किराँत इतिहासका धरोहर इमानसिंह
इमानसिंह चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुन् । आज पठनपाठनमा आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा उनको अतुलनीय योगदान रहेको पाइन्छ ।
उनको जन्म १७ पुस १९६१ मा भारतको पश्चिम बंगालस्थित कालिम्पोङको रिन्केबुङ बस्तीमा भएको थियो । नेपालको पाँचथर आङसराङबाट भारतको कालिम्पोङमा गएका लिम्बू मेघवर सिंहका पाँचौं सन्तान अन्तरे भाइ हुन् । उनले धार्मिक ज्ञान र दर्शन जान्ने अवसर आमाबाट गुरुकुल पाएका थिए । इमानसिंहले कालिम्पोङमा हाईस्कुलसम्मको अध्ययन पूरा गरेका थिए । विद्यार्थीकालमै बाबु-बाजेबाट किराँत भाषा बोल्न र जान्न पाए उनले । उनैबाट याक्थुङ्बा लिम्बूहरूको सुनौलो इतिहासको दिन सुरु भयो ।
२६ जुलाई १९५२ मा उनले कालिम्पोङ सरदार मैतसिंह थेगिमको घरमा सभा बोलाए । सभाको ध्येय स्थानीय समाजलाई किराँत भाषा पढाउने उद्देश्यले प्रेरित थियो । सो छलफलमा सुबेदार मेजर हर्कदल माखिम, दरङ्गा धनवाज फेन्दुवा, मण्डल जितबहादुर थेगिम, मण्डल हंसराज थेगिम, कुलहाङ चेम्जोङ र निर्मल सदेम्बाहरूको उपस्थितिमा इमानसिंहले पुराना प्राचीन हस्तलिपि किराँत अक्षरको पुस्तक निकालेर देखाए । आफ्नो भाषाको पुस्तक र लिपि पहिलोपटक हेर्न र सुन्न पाउँदा अरू पनि सबै खुसी भए । सो सभा वास्तविक ऐतिहासिक र निर्णायक बन्यो । उपस्थित व्यक्तिहरूले उनलाई त्यो पुस्तक वाचन गरी सुनाउन अनुरोध गरे । इमानसिंहले सफलतापूर्वक वाचन गरे ।
'सावायेत्हाङ किराँत मेन्छाम्गेन नाम्याप्मीसाहारे तागेरा निङ्वाभुमाङ्ल्ये कुलाङदेम सेवा चोकमा पोङ, मनासारे हिङ्मुई, सिममुई केरेक निङ्वाभूमाङ्ल्ये, कुहुक्को वारो, खेन्ल्ये मुन्धुमहा हिङमाल्ये, हिङममुन्धुम, सिमाल्ये सिमा मुन्धुम, शशी मुन्धुमहा निप्मा, साप्मापोङ' जसलाई उनले यसरी नेपालीमा अथ्र्याए, 'किराँती सन्ततिको एक मात्र परमात्मा परमेश्वर तागेरानिङ्वाभूमाङको पाउमा सेवाभक्ति आराधना अर्चना गर्नुपर्छ । मर्नु र बाँच्नु सबैको खटनकारी उनै ईश्वरमाङको देन हो । मानिस मात्रले बाँच्नुपर्दा बाँच्ने विधि, मर्दा मृत्यु विधि आदि दर्शनशास्त्र अध्ययन लेखपढ गर्नुपर्छ ।'
पुस्तकको यो अंश वाचनसँगै सबैले जुरुक्क उठी एकै स्वरमा भने, 'यो भाषा हाम्रो हो, हामीले हाम्रो पान् बुझ्यौं, यो किराँती जातिको भाषा र लिपि रहेछ, हाम्रो भाषा हाम्रो भेष, प्राणभन्दा प्यारो छ, किराँत भाषा र अक्षर पढ्नुपर्छ यो सबै तागेरा निङ्वाभूमाङको देववाणी, माइङघङ रहेछ, हाम्रो लागि गौरवको कुरा हो ।
यो कागज कहाँबाट पाइयो । त्यहाँ उपस्थित सभाको प्रश्नको उत्तर दिनु हुँदै मेरो घरमै थियो भन्ने जवाफ उनले दिए । धन्य 'माङसा हाङसा' देवपुत्र राजपुत्र भनी उनलाई धन्यवाद दिए । हामीलाई सिकाउनुपर्छ भन्ने सभाको आग्रहलाई स्वीकार गरी उनले किराँत अक्षर लेखपढ गर्न सिकाए ।
यस सभाको सर्वसम्मतबाट 'याक्थुङहाङचम्लुङ' भन्ने नाम राखी इमानसिंहले किराँत आन्दोलन कालिम्पोङबाट सभा, सम्मेलन र किराँत लिपिको पढाइद्वारा शंखनाद गरे ।
यो समय कालिम्पोङ हाईस्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेका बेला देखिन्छ । लगत्तै सन् १९२६ मा २२ वर्षको उमेरमा प्रवेशिका पास गरी उच्च शिक्षा हासिल गर्न कलकत्ताको सेन्टजेभियर महाविद्यालय अध्ययन गरी सन् १९२८ मा आईए पास गरी बीए अध्ययन गरिरहेका बेला उनको बुबाको मृत्यु भएकाले घर फर्के । उच्च शिक्षा बाधक बन्यो बुबाको मृत्यु । बुबाको अन्त्येष्टिपछि व्यवहार सम्हाल्दै आफूले खोलेको याक्थुहाङ् चुम्लुङ्को गतिविधिमा लागे । यस क्रममा सिक्किम, भुटान, आसाम, कोइटा, देहरादुन, पन्जाब, धर्मशाला, कलकत्ता, बर्मा र सिंगापुरमा पत्रचार गरी व्यापक हलचल ल्याए ।
सिक्किमको बाजवीर थलङ, गेजिङ, ससिङ, नाम्ची, हिगाउ, कालुकमा खोलिएका किराँत स्कुलमा पढाउँदै गर्दा सन् १९४२ मा गेजिङ स्कुलबाट गान्तोकको उच्च विद्यालयमा इमानसिंहलाई बढुवा गरी लगेका थिए । तिनताक मनबहादुर, शन्तवीर खाम्दाक, पदमसिंह नुगोहरूलाई पनि सिकाए । यहीबेला सिक्किम सरकारले रेभेन्यु इन्स्पेक्टर पदमा रही काम गर्ने क्रममा सिक्किमका पश्चिम किराँत गाउँघरका बस्तीबस्तीमा भ्रमण गरी प्रचार-प्रसार गरे ।
यसको राम्रो सन्देश नेपालको पल्लो किराँत लिम्बूवानमा परेकाले ठूलाबडा सुब्बा खड्गबहादुर, नरबहादुर नेम्बाङ, काजीमान तुम्बाहाङ्फे, शेरबहादुर लावती, महागुरु फाल्गुनन्दलगायतको अनुरोधमा सिक्किम छाडी लिम्बूवान प्रदेशमा सन् १९५२ मा नेपाल आएका थिए ।
नेपालका गाउँघर घुमेर प्रचारप्रसार गर्दै पल्लो किराँत लिम्बूवानको सभापति बने । यसको प्रतिनिधित्व गर्दै सन् १९५३ मा राजा त्रिभूवनसँग भेट गर्न काठमाडौं आएका थिए । यस क्रमलाई लगातार २०१३/१४ सालमा पटकपटक लिम्बूवानको माग ९/१० र १६ बुँदे राखी तत्कालीन सरकारलाई घच्घच्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालमा सर्वप्रथम २०१५ सालको आमनिर्वाचनमा संसद् सदस्यमा स्वतन्त्र उम्मेदवार बने । चुनावमा पराजित भएपछि भाइस चान्सलर रणधीर सुब्बाको पालामा सन् १९६१ देखि त्रिविमा किराँत भाषा र संस्कृतिको विशेषज्ञ करार सेवामा नियुक्त भए । सो कार्यबाट प्रभावित भई तत्कालीन इनास (वर्तमान सिनास) मा रहेर काम गर्दै सन् १९७५ सम्म १५ वर्षको लामो सेवाबाट बिदा लिए ।
आजीवन किराँत भाषा, लिपि, दर्शन, साहित्य, कला, धर्म र संस्कृतिको उत्थानमा अमरत्व प्राप्त गर्ने इमानसिंह किराँतका विभूति एवं युगपुरुष हुन् ।
काठमाडौंको नरदेवी टोलमा बसी नित्य त्रिवि धाएर निःस्वार्थ भावले सेवा गर्ने इमानसिंहले आफ्नो सम्पूर्ण जीवन देश, समाज र जनतामा उत्सर्ग गरेका थिए ।
आधा शताब्दीभन्दा लामो समय एउटै विषयमा तन, मन, न, जन, बोली, वचन र कर्मले जीवन अर्पण गरी किराँत भाषा, लिपि, साहित्य, संस्कृति र इतिहास विषयमा खोज-अनुसन्धान गरी पुस्तक तयार पारेका छन् । यसको उचाइ र गहिराइ विश्लेषण गर्नुपर्दा आश्चर्यलाग्दो चतुरविद्याका पारखी भन्नुपर्दा तत्कालै ती प्राचीन मन्धुमलाई 'माङसाप्ला' नामाकरणले सम्बोधन गरी अक्षर सिक्न र लेख्न सजिलो होस् भनी यसलाई हिज्जेमा परिणत गरिदिए, 'का पा आ मा ता या था ना सा ङा शा वा हा ला या फा खा रा छा ञा' ।
साना ठूला अक्षरलाई पढ्ने-पढाउने ज्ञान सम्झँदा उनलाई विद्वान् ठान्नुपर्छ । उनका कृतिप्रति दृष्टिगत गर्दा इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद्का रूपमा मान्नुपर्ने हुन्छ । किराँत भाषामा वेद तथा मुन्धुम नलेखिदिएका भए सिंगो किराँती समुदायको धर्म र दर्शनको पूर्वाधार नै बन्ने थिएन ।
यस्तो बहुआयमिक व्यक्तित्वको विवाह दार्जिलिङका गोकुल दासकी अन्तरी छोरी अमिरसँग भएको थियो । उनीहरूका हाङ्सिंह र मोहनसिंह दुई छोरा र नुरजुहाङ्मा, सुनुहाङ्मा र सुखहाङ् नामकी तीन छोरीबाट नौ नातिनातिना जन्मिएका छन् । उनको जीवनी केशर सुब्बा र नरबहादुर योङहाङले लेखेका छन् भने लिम्बू भाषामा उनको जीवनी पढाइ हुन्छ ।
उहाँको तस्बिर चित्रांकित हुलाक टिकट प्रकाशन गरी नेपाल सरकारले राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । जनजाति स्तरबाट विविध ठाउँमा मूर्ति, बाटो, स्कुल, विभिन्न संज्ञामा इमानसिंह चेम्जोङ राखिए पनि जनता र राज्यबाट दिनुपर्ने राष्ट्रिय विभूतिको मान्यता दिन र उनका कृति अंग्रेजी, नेपाली र लिम्बू भाषामा अनुवाद गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न अझैं बाँकी छ ।
त्रिविमा कार्यरत रहँदै हृदय रोगले चाप्दै गएकाले इमानसिंह चेम्जोङ दार्जिलिङको विचवुड हाउसमा आरामका लागि गए । प्लान्टर्स अस्पतालमा स्वास्थ्योपचार गर्दागर्दै २२ असोज २०३३ मा ७१ वर्षको उमेरमा उनको निधन भयो । आजीवन किराँत भाषा, लिपि, दर्शन, साहित्य, कला, धर्म र संस्कृतिको उत्थानमा अमरत्व प्राप्त गर्ने इमानसिंह किराँतका विभूति एवं युगपुरुष हुन् ।
-लिम्बू विश्व किराँत नारी संघ यूकेका अध्यक्ष हुन् ।