कम्युनिस्ट आन्दोलनमा आघात !
मार्क्सको दुई सयौँ जन्मजयन्ती मनाउने क्रममा वामपन्थी खेमामा केही चहलपहल देखा परेको छ र यस सन्दर्भमा गत पुस ११ र १२ गते केही जाँगरिला कम्युनिस्ट युवाहरूले 'द्वीशतवार्षिकी समारोह' आयोजना गरे । यो सराहनीय काम हो र आयोजकहरू यस मानेमा धन्यवादका पात्र छन् कि मार्क्स, मार्क्सवाद, कम्युनिस्ट राजनीति तथा कम्युनिस्ट नैतिकतासम्म बिर्सिसकेका नेपालका कम्युनिस्टहरूलाई त्यसले मञ्चमा उभ्याएर मार्क्सबारे बोल्न लगाए ।
मार्क्स र कम्युनिस्ट आन्दोलको लक्ष, चिन्तन, दिशा र नैतिकताबारे बोल्दा ती नेताहरूलाई कति घत लाग्यो वा लागेन वा तिनको चरित्र, नैतिकता तथा राजनीतिक व्यवहारबारे तिनको अन्तरआत्माले तिनलाई केही सोध्यो वा सोधेन, त्यो उहाँहरूले नै महसुस गर्ने कुरा भयो, दर्शक वा श्रोताले भन्न सक्ने कुरा भएन ।
तर मञ्चबाट नेताहरूले व्यक्त गरेका शब्दहरू सुन्दा सचेत श्रोताको मनमा अनेक तर्कना, विचार र प्रश्न उठ्नु स्वाभाविक थियो र उठे पनि । मेरो मनमा पनि खासगरी दुईखाले प्रश्न उठे-पहिलो, जुन शब्द र मार्क्सका भनाइ तिनले उच्चारण गरे त्यसको कम्युनिस्टको राजनीतिक जीवन र व्यवहारमा देखा पर्नुपर्ने रूप के हो र त्यसलाई व्यवहारमा उतारे नउतारेको मापन गर्ने कसौटी के हो र तिनले तदनुरूप आफ्नो राजनीतिक संस्कार बनाउन सकेका छन् वा छैनन् र त्यसलाई जीवन व्यवहारमा उतारेका छन् वा छैनन् भन्ने यक्षप्रश्न तिनको आत्माले गर्यो कि गरेन ।
दोस्रो कुरा-तिनको अन्तरमनले आफ्ना कुरा बोल्दा आफ्ना काम, कर्तव्य र व्यवहार साक्षी राखी बोल्नुपर्ने नैतिक प्रश्न उठायो कि उठाएन र त्यसले तिनलाई घोचिरहेको थियो कि थिएन ?
म पाँचदसक पहिले आजको नेकपा (संयुक्त) तत्कालीन अवस्थामा नेपालको एक मात्र गैरमाओवादी र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सदस्य नेपाल कम्युनिस्ट पार्टीको सदस्य थिएँ र आजसम्म यसै पार्टीमा काम गर्दै आएको छु । यस दौरान मैले मार्क्सवादको केही व्यवस्थित अध्ययनका साथै विभिन्न देशका कम्युनिस्ट पार्टीहरू तथा अन्तर्राष्ट्रिय आन्दोलनसँग परिचित हुने सौभाग्य पाएँ ।
यस राजनीतिक जीवनयात्रामा कमुनिस्टहरूको सिद्धान्त, नैतिकता, राजनीतिक जीवनशैली तथा जनउत्तरदायित्वको भावनाबारे जेजति ज्ञान प्राप्त गरेँ, त्यसले आज मलाई प्रश्न गर्ने गर्छ-मार्क्सवादलाई मार्गदर्शक सिद्धान्त स्वीकारी जन्मेका नेपालका कम्युनिस्टहरूको जीवन पद्धति, राजनीनिक चिन्तन, संस्कार, चरित्र र कम्युनिस्ट नैतिकताको कसौटीबाट जाँच गर्ने हो भने ती मार्क्सवादको कुन धरातलमा पर्दछन् ?
त्यस धरातलमा यिनको अस्तित्व कहाँनिर अटाउँछ ? के कम्युनिस्ट आन्दोलनले स्थापित गरेका आदर्श, मूल्यमान्यता वा चिन्तन प्रणाली तथा राजनीतिक नैतिकतासँग केही तादात्म्य छ ? सायद यी प्रश्न धेरै मगजमा उब्जिरहेका होलान् र धेरैले यस विषमा लेख्ने र भन्ने गरेका पनि छन् । शब्दमा मार्क्सवाद-लेनिनवाद, समाजवाद, श्रमिक जनताको राज्य आदि जेजति बखाने पनि त्यसप्रतिको प्रतिबद्धता, आचरण, दिशा, लक्ष आदिको पक्षबाट हेर्ने हो भने यी प्रश्नको उत्तर नकारात्मक आउँछ ।
वर्तमान राजनीतिमा हालीमुहाली गरिरहेका साथीहरूले मेरो यस अभिव्यक्तिलाई निश्चय नै रुचाउने छैनन् र सायद मलाई केही बनेबनाएका तकमा वा उपाधि पनि भिडाउनेछन् । तर यथार्थ यथार्थ नै हुन्छ । कम्युनिस्ट आन्दोलन दिशाविहीन भएको छ र यो श्रमिक आन्दोलनको अगुवा नभएर मध्यम वर्गीयहरूका आडम्बर, फरेव तथा सत्ताका लागि षड्यन्त्र र तिकडमको आन्दोलनमा परिणत भएको छ । भ्रष्टाचारको पालक पोषकको रूपमा रहेको छ ।
केही टाठाबाठा नेता र द्रव्यपिपाशुहरूको संगठित मोर्चाहरूका रूपमा देखा परेको छ । यसमा न सिद्धान्तप्रतिको निष्ठा न श्रमिक जनताप्रतिको उत्तरदायित्व बोध नै देखा पर्दछ । बल्कि वर्तमान सम्पूर्ण राजनीतिक विकृति र कुशासनको घालमेल यसमा देखा पर्दछ ।
कम्युनिस्ट पार्टीहरूलाई गरिबी, अशिक्षा, बेरोजगार, विभेद र शोषणको मारमा परेका जनताले आफ्नो मुक्तिदाता शक्तिको रूपमा लिँदै आएका हुन् र तदनुरूप नै नेपालमा पनि कम्युनिस्टहरूप्रति समर्थन जनाउँदै आएका छन् र समष्टिगत रूपमा हेर्ने हो भने बहुमतले त्यसको पक्षमा मतदान गरेका छन् । माओवादीहरूको उग्रवादी 'जनयुद्ध' को विफलतापश्चात् जनताले मतदानकै माध्यमबाट पटक-पटक कम्युनिस्टहरूलाई सत्तामा पुर्याएका छन् र यहाँका सबै स्वनामधन्य कम्युनिस्ट नेताहरूले राज्यसत्ताको बागडोर हातमा लिई वा सत्तामा निर्णायक स्थान ओगोटी सहभागी भएर देश चलाउने सुअवसर पाएका छन् ।
गणतन्त्र स्थापनापश्चात् सुशील कोइराला नेतृत्वको सरकारबाहेक (त्यसमा पनि 'कम्युनिस्ट शक्ति' एमाले निर्णायक शक्तिकै रूपमा थियो) कम्युनिस्टहरू सधैं निर्णायक शक्तिको रूपमा सत्तामा रहेका हुन् र संसद्बाट बलियो समर्थन प्राप्त गरेका हुन् । यस अवस्थामा समयसापेक्ष कार्यनीति बनाई देशलाई समाजवादोन्मुख दिशामा अग्रसर गराउन सकिने सम्पूर्ण आधार र अवस्था थिए ।
तर कम्युनिस्टको नेतृत्व र पकड हुँदाहुँदै पनि तिनले देशलाई आमूल सामाजिक-आर्थिक परिवतनको बाटोमा लैजाने चासोसम्म देखाएनन् । न त यस दौरान आफ्ना नीति तथा कार्यक्रमका आधारमा आम जनताबीच आफ्नो भिन्न पहिचान नै स्थापित गर्न सके । अनुकूल अवस्था नभएर होइन, चाहना, दृष्टिकोण र अठोट नभएर । दुःखसाथ भन्नुपर्छ वर्तमान विकृतिका जन्माउनमा एमाले र एमाओवादी जस्ता ठूला पार्टीहरू पछि परेरनन् । घूसखोरी, नातावाद-कृपावाद तथा प्रशासनिक बेथितिको र भ्रष्टाचारलाई संस्थागत गर्नमा र त्यसलाई व्यापक रूपमा पार्टी स्तरमा पुर्याउने काम गर्न पछि परेनन् ।
एकदसक लामो यस कालखण्डमा संसद्मा होस वा जनमानसमा, कम्युनिस्टहरूको बलियो पकड र समर्थन रहेको हो र आज पनि छ र सत्ता सञ्चालनमा कम्युनिस्टहरू निर्णायक शक्तिकै रूपमा छन् । यस अवस्थामा कम्युनिस्टको संयुक्त शक्तिले समान ध्येयका लागि जनमुखी अग्रगामी कार्यक्रम लिएर काम गरेको भए त्यसलाई नेपाली कांग्रेसबाहेकका धेरैजसो गैरकम्यनिस्ट पार्टीहरूले समेत साथ दिने अवस्था थियो र छ ।
संसदीय परिपाटीबाट शान्तिपूर्ण रूपान्तरणको बाटो भएर अगाडि बढ्न यसभन्दा अनुकूल अर्को अवस्था हुन सक्दैन । तर यस अवस्थामा पनि देशलाई मार्क्सले देखाएको र कम्युनिस्टहरूले स्विकारेको बाटोमा निष्ठा र नैतिकतासाथ स्पष्ट नीति तथा यथार्थपरक कार्यक्रम लिएर देशलाई अग्रदिशामा लैजान स्वयम् कम्युनिस्टहरू वाधक भइरहेका छन् ।
यस विडम्बनापूर्ण अवस्थामा यी युवकहरूको मार्क्सजयन्ती समारोह र गोष्ठीहरू गर्ने सद्प्रयास परम्परा निर्वाह गर्ने कामबाहेक केही दिन सक्ला जस्तो लागिरहेको छैन । तर यस प्रयासको म सराहना गर्दछु । सच्चा कम्युनिस्ट पक्षधर र मार्क्सका अनुयायीहरूले जस्तोसुकै कठिन अवस्थामा पनि सुधार र निकासका उपाय खोज्दै रहनुपर्दछ । यसले आज नभए भोलि परिणाम दिनेछ र आजको नेतृत्वलाई विस्थापित गर्न निष्ठावान् नयाँ नेतृत्व जन्माउने माटो तयार गर्नेछ ।
दुर्भाग्य केमा छ भने अहिले समाज परिवर्तन गर्नुपर्ने मार्क्सको शिक्षाका अनुयायी हुँ भन्ने नेतृत्व वर्गमा नै मूल्य–मान्यता र नैतिकताको खडेरी देखा परेको छ र यही नेतृत्व स्वार्थ र पाखण्डको दलदलमा सबभन्दा बढी भासिएको छ । नयाँ पुस्ताले आन्दोलनलाई दलदलबाट बाहिर निकाल्ने प्रयास जारी राख्नुपर्छ । न मार्क्सबाद फेल भएको छ न उसको बाटो गलत हो । प्रश्न हो– सही अर्थमा त्यसलाई बुझ्ने र राजनीतिक व्यवहारमा लागू गर्ने ।
समय र अवस्थासापेक्ष कार्यनीति निर्धारण, अग्रगामी शक्तिको पुनर्संयोजन तथा विद्यमान उपलब्धिमा टेकेर कम प्रतिरोधी बाटो अपनाई क्रान्तिलाई अग्रदिशा दिनु कम्युनिस्टको काम हो नकि सत्ता स्वार्थ र अर्थलाभामा अल्झिएर बाटो छेक्नु । यो गैरकम्युनिस्ट आचरण र जनविरोधी राजनीति हो । अहिले क्रान्तिलाई अगाडि बढाउन अनुकूल अवस्था हुँदाहुँदै पनि कम्युनिस्टहरूको आपसी खिचलो र स्वार्थको द्वन्द्व वाधक भएको छ ।
संविधान विवादमा परेको छ, जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्, देशमाथि चौतर्फी संकट छ, जनता महँगी, भ्रष्टाचार, भोकमरी बेरोजगार, सामाजिक असुरक्षको मारमा छन् । एउटा सानो गल्तीले देश प्रतिगमनतर्फ धकेलिने र देशको सार्वभौमिकता, अखण्डता, सामाजिक सद्भाव र एकता संकटमा पर्ने टड्कारो खतरा देखा पर्दैछ । यस अवस्थबाट देशलाई जोगाई अगाडि बढ्नु कम्युनिस्टहरूको प्रथम दायित्व हो ।
तर सत्ता स्वार्थमा र व्यक्तिगत पाखण्डमा लिप्त कम्युनिस्टहरू निजी स्वार्थको लागि पुनः सत्तासंघर्षमा ओर्लिएका छन् र यसबाट अस्थिरताको नयाँ दौर सुरु हुने खतरा बढ्दै छ । यसभन्दा बढी दुःखद कुरा अरू के हुन सक्छ ? वर्तमान चरणमा पुनः देशलाई अस्थिरता र अन्योलतिर धकेलिने राजनीति, जुनसुकै बहानामा गरिए पनि देश र जनताप्रति विश्वासघात हुनेछ ।
बाह्य शक्तिहरूले खेल्न सक्ने खेलबाट देशको राष्ट्रियता र सार्वभौमिकतामा समेत आँच आउन सक्ने खतरा रहेको वर्तमान अवस्थामा देशमा अस्थिरता र द्वन्द्वको स्थिति उत्पन्न गर्न सक्ने कुनै पनि क्रियाकलाप गर्नु कम्युनिस्टको राजनीति र मार्क्सवाद-लेनिनवादको क्रान्ति दर्शन हुन सक्दैन र यो गैरजिम्मेवार राजनीति मात्र होइन, देशप्रति नै विश्वासघाती काम हुनेछ ।
एमाले र माओवादी केन्द्र हिजो एक ठाउँ थिए । दुइटा प्रमुख कम्युनिस्ट पार्टीको मिलन सत्तामा भागबन्डा र सरकारी ढुकुटीको उपभोगजस्ता कम्युनिस्टहरूका लागि नितान्त अग्राह्य र गैरमार्क्सवादी चिन्तनबाट निर्देशित नभएर देशको अग्रगामी निकासको लागि भएको भए आज यो अवस्था आउने थिएन र राजनीतिले अर्कै दिशा लिन सक्ने थियो र विदेशी हस्तक्षेपबाट आज देशले भोग्नु परिरहेको अवस्था धेरथोर टाल्न सक्ने अवस्था हुन सक्थ्यो । तर स्वार्थ र दम्भमा लिप्त तथा कम्युनिस्टको लक्ष र उद्देश्यबाट विमुख व्यक्तिहरूबाट यो आशा गर्नु मूर्खता मात्र रहेछ भन्ने जनताले महसुस गर्दैछन् ।
अहिले प्रचण्ड र ओली दुई ध्रुवमा विभाजित छन् र अन्य माओवादी नयाँ जनवादी क्रान्तिको स्वप्निल स्वादमा लठ्ठ छन् । यो विभाजन केका लागि ? देश, जनता तथा यिनीहरूले भाषणमा भन्ने गरेको सर्वहाराको राज्य, शोषणविहीन समाजको निर्माण, समाजवादी लक्षमध्ये केबाट निर्देशित छ ? सबैले एक से एक बढाइचढाइ राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता, गणतन्त्र, संविधानको कार्यान्वयन आदिका लागि सहमतिको रटान लगाइरहेका छन् ।
तर त्यस दिशामा अगाडि बढ्न आवश्यक विधेयकदेखि संविधान कार्यान्वयनको आधार तयार गर्ने विषयमा समेत हलो अड्काउने काम भइरहेछ । संसद् अवरुद्ध गरिएको छ । विडम्बना, दुइटै खेमाको नेतृत्व कम्युनिस्टहरूले नै गरिरहेका छन् । बुझ्न सकिएको छैन कि यिनले मार्क्सवादलाई कसरी बुझेका छन् र कसका लागि काम गरिरहेका छन्- देश, जनता र अग्रगमनको लागि वा त्यस नाममा कुनै अरूका लागि ?
यसबाट भोलि अस्तित्वमा आउने अवाञ्छित दुई ध्रुवीय राजनीतिक संघर्षबाट देशको राजनीति, संविधानको भविष्य र गणतान्त्रिक परिपाटी कुन दिशामा मोडिने हो थाहा छैन । यस द्वन्द्वको फाइदा उठाई बाह्य शक्तिहरूले खेल्न सक्ने खेलबाट देशको राष्ट्रियता र सार्वभौमिकतामा समेत आँच आउन सक्ने खतरा रहेको वर्तमान अवस्थामा देशमा अस्थिरता र द्वन्द्वको स्थिति उत्पन्न गर्न सक्ने कुनै पनि क्रियाकलाप गर्नु कम्युनिस्टको राजनीति र मार्क्सवाद-लेनिनवादको क्रान्ति दर्शन हुन सक्दैन र यो गैरजिम्मेवार राजनीति मात्र होइन, देशप्रति नै विश्वासघाती काम हुनेछ ।