साँच्चिकै खुदो कसरी पल्टिन्छः खुदो मौसम
कसैलाई फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर, साँच्चिकै खुदो कसरी पल्टिन्छ, नयाँ पुस्ताका धेरैलाई थाहै छैन । उखुको रस पकाएर खुदो बनाउने चलन कताकतिमात्रै बाँकी छ । कास्की लेखनाथको ढोडबेसीमा अझै पनि खुदो पकाउने चलन हराएको छैन ।
५६ वर्षे जगन्नाथ धमलाका अनुसार उनका पुर्खाका पालादेखि नै यहाँ उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो भन्नेचाहिँ उनी पनि ठ्याक्कै भन्न सक्दैनन् । यहाँका ५२ परिवार चार सय रोपनी भूमिमा उखु खेती गर्छन् र बर्सेनि खुदो पकाएर बेच्छन् ।
पुसे पन्ध्र र माघे संक्रान्ति यस्ता पर्व हुन्, जति बेला खुदो खाइन्छ । अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । अचेल चिनी हालिन्छ । पाएसम्म त खुदो नै हाल्ने चलन छ । माघेसंक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो उखु र खुदोको मौसम हो । लेखनाथको ढोडबेसीका किसान यतिखेर यिनै पर्वलाई ख्याल गरी धमाधम उखु काट्दै र खुदो पकाउँदैछन् ।
किसान माधव धमलाका अनुसार बीउ रोपेको एक वर्षमा उखुको लाँक्रा काट्न ठिक्क हुन्छ । लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । 'पाँच घन्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ', माधवले सुनाए । ढोडबेसीका किसानले पोहोरसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो ।
नगरपालिकाले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् । मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाइन्छ । खुदो मानाको एक रुपैयाँ बिक्री हुन्छ ।
'बिक्रीलाई फिक्कर छैन, जति पनि बिक्छ', जगन्नाथ भन्छन्, 'किन्न खोज्ने जतिलाई पुग्दो उखु र खुदो नै हुँदैन ।' घर-गाउँमा एकाध गाँज उखु भए पनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरू गाउँमा खेती भएको छैन । ढोडबेसीमात्रै एक्लो गाउँ हो । मकैको मात्रै होइन उखुको लाँक्रालाई पनि ढोड भनिन्छ । त्यसैले ठाउँको नामै ढोडबेसी भएको छ ।
कृषि कार्यालयले यहाँका किसानलाई उखुको बीउ सहयोग गर्दै आएको छ । बाँसकडा जातको उखुको खेती यहाँ हुन्छ । रोपेपछि वर्षमा तीनपटक गोड्नुपर्ने उखुखेती परम्परा धान्नमात्रै गर्दै आएको किसान बताउँछन् । भन्छन्, 'खुदो बेच्दा पनि अहिलेसम्म जिन्दगीमा खुदो पल्टेको छैन ।'