विचलनका माझ भूपी

विचलनका माझ भूपी

'कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखा पर्दछ ।'
'कलामा उत्तम जीवन छ, उत्तम जीवनमा कला छ ।'

लक्ष्मीप्रसाद देवकोटा, कला र जीवन (निबन्ध)नेपाली गद्य कविताका प्रवर्तक गोपालप्रसाद रिमाल मानिन्छन् । रिमालले गद्य कविताको प्रवर्तनमात्र गरेनन् गद्य कविताको मुक्त लयात्मकताभित्र कविताको मिठास भर्ने काम पनि गरे । रिमालसँगै धेरै कविहरूले गद्य कविताको प्रवाहलाई अघि बढाए । यस क्रममा नेपाली गद्य कवितालाई सर्वाधिक लोकप्रिय बनाउने कवि भूपी शेरचन हुन्, यो भनाइमा अत्युक्ति नहोला । यसको अर्को अर्थ के पनि हो भने कवि भूपी नेपाली गद्य कविताका सर्वाधिक लोकप्रिय कवि हुन् । कैयौं नवप्रतिभाहरूका लागि उनी प्रेरणाका स्रोत बनेका छन् ।

भूपी शेरचनले एउटा नाट्यकृतिसहित अरू चारवटा कविता संग्रह रचना गरे -'नयाँ झ्याउरे' (२०१० साल, छात्र जीवनको केटौले अवस्थामा लेखिएका गीति कविताको सँगालो), 'निर्झर' (२०१५, कलात्मक परिष्कारतर्फ उन्मुख कविताहरू), 'घुम्ने मेचमाथि अन्धो मान्छे' (२०२५, ४३ कविताको सँगालो) र 'भूपी शेरचनाका कविता' (२०५७) । सुरुसुरुका रचनामा भूपीको क्रान्ति चेतना खरो तर कलाले नमाझिएको खस्रो अवस्थामा देखापर्छ ।

'ऊ चम्क्यो हाम्रो साम्यवादी सूर्य मुसुक्क हाँसेर
पुँजीवादी रात बित्यो अब भन्छ भाले झैं बासेर'

कलिलो युवावस्थामै कम्युनिस्ट पार्टीको जिल्ला सचिव बनेका अवस्थाको लेखनमा सिद्धान्त जीवनका अनुभवहरूमा र कोमल अनुभूतिमा स्थापित नहुनु र आदर्श पनि केही सीमित पारिभाषिक शब्दहरूले घेरिनु अस्वाभाविक होइन, भूपीलाई त्यस्तै भएको छ । तर २०१६ सालदेखि झन्डै डेढ दशकको अवधिमा भूपीको स्रष्टा उत्कर्षको उच्च बिन्दुमा पुगेको छ । उनको तेस्रो संग्रह 'घुम्ने मेचमाथि अन्धो मान्छे' प्रकाशित हुनु वास्तवमा नेपाली कविताको रमाइलो महोत्सव थियो । त्यसबेलाको युवा समुदायमा उनका कविता सर्वाधिक चर्चामा रहे ।

उनका कविता युवाहरूका बोलीका अंग बने-यो हल्लैहल्लाको देश हो, तितरा बट्टाई र भक्कुका सन्तानहरू, मैनबत्तीको शिखा, अभिशक्त घर, घुम्ने मेचमाथि अन्धो मान्छे, गलत लाग्छ मलाई मेरो देशको इतिहासजस्ता शीर्षकहरू उखान र मुहाबरा (टुक्का) का रूपमा प्रचलित रहे भने यो गीति कविता त २०४६ र २०६२ सालको आन्दोलनसम्म नै क्रान्तिको मन्त्र जस्तो भएर गुञ्जियोः

'हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।'

लेख्न त भूपीले हामीले देख्दै सुन्दै आएका कुरा नै लेखेका छन् तर तिनै कुरा अन्यत्र सुन्दा हामी वास्ता गर्दैनथ्यौं भने भूपीका शब्दमा पढ्दा र सुन्दाबल्ल पो राम्ररी बुझियो जस्तो लाग्छ र नयाँ सुनेको आभास हुन्छ । वाक्क भइसकेका कुरामा हामी छक्क पर्छौं । कुन मसला हाल्छन् यी कवितामा भूपीले ? हामी मनमनै प्रश्न गर्छौं ।

भूपीका कवितामा हाम्रा आकांक्षाहरू खेल्छन्, हाम्रा कल्पनाले पखेटा पाउँछन्, हाम्रा पीडा बोकेर उनी उच्छ्वास पोख्छन् । उनी रोमान्टिक छन् । उनका कवितामा नीलगिरि र धौलागिरीसँग मुखामुख गर्छन्, तराईंका झुलिरहेका स्वस्थ बालीहरूसँग झुलिरहन्छन्, काउँडाँडालाई हेर्दा मिमसाहेबको जवान वक्षस्थलको साम्य पाउँछन् ।

भूपीमा यथार्थचेत झन् तीव्र छ -'हामी' कविता हामी नेपालीको हीनचेतना र त्यसको परिणामस्वरूप चौतर्फी बेथितिको काव्यिक फेहरिस्त हो -हामी निर्बलिया पानीका थोपा, लिलिपुटका लघुमानव, रंगरोग छुटेका टुटेका फुटेका पुरानो क्यारमबोर्डका गोटी, हामी बुद्धु वीर, हामी गुरुभक्तिमा मक्ख परेका एकलव्य, हामी पाइतला इत्यादि । आधा शताब्दी नाघिसक्दा पनि यो कविताले नेपाली मनलाई छोइरहेछ ।

भूपी असन्तुष्ट छन् आफ्नो वर्तमानसित र उनकै शब्द बोकेका हामी असन्तुष्ट छौं हाम्रो वर्तमानसित । उनी भाषण गर्दैनन्, तर्क गर्दैनन्, व्यंग्य गर्छन् तिखो धारिलो तर बिर्सन नसकिने भाषामा । अझ यसो भनौं, युगीन विकृति, बेथिति र विसंगतिको उत्खनन र उद्घाटन उनले गरेका छन्, पीडा र व्यथाको चित्रण उनले गरेका छन् । हामी जब त्यस्ता परिस्थितिको नजिक वा माझमा पुग्छौं र केही बोल्ने उत्कण्ठा जाग्छ तब हामी अनायास भूपीका हरपहरू सम्झिन्छौं, अनि आफ्नो मनको हलुंगो भएको अनुभव गर्छौं ।

राष्ट्रिय चेतनासँगै अन्तर्राष्ट्रिय भाइचाराको भाव भूपीका कवितामा एकाकार भएर आएको छ । हो-चि मिन्हलाई सम्बोधन गर्दै उनी भन्छन् -

'तिम्रा प्रत्येक बौद्ध विहारको विध्वंसम
मैले आफ्नो स्वयम्भूको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु ।'
कविले यस्तो तादात्म्य कसरी प्राप्त गर्छ ?

उत्तर दिँदै भूपी भन्छन् -
'कवि हुनु/व्यक्तिबाट सदाका लागि/समष्टिमा समर्पित हुनु हो/...बलिया र निर्धाहरूको लडाइँमा/बलियाहरूलाई ललकारेर/निर्धाहरूलाई ढोग्नु हो/बन्दुकधारी, अत्याचारी, आक्रमणकारीहरूलाई/कलमले छेक्नु हो, कलमले रोक्नु हो ।'

भूपीका कविता कन्चट तताएर, पसिना काढेर जबर्जस्ती अथ्र्याएर बुझिदिनु पर्दैन, आफैं बुझिन्छ, सुकेका दाउरामा आगो लाग्नासाथ झ्वार्र बलेजस्तै उनका कवितामा भावार्थ भइहाल्छ । सरल भएर पनि उन्नत सौन्दर्य हुनु, विचारोत्तेजक भएर पनि संवेद्य हुन सक्नु भूपीको कवित्वको विशेषता हो । मध्यम वर्ग र निम्न (मध्यम) वर्गका जनताका मर्म, पीडा र कुण्ठालाई तिनकै भाषामा सिंगारेर प्रस्तुत गरिएका भूपीका धेरैजसो कविता पढ्दा पाठकले आफ्नै मनमस्तिष्कका दोभानबाट भाषा र भाव प्रस्फुटित भएको अनुभव गर्दछ । उनका कविता पढ्दा दर्शन बुझिन्छ तर दर्शनशास्त्र होइन ।

कवि भूपी प्रगतिशील चेतना लिएर उठेका प्रतिभा हुन् । कम्युनिस्ट र कविता दुइटा 'क' जसबाट अवशानोन्मुख भूपीले आफू पीडित भएको ठान्न पुगे, वास्तवमा भूपीको जीवनको सारतत्त्व हो । प्रगतिशील लेखन वा माक्र्सवादी सौन्दर्य चेतनालाई केही उग्रवामविचारकहरूले सोचेजस्तो आन्दोलन, विद्रोह र वर्गशत्रुप्रतिको घृणाका सीमित शब्दावलीमा नखुम्च्याउने हो भने यसैगरी दक्षिणपन्थी संकीर्णतावादी विचारकहरूले सोचेजस्तो कलाविहीन शुष्क र सपाट प्रहारका सीमित विषयवस्तु र भावोत्तेजनामा नखुम्च्याउने हो भने यो जीवनको समग्र मूल्यको अभिलेख बन्दछ ।

यस अर्थमा २०१६ सालदेखि २०३० सालको वरपरका भूपी सशक्त प्रगतिशील मूल्यका स्रष्टाका रूपमा छन् । कम्युनिस्ट पार्टीको स्कुलिङबाट आत्मसात् गरेका जीवनमूल्यलाई नै उनले कवितामा सजाएका छन् (नारा र पर्चाको साहित्य सिर्जना सिकारु अवस्थासम्म मात्रै रह्यो) । त्यो नै भूपीको जीवनको अत्युत्तम अवस्था हो, उनको उत्तम जीवनले सिर्जेको उत्तम कला त्यही हो, उनको जीवनको शोधित, साधित र परिमार्जित अवस्था त्यही हो । त्यसबेला उनको स्रष्टा आफैंले भने जस्तै 'समष्टिमा समर्पित' थियो ।

अवश्य, त्यसबेला पनि उनको व्यष्टि वा व्यक्ति चेतना पनि बोलेकै थियो तर त्यो समष्टिसँग एकाकार थियो, जहाँ एकाकार थिएन त्यहाँ कवित्व दुर्बल बनेको छ । उनका आदर्शहरू शास्त्र र शास्त्रीय रुढिका रूपमा होइन, जीवनमूल्य, जीवनबोध र उच्च कलाका रूपमा प्रकट भएका थिए । जीवनबोध र कलात्मक साधारणीकरणका कारणले उनी कुनै सीमित पक्षधरताका कवि नभएर व्यापक जनसमुदायका कविका रूपमा लोकप्रिय रहे ।

२०३० पछिको डेढ दशक भूपीको जीवनको अवशानको समय रह्यो । वैयक्तिकतामै पनि सशक्त रहेनन्, आफूलाई लोकप्रियताको शिखरमा आरूढ गराउने आदर्शदेखि उनी विमुख हुँदै गए ।

वास्तवमा राजनीतिक दल विशेषका नाराहरू खास प्रसंगमा खास व्यक्तिहरूलाई महत्त्वपूर्ण र आकर्षक लाग्ने हुन् तर तात्कालीन नाराभन्दा माथिको जुन मानवीय आदर्श हुन्छ त्यसलाई कलात्मक साधारीकरण गरेर साझा अनुभूतिमा ढाल्न सक्ने कलाकार लोकप्रिय हुन्छन् । तिनको प्रख्यातिले आफ्ना सामाजिक समकालिक नाराका सीमा नाघेको हुन्छ । भूपी शेरचनको कलात्मक प्रतिष्ठाको मर्म यही नै हो ।

२०३० पछिको डेढ दशक भूपीको जीवनको अवशानको समय रह्यो । वैयक्तिकतामै पनि सशक्त रहेनन्, आफूलाई लोकप्रियताको शिखरमा आरुढ गराउने आदर्शदेखि उनी विमुख हुँदै गए । समष्टिमा समर्पित हुने, 'एउटा प्राणाीभित्र थुप्रैथुपै्र प्राणी हुने' तथा 'सच्चा जागरुक र इमानी ज्ञानी हुने' शिव संकल्पबाट उनी पलायन हुँदै गए । रक्सी उनको सहयात्री छँदै थियो, त्यसपछि त मालिक भएर शिरमाथि चढ्यो । प्रज्ञा प्रतिष्ठानलाई उनी घोडा हिन्हिनाउने तबेला ठान्थे तर प्रज्ञाको कुर्सी पाउन निहुरमुन्टी भएर सत्ताको बेलगाम स्तुति गर्न लागे ।

कवितामा समष्टिको आवेगबाट अलग्गिएका निजी गन्थहरू बढ्न लागे । रचना गर्दा 'पुनः लेख्छन्, पुनः केर्छन्, लामो सास फेर्छन्' भनी अथक साधना गरेर जनमनभित्र श्रद्धा र गौरवमा मिसिन चाहने भूपीको परिष्कारशील साधना नराम्ररी खस्क्यो । २०२० को दशकको त्यति जनप्रिय भूपी उपेक्षा र तिरस्कारका पात्र भए । जनताले आफ्नो भूपीलाई गुमाइसकेको अनुभव गरे । २०४६ साल जेठको पहिलो दिन उनको देहावसान हुँदा उनलाई माया गर्ने साहित्यिक क्षेत्रका स्रष्टा-पाठक मलामी उनले पाउन सकेनन् । एउटा नायकको दुःखान्त अवशान भयो ।

कविताभन्दा पद अनि जनताभन्दा सामन्ती सत्ताको मोह उत्कट भएपछि भूपी साहित्य वृत्तबाट असान्दर्भिक हुन पुगे । तर आफ्नो जीवनको अत्युत्तम अवस्थामा भूपीले जेजस्तो योगदान गरे त्यो नै त्यति उत्कृष्ट छ कि त्यसले उनलाई प्रशंसनीय बनाइरहेको छ । आफ्ना केही पूर्ववर्ती सिकारु अवस्थाका कमजोरीहरू र उत्तरवर्ती पथ विचलनसहित एक उच्च कलाकार भूपी केही नकारात्मक शिक्षासहित जनताको प्रियतम कविका रूपमा उज्यालो काव्यछवि लिएर उभिएका छन् । उनी पठनीय छन्, मननीय छन् र आफ्नो उत्कृष्ट कलाकारितामा अनुकरणीय पनि छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.