दीक्षितजी श्रद्धाञ्जलि !

दीक्षितजी श्रद्धाञ्जलि !

१४ पुस २०७३ को बिहान साढे १० बजेतिर मेरा मित्र प्राध्यापक निर्मलमान तुलाधरको फोन आयो । तिनको फोनले मलाई भयानक झड्का लाग्यो । उनले साहित्यकार कमलमणि दीक्षित बिहान २ बजे दिवंगत भएको सुनाए । कमलमणि नेपाली साहित्यकारका बीचमा एक व्यक्ति र रूपक दुवै भए पनि तिनको विषयमा मलाई अरू कुनै साहित्यकारको फोन आएको थिएन । एक भाषाशास्त्री, नेपाली भाषा साहित्यसँग खासै सरोकार नराख्ने ती मित्रले फोनमा एकाध कुरा जे भने मलाई, त्यसबाट निकै अर्थहरू खुले ।

निर्मलले भने, कमलमणि मेरो विचारमा एउटा संस्था थिए आफैंमा । त्यसले मलाई अरू अर्थ खुलायो । उनको विषयमा केही लेख्नु, उनले स्थापना गरेको मदन पुस्तकालय र पुरस्कारहरूको विषयमा चर्चा गर्नु, तिनको आलोचना गर्नु, तिनलाई पाँडे गाली गर्नु र तिनलाई अत्यन्त प्रशंसा गर्नु, तीसँग बसेर 'शहीद'को श पातलो लेख्ने कि मोटो लेख्ने भन्ने छलफल गर्नु, यी सबै साहित्यकारका जिम्मा थिए । म कमलमणिसँग नजिक तर टाढा थिएँ । त्यही कारण सायद दीपक सापकोटाले उनको मण्डलीका दर्जनौं मानिसलाई छोडेर मलाई उनको विषयमा केही लेखिदिन प्रस्ताव गरेका थिए ।

मलाई कमलमणि कस्तो ठान्थे, त्यो पनि मलाई सरोकारको विषय थिएन । म मदन पुरस्कार र उनका अरू समूह र अड्डाहरूमा कहिल्यै पनि जाने मानिस होइन । कतिसम्म भने मदन पुरस्कार समारोहहरूबाट पनि मलाई कुनै निमन्त्रणा आउँदैनथ्यो । पत्रपत्रिका र सोसियल मिडिया, फेसबुकमा समेत उनको चर्चा हुन्थ्यो । उनको विषयमा गरिएका प्रशंसा र गालीहरूमा १० प्रतिशतजति पनि सत्यता नदेख्ने मानिस म उनीसँग भेट हुँदा सीधै आफ्ना विचार राख्थेँ । ती मेरा कुरा सुनिरहन मन लाग्छ भन्थे । मैले त्यहीँबाट उनको सामथ्र्य पहिचान गरेको हुँ । सधैं प्रशंसा र गालीले आक्रान्त ती वयोवृद्ध आत्मविश्वासी र योजना गर्नसक्ने साहित्यकारले मेरा ठाडा कुरामा चाख राखेको देखेँ ।

सन् २०११ अक्टोबरमा काशीबहादुर श्रेष्ठको शतवार्षिकीमा बनारसमा उनीसँग भएका मेरा अन्तरंग कुराकानीमा मैले उनमा एउटा अत्यन्त महत्त्वपूर्ण र चाखलाग्दो व्यक्ति भेटेँ । तिनले मलाई ठाडो प्रश्न गरेका धेरै सम्झना छन् । उनको योगदान र शैलीबारे म सोझै कुरा राख्थेँ । बनारसमा भएका कमलमणि र मेरा लामा अन्तरंग कुराहरूमा मैले उनले लेखेका ससाना खोजपूर्ण लेखहरूदेखि उनका किताबमा लेखिएका विषयहरूसम्मको चर्चा गरेँ अनि तिनको महत्त्वबारे भनेँ । मेरा निरपेक्ष कुरा मौन भएर सुनिरहँदा मैले तिनको एक्लोपन देखेँ । उनी नेपाली वाङ्मय, समाज र मानक संस्कृतिका रचनाकारमध्ये एक महत्त्वपूर्ण व्यक्ति थिए । ती जीवनको अन्तिम अवस्थासम्म सक्रिय थिए । केही दिनअघि मात्र शरच्चन्द्र वस्तीले दीक्षितसँग गर्न लागेका योजनाहरू मलाई सुनाइरहेका थिए । ती कमलमणि को थिए त ? त्यो प्रश्नको उत्तर खोज्ने यो लेखको विषय रहेको छ ।

कमलमणिको जीवनी लेख्ने यो लेखको उद्देश्य होइन । सर्सर्ती भन्नुपर्दा ती पिता केदारमणि दीक्षित र माता विद्यादेवी दीक्षितका संवत् १८८६ मा जन्मेका अत्यन्त प्रतीक्षित बालक थिए । उनको जीवनीबारे धेरै लेखिएका छन् । नरेन्द्रराज प्रसाईले आफूले सम्पादन गरेको 'कालो अक्षरदेखि सग्लो अक्षरसम्म' (२०६०) किताबमा लेखेको भूमिकामा उनको जीवन र आलम्बनबारे राम्ररी बयान गरेका छन् । त्यसमा प्रसाईले दीक्षित संलग्न भएका ५७ वटा संघसंस्था र उनले तिनमा बसी काम गरेका साल र अवधिी पनि खुलाएर लेखेका छन् । त्यही परिचयमा उनका कृतिको वर्गीकरण यसरी गरिएको छ- तिनका सिर्जनात्मक कृति ३६ वटा छन् जसमा 'मदन गाथा' (२०६०) सबभन्दा पछिल्लो हो । उनका सम्पादित कृति २१, अनुदित तीन कृति र २०१६ सालदेखि निस्केको 'नेपाली' नामक एक पत्रिका सम्पादित छन् । प्रसाईले कमलमणि कसरी मदनशमशेर र उनकी रानी जगदम्बाका प्रिय पात्र भएर हुर्के र शिक्षित भए र कसरी जगदम्बाप्रदत्त पुल्चोक र पाटन ढोकाबीचको जमिनका अधिकारी भए भन्ने पनि खुलाएर लेखेका छन् ।

उनको लेख दीक्षितसँगको साक्षात्कारमा आधारित रहेको देख्न सकिन्छ । प्रसाईको प्रस्तावअनुसार मैले पनि त्यो किताबमा एउटा लेख लेखेको छु जसमा मैले तलका कुराहरूमा जोड दिएको छु ।

कुनै व्यक्तिले साहित्यमा के योगदान गरेको छ भन्ने कुराको उत्तर खोज्न उसले साहित्यको अध्ययनलाई योगदान दिने तलका आधारहरूको रचना गरेको छ कि छैन भनेर हेर्नुपर्छ भन्ने मेरो विश्वास छ । योगदान गर्ने व्यक्तिले (१) सिर्जनात्मक रचनाहरू गरेर छोडिदिन्छन्, (२) साहित्यको अध्ययनका निम्ति संस्थाको विकास गरिदिन्छन् जसमा पठनपाठन गर्ने र प्रकाशन गर्ने संस्थाहरू पनि पर्छन्, (३) साहित्यिक अध्ययनको संस्कृति रचना गर्छन्, (४) साहित्यिक अध्ययनका निम्ति ऐतिहासिक पाठगत आधारहरूको रचना गर्छन् वा त्यस्तो कुनै पाठ उपलब्ध गराइदिन्छन् जसका आधारमा साहित्यको ऐतिहासिक अध्ययन गर्न सकियोस् ।

कमलमणि दीक्षितको नेपाली साहित्यमा ठूलो योगदान छ भन्ने निर्विवाद छ । उनले माथिका आधारहरूमध्ये प्रायशः धेरैजसो आधारको रचना गर्न मद्दत गरेका छन् । उनी आफैं पनि एक निबन्धकार भएका हुनाले उनका निबन्धमा निजत्व र साहित्यिक ऐतिहासिकता अनि सांस्कृतिक परिवेशको राम्रो समागम भएको हुन्छ । रचनामा निजत्वको संलग्नता र असंलग्नताको समागम गराएर निबन्ध लेख्ने केशवराज पिँडालीसँग कमलमणिको शैली निकै मिल्छ । त्यस्ता शैलीमा उनले व्यंग्यात्मक, रमाइला र अनुसन्धानमूलक निबन्धहरू लेखेका छन् । उनका निबन्धमा दर्शन र कल्पनाको उडान हुँदैन तर तिनमा साहित्यलाई जीवनको महत्त्वपूर्ण संस्कार मान्ने लेखकका निजत्वको संवाद रचना भएको हुन्छ । मेरो यस छोटो परिचयको विषय उनको निबन्ध नभएको हुनाले यसमा यतिमात्रै उल्लेख गर्न चाहन्छु ।

दोस्रो आधार साहित्यिक अध्ययनका निम्ति संस्थाको रचना हो । हिजो वा आजै पनि साहित्यिक अध्ययन, नेपाली भाषामा लेखिएका रचनाहरूको एउटा संकलन, एउटा थलो बनाउने र त्यसलाई श्रद्धा र विश्वासले विकास गर्ने कुनै पनि व्यक्तिको त कुरै छोडौं संस्था पनि नभएको ऐतिहासिकतालाई यहाँ उल्लेख गर्नुपर्ने हुन्छ । संवत् २०१४ सालमा राजाले 'नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान' खोल्दा नेपालीमा लेखिएका रचनाको संकलनको कुनै पनि योजना थिएन । अरूअरू भाषामा लेखिएका रचनाको संकलन हुने त कुरै भएन । त्यो संस्कारले प्रज्ञा प्रतिष्ठान र अरू संस्थाहरू अझै पनि ग्रसित छन् । यसमा कसैको दोषभन्दा पनि संकलनको संस्कार विकास हुन नसक्नु कारक तत्त्व हो ।

कमलमणि दीक्षितले लिखित र मुद्रित नेपाली अक्षर खोजे, भेटे अनि जीवन्त बनाए । धेरै नेपालीले त्यस्तो कर्म गरेको मलाई थाहा छैन

व्यक्तिगत तहमा संकलन एउटा सोखको विषय हो । अंग्रेजी साम्राज्यको प्रभावमा संकलनलाई एक बलियो संस्कृति मानियो । त्यो एउटा चाखलाग्दो संस्कार थियो । नेपालमा पुराना पाण्डुलिपिहरूको संकलन गर्ने काम ब्रिटिस राजदूत ब्रायन हडसनले गरे तर संकलनको थलो यहाँ थिएन । उपनिवेशको समयको त्यो ठूलो संस्कार हो । २०औं शताब्दीको सुरु र १९औं शताब्दीको अन्त्यतिर अंग्रेजी साम्राज्यको चिन्ता नयाँ भूमण्डलीय संस्कृतिको रचना गर्नेमा रह्यो । उनीहरूको विचारमा घाम कहिल्यै नअस्ताउने भूखण्डमा यो एक बलियो आधार हुने पक्का थियो, र उनीहरूले ठीकै ठानेका थिए आफ्ना दृष्टिले ।

नेपाल पनि त्यस खोजको एउटा ठूलो थलो थियो भन्ने विद्वान् राजदूत ब्रायन हड्सनको चिन्ताबाट थाहा हुन्छ । नेपालमा यसै परिवेशमा केशरशमशेर राणाले आफ्नो पुस्तकालय बनाउनु अनि हेमराज गुरु (पाण्डे)ले आफ्नो पुस्तकालय जोड्नुलाई यस संस्कृतिका प्रभाव भन्न सकिन्छ । कमलमणिको संकलन राणा र गुरुका संकलनभन्दा भिन्न हो भन्ने आधार छन् । उनको संकलन नेपाली भाषामा लेखिएका कृतिको संकलन भएको हुनाले यसको उद्देश्य फरक थियो । यसको उद्देश्य के थियो भन्ने यस संकलनको कसरी प्रयोग भयो भन्नेले प्रस्ट गर्छ । मदन पुस्तकालयको प्रयोग नेपाली लेखक, खासगरी साहित्यकारहरूले साहित्यको इतिहास लेख्न र अनुसन्धान गर्न प्रयोग गरेका छन् ।

नेपालमा पुस्तकालयहरू अहिले विलयनतिर लम्केका छन् । ०७२ सालको भूकम्पले भत्काएका घर र महलहरूमा बसेका किताबहरू अहिले पोकाहरूमा बाँधेर फालिएका चित्रहरू टेलिभिजनहरूले झन्नै नियमित देखाउँछन् । सबभन्दा जटिल प्रश्न अहिले यस्तो छ । नेपालमा एकतन्त्री शासन भएको बेला सबैभन्दा दत्तचित्त भएर किताब संकलन गरिएका देखिएका छन् । तिनीहरूमध्ये 'लाल दरबार'मा रहेको पुस्तकालयको प्रयोग त्रिवि कीर्तिपुरको केन्द्रीय पुस्तकालयले गर्‌यो । 'केशर पुस्तकालय' अर्को एउटा महत्त्वपूर्ण संकलन हो । केन्द्रीय पुस्तकालय पनि राजगुरुको संकलन हो ।

यी सबै पुस्तकालयहरूमा एउटा कुरा अहिले आएर प्रस्ट भएको छ । रिचर्ड टम्सको प्रसिद्ध अध्ययन 'द इम्पेरियल आर्र्काइभ' (१९९३) मा भनिएअनुसार किताब संकलन शक्ति सञ्चयको एउटा रूपक हो । अरूतिर शक्तिको ह्रास हुँदै गएपछि आर्काइभ र किताब संकलनलाई शक्तिवान्हरूले अवलम्बन गरेका थिए । आजको समयमा पुस्तकालय विलयन हुनु र हिजोका संकलन गर्नेका किताबलाई समेत जतन गरेर प्रयोग गर्न नसक्नु एउटा हास्यास्पद र दुःखको विषय भएको छ । अहिलेको शिक्षित नेपाली समुदाय एउटा दिशा हराएको भीड होला कि भन्ने डर देखिन्छ ।

यसरी ज्ञानलाई शक्तिमा बदल्ने समयमा कमल दीक्षितले एउटा सरल निर्णय गरे । तिनले कुनै ज्ञानको आडम्बर नगरी, किताबका संकलनबाट अथवा ती पाठहरूबाट कसैमाथि हेजिमोनी खडा गर्ने पाण्डितीय चाहना नराखी साधारण किसिमको संकलनको आरम्भ गरे । त्यो संकलन नेपाली साहित्यका किताबहरूको थियो । तिनले साहित्यको विधागत संकलन गरे । नेपालका विभिन्न जिल्लामा प्रकाशित हस्तलिखित पत्रिका, पर्चा लगायतका नेपालीमा लेखिएका अन्य लेखोट पनि उनले संकलन गरे ।

ज्ञानलाई शक्तिमा बदल्ने समयमा कमलमणि दीक्षितले कुनै ज्ञानको आडम्बर नगरी, किताबका संकलनबाट अथवा ती पाठहरूबाट कसैमाथि हेजिमोनी खडा गर्ने पाण्डितीय चाहना नराखी साधारण किसिमको संकलन आरम्भ गरे ।

त्यो नेपालबाहिर नेपाली साहित्य मुद्रण भएको युग थियो । बनारसमा २०औं शताब्दीको आरम्भ र अझ १९औं शताब्दीको अन्तदेखि नेपाली किताबहरूको प्रकाशन हुन थाल्यो । सन् १९२० को दशकसम्म नै त्यो क्रम जारिरह्यो । त्यसरी प्रकाशित किताबहरूको नेपालभित्र बिक्रीवितरण भयो । त्यो नै नेपाली मुद्रण पुँजीवाद हो । यसलाई लन्डन सोवास्की फ्रान्सेस्का ओर्सेनीले 'प्रिन्ट क्यापिटालिज्म' नाम दिएकी छन् । त्यो मुद्रण पुँजीवादअन्तर्गत साहित्यिक पत्रिका चलाउनेहरूमा कमलमणिका पुर्खा पनि थिए । काशीबहादुर श्रेष्ठको शतवार्षिकी १५ अक्टोबर २०११ मा कमलमणि दीक्षित, डा. तारानाथ शर्मा, बैरागी काइँला, डा. कुमार कोइराला सामेल भएको सेमिनारमा मैले प्रस्तुत गरेको कार्यपत्रमा मैले यसरी इतिहास राखेको थिएँ-

'वाराणसीबाट २०औं शताब्दीको आरम्भका वर्षहहरूमा प्रकाशित पत्रिकाहरूले एउटा परम्परा निर्माण गरिसकेको सन्दर्भ 'शारदा' प्रकाशनपूर्वको एक महत्त्वपूर्ण विषय हो । 'शारदा'पूर्व बनारसबाट प्रकाशित साहित्यिक पत्रिकाहरू 'उपन्यास तरङ्गिणी' (१९५९), 'सुन्दरी' (१९६३), 'माधवी' (१९७१), दार्जिलिङबाट प्रकाशित 'चन्द्रिका' ( १९७४), 'नेपाली साहित्य सम्मेलन पत्रिका' (१९८८) र 'शारदा' (१९९१) को दुई वर्षपछि लगत्तै बनारसबाट प्रकाशित 'उदय' (१९९३) को पृष्ठभूमि हिन्दी पत्रिकाहरूको प्रकाशनभन्दा भिन्न तर भाषिक र साहित्यिक आन्दोलनको हिसाबले समान ऐतिहासिक कारणहरूबाट प्रेरित साहित्यिक आन्दोलनका रूपमा मान्नुपर्ने देखिन्छ ।'

'उदय'मा आफ्नो पहिलो कविता प्रकाशित गरेका कमलमणिका निम्ति खासगरी 'सुन्दरी' र 'माधवी' पत्रिकाले बढी सान्निध्य राख्छन् । यो कालमा प्रकाशित पत्रिका र किताबहरूको संकलन उनको मदन पुस्तकालयमा संकलन भएको सन्दर्भ महत्त्वपूर्ण छ । कमलमणि साहित्यिक किताबहरूको एकमात्र अनुसन्धानमूलक पुस्तकालय स्थापना गरेर नेपाली वाङ्मयमा मुद्रण पुँजीवाद देखाउन सफल भए । संकलनमा रहेका किताबको सहज भंगुरताको खतरा नबुझी प्रयोग गर्न नदिएको भनी उनीसँग कति मानिस आक्रोशित भएका पनि देखिए । अहिले इन्टरनेटबाटै यो पुस्तकालयबारे सबैले थाहा पाउनसक्ने भएकाले यसमा भएका किताब, पत्रपत्रिका र अन्य संकलनको विषयमा लेख्नु केही आवश्यक छैन ।

कमलमणिले पुस्तकालयलाई आफ्नो पनि आलय बनाए, अथवा आफ्नो आलयभित्र पुस्तक राखे । उनलाई मैले पहिले पाटन कलेजमा अंग्रेजी पढाउन गएको बेला राम्ररी भेटेको थिएँ । पहिलो भेटमा उनमा रहेको प्रस्ट सामन्ती बोलीचाली, हाउभाउ र वचनले मलाई झस्काएको थियो । तर, पछि थाहा पाउँदै गएँ, त्यो उनको बोल्ने ठाडो शैली रहेछ । उनको आलोचना गर्नेहरू पनि उनको पुरस्कार पाएपछि आफ्नो पहिचान त्यो पुरस्कार प्राप्त भनेर राख्छन् । म त्यसलाई स्वाभाविक मानेर व्याख्या गर्छु । त्यसो हुनुको मुख्य कारण यो संस्थाको ऐतिहासिकता हो । उनले एउटा निजी स्तरको अनुसन्धानमूलक संस्थाको स्पेस खडा गरिदिए । त्यो नेपाली साहित्यको एकमात्र यस्तो थलो भयो जहाँ यस भाषाको साहित्यका किताब छन् भन्ने आधार खडा भयो ।

सूर्य सुवेदीको सम्पादनमा निस्केको 'सिर्जना र दृष्टिकोण' (२०७०) मा सुवेदीको एउटा प्रश्नमा कमलमणि भन्छन्, 'त्यो कमलमणिको व्यक्तिगत पुस्तकालय होइन, कमलको सानो संग्रह भन्ने सानो संकलनमात्र हो । मैले स्कुल पढ्ने बेलामा खाजा खाने पैसा बचाएर केही किताब किन्ने गरेको थिएँ । अंग्रेजी किन्न धेरै पैसा लाग्ने भएकाले म धेरैजसो नेपाली नै किन्थेँ ।' यसरी कमलमणिले बडागुरुज्यू र केशरशमशेरको अनुकृतिमा पुस्तकालय बनाएका होइनन्, यो साधारण आलम्बनबाट रचना भएको संकलन थियो ।

नेपालका अरू भाषाहरूमा लेखिएका साहित्यिक कृतिहरूका संकलनहरू कति छन्, त्यो अहिले बुझ्न सकिन्छ । नेपाल भाषाका पुस्तक र पाण्डुलिपिको संकलन मलाई प्रेमबहादुर कसाले देखाएका थिए । राणाकालमा ब्राह्मण र क्षेत्रीहरूलाई नेपालीका सेन्सर भएका किताब संकलन गर्ने सुविधा भए पनि कमलमणिबाहेक अरूले यस्तो संकलन गरेनन् । विपिनदेव ढुंगेलको संकलन पनि विराटनगरमा मैले राम्ररी देखेको थिएँ ।

तर कमलमणिको एउटा आलय, सम्पन्न परिवेश, अनि घर परिसर भएको कारणले अनि उनको ठूलो 'प्यासन'ले गर्दा मदन पुस्तकालय बन्यो र क्रियाशील भयो । आज आएर विश्वविद्यालयहरू, नेपाली विभागहरू र अन्य संस्थाहरूले कुनै पनि संकलन बनाउने चाख नदेखाएकाले उनले गरेका कामको महत्त्व झन् टड्कारो देखिन्छ । सनत रेग्मीजस्ता संकलक र सहयोग गर्न चाहने एकजना व्यक्तिको निजी पुस्तकालयको विषयमा पनि त्यही भन्न सकिन्छ । व्यवस्थापन र थलोको निर्माण गर्नसक्ने कमलमणिको कर्मलाई सकारात्मक किसिमले हेर्नुपर्छ भन्ने मेरो विचार छ ।

कमलमणि दीक्षित नेपाली वाङ्मय, समाज र मानक संस्कृतिका रचनाकारमध्ये एक महत्त्वपूर्ण व्यक्ति थिए । ती जीवनको अन्तिम अवस्थासम्म सक्रिय थिए ।

कमलमणिको संकलनका एकाध सुविधा विषयमा पनि लेख्नुपर्छ । तिनले राणाका घर र छानामुनिबाट पाण्डुलिपि भेटे । चन्द्रशमशेरकी कान्छी रानीको संकलनबाट चन्द्रले सिरानीमुनि राखेको जापानी भिक्षु इकाइ कावागुचीले उनलाई दिएको अंग्रेजी पाठ भेटे, जसको सार मैले मेरो 'कावागुची' किताबमा राखेको छु । यिनले बुइगलमै जंगबहादुरले लेखेका चिठी भेटे । 'जंबहादुरको बेलायत यात्रा' भेट्टाएर छापे जसको अंग्रेजी अनुवाद मैले अंग्रेज विद्वान् डा. जोन ह्वेल्पटनलाई सन् १९७९ मा बेलायतमा गराएँ ।

त्यो विश्लेषणसहितको किताबको दोस्रो संस्करण निस्केको छ र चर्चित भएको छ । यसरी कमलमणिको योगदान इतिहासका वस्तु दिनुमा पनि छ । 'बुइंगल' भन्ने कवितासंग्रह पनि अर्को एउटा उदाहरण हो । अन्य धेरै छन् । यसरी उनले लिखित र मुद्रित नेपाली अक्षर खोजे, भेटे अनि जीवन्त बनाए । धेरै नेपालीले त्यस्तो कर्म गरेको मलाई थाहा छैन । उनको हिस्टोरियोग्राफी खराँठ् सामग्री नभएर काव्यात्मक, कलात्मक र शक्तिशालीका उच्छ्वास, कमजोडी र अन्तरंग बोकेका पाठहरूले बनिएको कलेवर हो ।

यो आफैंमा विस्तृत अध्ययनको विषय हो । कमलमणि दीक्षितको योगदान प्रेस, शिक्षण संस्था, समाज, इतिहास, साहित्य र स्मृतिहरूमा बसेका मानव भावना र स्पन्दनजनिन संकलनमा मात्र होइन' उनका व्याख्याहरूमा पनि रहेको छ । उनीसँग व्यक्तिगत रूपले नजिकै नभएको तर अलिक परै रहेर उनको काम देखेर खुसी हुने र बुझ्ने म, यिनको देहावसानले शोकमा परेको छु । दीक्षितजी, श्रद्धाञ्जलि !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.