन्नै थियो । चीन र चिनियाँबारेमा अध्ययन गर्दै आएको भए पनि र चीनको धेरैपटक यात्रा गरिएको भए पनि, यसपालि निकै घतलाग्दो प्रकारले चीनको आर्थिक गतिविधि, कम्युनिस्ट पार्टीले चलाएको सरकार, चिन्ताजनक स्थितिमा रहेको त्यहाँको पर्यावरण, विभिन्न जातजातिका संस्कृति, धर्म र साधारण व्यक्तिले के सोच्छन्-गर्छन् भन्ने बुझियो । डिसेम्बर महिनामा बेइजिङ अति चिसो, फुचियान अनि नै न्यानो र युनानको कुन्मिङ अति नै सुन्दर । यी तीनै अलग-अलग भौगोलिक प्रान्तहरू हुन् । युनान त फूलैफूलले ढाकिएको प्रान्त नै हो ।

१४ वटा राष्ट्रहरूसँग सिमाना भएको र लगभग १३६ करोड जनसंख्या भएको चीन राष्ट्रको इतिहास लगभग पाँच हजार वर्ष पुरानो हो । त्यहाँको ५० प्रतिशत जनसंख्या हान चिनियाँ छन् । प्रायः सबैले म्यान्डरिन चिनियाँ भाषा बोल्छन् । ५६ वटा विभिन्न क्षेत्रमा रहेका जनजातिमा (एथनिक ग्रुप) हामीले पाँच-छ समुदायसँग भेटघाट गर्‌यौं । कोही बुद्धिस्ट, कोही ख्रिस्तान र मुसलमान र कोही ताओ मान्ने कोही नास्तिक पनि । सबैले आआफ्ना संस्कृति-सामाजिक व्यवस्था र खानपिनको संरक्षण गरिराखेका छन् ।

कुन्मिङ सहरदेखि लगभग १६ किलोमिटर टाढा अवस्थित फुमिङ काउन्टीको दोङ्चुआत गाउँको यात्राले हामी सबैलाई झक्झाकायो । सहरमा जस्तै बाटोघाटो, अस्पताल, स्कुल, सरकारी कार्यालय, सँगसँगै लहलह खेतबारी, यो गाउँको निकै चर्चा-परिचर्चा गर्‌यौं । सरकारको कार्यालय सँगसँगै कम्युनिस्ट पार्टीको तन्त्रमन्त्र । पार्टीले नै विकास सम्हाल्छ । १४३३ परिवार बस्ने यो गाउँमा ४२३८ जनसंख्या रहेछ, जसमा २५०५ नै श्रमि रहेछन् ।

यस गाउँबाट ११६ पार्टीका सदस्यहरू रहेछन् र एउटा पाँच सदस्यीय कार्यकारिणी पार्टीको समितिले गाउँ चलाउँदो रहेछ । यो गाउँका वासिन्दाको बर्सेनि प्रतिव्यक्ति आय ७० हजारदेखि एक लाख रूपैयाँ पुग्दोरहेछ । ६० प्रतिशत व्यक्तिहरू खेतीपाती र ३० प्रतिशत औद्योगिक कारखाना आदिमा काम गर्दा रहेछन् । हरेक गाउँमा सेवा केन्द्र हुँदोरहेछ, जहाँ पार्टी र सरकारी कर्मचारीहरू मिली जनसाधारणको सेवा गर्दा रहेछन् ।

आजभन्दा ४० वर्षअघि चीन यस्तो थिएन । गरिबी ढकमक्क फुलेको थियो । धेरै मानिस जंगली कन्दमूल खाएर बाँच्थे । सरकारी तन्त्र कठोर थियो, रोटी-साइकल-टेलिफोन सबैको लागि लाइन लाग्नुपथ्र्यो । माओत्से तुङले अघि ल्याएको भयानक सांस्कृतिक क्रान्तिले राष्ट्र तहसनहस भएको थियो । सबैजना चीन टुक्रिन्छ भन्ने आशंका जाहेर गर्थे । सन् १९७९ मा देङ स्याओ पिङले चीनको सत्ता सम्हालेपछि यो राष्ट्रले कहिल्यै पछि फर्केर हेर्नुपरेन । कम्युनिस्ट पार्टी अझै बलियो भयो । यो राष्ट्रले विश्वलाई विकासको नयाँ परिभाषा दियो ।

आजको चीनका लागि चारवटा चिन्ताजनक समस्या छन् । प्रथम- गरिबी र असमता, दोस्रो- भ्रष्टाचार, तेस्रो पर्यावरणको दुर्गति र चौथो विकासले ल्याएको राजनीतिक, सामरिक, सामाजिक उथलपुथल । चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रष्टाचारलाई जरैबाट उखेलेर फ्याँक्छु भन्नासाथ त्यहाँ प्रबल राजनीतिक खिचातानी सुरु भयो । सरकारले धेरै रोकटोक लगायो । आजभन्दा पाँच वर्ष अघिसम्म पनि साधारण आधिकारिक भोजनमा गोलटेबलमा कमसेकम १५-२५ प्रकारका खानेकुरो र मदमदिरा पेस गरिन्थ्यो । हामी अवाक् बन्दै खानेकुरो र गफको मज्जा लिन्थ्यौं । आज यस्तो हुँदैन । विशेष उच्चस्तरीय भोजनबाहेक अरू सबैमा लगाम लगाइएको छ ।

भ्रष्टाचारको चपेटामा पर्ने पार्टी नेताहरूले आत्महत्यासमेत गर्दैछन् । सी जिनपिङ पनि गाउँ, सहर, नगर सबैमा प्रभुत्व जम्माएर चीनको राष्ट्रपति हुन पुगेकाले उनी राष्ट्र, खेलाडी, श्रमिक सबैलाई चिन्छन् । र पनि एउटै पार्टी भएको चीनको प्रशासनमा अलिकति पनि धक्का नलागोस् भनेर कम्युनिस्ट पार्टीको अठारौं केन्द्रीय समितिको छैटौं सेसनमा हालै पार्टीले सी जिनपिङलाई एउटै मर्म र 'कोर' केन्द्र नेता भनी घोषणा गरे । यसको अर्थ हो, कम्युनिस्ट पार्टीको इतिहासमा एकदुई नेताहरूले पाएको मान र स्थान सी जिनपिङले पाए । अर्कोतिर चर्चा-परिचर्चामा सी जिनपिङले शक्तिको पुनः केन्द्रीकरण गर्दैछन् भन्ने वायु पनि बहँदैछ ।

भयानक प्रदूषणले थिचेको राष्ट्र हुन पुग्यो चीन । यस राष्ट्रमा ७४ वटा सहर, नगर प्रदूषणले रोगग्रस्त छ । आकाशभरि फोहोर कुहिरो लाग्छ । दिनैदिन घामै देखिँदैन । नगारिक मुख, नाक छोपेर हिँड्छन् । हिबे राज्यको सिजियाचुआङजस्तो इलाकामा त कैयन् दिन भयो स्कुलहरू बन्द भएको । श्वास फेर्नु अप्ठ्यारो बाहिर निस्कनासाथ । सरकारले महामारी फैलिँदा लागू गर्ने उपायसमेत प्रदूषणको विरोधमा चलाए । औद्योगीकरण र विकासको यो एउटा विकराल रूप हो । चिनियाँले कहिल्यै यस्तो पनि प्रकृतिको रूप हुन्छ भन्ने सोचेका थिएनन् ।

नदी, खोलाहरू सुक्दै गएको कथा त अझै दर्दनाक छ । अनुमान गरिँदैछ चीनको एकतिहाई भाग नै विस्तारै मरुभूमिमा परिणत हुँदैछ । धुलोको भुमरी र आँधी केही क्षेत्रहरूमा यति चल्छन् कि एउटा दन्त्य कथाअनुसार गान्सु राज्यमा प्रत्येक व्यक्तिले लगभग डेढ किलो दैनिक रूपमा धुलो खान्छन् अरे । सरकार लड्दैछ प्रदूषणको विरोधमा । तर कति कहाँसम्म सफल हुने हो, कसैले अनुमानै गर्न सक्तैन ।

अहिले बाजे-बज्यै भएका घरपरिवारले गरिबी, भोकमरी, रोगको भीषण रूप देखेका थिए । र नै हरेक चिनियाँ बाजे-बज्यैहरू जथाभावी खर्च गर्नु मान्दैनन्, मज्जा गर्नु मान्दैनन्, अहिले पनि पुरानै ढाँचाको लुगाफाटा लगाउँछन् र त्यही पुरानै संस्कृतिमा झुम्मिन्छन् । चीन पनि अरू विकासशील र अविकसित राष्ट्रहरू जस्तै गरिबी र भोकमरीले ढाकिएको थियो, तनावग्रस्त थियो ।

सन् १९७९ पछि विकासले ल्याएको न्यानोपनले विस्तारै गरिब जनताको आङमा घाम लाग्न थाल्यो । भनिन्छ- सन् १९७५ देखि सन् २०१० सम्ममा लगभग ३५ -४० करोड मानिसले गरिबीबाट छुटकारा पाए । भर्खरै सरकारले जारी गरेको सूचनाअनुसार सन् २०१५ मा मात्रै एक करोड जनतालाई गरिबी सीमाबाट माथि ल्यायो । यस कार्यक्रममा सरकारले एक लाख करोड रकम सोझै गाउँ-गाउँमा नै खर्च गर्‌यो ।

हाम्रो प्रश्नको जवाफ दिँदै मन्त्रीले नहिच्किचाई जवाफ दिए, 'म कम्युनिस्ट पार्टीको सदस्य भएकाले सबैथोक पार्टीलाई नै ठान्दछु, पार्टीकै आचार-विचार पछ्याउँछु र मेरो निम्ति पार्टी नै धर्म र भगवान् हो । अनि मेरो लागि अर्को धर्म र भगवान् छैन ।'

भनिन्छ- अझै ५.५ करोड व्यक्तिहरू गरिबी सीमादेखि तलै छन् । चीनमा गरिबी सीमा भनेको २८ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिवर्ष आय हो । अर्थात् एक व्यक्तिले प्रतिदिन ७५ -८० रुपैयाँसम्म कमाएको हुनुपर्छ । चीनमा गरिबी सीमादेखि तलतिर रहेको व्यक्ति परिवारको नाम रजिस्टरमा नै गाउँगाउँमा लेखिएको हुन्छ अरे । राष्ट्रपति सी जिनपिङले घोषणा नै गरेका छन् कि सन् २०२० भित्रमा रहेका ५.५ करोड गरिबलाई पनि गरिबी सीमादेखि माथि ल्याइनेछ । अर्थात् चीनमा गरिबी सीमादेखि तल कोही नहुने भयो ।

सिचुआन प्रदेशको राजधानी चेङ्दुदेखि बेइजिङ जाँदा 'चाइनाडेली' नामक खबर कागजमा एउटा रिपोर्ट लेख पढें । यसले गरिबी कस्तो थियो चीनमा भन्ने दयनीय घटनालाई आँखा अगाडि नै नचाइदियो । यो चीनको हुनान राज्यको मियाओ जनजाति बस्ने एउटा गाउँको साँचो कथा थियो । जिन्सा गाउँको लिआयो येन्फीले आज सबैभन्दा प्रचलित मसलादार सुकेको मासु आफ्नो कारखानामा बनाएर बेच्छन् । पर्यटकहरूसमेत भीडा लागेर लियाओको सुकेको मासु खान्छन् । लियाओ सानो छँदा एउटै कुराको सपना देख्थे- महिनामा एकपटकचाहिँ मासु खान पाए पनि हुन्थ्यो ।

अभाग्यवश कहिल्यै यस्तो हुन्थेन । आफू चार वर्षको हुँदा नै पिताजीको देहान्त भएपछि आफ्ना दाजु र आमासँग जीविका चलाउने केही उपाय नै थिएन । लियाओको परिवार फेङहुआङ काउन्टीको जिन्सा गाउँको सबैभन्दा गरिब थियो । एक दिन उनी सानै हुँदा उनकी आमाले एउटा मासुको पोको बाटोमा पाएपछि घरमा ल्याई पकाइन् । पकाएर दुई छोरालाई लौ खाऊ भनेर दिइन् ।

लियाओले मासुको पहिलो चोक्टा मुखमा मात्रै हालेका थिए, उनकी आमाले अचानक नखाऊ यो मासु तुरुन्त फ्याँकिहाल भन्ने आदेश दिइन् । लियाओले मुखबाट मासु निकाल्दै किन त्यसो गर्नुभएको भनेर सोध्दा आमाले जवाफ दिइन्, 'सायद यो मासु कुहिसकेको थियो होला र कसैले कुकुरलाई विष दिन यो मासु बाटोमा फ्याँकिदिएको होला ।' लियाओले मासु खान पाएनन् ।

बाल्यकालमा गरिबीले छोपेपछि लियाओ सन् १९९९ मा नै स्कुल छोडेर दक्षिण चीनको उद्योग नगर गुआङदोजतिर लागे । लियाओको परि श्रम देखेर र नयाँ सोच देखेर उनलाई सबैले मन पराए । लियाओले नभन्दै महिनामा ३० हजार कमाउन थाले । तर उनले आफ्नो आमाको दुःख हरन गर्न बाँकी नै थियो । अब के गर्ने भनेर सोच्दा उनले उपाय निकाले, 'गाउँ फर्किन्छु र मेरो आफ्नो मियाओ जनजातिले जसरी नुनमा भिजाई मासुबाट पानी निकालेर सुक्खा बनाई मीठो गरेर परम्परादेखि नै खान्छन्, त्यस्तै प्रकारको मासु बनाई अलिकति मसला हाली फास्ट फुड बनाएर बजारमा बेच्ने कोसिस गर्छु ।' नभन्दै लियाओ गाउँ फर्के ।

भाग्यवश कमाएर ल्याएको पैसामा अझै थपिदिँदै उनले बेचेको सुक्खा मासुलाई अझै ठूलो रूपमा व्यापार गर भनी एउटा मासु खाने मान्छेले ऋण दियो । आज लियाओ पसलमा सानो-सानो पाकेटमा तयार पारिएको सुक्खा मासु हातमा लिई केटीकेटी, बूढाबूढी, पर्यटक सबैले चपाउँदै हिँडेको देखिन्छ । बाल्यकालमा मासु खान मनपराएका तर गरिबीको कारणले खान नपाएका लियाओ आज सबैलाई मासु खुवाउन सफल भएका छन् । लियाओले आफ्नी श्रीमतीलाई गुआङदोङमा भेटेका थिए । श्रीमती वाङ जब पहिलोपटक लियाओको घर गइन्, घरको अवस्था देखेर उनी अवाक बनिछन् । ढुंगाको घर, भुइँमा सुत्नुपर्ने र र खानेकुरो केही नभएको भान्साघर । वाङले लियाओलाई विवाह गरिन् किनकि लियाओ केही गर्न चाहन्थे, सदैव फूर्तिलो र नयाँ सोच देखाउँथे ।

५६ वटा मियाओ जस्तै जनजाति छन् चीनमा । हामी गएको कुनमिङको फुमिङ काउन्टीमा पनि मियाओ जनजातिको गाउँ नै थियो । हेर्दा हाम्रै मने-साङे-वीरे-निमा-हर्के-टोटोला-सांगु-ऐतुजस्तै देखिने, रूपरङ एउटै तर भाषा अलग भएका । हाम्रै गेवाराँ उखु, सुकेका मकै र सिमल तरुल फलाउने र फापर र कोदाको रोटी खाने यी मियाओ जनजाति यस गाउँमा एउटा ठूलो गिर्जाघरको वरिपरि बस्दारहेछन् । हामीलाई गिर्जाघरको ठूलो खुला भवनमा लगी विभिन्न कोइर गाएर भव्य स्वागत गरे ।

यिनीहरू ख्रिस्तान तर गिर्जाघरमा यशु मसिहको मूर्ति थिएन, मरियम माता थिएनन् । सायद चीनमा धर्म मान तर मूर्तिपूजा नगर भनेर हो कि ? यसपालिको क्रिसमस हामीले सिचुआनको चेङदु सहरको विशाल गिर्जाघरमा मनायौं । त्यहाँ पनि परमेश्वरका मूर्तिहरू थिएन । सयौंको संख्यामा ख्रिस्तान धर्मावलम्बी थिए । त्यही धर्म, त्यही मन छुने 'आमेन', त्यही क्रिसमसको भजन -केवल भाषा अलग । चीन त हो गिर्जाघरको अलिक परतिर, ठूला-ठूला मेसिनले हिउँ पराउँदै थिए । बर्सिएको हिउँको थोपामा मानिसहरू नाच्दै, गाउँदै र झुम्दै थिए । मेरी क्रिसमसको गुन्जायमान थियो । लाग्न्थ्यो, हामी खरसाङको सेन्टमेरिजमा छौं ।

हाम्रो भेटघाटको एउटा सिलसिलामा चीनको कम्युनिस्ट पार्टीको एउटा ठूलो नेता मन्त्रीसँग विचार-आदान प्रदान भयो । मैले एउटा प्रश्न राखें- तपाईंको राष्ट्र र सरकार दुवै कम्युनिस्ट । हाम्रो मुलुकमा कम्युनिस्ट भन्नासाथ जसले भगवान् मान्दैन भन्छौं । तर तपाईंको राष्ट्र कम्युनस्टि भएर पनि हाम्रो राष्ट्र भारतमा आजभोलि पूजाआजा, दिवाली, क्रिसमस, गुरु नानक जयन्ती सबैसबैमा ईश्वर भगवान्चाहिँ चीनको गुआङझाउमा बनिएका हुन्छन् । पूजाचाहिँ नगर्ने, भगवान्चाहिँ नमान्ने अर्कोतिर मूर्ति बनाएर चारैतिर निर्यात गरी व्यापारचाहिँ गर्ने ? यो के हो ? चीनको कस्तो नीति हो भनेर सोध्यौं ।

मन्त्रीले नहिच्किचाईजवाफ दिए, 'म कम्युनिस्ट पार्टीको सदस्य भएकाले सबैथोक पार्टीलाई नै ठान्दछु, पार्टीकै आचार-विचार पछ्याउँछु र मेरो निम्ति पार्टी नै धर्म र भगवान् हो । अनि मेरो लागि अर्को धर्म र भगवान् छैन ।' अलिक पछि फेरिक के भने, 'तर मेरी श्रीमती पार्टीको सदस्य होइन र उनले कुनै धर्म वा भगवान् पुज्न सक्छिन् । र नै उनी गुम्बा र मन्दिर जान्छिन् भगवान् बुद्धको पूजा गर्न ।

गरिब, दुःखीलाई बुद्ध भगवान्को नाम लिँदै सहायता, सेवा, सु श्रुषा गर्छिन् । अन्तर यही छ, म र मेरी श्रीमतीमा अनि धर्म र भगवान् मान्ने र नमान्नेमा । मन्त्रीको जवाफले हामी अवाक भयौं । तिब्बती लामाहरू धार्मिक वस्त्रमै सांग्रिलादेखि फुचियान र सेनजेनदेखि साङ्सीसम्म घुमिरहेका हुन्छन्, यो कम्युनिस्ट राष्ट्रमा । बजारैबजार मात्रै भएको, अट्टालिका, गाडी र पैसामात्रै भएको यो कम्युनिस्ट राष्ट्रको आफ्नै प्रकारको समाजवाद छ अरे !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.