राष्ट्रवाद र राष्ट्रघात प्रयोग

राष्ट्रवाद र राष्ट्रघात प्रयोग

युरोपियन मस्नरिज बाइबल बोकेर अफ्रिका छिरे । अफ्रिकीलाई बाइबल थमाए । भने, ‘आँखा चिम्लेर प्रार्थना गर, ईश्वरले कल्याण गर्नेछन् ।' आँखा खोल्दा उनीहरूको हातमा बाइबल थियो, देश थिएन । साक्षी छन् डेजमन्ड एमपिलो टुटु । धार्मिक उवनिवेशबाट सुरु भयो अफ्रिकाको अधिग्रहण । राष्ट्रवादको अज्ञानताको सिकार भए सोझा अफ्रिकीहरू । देश गुम्यो, दास बने ।

गिरमिटियाहरू भारतबाट फिजी पुगे । कामदारबाट नागरिकको हैसियत बनाउन थाले । अंग्रेज उपनिवेशवाद दीक्षित भारतले उस्तैउस्तै फर्मुला लगायो । सत्तामा बसेका केही फिजियनले राष्ट्रवाद भुले । आन्तरिक उवनिवेशको सिकार भयो फिजी ।

फियनहरू चाकर भए, आप्रवासी (अंगीकृत) भारतीय गिरमिटिया मालिक भए । गुमेपछि थाहा भयो फिजियहरूलाई, के गुमायौं ? आधुनिक र आन्तरिक उपनिवेशवादको बलियो उदाहरण हो, फिजीकरण ।

राष्ट्रघातसँग जोडिने बलियो नाउँ हो, तत्कालीन सिक्किमे प्रधानमन्त्री लेन्डुप दोर्जे । जनप्रतिनिधिले छिमेकीलाई खुसीखुसी सुम्पेको देश हो, सिक्किम । एउटा सार्वभौम राष्ट्रका जनप्रतिनिधि गद्दार भइदिँदा जनताले मातृभूमि गुमाए ।

भारतले लेन्डुपलाई विद्रोहमा उतारेर निर्वाचन गरायो । जितायो । करिब २५ वर्षको भारतीय चलखेलपछि १० अप्रिल १९७५ मा सिक्किम विधानसभाले भारतमा विलय गर्ने निर्णय गर्‍यो । सिक्किम भारतको भयो ।

२० मार्च १९५० मै भारतको विदेश मन्त्रायलको एक विज्ञप्तिले भनेको थियो, ‘सिक्किम भारत संरक्षित एक राज्य रहनेछ ।' ब्यालेट सिजर (मतद्वारा कब्जा)बाट भारतले हडपेको भूमि हो, सिक्किम । राष्ट्रघातको सिकार भएको पछिल्लो उदाहरण हो, सिक्किम ।

नेपालका राजनीतिक घटना-परिघटना हेर्दा सिक्किममा प्रयोग भएको भारतीय ‘फर्मुला'ले नै सबै कुरा भित्रभित्र सूत्रबद्ध गर्दैछ । धार्मिक उपनिवेश र फिजीकरण पनि एकसाथ चल्दैछन् । सुरक्षा, सैनिक-सामरिक र वैदेशिक नीति भारतलाई सुम्पेर आत्माबिनाको शरीर भएको छ, भुटान ।

कठपुतलीतन्त्रमा चलेको छ । कमजोर राष्ट्रवादको सबैभन्दा नजिकैको उदाहरण हो, भुटान ।
भनिन्छ, सबैभन्दा राष्ट्रवादी राजाहरू हुन्छन् । हुँदैनन् भन्न सकिँदैन । तर, राजालाई राष्ट्रको भन्दा धेरै बढी राजगद्दीको माया हुन्छ । सम्पत्तिको हुन्छ ।

राष्ट्रको राजगद्दीलाई पनि राजाहरू निजी ठान्छन् । राजाहरू राष्ट्रवादी देखिन्छन्, वस्तुतः हँदैनन् । आफ्नो राजगद्दी र सम्पत्ति जोगाउन राजाहरूले पनि राष्ट्रघात गरेका हुन्छन् । कालापानी राजकीय सिकार भएको कुरा ‘सेलेक्टेड वर्कस् अफ जवाहरलाल नेहरू' किताबमा छ भन्नेहरू पनि छन् ।

राजाको राजगद्दी र सम्पत्ति मोहको सिकार भएको हो, भुटान । उनले राष्ट्रको तालाचाबी भारतलाई बुझाउँदा नै आफूलाई सुरक्षित ठाने । लगभग चार सय वर्षदेखि बसेका नेपालीलाई लखेटेर झन् सुरक्षित माने । जोंखा नजान्ने, घो र किरा-टेगो नलगाउने नागरिकलाई शत्रु देखे । रातारात लखेटे ।
हामी कस्तो राष्ट्रको अभ्यास गर्दैछौं ? माथिका यी जिउँदा घटनासँग हाम्रा अहिलेका कुन नेताको चरित्र नमिल्ला ?

गत साउनमा भारतीयले सप्तरीको तिलाठीमा बाँध बाँध्न थाले । दसगजामा निरन्तर भइरहेको भारतीय थिचोमिचो झन् बढ्यो । तिलाठीवासीले नेता गुहारे । सरकार गुहारे । प्रहरी-प्रशासन गुहारे । कतैबाट केही भएन । बाँध रोकिएन ।

हिजोसम्म ढाकाटोपी ढल्काएर दरबार छिर्नेहरू आज धोती लगाएर मधेसका ‘नयाँ मुल्ला' भएका छन् । सधैं नेपाली बोल्नेहरू आज पान चपाएर हिन्दीमा भाषण गर्दैछन् । राष्ट्रवाद र राष्ट्रियता टोपीमा पनि हुँदैन, धोतीमा पनि हँदैन । भाषामा मात्रै पनि हँदैन । आत्मामा हुन्छ ।

विकल्प भएन, आफैं जागे जनता । भिडे भारतीयहरूसँग । रक्षा गरे मातृभूमिको ।‘ किनकि स्वाभिमानको कुरा थियो । देशको धरतीको रक्षाको कुरा थियो', गर्व गर्छन् तिलाठीका नायक देवनारायण यादव । उनलाई राजनीतिको हैन, आफ्नो राष्ट्रको चिन्ता छ । उनलाई प्रदेश चाहिएको छैन, आफ्नो देश चाहिएको छ । माटो चाहिएको छ ।

‘म त मेरो ज्यानमा एक थोप रगत भएसम्म सिमानामा केही हुन दिन्नँ । एक मिनेट आँखा चिम्लियो भने तिलाठी भारत बनिसक्छ ।' मातृभूमिको छातीमा परचक्री पाउ पर्न नदिन देवनारायणसँगै रक्ताम्मे हुँदै लडे त्यहाँका जनता ।

तराई क्षेत्रमा भारतीय थिचोमिचो सधैं छ । सधैं लुटिएका छन् जनता । उखेलिएका छन् जंगे पिलरहरू । कति हो कति छन्, रातारात भूमि गुमाएर सुकुमबासी बन्ने । ‘मधेसीयो का मधेस' भन्नेले आजसम्म के गरे ? तराईका जनताले हिसाबकिताब राखेका छन् ।

हिजोसम्म ढाकाटोपी ढल्काएर दरबार छिर्नेहरू आज धोती लगाएर मधेसका ‘नयाँ मुल्ला' भएका छन् । सधैं नेपाली बोल्नेहरू आज पान चपाएर हिन्दीमा भाषण गर्दैछन् । राष्ट्रवाद र राष्ट्रियता टोपीमा पनि हुँदैन, धोतीमा पनि हँदैन । भाषामा मात्रै पनि हँदैन । आत्मामा हुन्छ । उनै देवनारायणलाई सोधे हुन्छ, कहाँ हुन्छ राष्ट्रवाद ? के हो राष्ट्रवाद ?

भित्तामा कोरिने नारा हैन, आत्मामा अंकित हुने जीवन्त चेतना हो, राष्ट्रवाद । राष्ट्रवासीको प्राण हो, राष्ट्रवाद । त्यो कुरा राजेन्द्र महतोदेखि खड्गप्रसादहरूलाई हैन, देवनारायणहरूलाई थाहा छ ।
सुस्ता, कालापानी, लिपुलेकका लागि धेरै नारा लागे । भारतविरुद्ध सुरुङयुद्धको उद्घोष गरेर फिर्ता लिन्छौं भन्नेसम्मका निस्किए तर ती सबै कपट थिए ।

कपटको सिकार भए धेरै नेपाली तन्नेरी । विधुवा बने कतिका पत्नी । टुहुरा भए कति लालाबाला । अन्धराष्ट्रवाद र उग्रराष्ट्रवादका नाटक थिए ती । पोपुलिजम् (जनरञ्जकवाद)को अभ्यासका रूपमा धेरै वर्ष चले यी नाटक । अन्ततः कथित वामपन्थ विचारबाट उम्रिएका राष्ट्रघातका असल नमुना साबित भए । सबै छर्लंग भयो, राष्ट्रमाथि ‘पोपेट'हरूको भद्दा खेल थियो त्यो ।

सत्ताबाहिर हुँदा भारतको उग्र विरोधलाई नै राष्ट्रवाद बनाएर ‘गरम मसला'का रूपमा नेपाली राजनीतिमा अझै प्रयोग हँदैछ । भारतको कस्मेटिक विरोध नै मूलतः नेपाली वामपन्थी राजनीतिको राष्ट्रवाद र राष्ट्रियताको वस्त्र थियो । अहिले हेरिनसक्नु छ, नक्कली राष्ट्रवादी वस्त्र उत्रिएको नांगो शरीर ।

कम्युनिजममा राष्ट्रवाद र राष्ट्रियता हुँदैन । अझै पनि कुनै वामपन्थीले राष्ट्रवादको नारा दिन्छन् भने ती कम्युनिस्ट हँदैनन् । कम्युनिस्ट हुँ भन्छन् भने ती कहिल्यै राष्ट्रवादी हुँदैनन् । वस्तुगत सत्य के पनि हो भने नेपालको राजनीतिमा सबैभन्दा बढी राष्ट्रवाद र राष्ट्रियता बिक्यो ।

किनकी यसलाई सबैभन्दा सस्तो बनाइयो । सस्तोको राष्ट्रवादको भीषण परिणाम अहिले देशले भोग्दैछ । निरीह भएको छ नेपाल आज ।

राष्ट्रवाद डरलाग्दो हतियार पनि हो । शासकले जनतामा राष्ट्रवाद र राष्ट्रियताको भय पैदा गराएर त्यही भयको तुवाँलोमा मनपरीतन्त्र चलाउँछन् । मूलतः कम्युनिस्ट, तानाशाही र एकतन्त्रीय शासकले राष्ट्रवादलाई भयवादमा फ्युजन गरेर शासन गर्छन् ।

पञ्चायतले यही विधि अपनायो । राष्ट्रवादलाई शासनको वैशाखीमात्र बनायो । सधैं राष्ट्रवादको डर देखायो । पञ्चहरूले राजाको भक्ति गाउनेबाहेक केही गरेनन् । राजाको खोक्रो भक्ति नगर्नेलाई अराष्ट्रिय तत्व घोषणा गरे ।

भारतीय सत्ता संस्थापनले बीपी कोइरालालाई पनि नचाउने प्रयत्न गर्‍यो । भारतीय सर्त मान्नुभन्दा गर्धन थापेर स्वदेश फर्कनु बेस ठान्नुभो उहाँले । बीपीले भन्नुभयो, ‘राजासँग हाम्रा प्रशस्त मतभिन्नता छन् तर देश बचाउने कुरामा हामी सबै एकसाथ हुनुपर्छ । मुलुकको सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्छ ।'

२०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर फर्किनुभो । तर राजाले पनि बुझ्न सकेनन् बीपीलाई । बीपीको राष्ट्रभक्ति र राष्ट्रवादलाई । त्यो गम्भीर गल्ती थियो । अकर्मण्यताको सिकार भए स्वर्गीय राजा । हाम्रो राष्ट्रवाद झन् कमजोर भयो ।

पञ्चायतकालभरि खोक्रो राजभक्ति गाएर सुत्ने पञ्चहरूमात्र राष्ट्रवादी भए । बाँकी सबैलाई अराष्ट्रिय तत्व र राष्ट्रघातीको बिल्ला भिराए पञ्चहरूले । बेसुर राष्ट्रवादको लयहीन गीत गाएर देश लुट्नमा नै तल्लीन रहे पञ्च । भक्तिराग सुनेर बसे राजाहरू । पञ्चहरूले बकाइनाको वैशाखी टेकाएर ३० वर्ष टिकाएको पञ्चायत ढल्यो ।

अहिलेको नेपाली कांग्रेस बीपीको आत्मा कुल्चिएर उभिएको छ । भोका कांग्रेसहरूले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजलाई पोलेर खाए । पचाए, सके । कांग्रेसभित्र देखिएको डरलाग्दो विचलन पनि राष्ट्रियतालाई धराशयी बनाउन सहयोगी भएको छ ।

राष्ट्रवादको परिभाषा पढ्न किताबका ठूल्ठूला ठेली पल्टाउनु पर्दैन । राष्ट्रवाद भनेको राष्ट्रप्रतिको निष्ठा हो । इमान हो । कर्तव्य हो । समर्पण हो । राष्ट्रको हित र उन्नतिलाई सर्वोपरि ठान्नु हो । राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु हो । राष्ट्रलाई सदैव सबैभन्दा माथि राखेर कर्तव्य पूरा गर्नु हो । जनताको पीडा र मर्का बुझ्नु हो ।

आफ्नै डा. गोविन्द केसी, सुशीला कार्की, कुलमान घिसिङ र लालबाबु पण्डितबाट जान्न सकिन्छ राष्ट्रवादको अर्थ । पेसाप्रतिको डा. केसीको निष्ठा, मर्यादा र विकृति-विसंगति विरुद्धको निरन्तरको लडाइँ नै राष्ट्रवाद हो ।

न्यायमूर्ति सुशीलाको आत्मसम्मान र विवेक नै राष्ट्रवाद हो । एउटा कर्मचारी कुलमान इमानदार भइदिँदा जनताले तीसौं वर्षदेखि भोगेको अन्धकारबाट मुक्ति पाएका छन् । यो इमानदारिता नै राष्ट्रवाद हो ।

राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुर र हृदयेश त्रिपाठीहरू बारम्बार मन्त्री भए । सत्तामा खेले तर उनीहरूजस्तै तराई मूलका एउटा लालबाबु पण्डितको छवि किन बनाउन सकेनन् ? प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल, शेरबहादुर देउवा, खड्गप्रसाद ओली, माधव नेपाल, झलनाथ खनालले पनि लालबाबुको जति ल्याकत किन देखाउन सकेनन् ?

किनभने यी कसैमा कुनै काम गर्ने निष्ठा र इमान थिएन । राष्ट्रका लागि गरौं भन्ने ज्ञानको टुसो नै कहिल्यै पलाएन । लालबाबुले केही गरेका छैनन्, एउटा जाबो निमय बनाए तर यति गर्ने पनि राष्ट्रमा आजसम्म कोही भएन । उनले जे गरे राष्ट्रप्रति निष्ठा र इमानपूर्वक गरे । त्यो नै राष्ट्रवाद हो ।
जहाँ इमान र निष्ठासाथ राष्ट्रप्रतिको कर्तव्य निर्वाह हुन्छ त्यहाँ राष्ट्रवाद सधैं बाँचेको हुन्छ ।

राष्ट्रवादको जीवन राष्ट्रका नियमकानुन र विधिविधानको पालनामा पनि हुन्छ । जहाँ भूकम्पपीडितका लागि दुई वर्षमा पनि एउटा छाप्रो बनाउन नसक्ने सरकारका प्रधानमन्त्री राष्ट्रको ढुकुटीबाट महिनाको २५ लाखको भात खान्छन् । काठमाडौंमै बसेर २५ लाखको हवाईजहाज चढेको पैसा लिन्छन् । महिनामा एक लाख ५० हजारको पत्रपत्रिका पढेँ भन्छन् ।

सांसदहरू संसद्मा फेसबुक चलाएर र उँघेर तलबभत्ता लिन्छन् । आफूखुसी आफ्नो सुविधा दोब्बर गर्छन् । औषधिउपचारका नाममा करोडौं लिन्छन् । आफ्ना नातागोता र अनुचरलाई छ/छ महिनामा करोडौंकरोड सहायता बाँड्छन् । सार्वजनिक पद ग्रहण गरेर कर्पोरेट भ्रष्टाचार गर्छन् ।

माफिया, दलाल र कार्टेलरलाई राज्य सञ्चालनको ठेक्का दिन्छन् । त्यहाँ विधिविधान मृत बनाइन्छ । राष्ट्रवाद मर्छ । खड्गप्रसाद ओलीलगायतका सम्मानीय र माननीहरू, राष्ट्र लुट्नु पनि ठूलो राष्ट्रघात हो । राष्ट्रघात र मातृघात एकै हो ।

गरिबी नै ठूलो कमजोरी हो । भारतले सिक्किममा प्रहार गरेको अस्त्रको सूत्र पनि यही थियो । जब राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थ, गुटगत अभिप्सा र विदेशी मन्त्रणाको सिकार हुन्छ तब राष्ट्रप्रति बेइमानी र जनताप्रति उपेक्षा हुन थाल्छ । राष्ट्रप्रतिको बेइमानी र जनताप्रतिको उपेक्षाभन्दा ठूलो राष्ट्रघात अर्को कुनै हुँदैन ।

अहिले सुवास नेम्बाङ देशको अस्तित्व संकटमा पार्ने कुनै पनि प्रस्ताव स्वीकार्य हुँदैन भन्दैछन् । तर, हिजो संविधानसभासको सभाध्यक्षको ‘अग्लो कुर्सी'मा बसेर रातारात संकटका शस्त्रअस्त्रले भरिएका मालगाडी देशमा भित्र्याउने को थियो ?

बिना राष्ट्रिय बहस, बिनाछलफल, बिनासंवाद, बिनाचिन्तन र बिनाजनताको अभिमत किन थोपरिए संकटका पहाडहरू ? कहिलेसम्म गर्ने पाखण्डपूर्ण राजनीति ? कति हदसम्म हुन्छ, राष्ट्रियतामाथि खेलवाड ? यो राष्ट्रघात हो कि होइन ?

२०५२ वर्षको इतिहास बोकेको नेपाल आज अभूतपूर्व संकटमा छ । इतिहासमै सबैभन्दा डरलाग्दो घडीमा राष्ट्रको अस्तित्व उभिएको छ । भोलि के हुन्छ ? देश-देशावरमा रहेका नेपालीमा त्रास र संकटको बादल छाएको छ ।

देश सिमानामा मात्र हँदैन, त्योभन्दा ठूलो देश भावनामा हुन्छ । नेपाली मूलका भारतीय प्रशान्त तामाङ हुन् वा हाम्री तेरिया मगर हुन्, इन्डियन आइडल बनाएर जिताउँदा आफूले जितेको महसुस गर्छन् । पुष्षा बस्नेत हुन् वा अनुराधा कोइराला हुन्, सीएनएन सुपरहिरो र हिरो बनाउन रातारात नसुती भोटिङ गर्छन् । जातजाति, भाषाभाषी र क्षेत्रीयताभन्दा धेरै माथि छन् नेपाली ।

तर, कहाँका सपेराले नचाउँदैछन्, क्षेत्रीयता र जातीयताका नागहरूलाई ? जनतालाई राष्ट्रियताको परिभाषा सिकाउन जरुरी छैन, नेताले बुझे हुन्छ । तराईमा भारतको सिमानामा झुप्रो हालेर बस्ने हुन् वा हिमालमा चौंरी चराउने हुन्, नागरिक सधैं इमान्दार छन् राष्ट्रप्रति । राष्ट्र र राष्ट्रियताको भाव सधैं बाँचेको छ जनतामा । तर, त्यही राष्ट्रमा राष्ट्रियता किन यति कमजोर ? त्यही राष्ट्रले आज किन भोग्दैछ कहालीलाग्दो संकट ?

किनभने हामी जुनु राष्ट्रका नागरिक हौं, त्यही राष्ट्रका निर्माताको सालिक उखेलेर फ्याक्छौं । जुन राष्ट्रका नागरिक भनेर स्वाभिमान गर्छौं, त्यही राष्ट्रका पिताको घोर अपमान गर्छौं । हामी यस्तो राष्ट्रका नागरिक भयौं, जसले राष्ट्र निर्माण गर्‍यो, त्यसलाई इतिहासबाट मेट्ने प्रयत्न गर्‍यौं । छिमेकी र परचक्रीबाट आगो पैंचो ल्याएर आफ्नो घर सल्कायौं । अहिले आफ्नो घरको आगो बैरीले तापिरहेका छन्, हामी थुर्थुर कामिरहेका छौं ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति राज्यले गरेको अनादर पनि राष्ट्रवाद र राष्ट्रियताप्रति डरलाग्दो विचलन थियो । राष्ट्रघातको घृणास्पद आयातीत अभ्यास थियो । राष्ट्र भनेको भूगोलमात्र हैन, राष्ट्रवासीको स्वाभिमान हो । आज भूगोलसँगै स्वाभिमान पनि हराउँदैछ । इशारामा नाच्छ छोडौं, राष्ट्र जोगाऔं ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.